धर्मको रक्षा गर्नेको धर्मले रक्षा गर्छ.
धर्म नियम हो. तपाईंका लागि जे नियम, मेरो लागि त्यही नियम. यत्तिको अभ्यास गर्नुहोस् कृष्ण बन्नुहुन्छ. वा बुद्ध. वा तपाईं जे हो त्यो बन्नुहुन्छ. भनौं, मजा आउँछ अनि जिन्दगीमा. म कहिलेकाहीँ संसारको सबैभन्दा खतरा मनोवैज्ञानिक मै हुँ भन्दिन्छु. हुँ पनि होला. ध्यानीहरु कक्षामा बसेर पढेका डाक्टरहरु भन्दा ज्ञानी हुन्छन्. को मान्छे कस्तो भनेर एक मिनेटमा पत्ता लगाउन सकिन्छ. मान्छे जे गर्दैछ, कसरी गर्दैछ हेर्नु. बस्दा कसरी बसेको छ ? एकैछिन बस्दा छटपटिने मान्छेहरुको जिन्दगी नै छटपटीमा बितेको हुन्छ. चाहे जे होस्, मुस्कुराउन नछाड्नेहरुको जिन्दगी नै मुस्कानमा बितेको हुन्छ. चाहे जे होस्, कसरी मुस्कुराउने ? तरिकाहरु छन्. एउटा हो, मन परेको काम गर्ने. मन परेको भारी बोक्ने भारी नै बोक्ने भए. भारी मन पर्न छाडे नडराउने. भारी फेर्ने, वा घटाउने. सबै भारी एकै हुन्. बिल गेट्सका आफ्ना भारी छन्, तपाईंका आफ्ना. कि सबै भार चटक्कै छाड्न सक्नुपर्यो. हिलोमा खेलेपछि हिलो नलागे खोया लाग्छ ?
आनन्दले सडकमा मुस्कुराउँदै हिंडेका यात्रुहरु देखेर म छक्क पर्थें. कहाँबाट आए, कहाँ जाँदैछन्. किन जाँदैछन्, यी मान्छे ? जागिर किन खाँदैनन् ? घर परिवारसँग किन बस्दैनन् भनेर. तिनीहरुको खोज गर्दागर्दै म आफैं तिनीहरु जस्तै भएँ. यात्रु.
बुद्धले रोगी-बुढो-मरेको मान्छे एकैपल्ट फर्स्ट टाइम देखेर जीवनका त्रिभुजाकार दुःख र तीबाट मुक्तिको उपायका बारेमा सोचे. मैले यही कुरा आफ्नै स्पिडमा यात्रा गर्दै, यात्रुहरु भेट्दै पत्ता लगाएँ.
ऋषिकेशको व्यस्त सडकमा धोती लगाएर काँधमा सितार झुन्ड्याएर मुस्कुराउँदै हिंडेको एउटा खैरे देखेको थिएँ, मैले पन्ध्र वर्षअघि. त्यो मान्छेको धमिलो आकृति मेरो मनभित्र बनेका भगवानका कैयौं मूर्ति मध्येका एक मूर्ति हो.
म बेला-बेला त्यहाँ निहुरिन्छु. त्यो गर्मी, त्यो भारी, त्यो असहजतामा पनि काँधमा मन परेको वस्तु छ र अगाडि बाटो छ भने मुस्कुराउँदै हिंड्न काफी छ जिन्दगी.
काँधमा के बोक्ने, आफैं डिसाइड गर्नु.
कतिले बायोलोजिकल परिवारको क्षुद्रता बोक्छन्, रुन्छन्.
कतिले सारा ब्रह्माण्ड बोक्छन्, मुस्कुराउँछन्.
