समयले बङ्गाएका कर्मप्रसादका करङ्गमा अझै पनि जीवनको चिट्चिटाहट बाँकी नै थियो । छ दशकको पसिनाको मूल्यमा उनको मेरुदण्डको छाला खुइलियो, पुर्पुरो नाम्लाको डामले सोहोरियो । तर भाग्य फेरिएन । जिम्मेवारीले कुत्कुत्याएर आफ्ना सबै हड्डी घोट्दा घोट्दै आफ्नो लागि जिउनै बिर्सिसकेका थिए । आफ्नी जाहानले संसार छाडेदेखि कर्मप्रसादको पैताला अझै जमिनमा धँसिदै गए । जीवनको एक पैया चुडिए पनि अस्तित्वको गाडी धङ्गधगाउँदै सम्हाल्दै थिए । उनको अस्तित्वको गाडीमा अझै एक यात्रु शेष थियो, जो त्यो जीवनरुपी भवसागरमा भर्खर बामे सर्दै थियो ।

कर्मप्रसाद त्यही यात्रुलाई जीवनचक्रको महिमा बुझाउनकै लागि जीवित रहनु पथ्र्यो । उही उनको यात्रु, उनको छोरा गोविन्दका लागि ।

भनिन्छ , जीवनमा सबैभन्दा बहुमूल्य रत्न र आभुषणहरु ती हुन्छन्, जतिबेला आफ्नो गला वरिपरि आफ्नो सन्ततिका हातहरु आलिङ्गनमा रहन्छन् । तर कर्मप्रसादको भाग्यमा यस्तो महङ्गो आभुषणको योग थिएन । हुर्केका, पखेटा हालेका चरी आफ्नो भाग्य खोज्न उडिहाल्छन् । कर्मप्रसादले पनि यही तीतो यथार्थलाई आत्मसात गर्दै आफ्नो गुढ एक्लै रुँगेर बसेका थिए ।

छारो गोविन्दलाई कालक्रम अनुरुपको शिक्षा रत्न प्राप्त गर्न परदेश पठाएको पनि वर्षौ बितिसकेको थियो । बूढेसकालमा पनि एक्लो बृहस्पति भएर जीवन धान्नु फलामका चिउरा चपाउनुसरह थियो । दुःख र कष्टले उनको जीवनलाई निचोरिरहे तापनि ‘बा’ हुनुको प्रश्नलाई उत्तर दिनु नै थियो उनलाई । अस्ताउने बेलाको सूर्यको रापले क्षितिज रङ्गीन गराए जस्तै आफ्नो छोराको भविष्यलाई साँध लगाउन कुनै कसर बाँकी नराख्ने उनको प्रण थियो । तेल सकिए पनि बाती एकछिन रापिएर बल्छ भने झैँ कर्मप्रसादको भावभङ्गी बिग्रदै जाँदा पनि छोराको लागि तङ्ग्रिएकै थिए ।

सुरेन्द्र गौतम

चतुर र बठ्याइँको बोलबाला जुन समाजमा पनि बढी नै हुन्छ । समाजमा टिक्नको लागि कौवाको फूल चोर्ने कला जान्नुपर्ने रहेछ । कर्मप्रसादको सोझोपन वास्तवमै दुःखको कारण थियो । बलियोबाठोले लाटोसोझोलाई हेप्ने प्रवृति मानव समाज चलुन्जेल रहन्छ भन्ने कर्मप्रसादको भावनामा गढेको थियो । कला हुँदाहुँदै पनि कार्य गर्न हिच्किचाउने प्रवृति आफ्नो छोरामा नहोस् भन्ने कामनाले उनलाई कुत्कुत्याइरहन्थ्यो । छोराको भविष्यले चिमोठ्थ्यो । छोराको लहडे स्वभाव, एकान्तप्रेम र असामाजिक प्रवृतिको उनी जानकार थिए ।

भौतिक संसार पार लाग्न चातुर्यता चाहिन्छ । निरीह र निमुखो बलियाको आहारा बन्नु त प्रकृतिको नियम नै हो । आफ्नो छोराको स्वभाव बुझेका कर्म प्रसादले छोराको चिन्ता गर्दै दिन गन्दै बस्थे । परिश्रम उनको आर्को नाम थियो । बूढ्यौली लागे पनि आफ्नो जीउ लतार्थे । उनी नतङ्ग्रिए जहाज डुब्थ्यो । सपना ढल्मल्याउथ्यो ।

