तीन दिनदेखि एकनास सिमसिमाएको पानी आज साँझैदेखि दर्किन थालेको छ । पानी अब टक्क अडिन पनि सक्छ र फेरि साबिकझैँ यसले सिमसिमे पारा पनि झिक्न सक्छ । जे होस्‌, मलाई त्यसको कुनै चासो छैन । मलाई चासो भएको कुरा हो घडीले आठ बजाउनु र त्यो भर्खरै बजेकोले मेरो आजको काम पोर्टिकोमा ठडिएको मोटरलाई ग्यारेजमा थन्क्याएपछि सकिन्छ ।

मोटर हाँक्नु मेरो पैतृक काम हो, बाबुबाजेले पनि गरेको । फ्रेन्च र जापानीबाट नेपालीमा उल्था गर्नु मेरो निजी काम हो । उल्टो सास फेर्न थालेपछि मधौरु बाबुले खुवाएको बाचा तोड्ने ह्याउ बटुल्न नसकेरै मैले मोटर हाँक्ने पैतृक काम छाड्न नसकेको हुँ । यो काम गर्दा बारम्बार मेरा अहम्‌मा धक्का लाग्ने गरेकोले मानसिक सन्तुष्टिका निमित्त मैले अनुवादसम्बन्धी व्यक्तिगत काम पनि गर्न थालेको हुँ । यसैले यी दुवै भाषाबाट मेरासरह उत्था गर्ने अर्को व्यक्ति जति खोजे पनि पाइँदैन भन्ने मेरो तुजुक दिनदिनै बढ्दो छ । उल्थाहरू मैले आफ्नो नाउँमा छपाउन सकेको भए मेरा अहम्‌को अझै बढी पुष्टि हुने थियो, तर कालले छोए पनि बाँच्न खोज्ने आफ्नी आमाको ओखतीमुलोको खर्च टार्न घौ-धौ परी
नै रहने हुनाले मलाई जहिले पनि थोरै पैसामा उल्था बेच्न कर लागेको हुन्छ । किन्नेहरूले आफ्ना नाउँमा छपाएर यशको थुप्रो सम्ठयाएको देखेर कतिपटक मैले उल्थै नगर्ने अठोट पनि गरिसकेको छु, तर अहम्‌मा चोट लाग्दा हीनभावनाको निकास र आमाको मक्किएको फोक्सो चलाउने खलौती अरू कुनै नभएकोले मेरो अठोट दिगो रहन सकेको छैन ।

मोहनराज शर्मा

आज पनि रातभरि ओजेमुडेजाइको खलनायककी स्वास्नी र बोदलेरको पेरिस साँझमा उल्था गरिसक्नु छ ।

यस कुराको सम्झना हुनासाथ दर्केपानीको वास्तै नगरी पोर्टिकोबाट हुर्याएको मोटर सासै नफेरी ग्यारेजभित्र हुल्न पुग्छु । भित्र टिनको छत पड्केको पानी जङ्गिदै आएको चाल त्यसै पाउँछु, तापनि मुटु मिचेरै कुममा फाटेका पुरानो बर्सादी भिर्छु र पानीको जोखाना हेर्न ढोकातिर चियाउनु थाल्छु।

बहिर पानीका सारै ठूला-ठूला थोपा खस्दै छन्‌ । यत्रा ठूला थोपा मैले आजसम्म देखेकै थिइनँ । त्यसैले एकछिन त म त्यसैमा टोलाउँछु । अर्को
एकछिनचाहिँ बग्दै गरेका फोकामा रमाउँछु । त्यसपछिको अर्को एकछिनचाहिँ आलोपालो गरी दुवैलाई हेर्ने सुर कस्छु, तर सो सुर कस्दाकस्दै बर्सादीको फाटेको ठाउँलाई हत्केलाले छोप्दै फुत्त बाहिर निस्किन्छु |

बाहिर निस्किनेबित्तिकै पानीले भुखभरि तीव्र छर्रा हान्छ | पोर्टिकोमा ठमक्क परेर उभिएकी मोटर मालिककी कान्छी छोरीलाई देख्नासाथ मभित्र पानीको चोट खप्ने हुति आफैँ पलाउँछ । मूलढोकातिर जान मैले पाइलो उचाले तापनि मेरो खुट्टाले बाघको गन्ध पाएको घोडाझैँ हच्केर त्यो बाटो छाड्छन्‌ र पानीले आजै लडाएको पर्खालको छेडातिर बेफ्तासाथ हानिने तयार गर्छन्‌ |

