ब्रिटिश अमेरिकी लेखक साइमन सिनेकको पुस्तक ‘लिडर्स इट लास्ट’ मा समाविष्ट एउटा प्रसंग प्याराफ्रेज (संक्षिप्त व्याख्या) गर्न चाहन्छु।
एक पटक ‘अन्डर सेक्रेटरी अफ डिफेन्स (सुरक्षा सचिव)’ एउटा कार्यक्रममा प्रमुख वक्ताका रुपमा आमन्त्रित थिए। उनलाई विजनेस क्लास फ्लाइट (व्यापार वर्ग उडान) को व्यवस्था गरिएको थियो। उनलाई एअरपोर्टमा स्वागत गर्न एक व्यक्ति पगिसकेका थिए। जब उनी होटलमा पुगे, त्यहाँ अर्को व्यक्ति स्वागतका लागि उपस्थित थिए। होटलमा उनको ‘चेक इन’ भइसकेको थियो। उनलाई कोठाको चाबी दिइयो र होटलका एक कर्मचारी कोठासम्म पुर्याउन सँगै गए।
भोलिपल्ट बिहान उनी होटलको लबीमा झरे। त्यहाँ उनलाई कार्यक्रम स्थलसम्म लैजान एक व्यक्ति हाजिर थिए। कार्यक्रम स्थल पुग्नेबित्तिकै उनलाई ग्रीनरुम (वक्ता, अभिनेता र अदाकार आराम गर्ने कोठा) मा लगियो। त्यसपछि आकर्षक सेरामिक कपमा कफी दिइयो। यो उनी पदमा रहँदा गरिएको व्यवहार थियो।
यो घटनाक्रमको ठीक एक वर्षपछि अन्डर सेक्रेटरीले आफ्नो जिम्मेवारीबाट अवकाश लिए। यसपटक फेरि उनलाई सोही ठाउँका, उही विषयमा बोल्नका लागि आमन्त्रित गरियो। उनलाई साधारण वर्गको उडान व्यवस्था गरिएको थियो। एअरपोर्टमा स्वागत गर्न कोही उपस्थित थिएनन्। उनी आफैँ ट्याक्सी चढेर होटलसम्म पुगे। स्वयं ‘चेक इन’ गरेर आफ्नो कोठामा गए। भोलिपल्ट बिहान उनी होटलको लबीमा झरे। आफैँ ट्याक्सी खोजेर कार्यक्रम स्थलसम्म पुगे। सोधपुछ गर्दै ग्रीनरुम भित्र पुगे। त्यहाँ उनले एक प्राविधिकलाई कफी पिउने इच्छा व्यक्त गरे। ती व्यक्तिले कोठाको एउटा कुनामा कफी मेसिन रहेको जानकारी दिए। त्यसपछि उनी त्यसतर्फ गए। त्यहाँ आकर्षक सेरामिक कप थिएन। केवल स्टायरोफोम कपहरु राखिएका थिए। उनी सोही कपमा कफी पिउन बाध्य भए। यो उनी पदमा नरहँदा गरिएको व्यवहार थियो।
‘अन्डर सेक्रेटरी अफ डिफेन्स’ दुवै अवस्थामा विनम्र थिए।
केही महत्वपूर्ण निहितार्थहरू
जुन प्रसंगको हामीले विशेष चर्चा गर्यौँ, त्यसका केही निहितार्थहरू अर्थात् आशयहरु छन्:
- तपाईंले प्राप्त गरेका सम्पूर्ण सेवा, सुविधा र मान सम्मान तपाईंका लागि दिइएको होइन तपाईंले लिएको जिम्मेवारीका लागि हो। पदको लागि हो। त्यो जिम्मेवारी, पद त्याग्नेबित्तिकै ती सम्पूर्ण सेवा, सुविधा र मान सम्मानबाट तपाईं वञ्चित हुनुहुन्छ। जसरी तत्कालीन ‘अन्डर सेक्रेटरी अफ डिफेन्स’ वञ्चित हुन पुगेका थिए। अब तपाईंको प्रतिस्थापनमा आउने व्यक्तिले नै ती सम्पूर्ण सेवा, सुविधा र मान सम्मान प्राप्त गर्छ।
- तपाईंसँग सधैँ पद र प्रतिष्ठा हुँदैन। समयअनुसार तपाईंको रुची, प्राथमिकता र आवश्यकताहरु परिवर्तन भइरहन्छन्। तपाईं कहिले उच्च पदमा रहनुपर्ने हुन्छ त कहिले साधारण पदमा। त्यसैले उच्च पदमा रहँदा घमण्ड गर्ने र साधारण पदमा रहँदा हार मान्ने वा अत्तालिने नगर्नोस्। दुवै पदमा रहँदा उत्तिकै शान्त र विनम्र हुने गर्नोस्।
