नमस्कार, नमस्कार, नमस्कार, नमस्कार…
मौसम एकदमै चिसो छ । यो चिसचिसो मौसममा तात्तातो च्या पिलाएर तपाईंलाई हरर बनाउन सधैं झैं म खानदानी बाजे उपस्थित भैसकेको छु, तपाईंको चिरपरिचित च्याभट्टीमा । सटर उघारेर …
घरररर….
बस्नुस्, बस्नुस्, बरू भुईंमै थ्याच्च बसे पनि हुन्छ । तर, सोफामा चैँ नबस्नुस है । अस्ति आन्दोलन गर्दा नेताहरु बसेका अपवित्र सोफाहरु हुन् ती । ल्याउनेले फिर्ता लानै मानेनन् र त्यसै बग्रेल्ती छन् । यी सोफामा बस्नेलाई नेतारोग लाग्छ बस्नुहुन्न भनेर सबै हैरान छन् । छरछिमेकीहरु आत्तिएका छन् । तपाईंलाई पनि नेता बन्ने रोग लाग्यो भने बर्बादै हुन्च फेरि ।
यो नेतारोग छ नि, भो नकुरा गरम् । क्यान्सर ह्याभ नो एन्सर भनेजस्तो यो नेतारोगको पनि एन्सर छैन । नेतारोग लागेसी सम्हाल्न सक्दैन कसैले । भएका आफन्तहरु पनि छोडिजान्छन् । देश बनाउँछु भन्नेहरुले आफ्नै भेष बनाउन थालेपछि यस्तो हुँदोरछ । देशभरिबाट सोझासाझा जनताहरु भेला पारेर चटक नै देखाए नि कुलंगारहरुले ।
हुन त हामीहरु पनि उस्तै छौं । नाथे च्याबिस्कुटमै बिकिदिन्छौँ । थपडी बजाइदिन्छौं । जयजयकार गरिदिन्छौं ।
अब हाम्ले नेतालाई उल्टो माया अर्नपर्छ के । अस्ति भाँडतन्त्रको नायकले खै कता हो जुत्ता खाए भन्ने हल्ला थ्यो । जनताको माया हेर्नुस् तो कति धेरै । आफैंले लाको जुत्ता फुकालेर नेताको अनुहारमा फाल्नु चानचुने माया कहाँ हो र ! यस्तै माया अर्नपर्छ अब यता पनि । यतामात्र होइन देशैभरि ।
अँ अँ सोध्नै बिर्सेछु, सबैलाई सन्चै छ नि साँच्ची ? कोही कतै गएर हात खुट्टा त भाँच्नुभा छैन नि ? आन्दोलन, धर्नामा नजानुस् है कसैले कसैको हिफाजत गर्दैन । फेरि नारायण वाग्ले बनाइदेलान् । संजीव उप्रेती बनाइदेलान् । नागरिक भगुवा आच्या अगुवा बनाइदेलान् ।
यौटा कुरा सोधिहालौं है !
