बिहानको एघार बजेको थियो । टिकट काउन्टरबाट हत्तपत्त बुर्तिबाङ्गसम्मको लागि बसको टिकट काटेँ । एउटा हातमा टिकट च्यापेर टिकटमा लेखिएको नम्बरको बस खोज्दै हिँडेँ बुटवल बसपार्कमा । बसपार्कभरि बस खोज्दा खोज्दा बल्लतल्ल भेटेँ । ८७६ नम्बरको बस जुन बसमा म बुर्तिबाङ्गसम्मको यात्रा गर्नुपर्ने थियो ।

सरासर बसमा गएँ, अनि हेरेँ, आफ्नै टिकटको सिट नम्बर, बसको गल्लीबाट देब्रे साइडको अन्तिमभन्दा अगाडिको सिटमा परेछ । “बीः तेह्र र चौध” लेखिएको सिटमा बसेँ, अरु सिट लगभग सबै भरिएका थिए । मसँगैकाे सिट भने अझै खालि नै थियो । एघार बजे छुट्ने बस, एघार बजेर दश मिनेट जाँदासमेत छुटेको थिएन । अरु यात्रीहरु कराउँदै थिए । अनेकथरि गफ लगाउँदै ।

यत्ति नै बेला कन्डक्टर भाइ नजिकै आयो । “बस छुट्ने बेला भएन ?” सोधेँ । जवाफमा उसले घडी हेर्यो र भन्यो “ह्या दाइ पनि, ल्याङ नगर्नुस् न, अझै पाँच मिनेट बाँकी छ । खास छुट्ने समय बाह्र बजे हो क्या ।”

“अनि टिकटमै बस छुट्ने समय एघार बजे भनेर तोकिएको छ त भाइ ।” मैले थोरै रिस मिसाएर जवाफ फर्काएँ ।

“खासमा नि दाइ, एक जना दिदीले मोबाइल कोठामै छोड्नुभएछ, लिन जानुभएको छ, सुख्खानगर । अब आइपुग्ने बेला भैसक्यो ।” उसले सहज रुपमा उत्तर फर्कायो । कन्डक्टर भाइसँग धेरै बहस गर्नु पनि उचित लागेन ।

कस्ति केटी रैछे आफैँले चलाउने मोबाइल समेत छोड्ने ?, कोही भन्दै थिए ।

होइन कस्ता कस्ता मान्छे हुन्छन् कुन्नि ! कमसेकम अरु मान्छेलाई हतारो हुन सक्छ, वर्षाको समय छ, गाउँ पुग्नलाई समस्या हुन्छ भन्ने पनि बुझ्नुपर्छ नि ?, मलाइ झोँक चल्यो ! अरु यात्रु पनि त्यसबखत आत्तिएका थिए । सबैलाई समयमै आफ्नो गन्तव्यमा पुग्नुपर्ने थियो ।

ओहो, मलाई पनि घर पुग्नलाई बुर्तिबाङ्गबाट फेरि हिँडेर तीन घण्टा लाग्छ, पुगिएन भने त बर्वाद हुन्छ ।, मनमा यस्तै यस्तै कुराहरु खेलिरहेको थियो । यतिकैमा कन्डक्टर भाइ करायो ! “के हो दिदी , फेसबुक चलाउने मान्छे भएर पनि मोबाइल बिर्सिने ? कि भिनाजुको यादमा …….. ।”

साँच्चै, कति मनको सफा हुन्छन् यी कन्डक्टर दाजुभाइहरु, जसलाई पनि आफ्नै सम्झिने अनि ठट्टा, मजाक गरिहाल्ने !

