गरमले मेरो शरीरमा चिटचिट पसिना आइरहेको थियो । पसिनाको पानीले म निथ्रुक भिजेको थिएँ र त शीतल छहारीको हावा मेरो तृष्णाको लहर भएको सामुन्ने आउँथ्यो र उजाड मेरो मुहार र हातखुट्टालाई सिस्नोले डामेजस्तै एक झाँक्काले पोल्ने गथ्र्यो ।

म उभिरहेकी भएँ, मेरो शीतल छहारीमा बस्ने इच्छाका लहरहरु तछाँडमछाड गरेर हलचलमय बनिरहेथे । तर त्यतिबेला मैले शीतल छहारी कहाँ पनि भेटिकी थिइनँ । यसरी आफ्नो अविरल यात्रा नै रोक्नु पर्ने स्थितिमा पुगुन्जेल त एउटा न एउटा छाहारी भेट्नु पर्ने हो । सुख्खा आँखाहरु लिएर उभिएका मेरो शरीर पनि अब त धरमराउन लागिरहेथ्यो, हातखुट्टा लुला भएर आउन लागेथे, हृदयको गति जोडले चलिरहेथ्यो र म त्यहीँ, त्यतिबेलै ढल्ने हो कि झैँ भएर मुस्किलले आफूलाई स्थिर बनाएर अडिरहेकी थिएँ ।

बालुवाको बबण्डरले सब बाटो नै मधुर भएको थियो । यस सुनसान ठाउँमा गएँ र सोचाइको निश्चयमा पुगेँ, बसन्त टाढा छैन र पनि त्यस हरियालीले आफ्नो प्रकाश यहाँसम्म किन फिँजाउन नसकेको !

मञ्जु काँचुली

मलाई लाग्थ्यो, मेरो निरन्तर हिँडाइको प्रयत्नले छहारी त सायद कुनैबेला भेट्न सकिएला, तर बसन्तको आगमन मेरो लाखँौँ कोसको गमनले पनि हुने होइन । किनकि यो मेरो प्रयत्नबाहिर थियो र निश्चित थियो । छहारी भनेको पवित्र कुनै देवस्थलमा पुग्नुसमान थियो भने बसन्त स्वयम् ईश्वरको आगमन थियो ।

साँझ त्यति बितिसकेको थिएन, पर क्षितिजमा इन्द्रेणीको सातरङ धर्सो सुहाइरहेको थियो । आँखाभरि तृष्णाको लालसा बोकेर मैले त्यो परको क्षितिजमा हेरेँ, इन्द्रेणीका सबै अरु रङलाई आफ्नो आँखाबाट दृष्टि–ओझेलमा पारेर सिर्फ एउटा हरियो रङचाहिँ आँखामा टिपेँ र त्यो एउटा हरियो धर्सो मेरो लालसको पानीमा मौलाएर ठूलो रुख बन्यो, पातहरु सिर्जिए, तुरुन्त मगमगाउदो ठण्डा हावाको झोँकाको झापडले झसङ्ग भएर झस्किएँ । अरु अरु तृष्णाले भरिएको आँखाले मैले टाढाको क्षितिजलाई मनग्गे हेरेँ, हे भगवान् ! त्यस हरियिालीको सुगन्धित बगैँचाबाट रोज देवताहरुको आकाशबाट आएका राता नीला, पहेँला, हरिया रङ्गीचङ्गी फूलहरु डालोभरि टिपेर लैजाँदा हुन् । आज कु्नै देउताको डालोबाट एक दुईवटा हरिया हाँगा, दुई चार थुँगा फूल, पाँच सात ताजा पातहरु यस धरती र यो बाटोमा खसालिदिए । तर कुनै देवताको डालोबाट पनि एउटा पातसम्म खसेन र पनि क्षितिजको बगैँचाको रङ्गीचङ्गी प्रकाशले वातावरण ढकमक्क भयो । त्यस प्रकाशको उज्यालोमा मैले पर एउटा हरियो रुख देखेँ । अरु नियालेर हेरेँ, यतिबेला धूलो र बालुवाले वातावरण ढाकेको बेला, त्यो देखिएको रुख केही हुन सक्छ, तर त्यो एउटा अजिङ्गर नभएर मेरो धमिल्याइएको आँखाको भूत नभएर वनस्पतिकै सन्तान एउटा रुख थियो । म निश्चिन्ताको सङ्घारमा पुगेँ ।

चारैतिर एकपटक फेरि हेरेँ । चेतनाले म रुखका पातहरुजस्तै स्फूरित भएँ, दिमागको चक्कर पनि पर हुँदै गएको बालुवाको बबण्डरसँगै हराउँदै गयो । भारी भएको शरीर पनि अलिकति ठण्डा र अलिकति हलुङ्गो अनुभव गर्न लागेँ । मन मनमा यही गुनिरहेकी थिएँ, हे भगवान् ! त्यो छहारीमा बस्न हुने रुख नै होस् । दृष्टिको नजिकमा पुगेपछि पनि अरु केही हुन नपुगोस् ।