तपाईंहरुलाई वाक्क दिक्क भा छैन भन्या ? देशको हालत सम्झिँदा सम्झिँदा गर्भवती भएकी स्वास्नी कुरुवा लोग्ने झैं भाछु म त । खबरपत्र देख्दा पनि वाक्वाकी लाग्छ भन्या । खबर पनि के के हुन हुन् के के । लालझन्डेहरुको हालत खुब हेर्नलायक छ यतिबेला, हगि ।
अँ त ।
हो त्त ।
र त ।
तैबरी ।
अस्ति कोरोनाको महामारीले सिङ्गो देशलाई लकडाउन गरायो । लकडाउनले धेरैलाई घर न घाटमा पुर्यायो । खान नपाई कत्ति भोकभोकै मरे । व्यापार व्यावसाय चौपट्टै भयो । त्यतिखेर यी नेता भनाउँदाहरु टाङमुनि मन्टो घुसारेर बसे । केही कुराको मतलबै गरेनन् । बरु कसरी कुम्ल्याउन सकिन्छ भनेर धोक्रो सिलाए । सरकारी सम्पत्ती चुहाउन भ्वाङहरु खोजे । दुक्की गरेर कमाएको अकुत उघ्राए । घरबाहिर निस्कनु हुँदैन भने । अनि जब कुर्सीको कुरा आयो, बोली महाराजले राजनैतिक कू गर्न लागे तब रातारात सडकमा उर्लेर कुर्लदै छन् । लाज नभएका नौटंकीहरु ।
यौटा कुरो लेखेर राख्नुस्, यो उनीहरुले भनेजस्तो जनताको लागि गरिएको आन्दोलन होइन, हुँदै होइन । यो त केवल कुर्सीको लडाइँ हो । जुँगाको लडाइँ हो । जब कुर्सी भेट्टाउँछन् नि तपाईंलाई नेप्र्याइदिन्छन् ख्याल अर्नु । मैले त कतिपटक भोगेको छु क्यारे । खानदानीको अनुभव हो बाबै । इतिहास बारबार दोहोरिन्छ तर अनुभवले धोका दिँदैन । म त भन्छु, तपाईं पनि आन्दोलनमा नजानूस् । यी हुतिहाराहरुलाई लोप्पा ख्वाइदिनपर्छ । पानी बसाएर ।
चाइनेजो, हामी जनता भोटबैंक हौं र जतिबेला चाहियो उतिबेला लिनलाई ? पाँच वर्षलाई भनेर पठाएको मुन्छे ३ वर्ष पुग्दा नपुग्दै काम गर्न पाइनँ भन्छ । फेरि जनताको ताजा जनादेश लिन्छु भन्छ । कसले छेक्या छ र तिन्का डुडुलालाई । खुरुखुरु काम गरे त भैगो के रे । एक्सपाइरी डेट हुँदाहुँदै बासी कसरी हुन्छ ? बाटो बनाउनु, गाडी कुदाउनु, टोलछिमेक सफा सुग्घर राख्नु । बिजुलीको तार काट्ने मुसा मार्नु । बन्द भएका कलकारखानाहरु खोलाउनु । विदेशबाट युवाहरुलाई बोलाउनु, रोजगारी बढाउनु । सबैलाई सुरक्षा दिनु । स्वास्थ्य सेवामा तदरुकता देखाउनु । राम्रो अर्दा नराम्रो कसले भन्छ र ? तपाईं भन्नुहुन्छ ?
ए बाउ बस्नुस् । च्यापिएर जानुस् । सरी सरी मिस्टिक मिस्टिक । च्या पिएर जानुस् । च्यापिन त तपाईंलाई कुस्तै च्यापिरहेकै छ के रे ओली फोबियाले !
साँच्ची के भन्दै थिएँ ? अँ विकास, हाम्रो बोली महाराज पनि मापाकै भएर निस्के हेर्नुस् । नत्र प्रधानमन्त्रीजस्तो मुन्छेको ताला त्यस्तो पनि हुन्छ कतै ? बोल्नुपर्ने पनि बोल्या छ । नबोल्नुपर्ने पनि बोल्या छ । हिजोसँगै हिंडेका लगौंटियाहरुलाई छिछिः र दुरदुरः गर्या छ । उछितो काड्या छ । फल्ना यस्तो ढिस्का उस्तो भन्या छ । आफूलाई चैं महाराज सम्झ्या छ । देवदूत सम्झ्या छ । के के न ख्याँसेजस्तो ।
हिजो त के पनि सुनेँ भने हाम्रा प्रधानमन्त्रीलाई अर्थशास्त्र सम्बन्धी नोवेल पुरस्कारको लागि नेपालबाट सिफारिस गर्ने रे ! तपाईंलाई हाँस उठ्दैन यस्ता कुरा सुनेर ? हावा फ्याक्ट्री खोलेजस्तो हुँदैन के रे नोट फ्याक्ट्री खोल्न ।
उसो त कति कुराहरु उडुवा पनि होलान् । जसलाई जे मुखमा आयो त्यही बोल्दिन्छन् क्यारे । तैपनि सम्झिँदा भाउन्नै हुन्छ बाबै ।
…
हिल्लो, हिल्लो, साथीहरु आउनुस् आउनुस् । बस्नुस् । तातातो च्या सुर्क्याइहाल्नुस् । नाथे च्या पिउने र च्यापिने फुर्सद त जति पनि हुन्छ के रे हामी नेपालीलाई । च्यापत्ती मिसाएर ।
आबै नि, तपाईंहरु त पूरै भिज्नुभा छ त ! के आइलागो यस्तो । पानी नबर्सेको पनि महिना दिन भैसक्याे । कसरी भिज्नुभो बरिलै ?