यत्तिकैमा मेरो नजिकैको सिटमा एक जना केटी आएर बसी । जो उहीँ मोबाइल छोड्नेवाला केटी पो रैछे । आफ्नो सानो झोला पिठ्यूबाट निकालेर अगाडि राख्दै ऊ सिटमा बसी । कन्डक्टर भाइले दुईचोटि ध्याप–ध्याप ढोकाको छेउमा हान्यो, अनि गाडीले यात्रा सुरु गर्यो ।

एकैचोटि उही केटीको शरिरतिर ध्यान गयो मेराे । सेक्सी फिगर, क्याटबरी ओठ, सिल्की कपाल, गोरो अनि गोलो अनुहार ! नाक, आँखा अनि मुख सबै मिलेको । जिन्स पाइन्ट, ब्ल्याक टिसर्ट अनि त्यही टिसर्टमाथि ब्ल्याकअन व्हाइट चेकसर्ट लगाएकी, बटन खुल्लै छोडेकी । मेरो ध्यान त उसैले पो ता नि, जसलाई भर्खरै मात्र भेटेको छु ।

मनमनै सोचेँ, “भगवानले आजसम्म मलाई सिंगल राख्नुको कारण त यति राम्री केटीलाई आफ्नो बनाउन सकोस् भनेर पो रहेछ !”

मनले अनौठो गीत गाउन खोजिरहेको थियो, तन आफ्नै संसारमा उसलाई बायुपंखी घोडामा चढाई लैजान तमतयारी अवस्थामा बसिसकेको जस्तो महसुस भैरहेको थियो । सायद ऊसँग एउटै सिटमा बस्दा मात्रै पनि मन यति खुशी थियो कि, मानौँ म कुनै युद्ध जितेर आएको सेनापति हुँ ।

एकाएक बिहान मात्र बुबाले भन्नुभएको कुरा सम्झिन पुगेँ, अनि पो मन झसङ्ग भयो । केही निमेष अगाडिको सबै चाहना एक्कासी सगरमाथाको टुप्पोबाट तराईमा झर्यो ।

साँच्चै, म कति अभागी ! मेरो खुशी पाँच मिनेट पनि टिक्न सकेन । अनुहारमा एक्कासी कुहिरो छायो । उनी सामु फर्किने आटसम्म गर्न सकिनँ अनि झ्यालबाट सिद्धबाबाको पहाड नियाल्न लागेँ ।

सोचेँ, आजकालका मान्छेको मन पनि पहाडजस्तै कठोर हुन्छ । भागवनको पनि, जसले मेरो खुशी पाँच मिनेटसम्म पनि टिक्न दिएन ।

बिहानै बुबाले कल गरेर भन्नुभएको थियो, “बाबु, जसरी नि आजै आइहाल है घर । तिम्रो लागि हामी भोलि नै बिरे अंकलको छोरीलाई हेर्न जाँदैछौँ ।”

“…… तर बुबा, म अहिले नै बिहे गर्न चाहन्न । हजुरलाई थाहै छ, म मेरो करियर बनाउनतिर लाग्नुपर्छ ।” मैले अनुरोध गरेकाे थिएँ ।

“तेसो नभन, मैले पनि जागिर नगर्दै तेरी आमालाई बिहे गर्या हो । खोई, जिन्दगी राम्रैसँग चलेको छ, चलिराको छ । कि तैँले अरु नै केटी मन पराउछस् ?” बुबाले झड्का दिनुभयो ।

“तेस्तो होइन बुबा, मेरो कोही केटी छैन तर म अहिले बिहे गर्न चाहान्नँ ।” मैले अनुनय गरेँ ।

एकातिर मन सलबलाइरहेको थियो, उसैको तस्बिर मानस्पटलमा घुमिरहेको थियो । मन चङ्गा जस्तै आकाशमा उडिरहेको थियो ।

बुबाले फेरि पनि अर्को झड्का दिँदै भन्नुभयो, “तँलाई थाहै छ, बिरे अंकल मेरो सानैदेखिको मिल्ने साथी हो । ऊसँग सम्धी–सम्धीको नाता जोड्न पाउनु भनेको मेरो लागि निकै ठूलो कुरा हो । फेरि त्यो नानीले पनि त राम्रै पढेकी छ । घरपरिवार पनि राम्रै छ … ।”

निन्न्याउरो मुख लाएर पुनः बिन्ति बिसाएँ मैले, “होइन बुबा, म अहिले बिहे गर्दिनँ !”

