यो कलियुग हो । यो युग खत्तम युग हो भन्नुहुन्थ्यो बुबा । म पत्याउदिनथेँ । सब बकवास हो भन्थेँ। अनेकौँ कुरा सोच्थेँ । बुबाले त भोगिसक्नु भएको रहेछ, म जन्मिनुभन्दा अघिको जनयुद्ध । देखिसक्नु भएको रहेछ म जन्मिनुभन्दा पहिलाको जनयुद्ध । त्यो बेलाको रक्तको खोला सुसाएको सुन्नुभएको रहेछ , देख्नुभएको रहेछ । त्यसैले त भनिरहनु हुँदोरहेछ यो कलियुग !

म आज बुझ्ने हुँदा फेरी उही कलियुग जागेको छ । विरुपाक्षको मूर्तिलाई यो पृथ्वीले छोड्न लागेर हो कि मान्छेहरुको बुद्धिले ठाँउ छोडेर हो । यो कुरामा म अलमल्लमै छु । तर पक्कै कलियुग जागेकै हो । खान, बस्न, हिँड्न, रम्न पाउनु नागरिकको अधिकार हो । यो लेखिरहनु जरुरत नै थिएन, लेखिहालेछु, माफ गर्नुहोला ।

अहिले त श्वास फेर्न सक्ने स्थिति पनि छैन तपाईं हामी मजदुरहरुको । कलियुग त राक्षस युग रै’छ ! उही पुराणमा सुनेजस्तै ।

निश्चल आचार्य

देवताका पालामा त देवतासँगै जुहारी खेल्न जाने ती राक्षसहरु हामी सोझा मान्छेहरुलाई त देखिसहनै नसक्ने रहेछन् । न ट्याक्सी कुदाएर छोराछोरीको सपना पूरा गर्न सकेँ न चिया पसल राखेर नै । कलियुगमा त मेरो यो जुग आन्दोलन हेरेरै जाने भयो । टायरको गन्ध सुघेरै जाने भयो । र, कारखानाबाट निस्कने आवाजलाई नियन्त्रित गर्ने सरकारको उच्च स्वरको नारा सुनेरै जाने भयो ।

अब त कलियुगलाई राक्षसयुग भन्न पिटिक्कै डर छैन । छात्ती फुलाउँदै राक्षसलाई चुनौति दिन पनि मन छ । तर कलम रमिरहेको हातले हतियार समाउन इच्छा छैन । किताब रटिरहेको मान्छेलाई अरुको घाँटी रेट्न मन छैन । रिस त कहाँ नभएको हो र ! आफ्नो दाम फलाउन अर्काको माम हुर्याउने अनि बाटैबाटो हिँडिरहेका ती निर्दोष बटुवाहरुको श्वास लुछ्नेहरुको श्वास लुछ्न मन नभएको कहाँ हो र ! रिस नभएको कहाँ हो र !

तर के गर्नु ? बुबाले सानैमा एउटा कमिला पनि नमारेस् । एउटा कमिला मार्दा दश गाई मारे झैँ पाप लाग्छ भनेर सिकाउनु भयो । बुबाले सिकाएको कुरालाई नकार्नु पनि कसरी !

कलियुग त हो, मान्छेलाई मारेर किन छोड्नु ! खानै थाले भइआल्यो नि !

सोच मांसहारी, वचन मांसहारी सम्पूर्ण कुरा मांसहारी त पहिल्यैबाट त हो । अब नरमांस खान सुरु गरे भइ गो नि ! अनि खान बाँकी के रहला र ?

हरेक बुबाआमाको सन्तान देख्ने सपना खाकै हो क्यार ! वनको बीचमा टाउको र शरीर छुट्टाछुट्टै हुर्याएर हिँडेको हात त्यही हो क्यार !

डराउनु पर्दैन । ती हातले कसैको जीवन सफल होस् भनी केही पैसा पनि दियो होला । त्यो नाटकै हो । नौटङ्की नै हो ।
मैले पढेको, कसैले अरुको पैसा लिन्छ भने त्यो तिर्नु पर्छ, त्यसैगरि अर्काको प्राण लिदाँ उसको प्राण व्याजसहित तिर्नु पर्छ ।

नतर्सिनूस् !

तिर्नु होला । तिर्नै पर्छ । सित्तैमा पक्कै आएन होला त्यो प्राण !

आमाको नौ महिने दुःख, बुबाको सपना ! हैट् दुःखैदुःख, के कुरा गर्नु र ?

अनि त्यो ऋण चुकाउन कति समय लाग्ला ? आफैँ सोच्नूस् । आफैँ विचार गर्नूस् ।

कलियुग त हो । ऋण चुकाउनु पर्ला र ? सोच्दै हुनुहुन्छ पनि होला । लिएको पैसा त नदिने म प्राणको के कुरा गर्नु है !

होसियार !

कसैको प्राण तिम्रो सम्पत्ति होइन । अनि यो देश कसैकाे बाउको बिर्ता होइन ।