चेतनाले स्फूरित पाइलाहरु निरन्तर र अनायास द्रुततामा चल्न लागे । केही नजिक पुगेपछि चाँडै नै मैले थाहा पाएँ, त्यो एउटा रुख थियो, यद्यपि यसको प्रकृति र बनावट केही असामान्य देखिन्थ्यो ।

आँखाभरि उच्छवास भरेर मैले त्यस रुखलाई अरु हेरिरहेँ । यस रुखको छहारी तापेर म शीतल हुन सक्छु भन्ने विश्वास मलाई अलि लागेन र यस रुखको मन्तिर छहारी मागेर म बस्नेछु भन्ने निश्चिन्तता पनि ममा कुन्नि किन हो अलि आउन सकेन । मेरो यस्तो विचारले मलाई छहारीको शीतल तापेर आनन्दित हुनुको सट्टा त्यस रुखका हाँगाका मोटा मोटा डण्डाहरुले मेरो मानसपटलमा उहाँको लालसाको पालुवालाई निरन्तर हिर्काएर विदीर्ण पार्न लागे ।

म मूच्र्छित अनुहार लिएर त्यस रुखका काला पातहरुलाई एकटकले केह ीगर्न, केही सोच्न र केही बोल्न नसकी हेर्दै जति गएँ उति मेरो अनुहार पनि निराशाको पहेँलो तेल रङमा भयले पोतिएर नीलो हुँदै गयो । मेरो कठ्याङ्ग्रिएको नीलो शरीर देखेर सायद सजाति ठान्दै त्यस रुखले स्वागत गर्न जस्तै आफ्नो अँध्यारो छाया छरपट्ट छर्यो । म केही टाढै थिएँ र नजिकिने साहस गर्न पनि सकिनँ । अनायस मैले एउटा मोटो, धोत्रो र निक्कै ठूलो आवाज सुनेँ, सायद तिमी शीतलताको छहारीमा आफ्नो यात्राको महत्वपूर्ण अंश बिताउन आएकी छौ । तर म तिमीलाई छहारी दिन असमर्थ छु ।

म अन्योलमा परेर प्रश्न गर्न पुगेँ– असमर्थ ?

– हो म तिमीलाई छाया दिन असमर्थ छु । एक त मेरो शरीर कालो पत्थरजस्तो भइसकेको छ, अर्कोतिर मेरो शरीर सबतिर विदीर्ण भएर पारदर्शक हुन पुगेको छ । यस हालतमा म आफैँ विप्लवको सङ्ग्राममा परेकोले तिमी यस्ती सुकुमारीलाई कसरी, कुन तरहले सहायता गर्न सक्छु र !

अचम्म र सहानुभूति मिसिएको स्वरले मैले केही निराश हुँदै प्रश्न गरेँ– कसरी तपाईँको शरीर कालो पत्थर भयो ? कसरी तपाईँको शरीर विदीर्ण भयो ?

केहीछिन आवाज रोकिरह्यो । त्यतिबेला म सोच्न लागेँ, यदि म तरल सिङ्गमरमर भएकी भए आफ्नो शरीरको अङ्ग पगाल्दै उसको सम्पूर्ण स्वरुपलाई सफा, सेतो र गतिशील पार्न सक्थे हुँला ! यदि म हिमालको फेदबाट बग्ने शिलाजित भएकी भए उसका विदीर्ण अङ्गहरुमा भिजिदिएर उसलाई पूर्ण स्वरुपमा उभ्याउन सक्थेँ हुँला । तर म एक सुकुमारी मनुष्यचोला ।

मेरा मनमा सबै कुरा उसले बुझेजस्तै एकनास धीमा स्वरमा ऊ बोल्दै गयो – हो, तिनै मनुष्य थियो मेरो छहारीमा बस्न आउनेहरु, किनकि मैले मनुष्यबाहेक अरु कसैलाई पनि छहारीको बास नदिने अठोट गरेको थिएँ । एक दिन एक हुन मानिसहरुले मेरो छहारी ताप्ने निहुँमा आएर बन्दुकबाट गोलीका वर्षा गर्न लागे । मैले आफ्ना हाँगाका पातहरुले छोपेर थुप्रै बचेराहरु पालेर राखेको थिएँ । ती सबै तिनीहरुले आफ्नो गोलीको शिकार बनाएर भुस्कुट पारे । मेरो सपना मात्र मारेनन् तिनीहरुले, यत्रतत्र मेरो शरीरभरका अङ्ग–प्रत्यङ्ग बारुदको वर्षाले विदीर्ण पारे, बारुदको आगोले म पोलिएँ ।