कसो अरे कसो ? सरकारले नुहाइदिएको अरे !
हाम्रो सरकार पनि बेला बेला कमाल गर्छ । हेर त पिउने पानी नभएको यो राजखानी सहरमा जनतालाई सित्तैमा नुवाइदिराछन् । गज्जबको कुरो हैन त ! जनताप्रतिको सरकारको बफादारी अजीवको छैन त ? संसारको कुन देशमा यसरी सडकमै नुहाउने सेवा छ भन्नुस तो !
छैन छैन । औंरिका, बेलाइत, जाउपान, कोरिया कतै पनि छैन । हाम्रो बोली महाराजको बोली मात्र हैन काम झन् गज्जबको छ । रेल ल्याएर पाल ओढाएर राख्या छन् । पानी जहाज नारायणीमा तैरिरा छ । सुरुङ र भ्युटावरहरु बनेका बनेकै छन् । हावाबाट बिजुली बलेको बलेकै छ । नपत्याए हावा चल्ने डाँडामा गएर एकछिन बस्नुस्, उढाएर बिजुली देखाइन्छ । पाइपलाइनबाट ग्यास हेर्नु घरघरमै छ । पाइपलाइन यति आधुनिक छ कि पानी र ग्यास यौटै पाइपमा आउँछ । पानी आउने समयमा पानी आउँछ बाँकी समयमा ग्यास । रित्तो पाइपमा बहने भनेको ग्यास नै त हो नि । खै त कुरो बुझ्या । खित् खित् खित् …
तपाईंहरु पनि उस्तै के ! कम्तिमा सित्तैमा नुहाउन पाउँदा झोला र कपडा त खोल्नपर्छ नि । यी यसरी तुप्किदै हिँड्न त पर्थेन । तपाईंले यसरी शरीरको मैले राज्यमाथि तुप्क्याउन पाउनुहुन्न है । देश फोहर हुन्छ । नगर फोहर हुन्छ । अस्ति कोरोनाको बेला भोका जनतालाई भात खुवाउँदा फोहर भयो भनेर बन्द गर्ने मेयर आइपुग्लान् फेरि । यहाँ त राजनीतिको फोहर तुप्क्याउन मात्र छुट छ । फोहर राजनीति पखाल्ने छुट छैन । बुझ्नुस् है बुझ्नुस् । चिनी मिसाएर ।
अनि तपाईंहरुले भिरेका ती झोलामा के छ त त्यस्तो महत्वपूर्ण ? कतै तपाईंहरू नागरिक त होइन ?