तिमीहरुको मन मिल्यो भने, दुवै जना मिलेर थप प्रगति गर्छौ । बिहे बन्दन मात्र हैन, बरदान पनि हो ।

जस्ताेसुकै राजनीति गरेर पनि बुबा मेराे बिहे गराइदिने सुरमा हुनुहुन्थ्यो । भन्नुभयो, “तेसो नभन बाबु, घरबार भन्ने कुरा जहिले गर्दा पनि हुन्छ । यसले पढाइ र करियरमा कुनै असर गर्दैन । तिमीहरुको मन मिल्यो भने, दुवै जना मिलेर थप प्रगति गर्छौ । बिहे बन्दन मात्र हैन, बरदान पनि हो ।”

======

बुबा गाउँमा एउटा सानो पसल गरेर बस्नु भएकोले मलाई कहिल्यै दु:खी हुन दिनुभएन । त्यसैले मैले नि सोचे अखिर बुबाआमाकै खुशीको लागि भए पनि मैले बिहे गर्नुपर्छ ।

आखिर बिरे अंकल पनि बुबाको एकदमै मिल्ने साथी हुनुहुन्थ्यो । उहाँ अवकाश प्राप्त इन्डियन आर्मीको हवल्दार हुनुहुन्छ । खर्बाङ्गमै घर बनाएर बस्नुभएको छ भनेर बुबाकै मुखबाट सुनेको थिएँ । तर उसको छोरीलाई भने मैले एकपटक पनि देखेको छैन जोसँग म मेरो यो सारा जिन्दगी समर्पण गर्नुपर्नेछ ।

यात्रा उही रफ्तारमा अगाडि बढिरहेको थियो । बसको झ्यालबाट आउने हावाका झाेँकाहरुले मनमा प्रेमको बीज हालिरहेको थियो । यतिकैमा नम्र स्वभावमा उसले भनी, “एक्स्क्युज मी, मलाई झ्यालमा बस्न दिनूस् न है ! मलाई वोमिट आउँलाजस्तो भयो ।”

म आफ्नै सोचमग्न संसारबाट फिर्ता आएँ । उसको अग्रहलाई सहर्ष स्वीकार्दै मैले हुन्छ भनेँ ।

ऊ झ्यालतिर फर्किएर बसेकी थिई । झ्यालबाट आउने हावाले उसको केश मेरो अनुहारमा  पारिदिँदा मलाई संसार बिर्सिने ताकत दिइराखेको थियो । मनभित्र भावनाका छालहरु तंरगित भैरहेका थिए । म ठूलो द्विविधामा परे । मनको तराजुमा बुबाआमाको खुशी र आफ्नै खुशीलाई राखेर तौलेँ, तर सही निष्कर्ष लिन सकिनँ । आखिर जीवनको त्यति ठूलो निर्णय लिने हैसियत ममा विकास भैसकेको थिएन सायद ।

यात्रा अगाडि बढिरहेको थियो । जब बुटवलबाट वेग हानेर सो बस पाल्पा प्रवेश गर्यो, बतासे र तानसेनका हावाहरुले मरो मनलाई थप उर्जा दियो । र मनमा आँट आउन थाल्यो । मैले उसलाई बोलाउनै पर्छ भन्ने सोचेँ र बोलाइहालेँ ।

मगरको छोरो, हिम्मतै गरेर भनेँ, “सुन्नुस् न ! तपाईं कहाँसम्म जाँदै हुनुहुन्छ ?”

तर उनीबाट कुनै जवाफ आएन, सायद उसलाई गाडी लागेको थियो । झोक्रिएर झ्यालबाहिर हेरिमात्र रही । कुनै जवाफ नआएपछि मनमा थप पीडाबोध भैरहेको थियो । फेरि पनि आँट गरेरै भनेँ, “सुन्नुस् न, तपाईं कहाँसम्म जाँदै हुनुहुन्छ ?”

यसपटक उसले मेरो बोली सुनेजस्तो एउटा हातले कानबाट इयरफोन निकाल्दै बोली, “तपाईं मलाई केही भन्दै हुनुहुन्छ ?”