मैले उसित डराउनुपर्ने एउटै कारण छ । बढी उमेरलाई कम देखाउन ऊ औधी नखरमाउलिने भएकीले होइन, एकदम चोथाली भएकीले मैले यसरी डराउनुपरेको हो | जतिखेर पनि उसलाई ट्याउँट्याउँ बोलिरहने भोक लागेको हुन्छ, तर मलाईचाहिँ धेर बोल्यो भने अपच भएर आउँछ | मेरो स्वभाव घोर अन्तर्मुखी भएकोले मैले दिनभर काठेका सारा लवजलाई औंलामा गन्न सकिन्छ । यसैले जुनसुकै बेला पनि मेरो मुखभित्र गन्हाउने र लेस्याइलो राल भरिएकै हुन्छ । मलाई मुखमा राल थुपारेर असाध्य मनपर्छ । अहिले पनि खेलाउँदा-खेलाउँदा तातो र बेस्वाद भएको राल प्याच्च थुक्छु र उसलाई नदेखेजस्तो गरेर थुक रसाउने ठाउँ अर्थात्‌ जिब्रोमन्तिरको कमलो मासु चुस्दै लडेको पर्खालभित्र लम्किन्छु । सयौँ जनाले एकैपटक रुवा फड्किने धुलाई मुखरित गरेजस्तो पानीको स्वरलाई छेडेर आएको उसको आवाज मेरा कानभित्रको कमलो पर्दामा ठोक्किन्छ, तर म त्यसको वास्तै नगरी भत्केको गल्छेँडाबाट बाहिर निस्किन्छु ।

पर्खालबाहिर निस्पट्ट अँध्यारो छ । हुरीबतासले बिजुलीको लठ्ठा ढालेको हुँदा निक्खर कालो सुट लगाएको जासुसजस्तो रात त्यहाँ उभिएको छ । उज्यालोको दाँजोमा अँध्यारोले कम जिल्याएकोले मलाई यो नयाँ वातावरण आफूसुहाउँदो लाग्छ।

पानीले झन् झन् दर्किने सुर झिक्दै छ । भएभरको बल हत्केलामा सोहोरेर थिच्दा पनि बर्सादीको फाटेका ठाउँबाट थोपाहरू बलजफ्ती भित्र पसेर मेरा आँगमा छ, तर मैले भट्टी-पसल पुगेरै अड्ने मुढेबल गरिसकेको छु |

भट्टी-पसल मेरो घरदेखि अलि वरै पर्दछ । म लमलमी डेग चाल्दै छु । अँध्यारो झन्‌ बढ्दो छ । ‘ट्याक्सी स्ट्यान्डनिर पुगेपछि एक्कासि मलाई तोडको ठक्कर लाग्दछ | ‘बातो बन्ड’को तखता झुण्ड्याएर बाँसको छेको तेर्स्याएको थाहा छँदाछँदै अहिले त्यसको सुद्धि हराएकोले मलाई आफैँमाथि झनक्क रीस उठ्छ, तापनि मुढेबल नछाडी एकसुरले आफ्नो बाटो लाग्छु | बाटो बिग्रेर जताततै खाल्टाखुल्टी परेकाले पाइलैपिच्छे छप्ल्याङछुप्लुङ गुञ्जित हुन्छ | प्रत्येक गुञ्जनलाई पछि-पछि पार्दै म अघि-अघि सर्छु ।

आज भट्टी-पसल पुग्न मलाई सधैँभन्दा सत्र मिनेट बढी लाग्छ । त्यहाँ पुगेर सबभन्दा पहिला थिच्दा-थिच्दा दुख्न थालेको हत्केला कुमबाट तल झार्छु र लामो सास फेर्दै हिलोमा मुछिएको जुत्ता भुइँमा बजार्न थाल्छु ।

मैले खुट्टा बजारेको सुनेर पसलभित्र बेसुर भएर बसेका दुई-चार मानिस मतिर आँखा फुकालेर हेर्छन्‌, तर मचाहिँ तिनीहरूको वारतै नराखी वल्लो रहेको ठिङ्गो मेचतिर लम्किन्छु | त्यहाँ पुगेर निथ्रुक्क भएको बर्सादी फुकाल्छु र त्यसलाई टकटक्याउँदै दलिनमा घोपिएको कीलामा झुण्ड्याउन थाल्छु ।