खासमा हाम्रो देशमा दुई किसिमका नागरिकहरु छन् । पहिलो असली नागरिक । दोश्रो फसरी नागरिक ।
असली नगरिक बढो असली हुन्छन् । धेरै बोल्दैनन् । गम्भीर मुद्रामा रहन्छन् । मलीन अनुहार हुन्छ बरु । धेरै सोचीमात्र रहन्छन् । देख्यो कि परैबाट छुट्टिहाल्छन् के । अरु केही साझा विशेषता र हुलियाहरु पनि हुन्छन् असली नागरिकसँग । जसले मलीन अनुहार लगाएर पिठ्युमा झोला भिरेका हुन्छन् । खुट्टामा हवाईचप्पल उनेका हुन्छन् । झुम्राझाम्रा, मैलाधैला कपडा तुनेका हुन्छन् । बुझ्नुस् पक्कै ती असली नागरिक हुन् । त्यतिले पनि नपुगे उनीहरुको झोला खोदल्नु । झोलाभित्र राहदानी, नागरिक्ता र घरखेत धितो राखेका तमसुकहरु कोचेका हुन्छन् । कसैकामा खाडी कतारका भिषाहरु पनि हुन्छन् । कोही रोगी हुन्छन् । कोही लुलालंगडा हुन्छन् । कुनैसँग यौटा मात्र किड्नी हुन्छ ।
फसली नागरिकहरुचैँ असली नागरिकहरुभन्दा धेरै भिन्न हुन्छन् । यिनीहरु बोलक्कड स्वाभावका हुन्छन् । टुप्पो न फेद प्यारप्यार गरिरहन्छन् । ठ्याक्कै बिग्रेका रेडिया जस्ता के झ्यारझ्यारेहरु । स्वास्नीको करकर सुन्ने लोग्नेमुन्छेलाई चैं झ्यारझ्यारे फसली नागरिक छुट्याउन अलि गाह्रो पर्ला । तर, प्यारप्यार यिनीहरुको मुख्या विशेषता भने होइन । मुख्य विशेषता चैँ यिनीहरु फसल मात्र हेर्छन् । कसका बारीमा के फलेको छ झ्याप पारी हाल्छन् । यिनीहरुको यौटै ध्येय हुन्छ अर्काको फसल आफ्नो बनाउने । घुमाइफिर्याई दोहोर्याइतेहर्याई जसरी भए पनि फसल लुटी छाड्छन् । चोर डकैती जाली फटाईंमा फसली नागरिकले मुख्य भूमिका खेलेको हुन्छ । फसली नागरिक बसीबसी खाने स्वभावका हुन्छन् । यिनीहरुलाई खानबाट कसैले रोक्दैन । केही नगरी पनि अकुत कमाउनेहरु फसली नागरिक हुन् । फसली नागरिकहरु भरसक देश छाड्दैनन्, छाडे नै पनि यश, आराम, मोजमस्ती गर्न छाड्दैनन् । बुझ्नुभो नि ? तपाईंका घरछिमेकमा पनि यस्ता नागरिकहरु होलान् जोगिएर बस्नुस है । लुटिनु होला ।
हजुर हजुर, कसरी थाहा पाउनु भयो अरे?
हरे तपाईं पनि, म त खान्दानी मुन्छे हुँ के रे नि । त्यसै खानदानी हुन्छ र मुन्छे ! अलिकति टिक्टिस त चाहियो नि । अघि नै भनेथें त अनुभवले धोका दिँदैन भनेर । बिर्सिहाल्नु भएछ । कस्तो नेता हुने दिमाग छैन तपाईंको ।
यौटा कुरो थाहा छ तपाईंलाई ? नेता हुन एकदमै धेरै बिर्सने बानी हुनुपर्छ नि । बहिरो पनि हुनुपर्छ है । सुन्दा सुन्दै बिर्सिहाल्ने भए गज्जब । सुन्यो बिर्सियो, सुन्यो बिर्सियो । अँ अनि आँखा पनि कम देख्नपर्छ । दायाँबायाँ केही देख्दै नदेख्ने झनै राम्रो । तर, मुख्य कुरा पैसो चैँ देख्नुपर्छ नि । पैसो र परिवार देखेन भनेचैं कुरो बिग्रन्छ । याद गर्नुभा छ; कुकुरले सुँघेर बोराभित्र के छ भन्ने पत्ता लाएजस्तो नेताहरुले कसका ब्यागमा कति पैसा छ फ्याट्ट पत्ता लगाउँछन् ।
है ।
अँ अँ ।
हो हो ।
ल ल ।
तपाईंहरुलाई राजनीतिमा कत्तिको लगाव छ ? यदि छ भने नेता बन्ने कहिल्यै प्रयास नगर्नुस् है । दुःख पाउनुहुन्छ, दुःख । लाखौं जनताले थुक्छन् के रे तपाईंको मुखमा । ताल परे तुर्क्याइ पनि दिन्छन् कुकुरले खम्बामा तुर्क्याएजस्तो । बरु उत्यो कुनाको कुर्सीमा बसेको जस्तो अरिङ्गाल बन्नुस् । फाइदा छ के अरिङ्गाल बन्दा; ठाउँ कुठाउँ डस्न पाइन्छ । लुट्न पाइन्छ । भुट्न पाइन्छ । कुट्न पाइन्छ ।
ए अरिङ्गाल; हो कि होइन भन तो, बिहानदेखि तैले कति कप गणतान्त्रिक च्या फिरिमा सुर्क्याइसकिस् ?
