‘यो अनन्तकालीन प्रतीक्षाको लक्ष्य कहाँ होला …. !’ जीवनको शेषमा कि त्योभन्दा पनि पारि अझ पारि … ! लामो सुस्केरा हाली । विनोदतिर पिठ्यूँ फर्काएर काल्टे परी । निदाउने प्रयास गरी । तर … किन हो आज निद्राले पनि उसलाई साथ दिएन । ऊ निदाउन सकिन । फेरि बर्बराउन थाली, हे ईश्वर, म बाँच्न चाहान्छु ! मलाई बाँच्ने अधिकार देऊ ! मैले केही दोष गरेकी छैन । मैले कसैको केही बिगारेकी छैन । कसैले मलाई बिगार्यो, म बिग्रिएँ । मेरो जीवनलाई बिगार्यो, मेरो जीवन बिग्रियो । क्षणिक वसन्तको स्वप्न देखाएर चिर शिशिरको बीउ छर्यो । म छक्किएँ … !’
‘संसारले मलाई दोषी ठहर्यायो । त… तिमीले मलाई दोषी नठहर्याऊ ! ठहर्याएकै भए पनि क्षमा गर ! अब फेरि मबाट त्यस्तो भूल कहिल्यै हुने छैन, कहिल्यै हुने छैन … ! म सबै बिर्सन्छु । म नयाँ बन्नेछु । मेरो अस्तित्व, व्यक्तित्व सबै नयाँ बन्नेछन् । मेरो जीवनले नयाँ रुप लिनेछ अनि .. !’ चुप लाग्छे ।

निदाइरहेको विनोदको मुखमण्डलतिर एकोहोरो हेरिरहन्छे । आज स्कूलबाट आउनेबित्तिकै विनोदले रुँदै उसलाई सोधेका कुराहरु सम्झी, ‘आमा ! बुबाको नाउँ के हो ? आज मास्टरजीले सोध्नुभएथ्यो । मैले भन्न सकिनँ ।’ आफ्नो सानो हत्केला देखाउँदै फेरि भन्यो– ‘मास्टरजीले हातमा दुईखेप हिर्काउनुभयो ।’तर ऊ मौन भएर बसिरही । केही उत्तर दिन सकिन । विनोदले भने सोधिरहेथ्यो, ‘आमा ! भन्नोस्, बुबाको नाउँ के हो ? बुबा कहाँ हुनुहुन्छ ?’

उफ् ! आज विनोदले कस्तो वीभत्स प्रश्न गर्यो .. !! खलखली पसिना आयो । उसको शरीर निथ्रुक्क भिज्यो, मानौँ उसको तप्त आत्माका अस्तव्यस्त र उष्ण भावहरु निस्किरहेथे । ऊ साह्रै उत्तेजित भई । सुतिरहेको विनोदलाई बिउँझएर चनिदिन मन लाग्यो, उसको बुबाको नाउँ के हो, कहाँ छ ? इत्यादि । तर उसको मुख खोलिएन । उसले भन्न सकिन । सक्दिन । किन भन्न सक्दिन ? लाजले कि डरले ? त्यसो भए के उसले भूल गरी ? होइन–होइन, त्यस्तो कहिल्यै, कहिल्यै भन्न सक्दिन । यदि प्रेम स्वच्छ मार्ग हो भने समर्पण पनि त्यस मार्गको अन्तिम लक्ष्य हो ।

कसैले स्नेह, माया, ममता दियो, उसले त्यसलाई आफ्नो जीवन ठानी प्रेमको अभिनय गर्यो । उसले पवित्र प्रेम ठानी र आफूलाई समर्पण गरी । अनि .. आफूलाई नाश पारी ।

उसलाई के थाहा ? यो पृथ्वी त नाट्यशाला हो । यहाँका मानिसले अभिनय गर्न जान्दछन् । जसले राम्रो अभिनय जान्यो ऊ एक जना प्रतिष्ठित व्यक्ति बन्यो । उसले अभिनय गर्न जानिन, त्यसैले उसले केही जानिन ।

एकछिनपछि नै उसको भावधाराले अर्को रुप लियो । जुन विनोदको मुखमण्डल हेर्दा जिउने आश्वासन पाउँथी, त्यही मुखमण्डलले कुनै कुत्सित भावले परिपूर्ण भएको आकृति मात्र हो जस्तो लाग्यो उसलाई । ऊ तर्सी । ओछ्यानबाट जुरुक्क उठी अनि विनोदको मुखमण्डलतिर एकटक् हेरिरही । विनोदका पिता नै आएर त्यस ओछ्यानमा सुतिरहेको जस्तो भान भयो उसलाई । अत्तालिँदै दगुरेर ओछ्यानदेखि अलि टाढा ढोकानिर गएर उभिई । यसो हेरी । आँखा गाडेर हेरी । फेरि हेरी । ‘छिः मलाई यस्तो के भयो ?’फेरि ओछ्यानमा गएर बसी । उसले आफ्नो भ्रम बुझी । विनोदको अनुहारले के के प्रतिक्रिया गर्यो कुन्नि ! उसको अन्तरको सुकिसकेको घाउ फेरि आलो भएजस्तो लाग्यो उसलाई । अब भने विनोदलाई पनि के के सोच्न थाली । ‘क्षणिक उत्तेजना, क्षणिक प्रेम अनि क्षणिक सहानुभूतिमा भुलेर गरेको पापको प्रत्यक्ष प्रमाण मात्र हो यो । अरु केही होइन । नीरन आद्र्रता र गहभरि आँसु लिएर अनन्तकालीन प्रतीक्षाको भुतभुतेमा पसेर, त्यसको जलनलाई मात्र सहेर म बाँच्न सक्तिनँ । मैले पाप गरेँ । यस पापको प्रायश्चित मैले भोग्नै पर्छ । यो तुच्छ घृणानीय देशको समाप्ति हुनै पर्छ ।’ उक्त सहसा ओछ्यानबाट उठेर ढोकानिर पुगी ।

आधारात बितिसकेको हुँदो हो । गड्याङगुडुङ मेघ गर्जिरहेथ्यो । मल्याकमिलिक बिजुली चम्किरहेथ्यो । अत्यन्त बेगले हुरी चलिरहेथ्यो, मानौँ आज प्रकृति पनि उसको इच्छा प्रतिकूल भइरहेछ । प्रकृतिको संकेत बुझ्ने शक्ति उसले अघि नै हराइसकेकी थिई । ढोका उघारी । चारैतिर एकखेप आँखा घुमाई । माया, मोह, लोभ सबै उसले भुली । एक दुई पाइला गर्दै अघि बढ्न थाली ।

मल्याकमिलिक बिजुली चम्क्यो । मुटु नै थर्काउने गरी चट्याङ चड्क्यो । ठीक त्यसैबेला कता हो कताबाट ‘आमा …’ भन्ने शब्द आएर उसको कानमा ठोक्कियो ।

फेरि सुनी, ‘आमा …!’ यस मार्मिक शब्दले उसको तन्द्रामा बज्रपात गर्यो । ऊ झस्की, ‘हा ! मैले के गर्न आँटेकी ? म त एउटी आमा हुँ । बिनुकी आमा !!’ मातृत्व जाग्यो । फरक्क फर्केर ‘मेरो बिनु … म आएँ’ भन्दै वायु वेगले दगुरेर घरभित्र पसी । रोइरहेको विनोदलाई आफ्नो छातीमा टाँसेर रुँदै भन्न थाली, ‘मेरो बिनु ! मेरो राजा ! तँलाई छोडेर म कही जान्नँ … कहीँ जान्नँ ।’