“हजुरको झोला खसेको छ ।” मैले कुरा मोडिदिएँ । ठूलै खड्को टारेजस्तै महसुस भयो ।

उताबाट “थ्यान्क्यु ल” आयो । यति भएपछि म पनि फुरुक्कै भएँ । तर कुरा बाँकी नै थियो । हतार–हतार उसको नाम जान्ने चेष्ठा गरेँ, “तपाईँको नाम ?”

“अनामिका !”

“कहाँसम्म जाँदै हुनुहुन्छ ?”

“घर जाँदै छु, खर्बाङ्ग ।”

“अनि बुटवल के गर्नुहुन्छ नि ?”

“पढ्छु, तपाईं ?”

“म बुटवल बहुमुखीमा ब्याचलर सेकेन्ड इयर अनि तपाईं कुनमा नि !”

“म कालिकामा पढ्छु, अस्ति मात्रै फस्र्ट इयरको एक्जाम दिएर कम्प्युटर डिप्लोमा कोर्ष गर्दै थिएँ ।” उसले निकै मीठो आवाजमा जवाफ फर्काई ।

मलाई उसको जवाफ नसुनी बस्न मन लागेन । ऊसँग नबोल्दा, उसको आवाज नसुन्दा म आफैँलाई पनि गाडी लागेको महसुस हुन्थ्यो ।

“अहिले किन जाँदै हुनुहुन्छ नि घरमा ?”

“यत्तिकै एउटा सानो काम परेकोले जान लाकी ।” उसको सटिक जवाफले लाग्यो, केटी कडा रैछे ।

उसको बाहिरी आवरण फरक भए पनि बोली अनि व्यवहार भने निकै सरल र दयालु थियो ।

यात्रामा हामीबीच धेरै कुराहरु भए । फेसबुक आइडी र फोन नम्बर पनि सटासाट भयो । जिन्दगी, पढाइ, प्रेम, सुख दुःख, हासो, रोदन सबै विषयमा हामी परिचित भयौँ । उसको बाहिरी आवरण फरक भए पनि बोली अनि व्यवहार भने निकै सरल र दयालु थियो ।

उसले आफ्नो ब्वाइफ्रेन्डसँग केही समयअगाडि मात्र ब्रेकअप भएको कुरा सुनाउनसम्म भ्याई । यो ब्रेकअप सुन्नेबित्तिकै मेरो मन बैंशले मात्तिएको घोडा जस्तै ब्रुक–ब्रुक उफ्रिरहेको थियो । यस्तै यस्तै कुरामा हामी यति नजिकियौँ कि मानौँ हामी धेरै पहिलेदेखि परिचित छाैँ ।

“अनामिका ! के हामी साथी बन्न सक्छौँ ?” मैले मनको प्रश्न राखिदिएँ ।

“अनि, हामी साथी नै छौँ त, होइन र ?” नजानिँदो पाराले फेरि उसले मैले सोँचेको भन्दा फरक तरिकाले मुसुक्क हाँसेर जवाफ फर्काई । मैले जस्तो परिस्थिति आए पनि उसको प्यारमा रमाउने इच्छा जगाउनु थियो । मनका डरहरुलाई कालीगण्डकीतिर मिल्काएर मनमस्तिष्कबाट भनेँ, “के हामी साथीभन्दामा माथिको सम्बन्ध गाँस्न सक्छौँ ? जसले जिन्दगीको हरेक सुखदुःखमा हात नछोडोस्, साथ नछोडोस् ।”

यतिबेला म भावुक बनेको थिएँ । मेरो मनबाट बिहानै मात्र मेरो बुबाले गरेको अनुरोध धेरै पर भागिसकेको थियो । ऊ निकैबेरसम्म टोलाइरही अनि भनी, “बुद्धु ,सायद जोडी त भागवनले माथिबाटै बनाउछ होला । र त प्रेममा अनेक बाहाना आइदिन्छन् प्रेम छुटाउनको लागि ।”