यो अरिङ्गालको काम नै फिरिको च्या सुर्क्याएर सोझासाझा जनताको मुखमा तुर्क्याउने, बोली महाराजलाई फुर्क्याउने, घुर्क्याउने हो ।
हजुर हजुर, पाइन्छ पाइन्छ । जहानियाँ, पञ्चायति, प्रजातान्त्रिक, लोकतान्त्रिक, गणतान्त्रिक, क्रान्तिकारी सबै च्या पाइन्छ । बस्नुस्, बस्नुस् । बरु भन्नुस् कुन च्या चाहियो तपाईंलाई ?
तपाईंको हुलिया हेर्दा त ठ्याक्कै पत्रकारजस्तो देखिनु हुन्छ नि? टाइसुट लगाएर टक्क, हँ ?
अस्ति बोली महाराजले टिप्स दिएपछि त हेर्नुस् पत्रकारहरु ठामको ठाम फ्याट्टै चिनिन्छन् । सडकमा चप्पल पड्काउँदै समाचार खोज्ने पत्रकारहरु टक्क टाईसुट लगाएर पँजेरोमा हुइँकिएपछि सतही समाचार देख्दा रहेनछन् । छापिदा रहेनछन् । दुःख पीडा, समस्या, अभावका खबरहरु समाचारमै नआएसी देश त्यसै पनि समृद्ध भैगयो नि । राम्रो राम्रो समाचार मात्र आएसी विदेश हुँदी राम्रै चर्चा हुने भयो । विदेशी मिड्यामा राम्रै खबर छापिने भए । अनि भएन त चम्त्कार ? बनेन त देश ? गरेनन् त दुनियाँले चर्चा ? हाम्रा बोली महाराजलाई चैं मान्नै पर्छ ।
आजकल बोली महाराजलाई खुब सम्मान चाहिया छ रे नि ! शासकहरु किन सम्मानका यति भोका हुन्छन् मैले मरिगए बुझ्न सक्या नाईं । सम्मानले के खुत्याइदिँदो हो कुन्नि ? सम्मान भन्ने कुरो खोज्दा पाइने हो र ? कर्मले पो जन्माउने होला के रे ! तपाईं पनि यताउति हिँड्दा जी, ज्यू, महाराज भन्नुस् है, मिले पाउमै लम्पसार पर्नुस् । फेरि अरिङ्गालको टोकाइमा पर्नुहोला । साइबर सेनाहरुको ठोकाइमा पर्नुहोला ।
…
च्या, च्या, च्या खानदानी च्या …
आउनुस् आउनुस् आउनुस् …
हप्ता दिनदेखि मेरो दिल खुब रोइरहेछ बाउहरु । अस्ति के बार हो कुन्नि ? पशुपतिमा पूजा अरेर फर्कदै थिएँ, यरपोटाँ रुवाबासी रहेछ । किन रुवाबासी चलिरा छ भनेर पुलुक्क च्याको मात्र के थिएँ भित्र त मुर्दैमुर्दा ! १८ वटा बाकसहरु देख्दा मलाई भाउन्नै भयो । हुन त दिनमा लाखौं मुन्छेहरु मर्छन् भन्नुहोला ? तर, दुःखको कुरा के छ भने यसको पछाडि यौटा दुःखद कहानी लुकिछ । फुर्सद छ भने सुनाउँछु क्यारे !