समय बित्दै गयो । छोराको न्यास्रोपनले होला कर्म प्रसादको चाउरिएको अनुहार अझ विरक्त देखिन्थ्यो । शरीरको व्याकरण बिग्रदै गएको थियो मानौँ कुनै कङ्कालमा स्वास मात्र फुकिएको छ । पूर्णिमाको रात थियो । प्रकृति चन्द्रमाको मधुर प्रकाशले सालीन देखिन्थ्यो । रात छिप्पिदै थियो । कर्मप्रसाद अगेनाको छेउमा बसेर तमाखु तान्दै थिए । एक्लोपनले गालेर छटपटाहट हुन थालेको थियो । सिङ्गो घरमा एक्लै बस्दा आफ्नो छायासँग पनि डर लाग्न थालेको थियो । बूढेसकालले गालेर शरीर काप्न सुरु भएको थियो । कर्मप्रसाद आफ्नो जीर्ण शरीरमा आगोको रापले राहत महसुस गर्दै थिए । अनयासै उनका आँखा ढोका बाहिर परे । ढोकाबाट पारिको बाटो धमिलो देखियो । एक व्यक्ति आफ्नै घरतिर आइरहेको देखेर कर्मप्रसाद बाहिर निस्के । नियालेर हेरे । गोविन्द परदेशबाट आएको रहेछ । गोविन्दले वर्षौपछि ‘बा’ को पाउमा शिर राख्यो । बूढाले आशिर्वाद दिए । आनन्दित हुँदै छोरालाई सुम्सुमाए । एकछिन बाउछोरा आलिङ्गनमा बेरिए । कर्मप्रसादको अस्ताएको चेहेरा यसरी उज्यालो भयो कि मानौँ छोराको आगमनले उनमा उर्जा भरियो ।

दिन बित्दै गए । गोविन्द घर आएको पनि निकै समय बित्यो । कर्म प्रसादले छोराको गतिविधि नियाल्दै थिए । घरमै बसिराख्ने, गाउँटोलमा चिनजान, हिमचिम कसैसँग नगर्ने, कुनै काममा सरिक नहुने गतिविधिले बाबुलाई चिन्तामा पार्यो । आफूसँग पनि खासै नखुल्ने छोराको यस्तो स्वभाव देखेर दिक्दार देखिन्थे उनी । जिउन नजाने जीवनले असंख्य पीडा दिन्छ भन्ने अनुभव सङ्गालेका कर्मप्रसादलाई छोराको अव्यवहारिकताले वाक्क पार्दै लग्यो । समय र परिस्थिति अनुसार आफूलाई नढाल्नेहरु विलीन भएर जान्छन् । कतै छोरा पनि यो भवसागरमा पौडिन नजानेर डुब्ने त होइन ? भन्ने चिन्ताले व्याकुल बनाउँथ्यो उनलाई ।

जो बिक्छ, उही टिक्छ भन्ने निति बूढाले राम्रै महसुस गरेकाले छोराको नाउँ तार्नु नै शेष जीवनको लक्ष्य ठानेर गोविन्दसँग भलाकुसारी गर्ने इच्छा जाग्यो । एकरात खाईपिई सुत्ने बेला भएको थियो । ओछ्यानमा पल्टिएपछि बूढाले आफैँले कुरा सुरु गरे, “बाबु गोविन्द ! तिमीले के शिक्षा हासिल गरेर आयौ ? जीवनदर्शन अनि व्यवहारका कुरा के सिक्यौ ?”

“धर्मशास्त्रको बारेमा पढें । यज्ञ, अनुष्ठानलगायत सम्पूर्ण पूजाविधिको ज्ञान छ ।” गोविन्दले सहजै उत्तर दियो ।

बूढाले पुन सोधे, “जीवनबारे केही सिक्यौ ? चतुरविद्या के हो थाहा छ ? समाजमा बिक्न र व्यवहारिक जीवन जिउन चाहिने कला नै सर्वोत्तम ज्ञान हो भन्छन् ।”