सुँगुर र सुँगुर पाल्नेहरुलाई छुनु हुँदैन भनेर हुर्काइएको मलाई न गाई न गोरु न कुकुर न सुँगुर, बरु सबैभन्दा मान्छे फोहोर हो भनेर बुझ्न कति स्ट्रगल गर्नुपर्यो होला सोच्नुहोस्. त्यही स्ट्रगल साधना हो. हृदयलाई कैद गरेर राखेका जन्जीर फुटाउन सजिलो छैन. समाज, संस्कार, सरकार. वार नै हान्नु पर्छ. यो युद्ध आफ्नो लागि आफैंले लड्नु पर्छ. म तपाईंको युद्धमा समर्थन गर्न सक्छु तर त्यो लड्नु तपाईं आफैंले पर्छ. तर मजा आउँछ. लड्नु. ऐयाको पनि आनन्द लिएर एक्लै लड्नु. मुक्ति आर्जेर हेर्नु एकपल्ट. तपाईंको अनुहारमा सुनको उज्यालो स्वतः आउँछ.
साधना गरेको मान्छेको अनुहारमा धर्मको चमक हुन्छ. मैले यो चमक धेरैको अनुहारमा देख्न थालेको छु अचेल. दुई वटा कुरा हुन सक्छ, कि म आजभोलि जागृतिको अभ्यास गरिरहेका साधकहरु मात्र भेट्दैछु वा हरकोही जाग्न चाहिरहेका छन्. दुवै हुनसक्छ. नबिक्नु. आत्माको उज्यालो रहे जस्तै अँध्यारो रात काटिन्छ. आनन्दैले. हामीले हिउँ परेको रात पन्चासे तालमा ताराहरुसँग बात मारेर काट्यौँ- ओढ्ने–ओछ्याउने र खाना बिना नै. आत्माको उज्यालो अझै ब्राइट भयो. यही हो धर्म.
यति छाड्नु जिन्दगीमा छाड्ने केही बाँकी नरहोस्. अनि के गुम्छ ? नमागी पाएको हरेक वस्तु उपहार हुन्छ.
हाम्रो कबिर ब्रोको छोरोको नाम. कबिर ब्रोको अनुहारमा पनि त्यो स्ट्रगलको उज्यालो छ.
मेरो साथी एलेक्स नेपाली, जो खैरे भएर पनि ढाका टोपी लगाएर सडकमा गीत गाउँदै हिंड्छ,
मेरो भाइ मिलन जो बच्चा जस्तो छ, केटाहरु ब्याण्डको मिलन भाइ जो रोल्पा वा रुकुमको पसलमा चुरोट किन्दा भेटिएकी अनिताको नाम गीतै बनाउँछ, लेकसाइडको सडकमा जाडोको मतलब नगरी रातको बाह्र, एक बजे गितार भिरेर खुट्टा लरबराउँदै ट्वान्टी थर्ड स्ट्रिटदेखि फर्स्ट स्ट्रिट हिंडेर घर जान्छ, मुस्कुराउँदै, उसको अनुहारमा पनि त्यही चमक छ.
धर्मको रक्षा गर्नेको धर्मले रक्षा गर्छ. गीतामा भनेका मेरो हिरोले. नटखट नन्द लाल.
जाग्न चाहनेले धर्मका केही नियमको पालना गर्नै पर्छ. तिनै नियम बुझाका हुन् उनले अर्जुनलाई.
उनै कृष्णको मुरली र मौन दुवैको माल बोकेको गीता यस्तो ग्रन्थ बन्यो, पढ्ने र बुझ्नेहरू एकाएक ब्युँझिए. ती ब्युँझिएकाहरु कोही रातभर टाउकोमा गीता बोकेर नाचे, कोही आँखा बन्द गरेर थुचुक्कै बसे र फेरि कहिले उठेनन्.
गीतामा दम छ. त्यसैले धर्म निरपेक्ष मित्र राष्ट्र भारतमा पनि गुप्तचर संस्था ‘र’कोस्लोगन छ धर्मो रक्षती रक्षित.
साथीको घरको छतमा साँझको सात आठ बजे गितार बजाएर दारु खाएर हाहाहिही गरेर बसेका हामीलाई छिमेकी आन्टीले एक्कासि झ्याल खोलेर कराउनु भयो. ‘म त मेरै भाइहरु (सुनिलहरु अर समथिंग लाइक द्याट) होलान् भनेर चुप लागेर बसेकी ! केको हल्ला हो तिमीहरुको ?’