यतिबेला उसको मुहार पनि मेरोजस्तै मलीन भएको थियो । मलाई पनि सोध्न नहुने प्रश्न गरेकोमा जातिबिति पछुतो भयो । केहिबेर मौनता छायो । गाडीको भाइब्रेसनबाहेक केही सुनिएन । फेरि मौनता उसैले भङ्ग गर्दै भनी, “जन्मसँगको तीन वर्षको मेरो अफेयर टुट्यो र पनि मलाई कुनै असर गरेन । किनकि त्यो टिनएजको एउटा भ्रम मात्र थियो, प्रेम थिएन । यो यात्रामा जति खुशी पाएँ, त्यो खुशी सायद पाउदिनँ होला । सायद तपाईँजस्तो साथी मलाई केहिछिनको लागि मात्र पठाएका होलान् भगवानले ।” निरासामा डुबेको मलाई उसले छातीमा तीर हानी ।

मैले उसको कुरा बुझ्न सकिनँ । म मौन बसिरहेँ । एकातर्फ बुबाको अनुरोध अर्कोतिर उसको इग्नोरले म चूर भएको थिएँ । मनै न हो, रिसले खुम्चिएको निदारलाई फुकाउँदै खुसी भएको जस्तो गरिदिएँ । मेरो त्यो मलीन अनुहार पक्कै पनि उसले बुझेकी हुनुपर्छ ! र त सरप्राइज दिँदै भनी, “तपाईं मलाई साँच्चै माया गर्नुहुन्छ ?”

यत्ति सुन्न के पाएको थिएँ, मनमा अनेक खुसीका झोँकाहरु तरङ्गित भए । लाग्न थाल्यो, म यतिबेला बायुपङ्खी घोडामा चढेर कुनै राजकुमारीसँग यात्रा गर्दैछु । खुसीको कुनै सीमा नै थिएन मभित्र । कतिपय चलचित्रका दृश्यमा देखिएका प्रेमको डाइलग मानसपटलमा छाइरह्यो । उहीँ शैलीमा प्रस्तुत हुँदै मैले भनिदिएँ, “मैले आजसम्म मन पराएकी केटी मात्र तिमी हौ । म मेरा सुखदुःख सबै तिमीसँगै बाँड्न चाहन्छु, यदि तिमी पनि मलाई चाहन्छौँ भने ।”

“के तपाईं आफ्नो आमाबुबालाई छोडेर मसँग बस्नुपर्यो भने बस्नुहुन्छ ?” यतिखेर उसले केही हाँसेजस्तो गरेर बोली । उसको यो प्रश्नले मबाट कस्तो उत्तर अपेक्षा गरिरहेकी छ ? त्योसम्म थाहा पाउन सकिनँ मैले ।

“म कसरी जन्म दिने बुबाआमालाई बेवास्ता गर्न सक्छु ?”, मैले अनायसै उत्तर फर्काएँ, “यो कस्तोखालको प्रश्न हाे ?”

भनेँ, “हामीबीच अटुट प्रेम हुन जरुरी छ । विस्वास नै प्रेमको ठूलो कडी हो ।”

ऊ निकैबेर हाँसिरही, बसका सबै यात्रुले हामीतिर आँखा तन्काउनसमेत भ्याए । म लाजले पानी पानी भए ।

उसले हाँस्दै भनी, “यति छिटै भेटेको मान्छेको विश्वास गर्न गाह्रो हुन्छ भनेर मात्र मैले विचार लिएको तपाईँको । तपाईँको यो उत्तरले मेरो तपाईँप्रतिको विश्वाश झन् बढेको छ । हुन्छ, म पनि हजुरलाई साथ दिन चाहन्छु सधैँभर ।”

जब प्रेमका बीजारोपण हामी दुईमा मज्जैले भयो । अब यसलाई फुलाउनु छ, अनि फ्रकाउनु छ । यस्तै कुराहरुमा हामीले प्रेमको हस्ताक्षर गर्यौँ । यति नै बेला उसले मन्द मुस्कानसहित भनी, “बुद्धु….. यो मेरो जीवनकै स्वर्णीम पल हो । आज जति खुशी सायद कहिल्यै भएको थिएनँ म । साँच्ची नै हजुरले मलाई मनैदेखि माया गर्नुहुन्छ भने, म सधैँ यो माया पाइराखुँ ।”