“के हो यो चतुरविद्या भनेको ?”, गोविन्दले प्रश्न तेर्सायो ।

“तिमीले प्राप्त गरेको शिक्षा दर्शन भयो, अनि त्यसलाई व्यवहारमा उतार्नु पर्दैन ? आफ्नो ज्ञानलाई समाजमा प्रयोगमा ल्याउनु पर्दैन ?” कर्मप्रसादले छोराको अकर्मण्यताको जरा तान्ने प्रयास गरे ।

“मेरो विचार मिल्दैन यो ठाउँमा । न त मित्रहरु नै छन्, न कोही चिने जानेको ?” गोविन्दले आफ्नो अकर्मण्यतालाई ढाकछोप पार्यो ।

“परिस्थितिको दास हुने होइन बाबै, परिस्थितीलाई दास बनाउनु पर्छ । घरमै गुप्तबास बसेर कुनै मित्र बन्छन् ? चिनजान बढे पो मित्र बन्छन्, अनि विचार मिल्छ । मानिसले कि परेर जान्दछ कि पढेर । तिमी ढोटे केटाहरु दर्शन पढ्यौ भन्दैमा महान् हुन्छौ त ? यो सृष्टिमा जीवन चलाउन चतुर्याइँ जान्नुपर्छ । जीवनको अनुभव सधैँ सोझो बाटोमा हिन्दैन । तिम्रो चाहाना र सपना सलाई कोरे जस्तो होइन, फ्याट्ट कोर्यो, फ्याट्ट बल्यो । ” बूढाले छोरालाई व्यवहारिकता बारे बताए ।

गोविन्दलाई बाबुका कुरा तीता लागे । उसले भन्यो, “के म मलाई काम दिनुहोस् भन्दै हात फैलाउँदै जाने त ? त्यस्तो हो भने मैले पढेर के पाएँ त ? मैले प्राप्त गरेको ज्ञानलाई बाँढ्न पनि म हात फैलाऊँ ? ”

“जीवन किताब पढे जस्तो कहाँ हुन्छ र ? यो दुनियाँ देखावटीमा नै चल्छ । यहाँ छायामा पर्नु भनेको मेरो जस्तै जीवन रोज्नु हो । यो संसार एउटा बजार हो । यो बजारमा आफू प्रतिस्पर्धी बन्न नसक्नेहरु पलायन भएर जान्छन् । मासिन्छन् । यहाँ आफ्नो मोल बढाउन झुक्न पनि जान्नुपर्छ, मिल्न पनि जान्नुपर्छ । धेरै इमान्दारिता पनि ठीक होइन, बढी चातुर्य पनि हानिकारक हुन्छ । जीवनलाई काँचुली फेराउन मौसम चाहिन्छ । असल मित्र अनुकूल मौसमजस्तै हुन्छन्, लाभदायक । खराब सङ्गत डढेलोजस्तै हुन, सखाप पनि पार्छन् ।” कर्मप्रसाद आफ्नो अनुभव र सिकाइ छोरालाई बुझाउदै गए । छोरालाई कर्मठ बनाउने त्यान्द्राले अड्किएको जीवन थियो कर्मप्रसादको । यदि छोराको पिरलो नहुँदो हो त उनलाई जीवन धान्न त्यति इच्छा लाग्दैनथ्यो होला । अरु केही गर्न नसके पनि उत्साह र प्रेरणा दिन सके पनि छोराले बाटो समात्ला भनेरै अड्किएको कर्मप्रसादको स्वासले अन्ततः बिसाई मार्यो ।

जीवन दर्शनले चल्दो रैनछ, नङ्ग्रा खियाउनु नै जीवनको चक्र रहेछ भन्ने कुरा कर्मप्रसादले अनुभवबाट सिकेका थिए । छोरा गोविन्दले पनि सायद जीवन व्यवहार बाबुको मृत लासलाई घाटमा लगेर सेलाएर आएपछि बुझ्नेछ । जीवनको यथार्थता उसको मानसपटलमा घुम्ने छ । समयले उसलाई पनि परीक्षा लिने छ । जीवन चक्रले ‘बा’ बनाउँदा बाबुको अर्ति उपदेश मानसपटलमा घुम्ने छ । आफ्नासँग एक्लिएर बस्दाको छटपटी थाहा पाउने छ । भोक, प्यास र तृष्णाले उसका ज्ञानचक्षु अवश्य खुल्नेछन् । जीवन सम्झौता रहेछ भन्ने सत्यता अवश्य थाहा पाउने छ ।

जदौ ।