म बस्नुअघि पसलेकी तन्नेरी छोरी एउटा हातमा चौथाइ भरिएको बोतल र अर्को रित्तो गिलास लिएर आइपुग्छे । कसिएका लुगा लगाएर आफ्नो आङलाई टन्क्याएर उसको बानी छ । उत्ताउलीचाहिँ त्यति नभए पनि ऊ मस्किन भने कुनैबेला छाड्दिन | जुनसुकै जस्तोसुकै भए पनि लोग्नेमानिसका जीउको अलिकति पनि तातो पाउनासाथ ऊ बिरालोझैँ नजानिँदो पाराले लहसिँदै टाँसिन पुग्छे । यसले उसको पसलको चल्ती जतिसुकै बढाए पनि म उसलाई मोटर मालिककी कान्छी छोरीझैँ रूचाउन्न । फेरि धातुको बिरामीले पीडित भएको हुँदा मलाई तन्नेरी केटी रूचाएको फाप्दै फाप्दैन । उनीहरूको छोटै सम्पर्कबाट पनि मैले आफ्नो ठूलो खती भएको अनुभव पटक पटक गरेको छु |

बर्सादी भिरेर पनि रुझनुभएछ त डाइभरसाप्‌ ।! हलुको गोलीजस्तो लवज डकार्दै ऊ खपटे दाँत ङिच्च्याउँछे र बोतलको रक्सी खततत गिलासमा खन्याउँछे ।

दुख्छ कि भनेर हलुका हातले घाउ पुछे झैँ म आफ्ना आँखलाई उसको बाटुलो मुखमा पर्नासाथ झिकिहाल्छु । घोसेमुन्टो लाएर एकछिन मुखको राल छिटो छिटो खेलाएर प्याच्च थुक्छु र रुन्चे हाँसो छर्दै तरल काँढा उम्रेको गिलासतिर हात लम्काउँछु । ओठमा गिलास जोरिनुअघि मेरो मुखबाट पहिलोपटक बक फुट्छ, अँ ।

“आज कता हो बिजुलीको थाम लडेर मटर किच्यो रे भन्ने सुनेथेँ, मनै झसङ्ग भाको थियो ! रित्तो बोतलको साँघुरो मुखनमा बलजफ्ती आफ्नो बूढीऔँलो कोच्दै ऊ भन्छे ।

“होला ! मैले हिजो मानेजस्तो गरेर जवाफ दिएकोले ऊ ठुस्सिन्छे र मखिबुट्टे रातो पर्दा उचालेर खुट्टा बजार्दै त्यसभित्र अल्पिन्छे । म त्यसै तोडमा भरिएको गिलास रित्त्याउँछु र त्यसलाई बज्रिने गरी टेबलमाथि राख्छु ।

किन हो आज मलाई नशाले रननन छोपिहाल्छ | म एकसुर भएर, झुण्डिएको आफ्नो बर्सादी हेर्न थाल्छु । हेर्दाहेर्दै मलाई के लाग्छ भने त्यो बर्सादी होइन छाला खुइल्याएर झुण्ड्याएको मेरो आफ्नो जीउ हो । अपहत्ते गर्ने विचार मेरो मनमा रातदिन जमजमाइरहे पनि म झुण्डिएर वा सेरिएर मर्न चाहन्नँ । कोठाको झ्यालबाट हाम्फालेर मर्ने निधो र योजना मैले गरेको छु | यो निधो मैले किन, कसरी र कहिले गरेँ भन्ने केही भेउ मैले पाउन सकेको छैन, तर यस विचारलाई झन्‌ बलियो तुल्याउन मेरी आमाले निक्कै मद्दत गरेकी छन्‌ ।