उदितनारायण झाको “पूरा भयो सपना मेरो, तिमी नै हो जीवन मेरो ।” यो गीतमा म अनामिकालाई लिएर पाल्पाको बतासे डाँडामा नाच्दै हिँडिरहे ।

उसको यो शब्दले मनलाई भित्रैसम्म छोयो अनि दुबै कानमा निकैबेरसम्म गुन्जिरह्यो । उदितनारायण झाको “पूरा भयो सपना मेरो, तिमी नै हो जीवन मेरो ।” यो गीतमा म अनामिकालाई लिएर पाल्पाको बतासे डाँडामा नाच्दै हिँडिरहे ।

अन्ततः अनामिकासँग छुट्टिनु नै पर्ने थियो । उसलाई आफ्नो ख्याल राख्नु है भन्नेबाहेक अरु केही सकिनँ । म झर्ने कुराले उसको आँखाको डिलमा सायद आँसु भरिएको थियो । ऊ बोल्न सकिरहेकी थिइन । यो माया भन्ने चिज पनि कस्तो हो कस्तो ?

म बुर्तिबाङ्ग ओर्लिएँ, अनि हेरेँ त्यो बसलाई नियालिरहे जुन बसले मलाई एउटा मनको मान्छे भेटाउन धेरै ठूलो सहयोग खेलेको छ, बस नम्बर ८७६ ।

साँझ घर आइपुगेँ । बाटोभरि उसैको यादले सताइरह्यो । अब मलाई सबैकुरा मेरो बुबा–आमासामु भन्नु थियो । मैले सबैकुरा बुबालाई भनिदिएँ ।

“ठीकै छ बाबू, हामी सधैँ तिम्रै खुशी चाहन्छौँ । तर हामीले हाम्रो वचनलाई बेवास्ता गर्नु हुँदैन । भोलि खर्बाङ्ग गएपछि म सबै कुरा मेरो साथी बिरेलाई भनिदिन्छु । तर भेट्नचाहिँ जानै पर्छ है ?”

बुबाले मेरो प्रेमलाई सहर्ष स्वीकार गरी घाउ लागेको मुटुमा मल्हमपट्टी लगाइदिनु भयो । मन खुसीले गद्गद् भयो । अनि हत्तपत्त अनामिकालाई फोन गरेँ । ऊ पनि धेरै खुःसी भई । मेरो आँखाबाट आँसु खस्यो सायद उसको पनि । किनकि अब हाम्रो प्रेममा कोही तगारो बन्न सक्दैनथ्यो । मैले कहिल्यै नदेखेको त्यो बिरे अंकलको छोरीसँग बिहे गर्नु पर्दैनथ्यो ।

भोलिपल्ट बिहानै खर्बाङ्ग गयौँ । त्यो बिहेको सम्बन्ध तोडेर फेरि बुबाको पुरानो दोस्ती भने कायमै राख्नु थियो । खर्बाङ्ग पुग्यौँ । खर्बाङ्गमा हाम्रो स्वागतको लागि निकै तयारी भैरहेको रहेछ । उनीहरु सोच्दै थिए, हामी सम्बन्ध जोड्न आइरहेका छौँ । तर हामी वैवाहिक सम्बन्ध तोड्न गएका थियौँ ।

बिरे अंकलको घरको बैठक कोठामा बसिरहेको बेला अंकलले भन्नुभयो, “ए छोरी, अंकलहरुलाई चिया ल्याइदेउ त !”

जब बिरे अंकलकी छोरी चिया लिएर आई, मलाई करेन्ट लागेजस्तो भयो । आखिर उनै अंकलकी छोरी नै अनामिका थिई ।

मन एक्कासी फुरुङ्ग भइदियो । खुशीले मन कपासजस्तो भएर माथि माथि उडिरह्यो । यति धेरै खुशी भए कि अब के होलासम्म सोच्न सकिनँ ।