नमस्कार नमस्कार नमस्कार नमस्कार …

आज मिति २०७७ माघ ४ तगे आइतवार पौष शुक्लपक्ष चतुर्थी तिथि, सन् २०२१ जनवारी १७ तारिखका दिन तपाईंँहरुकै राजखानी सहरको चर्चित गल्लीमा म खानदानी बाजेले ‘खानदानी बाजेको च्या’भट्टी’को श्री गणेशः नमः गर्न गैराखेको छु ।

हरि ॐ…

ल है ल, सटर खोलें है । भगुमानले च्यादानीको रख्खे गरुन् ।

घरररर् ….

आउनूस् आउनूस् बसिहाल्नूस् । म ता-तातो च्या टक्र्याइहाल्छु । तपाईं सुरुप्प पारेर जिब्रो पड्काइहाल्नूस् । हुन त थुक्नपनि नपाइने समयमा जिब्रो पड्काए गाला चड्काउलान् तर खानदानी बाजेले त्यसो गरिहाल्ने छैन । मने, च्या पिएपछि पड्काउने नै जिब्रो हो ।

चाइनेजो पछिल्लो समय च्या पिउन धेरैले बिर्सिसकेका छन् । च्याका अम्बलीहरु च्याउन, चिच्याउनमै व्यस्त छन् । ‘कसको कति सम्पति छ ?’ राजनीतिले सबैलाई च्याउने र चिच्याउने बनाएको छ । तालपरे किच्याउन पछि पर्दैनन् बरु । ढिच्क्याउनेहरुको पनि कमी छैन बजारमा ।

अकबरे

गरिबहरुले पनि च्या पिउन बिर्सिसके । च्याउँछन् मात्र । बरु उल्टै गरिबीले च्यापिन्छन् । हुनेखानेहरु पनि पिउँदैनन् । ज्युनार गर्छन् । अझै हुनेखानेहरु वासना मात्र सुघ्छन् । तपाईंलाई थाहै होला, हाम्रा बाजेहरुले च्या पिउनका लागि प्रयोग गर्ने झर्के बटुकाहरु पातलिएर दुई औंलाले पक्ड्न पनि मुस्किल हुने कपमा रुपान्तरण भैसकेका छन् । बिहान एक बटुको च्या पिएर मेलामा पसेका बाउबाजेहरु एक मेलो नसकी भोकाउँदैन थिए । आजकलको च्याले घाँटी पनि भिज्दैन । एक घुट्कैमा ॐस्वाह भैजान्छ ।

आजकल च्या च्या हैन छ्या हुन थालेको छ । कफीले लत्याउन थालेको छ । मान्छेहरु कफी पिए सान बढ्छ भन्छन् । मान बढ्छ भन्छन् । विदेशी परिकारहरुको नक्कल अरेर कताको सान बढ्ने होला र ! बरु च्यै हाम्रो सान हो । सबैले च्या पिएर विदेशमा पनि च्याको ब्राण्डिङ गरे मालामाल हामी नै हुन्तिम क्यारे । च्या बगानका किसानहरुले बर्षेनी मूल्य नपाएको भन्दै आन्दोलन अर्न पर्थेन । गाउँठाउँमा बाँझै लडिरहेका सुके डाँडाहरु च्याले हरियाली हुन्तो । देशै पनि धनी हुन्तो । बुझ्दैनन् हाम्रा आधुनिक पुस्ताहरु । म नाथे बूढाले के नै रख्खे गर्न सक्नु र !

यसरी दोश्रो तेस्रो पुस्तासम्म आइनपुग्दै च्याले रुप परिवर्तन गर्नुमा विभिन्न समाजशास्त्रले अहम् भूमिका खेलेको छ । र यस्तै भए पनाति पुस्ताले पिउनै बिर्सन बेर लगाउँदैनन् । यो बढी गम्भीर कुरो हो । मने, ती गम्भीर कुराहरुमा नअल्झिउँ । तिनै कुराहरुलाई ध्यानमा राखेर यो खानदानी बाजेले घाँटी नभिज्ने च्या प्याउँदैन । तपाईंको तितेआन्द्रैसम्म पुग्नेगरि च्या प्याउँछ । हेर्दै जानूस्, खानदानी बाजेले सबको मुख रसाउने बनाउँछ । पानी बसाएर …