ल, ल ।
हुन्छ, हुन्छ ।
सुरु गरें है त ।
५८/६० साललको को कुरा हुँदो हो । म उता बिरक्ती गल्लिमा च्या बेच्थें । देशमा खुबै मारामारी चलेको थियो । जनयुद्धको चपेटामा थियो देश । सबैको ज्यान पातमाथि थियो । त्यही समयमा पूर्वबाट यौटा ठिटो मेरो ठेगाना सोद्धै च्यभट्टीमा आइपुगो । हेर्दा डल्ले डल्ले जस्तो देखिने ठिटो सुरुमा त गुरिल्लै जस्तो लाथ्यो । अगुल्टाले पोलेको कुकुर बिजुली चम्किदा तर्सिन्छ भनेजस्तो । म त डराएँ के रे । धन्न मेरी श्रीमती खास्साकी छे र टेक्टिस लगाई । कुराकानी भओ । परिचय भओ ।
पछि चिनजान हुँदै जाँदा त केटो मेरै मितको छोरो हैछ । एसएलसी दिनेबेलामा माउबादीहरुले अपहरण गरेर जनसेना बनाएछन् । कापी कलमका ठाममा गोलीगठ्ठा, बम र बारुच भिराए छन् । धन्न मितज्यूले कताकति कुरो मिलाएर यता राजखानीतिर भगाएका हैछन् ।
मैले बिचरालाई छोरै सम्झिएर राखेँ । बरु मेरो डुलुवालाई खासै ध्यान दिइन । यताकै यौटा विद्यालयमा भर्ना पनि गर्दिएँ तर केटोले पढ्ने मन गरेर । झोक्राउने टोलाउने गर्न थाल्यो । भीडन्तमा परेर सातो गएछ बिचराको । मन भुलाउन हुन्छ भनेर च्याभट्टीमा लान थालें । केटो साह्रै मेहनती थियो । बिजुलीको तालमा काम गर्थो । पसल राम्ररी नै चल्दै थियो ।
समय बित्तै गयो । छोरो जवान हुँदै गयो । युद्ध पनि सकियो । राजखानीमा बस्ने बानी परिसकेकाले छोरो गाउँ फर्कन मानेन । बरू भन्यो “मित बा खर्चको जोहो गर्देउ न, म विदेश जान्छु । दुइचार वर्ष विदेशमा मेहनत गर्छु, केही कमाउँछु र यतै केही थालौंला ।”
मलाई पनि केटोको कुरो ठिकै लाओ । मेहनती छ, कमाउला । आफ्नै खुट्टामा उभ्भिन्छु भन्नेलाई दिनुपर्छ भनेर सहयोग गरें । रहादानी बनाइदिएँ । जोडी पनि बाँधिदिएँ र उसलाई कतार उढाइदिएँ ।
केटाले पैसा राम्रै कमउन थाल्यो । महिनैपिच्छे राखिदेउ बा भनेर मलाई पठाउन पनि थाल्यो । यता उसकी स्वास्नी गर्भवती थिई । स्याहार गरें । छोरो जन्माई । नाति हुर्काउँने मेरै भागमा पर्यो । हुर्काउन पनि थालें ।
नाति टुकुरटुकुर हिँड्ने भएपछि मलाई लाग्यो, छोराको पैसा बैंकमा राखेर मात्र केही हुन्न । यसो केही इलम सुरु गरिदिनु पर्छ । पछि छोरो आएसी सम्हाल्छ । नातिको भविष्य पनि बन्छ सोचेर यौटा अर्को च्याभट्टी खोलिदिएँ । च्याभट्टी उसैकै स्वास्नीले सम्हाल्न थाली । गाउँबाट मितिनी पनि आउनुभयो सहयोग अर्न ।