- पद र प्रतिष्ठाले होइन विनम्रताले तपाईंको सही परिभाषा दिन्छ। तपाईंको ब्राण्ड इमेज विकास गर्छ। घाँटीमा लगाउने सुनको हारभन्दा तपाईंको विनम्रता कयौँ गुणा बहुमूल्य गहना हो। मानिसहरु तपाईंको पद र प्रतिष्ठा होइन विनम्रता याद राख्छन्। त्यसैले उनीहरु सबैलाई विनम्रता साथ समान व्यवहार गर्नोस्। कुनै पनि व्यक्तिलाई आफ्नो मुडअनुसार र उसको स्तर हेरेर व्यवहार नगर्नोस्। सबैसँग अन्तरक्रिया गर्दा विनम्रताको भाषामा नै प्रयोग गर्नोस्।
केही व्यवहारिक अनुप्रयोगहरु
विनम्रताको शक्ति कति हन्छ? किन विनम्र हुनु आवश्यक छ? कसरी विनम्र हुन सकिन्छ? विनम्र नहुँदा वा हुन नसक्दा के-कति मूल्य चुकाउनु पर्ने हुन्छ? यी यावत् कुराहरु बुझ्नका लागि केही व्यवहारिक अनुप्रयोगहरु अथवा उदाहरणहरू संक्षेपमा वर्णन गरौँ।
- कठोर आलोचक
जसले प्रयास गर्छ, उसले कठोर आलोचक भेट्छ। अर्को शब्दमा भन्नुपर्दा, जसले परिणाम ल्याउँछ, उसैको आलोचना हुन्छ। केही कार्य नगर्ने वा निष्क्रिय बस्नेको मात्र आलोचना हुँदैन। त्यसैले आलोचनात्मक टिकाटिप्पणी हुनुलाई स्वभाविक रुपमा लिनोस्। त्यसलाई मार्गनिर्देशन रुपमा स्वीकार गर्नोस्। आलोचकप्रति सकारात्मक हुनोस्। कृतज्ञ हुनोस्। विनम्रता साथ प्रस्तुत हुनोस्। यसलाई बुझ्न एउटा सादृश्य परिकल्पना गरौँ। मानौँ तपाईंले पहिलोपटक उपन्यास लेख्नु भयो। एउटा चलेको प्रकाशन गृहबाट पुस्तक प्रकाशित भयो। पुस्तक बेस्टसेलर हुने कुरामा तपाईं ढुक्क हुनु भयो। तर परिणाम तपाईंले सोचेको भन्दा फरक आइदियो। पुस्तक बजारमा खासै चल्न सकेन। अब तपाईं निराश हुनुहुन्छ नै। मानौँ तपाईंको एउटा परिचित आलोचकसँग भेट भयो। मानौँ ती आलोचकले तपाईंको पुस्तक र लेखनशैलीमाथि कठोर आलोचना गरे। तपाईं लेखकका रुपमा स्थापित हुनै नसक्ने भविष्यवाणी गरिदिए। यस्तो समयमा तपाईं प्रतिक्रियात्मक नहुनुस्। प्रतिरोध नगर्नोस्। आलोचकप्रति विनम्रता भाव प्रकट गर्दै यस्ता भनाइहरू राख्नोस्:
यहाँलाई धेरै धेरै धन्यवाद ! हजुरको सल्लाह र सुझाव गम्भीरतापूर्वक लिएको छु। लेखन कार्यलाई थप परिमार्जन गर्दै लानेछु। निकट भविष्यमा प्रकाशित हुने पुस्तक थप सशक्त बनाउन कुनै कसर छोड्ने छैन। त्यसको लागि यहाँबाट साथ र सहयोगको अपेक्षा राखेको छु।
जब तपाईं यसरी आलोचकप्रति विनम्र भएर प्रस्तुत हुनुहुन्छ, सम्बन्ध जोडिने सम्भावना बढेर जान्छ। गहन अन्तरक्रिया गर्ने अवसर प्राप्त हुन्छ। तपाईंलाई लेखनसम्बन्धी सबै ज्ञान र सीप उपलब्ध हुन्छ। परिणामस्वरूप तपाईं स्थापित लेखकका रुपमा चिनिन सफल हुनुहुन्छ।
