काठमाडौंदेखि “कुमारी प्रश्नहरू” आइपुग्यो, र दुई-तीन दिनमा पढेर भ्याएँ पनि । संयोग नै होला, यो किताब पढेर ट्वीटरमा रिभ्यू लेख्ने घोषणा पनि गरिसकेको समयमा दुर्गा कार्की वक्ता रहेको साहित्य मेला हेर्न पाएँ । मनमा किताब पठनले एकखालको समीक्षात्मक विचारहरू उदय गरिरहेको थियो, तर लेखिकालाई सुनेपछि त्यसमा केही परिमार्जन आयो । स्वभाविक हो ।
नेपालयको प्रकाशनमा छापिएको यो कथासंग्रहभित्र तेह्र कथाहरू छन् । प्रत्येक कथामा मूलतः नारी पात्रहरूको भोगाइ, सोचाइ र जीवन-सङ्घर्षलाई अभिव्यक्त गरिएको पाइन्छ । र, प्रायः पात्रहरू युवा छन् । तिनीहरू अधिकाधिक विद्रोही स्वभावका र पृथक विचार राखेर समाजमा उभिएका छन् ।
दुर्गा कार्कीले पोखरामा भनेजस्तै यी कथाहरू ती पात्रहरूका समवयका साथीहरूले पढ्दा हुन् त तिनीहरूले आफ्नोपनको बेग्लै आभास पाउने थिए । ती लक्षित समूहका अपनत्व र ममतामा कथाहरूको झन् उज्ज्वल समीक्षा हुँदो हो । खैर, पाठकका रूपमा अवश्य ती चञ्चले केटीहरू, शारीरिक परिवर्तन भोगिरहेका चिन्तित युवतीहरू, अनि नारी स्वतन्त्रता उपभोग गर्न घरका चौघेरा नाघिरहेका किशोरीहरूले मनमा समीक्षा गरिरहेकै होलान् ।
तिनीहरूको समीक्षाभन्दा मेरो फरक होला तैपनि यी कथाहरूमाथि विचार राख्ने सानो प्रयास गर्दैछु । खासगरी म कथाहरूले उप्काएका केही प्रश्नहरूलाई मुखरित गर्दैछु ।
माथि भनिहालेँ, विशेषतः किशोरीहरूमा ज्यादातर केन्द्रित छन् उनका सबैजसो कथाहरू तर नारी देह र स्वभावसँग सोचाइ र भोगाइको संयोजन गर्ने क्रममा आम सामाजिक मूल्य र मान्यताहरूलाई बेपर्वाह छोडेको भने पाइँदैन । बरु थुप्रै प्रश्नहरूको निर्माण गरेका छन् पात्रहरूले ।
“लाइट बाल्ने केटो” कथा पढ्दा प्रश्नहरू यसरी उब्जिन्छन्- एउटा चोरका दृष्टिमा पनि सही कामहरू हुन्छन् ? उसका जायज कर्महरूलाई नैतिक समाजले कसरी ग्रहण गर्ला ? चोरको नैतिकता हुन्छ कि हुँदैन ? चोरले समाजप्रति दायित्व बहन गर्छ कि गर्दैन ? के चोरले प्रेम गर्न पाउँछ ?
त्यस्तै प्रश्नहरूको खात “फ्यामिली फोटो”ले थुपार्दछ । के कुनै हत्यालाई सही मान्न सकिएला ? यस कथामा जसरी कर्म नै नगरे पनि कम्तिमा वचन, सोचाइ वा कल्पनामा कैयौं नारीहरूले पतिहरूको हत्या गरिरहेका त छैनन् ? के त्यस्ता हत्याहरू त्यस चरित्र र परिस्थितिका लागि उपयुक्त हुन् ?