आमालाई सम्झिनेबित्तिकै वातावरणमा क्यान्सरको तीखो गन्ध रुमल्लिन थाल्छ | उनलाई क्यान्सरले ग्रस्त पारिसकेको छ । जीउको मासुजति गलेर उनी सिन्की भएकी छन्‌ । दिनदिनै उनी पहेलिँदै छिन्‌ र दिनदिनै उनको हिँडडुल गर्ने हुति हराउँदो छ । रात वा दिन कुनैबेला पनि उनलाई पटक्क निद्रा पर्दैन । जतिखेर पनि उनी आँखाको ढकनी बन्द गरेर निद्रालाई पर्खिरहेकी हुन्छिन् । यसरी दुनियाँभरको हुर्मत बेहोर्नुपर्ने पनि उनी मर्न भने चाहन्नन्‌ । उसको जुन हालतमा भए पनि बाँचिरहने ठूलो धोको उनलाई छ । बाँच्न सक्ने भएर पनि मर्न चाहन्छु र आमाचाहिँ बाँच्न नसक्ने भएर पनि मर्न चाहन्नन्‌ । यस विरोधाभासले मलाई साह्रै उदेकमा पार्छ, तर…

‘तर के, म झ्यालबाट हाम्फाल्न सक्दिनँ र ! आजै फालहाल्छु । म डाँको छाडेर चिच्याउने थिएँ हुँला, तर दुवै हातले च्याप्प आफ्नो थुतुनो समाउन पुगेकोले मेरो मुखबाट एक शब्द पनि बाहिर निस्किन पाउँदैन । मैरो मनका गुप्त र सुप्त भावनालाई झन् झन् खोस्रिने कुटो भइदिएकोले म आफ्नो बर्सादीलाई झुण्डिएको ठाउँबाट फुत्त तान्छु र पसलेलाई पठाउने इसारा गर्छु ।

पसलेकी ठुस्सिएकी छोरी नाकमुख चेप्राउँदै बोतल लिएर आइपुग्छे र ठस्स राखेर फनक्क फर्किहाल्छे । मलाई त्यसको अलिकति पनि वास्ता छैन । मलाई यतिखेर वास्ता भएको कुरो बोतल हो र सो पाउनासाथ मुखैले बिर्को उखेलेर घटघटी घोक्न थाल्छु । बोतल रित्याएर राख्न खोज्दा मेचमा नपरेर तल झर्छ । छङ्ग्रङ्ग स्वरका साथ टाढाटाढासम्म काँचका साना-ठूला टुक्रा छरिन्छन्‌ ।

‘झ्यालमन्तिर कुदेपछि मेरो हाङ-मासु पनि यसै गरी छरिनेछ ।’ अपहत्ते गर्ने इच्छा एक्कासि तीव्र भएकोले मेरो सोचाइको कोण त्यतै ढल्किन्छ । अहिले भट्टी-पसलमा होइन आफ्नो कोठाको फोहोर र चिसो ओछ्यानमा बसेको जस्तो लाग्छ ।

म आफ्नो ओछ्यानमा बसेर उल्था गर्दै छु । कोठामा क्यान्सरको तीखो गन्ध तरङ्गिँदै छ । अलि पर झोलुङ्गे खाटमा आमा लमतन्न परेकी छन्‌ । उनले घाउ पुछेर रुवाको फा फाल्न थालेपछि मेरो हातका कलम आफैँ तल झर्छ र पीपमा लटपटिएका फाहरू टिपेर म गन्ध लिन थाल्छु । मलाई क्यान्सरको गन्ध असाध्य मनपर्छ | किन हो कुन्नि मलाई त्यसबाट आत्मिक सन्तोष प्राप्त हुन्छ, तर त्यसो गर्दा आमा बर्बराएकीमा झनक्क रीस पनि उठिहाल्छ । अनि म झौँक्किएर फतफताउन थाल्छु, अब म ‘हाम्फाल्छु, अब म…

वाक्य पूरा हुनुअगाडि म आफ्नो जिब्रो बेसरी टोक्छु र बौलाहासरि झ्यालतिर दगर्छु | झ्यालमा पुग्नासाथ सोडाको बोतलबाट ह्वासह्वास् निस्केको फिँजजस्तो मेरो क्षणिक आवेग सेलाउँछ र मेरो मनबाट फालहाल्ने हिम्मत केहीबेरका निमित्त एकदमै निख्रिन्छ | म लुत्रुक्क परेर आफ्नो चिसो बिछ्यौनामा फर्किन्छु र … !