- सधैँ उपेक्षा गर्ने साथी
मित्रवत् व्यवहार दुईतर्फी हुनु आवश्यक छ। नत्र त्यसले कुनै अर्थ राख्दैन। मित्र हुनु र नहुनुमा कुनै तात्विक फरक पर्दैन। मानौँ तपाईंको एउटा घनिष्ठ साथी छ। मानौँ तपाईंहरु बचपनको साथी हुनुहुन्छ। तर तपाईंको साथी विगत केही महिनादेखि टाढिन खोज्यो। सधैँ तपाईंको उपेक्षा, बेवास्ता गर्न थाल्यो। तपाईंको फोन उठाएन। म्यासेजको कुनै जवाफ दिएन। तपाईंसँग भेट्ने इच्छा देखाएन। यस्तोमा तपाईंमा नकारात्मक भावना उत्पन्न हुनु, रिस उठ्नु र आफू अपमानित भएको महसुस हुनु स्वभाविक हो। यसो भन्दैमा साथीप्रति वितृष्णा व्यक्त गर्नु न्यायसंगत नहुन सक्छ। आरोप प्रत्यारोपमा उत्रनु तपाईंको गम्भीर भुल हुन सक्छ। जसकारण मित्रताको सम्बन्धमा पूर्णविराम लाग्न सक्छ। यस्तो परिस्थितिमा सम्बन्ध सुरक्षित राख्नका निम्ति तपाईं विनम्रता साथ सक्रिय हुन सक्नुपर्छ। कसरी? यसको लागि केही एप्रोज (पद्धति) अनुसरण गर्नुपर्छ। एक, सम्भव भएसम्म भेटको लागि आग्रह गर्ने। साथसाथै साथीको अनुकूलता र गोपनीयताको सम्मान गर्ने। दुई, भेट सम्भव हुन नसकेको खण्डमा साथीलाई एउटा चिठी लेख्ने। चिठीमा आफ्ना कुराहरु निम्नानुसार खुलाउन सकिन्छ:
प्रिय मित्र,
हामी बचपनदेखिका घनिष्ठ साथी हौँ। अहिले हामी दुवै वयस्क अवस्थामा बाँचिरहेका छौँ। म चाहन्छु हाम्रो मित्रता बूढेसकालमा पनि उत्तिकै प्रगाढ होस्। अहिलेको मितिसम्म हामीबीच कत्ति पनि तिक्तता उत्पन्न भएको याद छैन। यद्यपि विगत केही महिनादेखि तिमीले मलाई बेवास्ता गरेको पाएको छु। धेरैपटक सम्पर्कमा आउन र आफ्नो कुराहरू राख्न चाहेँ तर त्यो सम्भव हुन सकेन। तिम्रोतर्फबाट कुनै प्रतिक्रिया नआउँदा आश्चर्यचकित हुनुका साथै दुखी छु। मबाट केही गल्ती हुन गयो कि! यदि मेरो कारण तिमीलाई कुनै ठेस पुगेको छ भने माफी माग्न चाहन्छु। जस्तोसुकै जटिल समस्याको समाधान संवादबाट नै हुने कुरामा विश्वस्त छु। यसर्थ तिमीलाई सम्पर्कमा आउन र संवाद पुनः सुरुवात गर्न हार्दिक अनुरोध गर्न चाहन्छु।
उही तिम्रो मन मिल्ने साथी।
जब तपाईंले विनम्र भएर यो प्रकृतिको चिठी साथीलाई पठाउनु हुन्छ, उताबाट सकारात्मक प्रतिक्रिया आउने सम्भावना उच्च रहन्छ। फलस्वरुप तपाईंहरुको मित्रता झनै गहिरो, अर्थपूर्ण हुन पुग्छ।
- गृहकार्य नगर्ने विद्यार्थी
यो हरेक विद्यालयको साझा समस्या हो। कुनै पनि विद्यालयको प्रत्येक कक्षामा केही यस्ता एक दुई जना विद्यार्थीहरु हुन्छन्, जो कहिल्यै गृहकार्य गर्दैनन्। किन नगरेको भन्ने प्रश्नमा बिर्सिएको, नभ्याएको र नजानेको जस्ता अव्यवहारिक एवं अपत्यारिलो कारणहरू प्रस्तुत गर्छन्। प्रायः शिक्षक शिक्षिकाहरुको प्रतिक्रिया यस्ता हुने गर्छन्:
के खाना खान बिर्सियो ?