“साथे” कथा अन्य कथाहरूभन्दा बेग्लै धरातलमा रचित कथा हो । यसले अनमेल विवाहको पक्षमा प्रश्नहरू औंल्याएको म पाउँछु । के सबै उमेर नमिल्दा विवाह अस्वभाविक नै हुन् ? व्यक्तिको खुसीसँग सरोकार राख्ने कुराहरू के सामाजिक कसीमा पनि स्वीकार्य हुनै पर्दछ ?
यस्तै “पोइल” कथाले अर्कातिरबाट प्रश्नको जालो फिँजाएको देख्छु म । उसका प्रश्नहरू छन् – पोइल जानु व्यभिचारी हुनु नै हो ? अनैतिक नै हो ? सबै पोइला जानेहरू बैंसले मात्तिएकै हुन् ?
कथासंग्रह हुनुको नाताले कथाहरू विभिन्न बनौट र विषयका हुनु बान्छनीय हो । तर यसमा चाहिँ मलाई लाग्यो, एकै धारमा कथाहरू बगेका हुन् कि? जस्तो कि शीर्षकथा “कुमारी प्रश्नहरू” र “निर्दिष्टा पार्ट टू” धोकाको पटाक्षेप र मूल पात्रको अडानी निर्णयको मूल कथानकमा बुनिएका छन् भने “मनमाया” र “सँघार” महिला संवेगको लागि आम मान्यतामाथि जाइलाग्ने विद्रोही नारी पात्रहरूलाई केन्द्रमा राखेर रचना गरिएको छ । समग्रमै हेरियो भने पनि एउटै मालाका फूलहरू जसरी धेरै कथाहरू एकआपसमा गाँसिएको पाइन्छन् । तथापि यसले त्यस्तो विधि एकाकीपन ल्याएको भन्न मिल्दैन ।
किशोरकालीन संवाद र प्रेमको चित्रणमा यथार्थपरकता दिइनु केही कथामा रहेको सुन्दर पक्ष हो । जस्तो कि पात्रहरूका फेसबुकमा बोलिने भाषा, शैली र स्माइलीहरू । झगडाका बहानाहरू उल्लेख गर्दै लेखिएको कुरा यस्तो यथार्थबोधी छ – “……. कहिले फोन नउठाएको निहुँमा, कहिले समयमा मेसेज रिप्लाइ नगरेको निहुँमा, कहिले पिएर मात्तिएर बोलेको निहुँमा, कहिले बर्थडे बिर्सिएको निहुँमा…… ” अथवा केही अप्ठ्यारा अनुभवहरूको चित्रण यसरी गरिएको छ -“ …….उसले तीन वर्षको अवधिमा आफूले खाएका इकोनका चक्कीहरूको सङ्ख्या सम्झन खोजी । महिनावारी नहुञ्जेल डरैडरमा बिताएका दिनहरुको हिसाबकिताब सम्झन खोजी ।… ” (पाँच सेकेण्ड)
नारी संवेदनाको सही चित्रण वास्तवमै लेखिकाहरूबाटै सम्भव छ भन्ने मेरो बुझाइ छ । यसको चरितार्थ “रगत” कथामा पनि पाइन्छ ।
परिवेशको मिहिन वर्णनले लेखिकाले ती वातावरणहरूमा आफैं पुगेर मेहनत गरेर अध्ययन गरेको प्रष्ट्याउँछ भने संवादको समुचित प्रयोग र शीर्षकसँग तालमेल उनको पहिलो संग्रहमै आइसकेको निख्खारता हो । यसभित्र धन्सार, साथे, खाक्रेँ जस्ता आञ्चलिक शब्दहरू प्रयुक्त भएको पनि पाएँ जसको अर्थ कथामा बुझे पनि अझ जान्ने चाहनामा छु । जे होस् मेरो पठनमा कथाहरूले सामाजिक स्थापित बुझाइहरूमा अनेकखालका प्रश्नहरू उब्जाएको पाएँ । आजको पिँढी ती प्रश्नहरूको निरन्तर जवाफ मागिरहेको छ । यो संग्रहको सही मूल्याङ्कन भने लक्षित उमेरका किशोरीहरू गरून् भन्ने म चाहन्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।