जिन्दगी साधारण तरिकाले चलिरहेको थियो । छोरो कमाइरहेथ्यो । यता बुहारी पनि कमाउँदै थिई । नाति हुर्कदै थियो । समय अनुकूल नै थियो । एकदिन अपर्झट छोरो दुर्घटनामा परेको खबर आयो । त्यसपछि सुरु भयो जिन्दगीको घुमाउरो बाटो ।
परदेशको ठाउँमा छोरो दुर्घटना परेको खबरले मेरो सातोपुत्लो उडिहाल्यो । मितिनी र बुहारी मुर्छै परे । बिचरा नाबालक नातिले जिन्दगी आफ्नो बाउको मुहार देख्न नपाउने भयो । टुहुरो भयो । बालापन अभावमै हुर्कियोस् तर मातापिताको हात र साथ नछुटोस् । परिवारको अभाव कस्तो हुन्छ भन्ने कुरा मलाई मात्र थाहा छ । घरबाट भागेर यो राजखानी सहरमा प्राण थाम्नका लागि गरेको संघर्ष सम्झदा अहिले पनि आँशु आम्च ।
हजुर, गणतान्त्रिक च्या कसलाई अरे ? कुनाको हरियो कुर्सीमा बस्ने बाबुलाई हैन त ? ल ल । एकैछिन् है ।
म कता थिएँ रे?
अँ, अँ परदेशमा ।
छोरो परदेशमा बित्यो । यता मितिनी शोकमा बित्नुभो । बुहारी र त्यही यौटा पिप्सो नाति पनि हाडछाला भए । सम्झाउन त खोजें तर म आफैंले आफैंलाई त सम्झाउन सक्या नाईं, अर्कालाई कसरी सम्झाउनु र ! तैपनि लास नदेखुञ्जेल आस बाँकी नै हुँदो रहेछ । मन बुझाउँदै थियौं । सम्हाल्दै थियौं । त्यति नै खेर छोरो रातो बाकसमा फर्कियो ।
धन कमाएर आउँछु भनी हात हल्लाउँदै उडेको छोरो हिउँको डल्लोमा बेरिएर फर्केको हेर्न सकस पर्दोरहेछ ।
अरु त त्यस्तै हो, नातिले पशुपतिमा उसको बाउको जल्दै गरेको लास देखेर ‘के गरेको त्यस्तो मेरो बाबालाई पोल्छ’ भन्दै रुएको हिजोजस्तो लाग्छ । आज पनि मेरो मनमा नातिको त्यही आँशु जमेर बसेको छ । बाहिर जति हाँसे पनि मन भारी छ बाबुहरु । एकदमै भारी ।
अस्ति यर्पोटाँ ती १८ वटा बाकस देख्दा आफ्नै छोराका जस्ता लागे । त्यहाँ लालाबालाहरु सहितका आमाहरु रुदा त्यही नाति र ब्वारिको सम्झना आयो । त्यही दिनको सम्झना आयो । त्यही क्षणको सम्झना आयो ।
आजकल पनि नाति बेलाबेला बाबा खोजिरहन्छ । नदेखेकै, नजानेकै, नचिनेकै भए पनि आफ्नो भनेको आफ्नै हुँदो रहेछ । नाता भन्नेकुरा गर्भैमा लेखिदो हैछ ।
ए बाबु बस्नुस् न । किन उभ्भिनु भाको ? ठाउँ मिलाएर बस्नुस के रे । म च्या पिलाइहाल्छु ।
ला ला ला…
फु फु फु…
ठक ठक ठक…
उम्ली त हाल्यो ।
लौ है लौ, तयार भयो पञ्चायत च्या । लिई हाल्नुस् सेलाम्च फेरि ।
आजलाई खानदानी च्या यत्ति नै । जिब्रो पड्काएर ।
टाटा बाइबाई । फेरि भेटौंला ।
श्री ५ को सरकारले तपाईंको रख्खे गरुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