तँ साह्रै अल्छी भइस् ।
तैँले गरेर खाँदैनस् ।
तँ त अति बिग्रिस्, आदि ।
विद्यार्थीहरुले गृहकार्य नगर्ने र शिक्षक तथा शिक्षिकाहरु आजीत हुने क्रम शैक्षिक सत्रभरि नै चलिरहन्छ । यस्तोमा ती विद्यार्थीहरुलाई कसरी गृहकार्य गर्ने बनाउने त ? नियमित रुपमा गृहकार्य गर्नका लागि कसरी प्रेरित गर्ने त ? यसमा विनम्रताको भाषा प्रयोग गर्न सकिन्छ।
मानौँ तपाईं एक विज्ञानको शिक्षक हुनुहुन्छ। मानौँ कक्षा दशमा अध्ययनरत एक जना विद्यार्थीले कहिल्यै गृहकार्य गर्दैन । बाहाना मात्र गरिरहन्छ। यस्तो अवस्थामा तपाईं त्यस विद्यार्थीप्रति नकारात्मक नहुनूस् । उनलाई कक्षामा अरु विद्यार्थीहरु माझ हप्काउने, गाली गर्ने र मनमा ठेस पुग्नेखालका वचन लगाउने गल्ती नगर्नोस् । अन्यथा ती विद्यार्थीमा कहिल्यै परिवर्तन ल्याउन सकिँदैन । गृहकार्य सम्पन्न गर्ने त परको कुरा, तपाईं र ती विद्यार्थीबीच सम्बन्ध सुमधुर हुन सक्दैन। त्यसैले अब तपाईं ती विद्यार्थीलाई आफ्नो कार्यकक्षमा लैजानुहोस्। त्यहाँ अरु शिक्षक शिक्षिकाको उपस्थिति हुनु हुँदैन। तपाईं शान्त हुनोस्, विनम्र हुनोस्। जसकारण उनले सहज अनुभूति गरोस्। विनम्रतापूर्वक संवाद अगाडि बढाउनुहोस्। उनको मनोभाव बुझ्ने कोसिस गर्नोस्। पारिवारिक अवस्था र वातावरणबारे जान्ने प्रयत्न गर्नोस्। यसै क्रममा उनलाई गृहकार्य नगर्नुको मुख्य कारण सोध्नुहोस्। आफू सबै किसिमको सहयोग गर्न तयार रहेको कुरा पनि स्पष्ट रुपमा राख्नुहोस्। त्यसपछि ती विद्यार्थीले तपाईंलाई गम्भीरतापूर्वक लिन थाल्छ। सम्मानको भाव व्यक्त गर्छ। आफ्नो सम्पूर्ण समस्याहरु खुलेर राख्न राजी हुन्छ।
र, अन्ततः उनमा विस्तारै परिवर्तन आउँदै जान्छ । कक्षामा दिइएका गृहकार्य गर्नुका साथै उनको पढाइ क्रमशः सुधार हुँदै जान्छ । यो सबै तपाईं विनम्र हुँदाको महत्वपूर्ण परिणाम न हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।