सुरुमै भनिहालौं, आजको च्या सबैलाई पचास प्रतिसश डिस्काउन्टमा हुने छ । दूध मिसाएर …

बजारमा पहिल्यैदेखि एउटा अजीवको चलन चलिआएको छ । हरेक व्यापार व्यवसाय, कल कारखानाको शुभारम्भमा डिस्काउन्ट दिने । ओपनिङ सिरेमुनी कि शिरमाथि खै के भनेर गत्तिला मत्तिलालाई बोलाउने र रिवन कटाउने । म नाथेले पनि यसै गर्न खोजेको छु । मैले पनि मेरो च्या’भट्टीको लाल रङवाला रिवन काट्न लालझन्डे बोली महाराजलाई बोलाएको छु । लाल झन्डेहरु लाल रङ देखेसी मरिहत्ते गर्छन् भन्ने त सर्वविदितै छ के रे । लाल रङ भनेसी छाउ बसेका चेलीहरुमा दाउ खोज्ने साहुहरु हुन् । तर, यी कुराहरु अहिले गर्नहुन्न, चिनी मिसाएर …

लालझण्डे बोली महाराजलाई त तपाईंले चिन्नुभएकै छ क्यारे ! नचिनेको भए चिनाइहालौं । बोली महाराज हाम्रो देशका नामुद नेता हुन् । त्यसका अलावा बोली महाराजको हाम्रै राजखानी गल्लीमा हावा फ्र्याक्ट्री पनि छ । त्यतिमात्र कहाँ ? उनका हावा गफहरु संसारभर लोकप्रिय छन् । संसारका, लाखौं करोडौं जनले शिरोपर गरेका छन् । बिहान जुरुक्क उठी बोली महाराजलाई दर्शन गरेर दैनिक कामकाजको शुभारम्भ गर्नेहरुको कमी छैन । सामाजिक संजालमा बोली स्तुति गाउनेहरु प्रसस्तै भेटिन्छन् । चैनेजो, उनीहरुकै सिको गर्दै मैले पनि यो च्या’भट्टी उट्घाटन गर्न बोली महाराजलाई नै बोलाउने निर्णय गरेको हुँ । च्यापत्ती हालेर…

बोली महाराजलाई यहाँ बोलाउन कम्तामात्रै दुःख गरिन भनेनी भनिसाद्धे छैन । करिब एक वर्षदेखि उनका भाइभारद्वारहरुको खुट्टा पो मोलिनँ कि, प्रत्येक बिहान उनको हवेलीको अगाडि बसेर ज्यू ज्यू पो गरिनँ कि, कयौं गिलास च्याले मैले उनका अरिङ्गालहरुलाई पोसेको छु । रिवन काट्ने चाँजोपाँजो मिलाउँदा मिलाउँदै बोली महाराजका बानर सेनाहरुले मेरो हजारौं लिटर च्या फिरीमा डकारिसकेका छन् । नढाँटी भन्नुपर्दा मैले यो च्या’भट्टी खोल्नभन्दा तीन गुणा बढी खर्च बोली महाराजलाई रिवन कटाउन फकाउनमा खर्च गर्या छु ।

रिवनमात्र मैले अमेरिकाबाट मगाएको हुँ । हङकङबाट पानी मगाएको छु । चीनबाट कार्पेट मगाएको छु । रातो कार्पेट नबिच्छ्याई हुन्न रे लालझण्डेहरुलाई । रातो कार्पेट नसके रातो टालो भए पनि हुन्छ रे ! कैंचीमा सुनको जलप लगाएको छु । कुर्सी टेबलहरु पनि आयातीत हुन् । ब्रान्डिङ गर्न यति त गर्नैपर्यो नि कसो ! मसला मिसाएर …

ला ला ला उम्ली त गो … ।

डाडु खै डाडु … ?

फु फु फु…..