….. र एक्कासि मेचमा ठूलो भुइँचालो आएकोले मेरो सोचाइ रोकिन्छ |

आफ्नो मेचमाथि पुड्को (मोटो मान्छे) ले अग्लो (सिकुटे) साथीलाई घोप्ट्याएको म देख्छु । घोप्टिएकाले हातमा लिइराखेको चुरोट मोटेको खुइले तालुमा च्वाइँय्य हुने गरी ठोस्दछ । मोटे एकछिन रनथनिए पनि छिटो छिटो ठुटो ठोस्नेको लामो जुँगा उखेल्न थाल्छ । यत्तिकैमा पसले त्यहाँ आइपुग्छ र दुवैलाई दनक दिँदै बाहिरतिर हुर्न्याउँछ । अझै नसोहोरेको काँचका टुक्रामाथि मर्याकमर्याक टेक्दै म पनि बाहिर निस्कन्छु ।

बाहिरको कालो वातावरण फूनबाजाको अजङ्ग रेकर्डझैँ पानीको धुन बजाउँदै छ । सो धुनमा झुम्मिँदै बिग्रेको बाटोको खाल्टाखुल्टीमा म फेरि छप्ल्याङछुप्लुङ गर्न थाल्छु । कोठामा पुग्नेबित्तिकै कतै नहेरी झ्यालबाट हाम्फाल्ने अठोट अहिले मैले गरिसकेको छु ।

पानी झन्‌-झन्‌ दकिँदै छ । म आफ्नो अठोट झन्‌-झन्‌ दरिलो पार्दै पाइला चाल्दै छु । अब त मेरो घर पनि देखिन लागेको छ | झ्यालमा पीलपीले उज्यालो देखेर म झसङ्ग हुन्छु ।

मेरा मनमा कुरा खेल्न थाल्दछन्‌, आमा त उठेर बत्ती बाल्न सक्दिनन् ! बाहिर निस्किँदा तलको ढोकामा ताल्चा मारेर हिँड्छु, तसर्थ अरू कोही बत्ती बाल्नमाथि जान पनि सक्दैन । अनि के त आमा… !

झ्यालतिर सर्दै आएको आमाको कुप्रो छायौँ देखेर मलाई ठाँगे भएजस्तै हुन्छ । मेरा खुट्टा हिँड्दाहिँड्दै टक्क अडिन्छन्‌ । मलाई त्यो छायाँ झ्यालको रेलिङबाट घोप्टिन लागेको जस्तो लाग्छ । त्यो देखेर पानीले निथ्रुक्क भिजाए पनि मलाई खलखली पसिना आउँछ । एकसासमै माथि कोठामा पुग्ने आँट झिकेर म डोकातिर हानिन्छु, तर झ्यालमन्तिर पुग्दा त्यो छायाँ लुत्त तल चुहिन्छ | मैले सुन्न अप्ठेरो माने पनि फ्यात्त खसेको स्वर मेरो कानमित्र कनसुत्लाझैँ पस्छ | चिम्म पारेका आँखा उघारेर हेर्दा म आफ्ना वरिपिर क्यान्सर गन्हाउने मासुका चोक्टा र हाडखोड छरिएको देख्छु, बोतल खस्दा काँचका टुक्रा छरिएझैँ ।

रातको ठूलो र कालो रेकर्डमा पानीको झम्‌झम्‌ एकनास बज्दै छ । भिजेर मेरो जीउ कक्रक्क परिसकेको छ । मेरो शरीरबाट हलचल गर्ने हुति रित्तिँदो छ। ज्योति हराउँदै गरेका आफ्ना आँखाले म क्वारक्वार्ती हेरी मात्र रहन्छु, आमाका छरिएका मासुका चोक्टा र हाडखोड खाइसकेर कुकुर र स्याल मेरा वरिपरि पनि झुम्मिन थालेका छन्‌ । यसपछि मलाई कालोबाहेक केही पनि देखिँदैन, निस्पष्ट कालो… ।

सम्पादकज्यू,

अहिले भर्खर मैले आफ्ना एक जना डाक्टर मित्रबाट के खबर पाएको छु भने एउटा युवक रक्सीका नशामा रातभरि आफ्नो झ्यालमन्तिर उभिएर पानीमा भिजेकाले कठाङि्ग्रएको अवस्थामा अस्पताल ल्याइएको छ । उसलाई अक्सिजन दिइँदै छ, तर बाँच्ने भने कमै उम्मेद छ । साथै उसकी थलिएकी आमामाथि कोठामा मृत अवस्थामा फेला परी भन्ने खबर पनि पाठकहरूलाई जनाइदिनु होला ।

घन्यवाद ।