यो डाइलग र सिन मैले किन सम्झिएँ भने त्यो क्षणमा मैले कृष्णले गीतामा अर्जुनलाई भनेको कुराको स्वाद पाएको थिएँ. गीता बुझेको थिएँ. बरु मार्नु धर्म हो तर मेरा मारेर राजा हुन्न भन्नु सरासर अधर्म हो. अधर्म त्यही हो, जसले दुःखमा लिएर जान्छ. तपाईंलाई मेरा र तेराले फरक पार्छ भने तपाईं अधर्मी हो र अधर्मीलाई दुःख नै हुन्छ जिन्दगीमा सधैं. आन्टीको दुःखको कारण हामीलाई उहाँका भाइहरु भन्दा फरक देख्नु थियो. अर्जुनको दुःख पनि त्यही त थियो ! विपरीत खेमामा उभिएका योद्धाहरुलाई मात्र आफन्त देख्नु.
यो बुझेर मैले मेरा र तेराको विभेद छाडिदिएँ. जे म हुँ, त्यो सबै हुन्. जे म हैन, त्यो कोही हैन.
मभित्र एउटा शून्यता छ, जो म हैन. त्यसैले त्यो कोही हैन. मेरा नियमहरु त्यो कोही हैनले बनाउँछ जो मप्रति पनि उत्तिकै निर्दयी छ. धर्मको पालन गर्नैपर्छ. मेरा लागि र अरुका लागि फरक नियम हुँदैन. म आफूलाई जति दिन्छु अरुलाई पनि त्यति नै दिन्छु. सर्वस्व. गीताले सिकायो. वाल्ट व्हिटम्यानको ‘लिभ्स अफ ग्रास’मा पनि यस्तै एउटा कविता छ. जब म दिन्छु, पैसा-अर्ती-उपदेश जस्ता स-साना कुरा दिन्न…जब म दिन्छु मेरो सर्वस्व दिन्छु…
गीता बुझ्नुहुन्छ भने बुझ्नुहुन्छ, मैले म भनेर भन्ने म म मात्र हैन. त्यो म तपाईंभित्र पनि छ. निःशब्द, निराकार. मेरो मले शब्दमा अभिव्यक्त गर्न सक्ने गिफ्ट पायो भगवानबाट. तपाईंको म अभिव्यक्त हुने पनि एउटा कुनै ल्याङ्ग्वेज छ. त्यो पत्ता लगाउनू. रङसँग खेल्ने कि माटोसँग? कि शब्दसँग, वा कुनै बाजासँग? अनि तपाईं पनि आफ्नो गीता गाउन सक्नुहुन्छ, मैले जस्तै. राइट योर ओन फकिङ गीता लाइक आइ डिड !
धर्मको रक्षा गर्नु. आफुलाई नखुम्च्याउनु. यति फैलाउनु, शून्य बन्नु फैलिएर आखिरमा. माया र याचना लिएर आउँदा तपाईंसँग कसैले दुत्कारेर नपठाउनू.
लेट अस मेक द वर्ल्ड काइन्ड अगेन.
त्यही हो धर्म.
दया र धर्म जगाउनु हृदयमा अनि त्यही धर्मले रक्षा गर्नेछ.
मेरो त रक्षा भगवानले गरेका छन्. चुट्टिएको चप्पल लगाएर बसेको रेष्टुरेन्टभित्रै चप्पल बनाउने मान्छे आइपुग्छ आफैं. दारु खान गएको रेष्टुरेन्टमा मेरो घरमा जे वाईफाई पासवर्ड हुन्छ त्यही पासवर्ड हुन्छ. आगो ताप्न बसेको ठाउँमा हातमा ठ्याक्कै उही ट्याटु भएको मान्छे भेटिन्छ, अनि के मतलब साना कुराको !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।