ठ्याक ठ्याक ठ्याक …।

ध्यारररर् ….।

अनि बाबुहरुलाई नयाँ कुरो थाहा छ ? हाम्रो सरकारले नागरिक एप सर्वजनिक गर्या छ रेन्त ! हाम्रो जन्मदर्तादेखि मृत्युदर्तासम्म त्यहाँ पाइन्छ के रे । कतै केही सरकारी काम अर्नपरो भने ढ्याक्क लगाएर फ्याट्ट मोबाइल देखाए पुगिहाल्छ अरे । बढो काइदाको छ रे त्यो एप मेरी खुदकी छोरीले भन्दैथी । नागरिकता, शैक्षिक प्रमाणपत्रहरु बोकेर हिँड्नै पर्दैन अरे । हेर्नु त हेर्न कति काइदाको । न च्यातिने डर न हराउने । सरकारको जय होस् ।

तर, बाउ एउटा कुरो नि, मलाई खुब डर लागेको छ । ट्याक्क लगाएर त्यो मोबाइलको लिफ्टो हरायो भने त सर्वश्व नै गयो के रे नि । तपाईंलाई के लाग्छ ? यसको प्रयोगभन्दा दुरुप्रयोग धेरै हुँदैन होला र ?

हजुर ! कसो अरे कसो ?

सुनिनँ के । कान कमै सुन्छु । अलि जोडले फलाक्नूस् तो ।

ह्याक कि फ्याक ? अँ अँ मैले पनि त्यै भन्न लागेको । बूढो जिब्रो बाबु ब्ढो —लरबराई हाल्ने, थर्थराई हाल्ने । आफ्नै नागरिकको प्राणको जोहो गर्ने हुति नभएको सरकारले नाथे नागरिकको मोबाइलको के सुरक्षा गर्न सक्ला र बरी लै । बलात्कारपछि हत्या गरिएकी निर्मला नानीको हत्यारा दुई वर्ष हुँदासम्म भेट्टाउन नसक्ने हुतिहारा सरकारले खै के डिजिटल सुरक्षा दिन सक्ला र ! दलालहरूले विदेशीलाई बेची पठाउला भन्ने बढो पीर भो । मर्ने बेलामा फ्याट्ट मेरो उमेर घटाइदिए भने तनाव भएन । अथवा नमरी नाम मेटाइदिए भने के गर्नेहोला !

लौ है लौ, तयार भयो चैनेजो खानदानी च्या ।

तर, खै बोली महाराज पो आइपुगेनन् भन्या ! फुन घुमाउँछु है एकैछिन्  ।

टुरुरुरु… टुरुरुरु….

‘हिल्लो, बाउ बाउ बोली महाराज निवास हैन त ? लौ न बाबु बोली महाराजलाई चाँडोभन्दा चाँडो पठाइदिन परो । ह्याँ च्या सेलाएर हैरान भैसक्यो । मने, च्या सेलायो भने स्वाद बिग्रिजान्छ । सरकारले दुई तिहाईको सरकार बनाउन अधिकार सम्पन्न संसद भङ्ग गरेजस्तो । च्या फाल्नपर्छ ।’

यो भङ्ग भन्ने शब्द सुनेपछि मलाई सिरिङ्ग हुन्छ हेर्नूस् । मैले त के रे, जन्मेर अलि ठूलो भएदेखि नै भङ्ग भङ्ग मात्र सुन्दै आएको छु । कहिले सरकार भङ्ग भन्छन्, कहिले मन्त्रीमण्डल भङ्ग भन्छन्, कहिले शासनसत्ता भङ्ग भन्छन्, कहिले प्रजातन्त्र भङ्ग, कहिले निर्दल भङ्ग, संविधानसभा पनि भङ्ग नै गरेका हुन् । यो भङ्ग भन्ने शब्द पचाउन नसकेर दङ्गै परियो बरी लै ।

हिल्लो ? ला फुनै काटेछन् नि । फेरि अर्छु ।

बाबु पनि फुन काट्न हुन्न के ! आफ्नो कुरै तुरिएको थिएन । भन्नु त भन्नु बोली महाराज कहिले पाल्नुहुन्छ ?

अँ अँ ।

ल ल ।

अँ अँ ।

कसो अरे ! कसो ?

गुठको बैठकमा व्यस्त हुनुहुन्छ रे ! आधा घन्टा अझैं लाग्छ रे !

हत्तेरिका । छिटो के छिटो । ह्याँ पनि दुई चार जना मुन्छे भेला पारिराख्या छु बरु यतै यौटा गुठिया कमिटी गठन गर्नूस् भन्दिनपर्यो । म पनि ह्वाँकै कार्जेकर्ता हुँ के रे नि ।

हस, हुन्छ हुन्छ । चाँडौ है चाँडै ।

ल ल ।

लौ न बर्बादै भयो । खत्तमै भयो नि । बाबुहरु एकैछिन बस्नूस् है, बोली महाराज गुठिया बैठकमा बस्नुभा छ रे । अँ बाबुहरुचैं कुन गुठको साँची, सोध्नै बिर्सेछु ? बोली महाराजको लालझन्डे गुठको को को हुनुहुन्छ ? मैले त लालझन्डे गुठमा लाग्नु भन्छु के रे । फाइदै फाइदा छ त्यता लागे । तीन बर्ख पहिले झोला भिरेर हिंड्ने हाम्रो छिमेकी गईंठे काराँ हुँइकिन थाल्या छ अचेल । अनि अर्को एउटा पोष्टरेले पनि भयंकर प्रगति गर्या छ । पहिले रातमा पोष्टर टाँस्थ्यो । ब्यानर हालथ्यो । आजकल त बाबाठाकुरे बोलाइसक्ने भाछैन । पोष्टरे डन पो अरे ! भेट्दा सलाम गर्नपर्छ रे !

हजुर हजुर, त्यो कुनापट्टिमा बस्नुभाको बाउको कुरा बुझिनँ, फेरि भन्नूस् तो ।

बोर लाग्यो रे ! हरे झोले र बोरे गफ काँ पच्छन् त बाउलाई । कुम्ल्याउने मौका हो के रे नि यो । अलिलि त बुझ्नपर्छ है ।

ल ल भैगो, आज उद्घाटनको दिन राजनीतिको कुरा नअरौं । बरु तपाईंहरुलाई म मेरो च्याको बखान गर्छु, हगि ।

सुरु गरौं मेरै परिचयबाट । खासमा म पूर्वी नेपालमा जन्मेको समाजमा कठित उपल्लो जातको मुन्छे हुँ । तल्लो जात भनाउँदाकी छोरीसँग पिरिम अर्थेंँ । घाँस काट्ने बहानामा लुकीलुकी भेट्थें । गाउँलेहरुले एक दिन भेट्टाए । त्यसपछि त बबन्डर मच्चिगयो नि । निर्दलकालमा पञ्चेहरुले चारपाटा मोडेर गाउँ निकाला गरेर खेदेका हुन के रे । त्यसै कालदेखि यतै राजखानी सहरमा हल्लिराछु । काल नआउँदासम्म यतै हल्लिने हुम् । मेरी एउटी पश्चिमेली जाहान पनि छिन् यतै जोडेकी । तिनकै संगतमा हो के रे नि मेरो भाषाको लवज बेलाबेला पश्चिमतिर बाँङ्गिने । मेरो एउटा हलुवा छोरो र दुईवटी डुलुवा छोरीहरु पनि छन् । यो चर्चित गल्लीमा आउनु पहिले म बैरागी गल्लीमा च्या बेच्थें । त्यता अलि धेरै बैरागीहरुको संगत भएर यता सर्या हुम् बाबु । यता खानदानीहरुको खानदानमा छिरेसी केही हुन्च भन्ने मलाई लाइच् । यही च्या पानी बेचेर हलुवा र डुलुवाहरुलाई पढाएँ बढाएँ । च्यापानी फापेकै छ भनौँ ।

हजुर, दुःख कतिको हुन्छ रे ?

दुःख त धेरै हुन्छ बाबु । जुरुक्क उठेर तुरुक्क नमुती खुरुक्क हिँड्न पर्छ । तालपरे सुरुप्प पार्नी फुर्सद नाई । त्यहीँमाथि बन्द, आन्दोलन, टाउर, टियर, धुवाँ धूलो सबै खाने हामी नै त हुम् के रे । कहिलेकहीँ त गोली पनि खान पर्छ । मेरो एउटो साथी थ्यो जनआन्दोलनमा बिचराले गोली कुप्लुक्कै खायो । त्यतिमात्र कहाँ, झोलेहरुले हैरान पार्छन् । पैसो माग्छन् के पैसो । चन्दा, चन्दा । हण्डर र ठक्करको कुराचैँ पछि अरौंला, आज शुभसाइताँ त्यस्ता कुरा अर्नहुन्न ।

मेरो च्या’भट्टीमा परिपरिका थरिथरि च्याहरु पाइन्छन्, त्यो पनि जानि राख्नूस् के रे । पछि काम लाउँछ । अडर माग्न सजिलो हुन्च ।

म सबै च्याको फरक फरक परिचय गराउँछु है त ।

जहानियाँ च्याः

यो च्या परापूर्वक च्या हो । यो च्यामा जहान परिवारले आफ्नो स्वाद अनुसारको मरमसला हालेर खान्छन् । कसैलाई पत्तो हुँदैन यो च्याको स्वाद कस्तो छ भन्ने ! मैले यो च्या बनाउन जंगबहादुर राणाका भाइभारद्वारहरुबाट सिकेको हुँ । राणा शासन सुन्नुभा छ ? हो त्यसैको प्रतिनिधि च्या हो यो ।

प्रजातान्त्रिक च्याः

प्रजातान्त्रिक च्या भनेको पानी धेरै दूध थोsssरै हालेर बनाइने च्या हो । यो च्या हेर्दा सेतोसेतो देखिन्छ । पिउँदा तम्तम्याइलो लाग्छ । मतलब यसमा थोरै चिनी राखिन्छ । च्यापत्ती पनि थोरै हुन्छ । यो च्या बनाउन मैले बिपि कोइरालासँग सिकेको हुँ । उबेला यो च्याको खुबै माग हुन्तो रे । अहिले चैं खासै पिम्दैनन् ।

पञ्चायत च्याः

पञ्चायत च्यालाई निर्दलीय च्या पनि भनिन्छ । यो च्या विशेष प्रकारले बनाइन्छ । यसमा दूध मिसाइँदैन । मात्र पानी हुन्छ । कडा रङ र फिक्का चिनी यसको विशेषता हो । यो च्यामा कहिलेकहीँ पारखीको आवश्यकता अनुसार चिनीको ठाउँमा नुन पनि राखिन्छ । राजा महेन्द्रले २०१७ सालमा जनतामाझ पहिलोपटक यो च्या प्रचलनमा ल्याएका थिए । आजकल च्या पसलमा पाइने कालो चिया पञ्चायत च्याको नयाँ भर्सन हो ।

बहुदलीय च्याः

पञ्चायत च्यालाई पारखीहरुले खासै रुचाएनन् । त्यसैले पञ्चायत च्याको ह्याङओभर हटाउन ४६ सालदेखि बजारमा बहुदलीय च्याको प्रचलन आएको छ । यो च्याको स्वाद फरक छ । यो च्या बनाउँदा तातो पानीमा अलिकति चिनी र नगन्य बिरेनुन हालिन्छ । हल्का रङ हालेर केहीछिन पकाएपछि कागती निचोरिन्छ । बजारमा यसलाई लेमन टीको नामले पनि पुकारिन्छ । यो च्या पञ्चायत च्याको परिस्कृत रुप हो । कम्युनिस्ट र काँग्रेस सबैले पचाउने यो च्या निकै चल्तीको च्या हो । रिफ्रेसमेन्ट च्या हो बहुदलीय च्या । भर्खर भर्खर पारपाचुके भएकाहरुले बिहानै उठेर पिउने च्या हो बहुदलीय च्या ।

लोकतान्त्रिक च्याः

लोकतान्त्रिक च्या ग्राहकको निर्देशन अनुसार तयार पारिन्छ । यो च्या प्रजातान्त्रिक च्याको एडभान्स रुप हो । लोकतान्त्रिक च्यामा दूध (फ्याट निकालिएको) र पानी सराबर मिसाइन्छ । चिनी र च्यापत्ती मध्यम हालिन्छ । कहिलेकहीँ चिनीको ठाउँमा मिस्री अथवा मह पनि हालिन्छ । सबै रोगका रोगीहरुले निर्वाद पिउनसक्ने विशेष प्रकारको च्या हो यो । यो च्याको प्रयोग केही वर्ष अघिदेखि मात्र हुन थालेको हो । लोकतान्त्रिक च्या मध्यम र गरिब स्तरका पारखीहरुमा बढी प्रचलित छ । भरियाहरु एकैछिन पिठ टेकाउनलाई भए पनि यो च्या पिइरहन्छन् ।

संघीय च्याः

संघीय च्या ठाउँ विशेष च्या हो । भाषा, धर्म, संस्कृति, रहनसहन, चालचलन, भेषभुषा आदिको आधारमा फरक फरक तरिकाले तयार पारिन्छ संघीय च्या । स्वास्थ्य र फ्लेवरको लागि भनेर कतै ग्रीन टी पिइन्छ । कतै विभिन्न जडीबुटीहरु भिजाएर झोल पिइन्छ । ग्रीन टी र निम च्या संघीय च्याका चर्चित प्रकारहरु हुन् । यसले बेफाइदा गर्दैन तर स्वाद थाहा नहुनेले पिउन सक्दैन ।

गणतान्त्रिक च्याः

गणतान्त्रिक च्या पछिल्लो समयको सबैभन्दा एड्भान्स च्या हो । यो च्या बनाउँदा दूधमा मात्र बनाइन्छ । दूध उमालेर धेरै च्यापत्ती हालिन्छ । चिनी पनि थुप्रै हालिन्छ । ल्वाङ, सुकमेल, दालचिनी र सिन्कौलीका पत्ता पनि मिसाइन्छ । आधा किलोमिटर परबाट हरर्.. बासना आउने यो च्यालाई बजारमा मसला च्याको नामले पनि चिनिन्छ । बढो कडक च्या हो यो, ट्वाक्क परेको । अहिले बजारमा गणतान्त्रिक च्या को खुबै फेसन छ ।

क्रान्तिकारी च्याः

क्रान्तिकारी च्या संसारमा सबैभन्दा धेरै बिक्ने च्या हो । साँझ सुत्नेबेलामा विशेष पिइने यो च्यालाई गाउँले भाषामा खोयाबिर्के पनि भनिन्छ । क्रान्तिकारी च्या संसारको सबैभन्दा सस्तो र सबैभन्दा महंगो च्या पनि हो । यसका हजारौं प्रकारहरु छन् । मान्छेले आफ्नो औकात अनुसारको मूल्य हालेर यो च्या पिउँछन् । पछिल्लो समय पार्टी, भोज भतेरहुँदी यो च्यालाई सगुनको रुपमा प्रयोग गरिन्छ ।

यसलाई  शुभसन्ध्या च्या पनि भनिन्छ । पारखीको इच्छा अनुसार फरक फरक तरिकाले पिइन्छ क्रान्तिकारी च्या । कुनै आइस क्युवसँग पाइन्छ, कुनै तातोपानीसँग, कुनै मह मिसाएर, कुनैमा जुस मिसाएर, कुनैचैं नेट पनि पिइन्छ । खासमा  क्रात्तिकारी च्याको आफ्नै विशेषता छ । यो च्या पिएपछि एकाएक मुन्छेको रगत तातेर आउँछ । नसा नसामा नशा चढ्न थाल्छ । क्रान्तिकारी च्या धेरै पिए पिउने मुन्छेले होस नै गुमाउन सक्छ ।

यो च्याको नाम क्रान्तिकारी रहनुमा यसको विशेषताको मुख्य भूमिका छ । खानदानी चिया भट्टीमा क्रान्तिकारी च्या साँझमा प्रतिव्यक्ति दुई कप मात्र उपलब्ध हुनेछ ।

लौ त बाबुहरु यिनै हुन खानदानी बाजेको च्या’भट्टीमा उपलब्ध हुने च्याका प्रजातिहरु । तपाईंहरुले आफ्नो इच्छाअनुसारको च्या अडर गर्न सक्नुहुनेछ । समयक्रममा पछि पछि अरु अरु पनि च्याका प्रकारहरु थप्दै जानेछु ।

अहिलेलाई चैं च्याका कुरा छाडौं । हाम्रो आजको पाहुना बोली महाराज आउने समय भैसकेको छ । आउनूस्, हामी उनको स्वागतमा जुटौं ।

म बोली महाराजकी भन्छु तपाँईहरुले जय होस भन्नुहोला । सुरुप्प लगाएर..

उ उ आउनुभयो बोली महाराज ! लु त लु, नारा लगाइहालौं ।

श्री ७ बोली महाराजकी …

जय होस् ।

जय होस् ।

जय होस् ।

हस् त च्या पारखीहरु बोली महाजको हावा गफले मटक मर्नेगरि च्यापिइहाल्नुभयो । म त सटर बन्द गर्नतिर पो लागें । फिप्टी पर्सेन्टले मेरो गाँड बिकेको छ के रे ! शुभारम्भ च्या आजलाई यत्ति नै ।  जिब्रो पड्काएर …

हरि ॐ…