आजकल म सपनाको पछि परेको छु ।
पछि परेको छु भनिरहँदा प्रेममा छु भन्ने अर्थ दिन सक्ला । हो, म सपनाको प्रेममा छु । सपनाले मेरो अमन-चैन लुट्यो । जसले मलाई मजस्तो रहन दिएन । मेरो दिनचर्या बद्लियो । नजिक भएका टाढिदै छन् । टाढा भएका नजिकिँदै छन् । यो सबैको पछि मेरो सपनाको चलखेल छ ।
अचेल म आफूलाई बेग्लै महसुस गरिरहेकी छु । तपाईको पनि स्वयंलाई परिवर्तित गरिदिने कुनै सपनासँग भेट भइसक्यो कि अझै बाँकी छ ?
अक्सर मानिसहरु प्रत्येक रात फरक-फरक सपना देख्ने गर्दछन् । कहिले प्रेमिल, कहिले कारुणिक, कहिले भयंकर त कहिले हाँस्यास्पद । सपनाको थरिथरि रुप देखेर म सोचमग्न हुन्छु । छेपारोले रङ फेरे झैँ परिवर्तनशील सपनाहरु किन देख्छ मान्छे ? किन सपना देख्न निदाउँनै पर्ने ? खुल्ला आँखामा त्यो सपना किन देखिँदैन जुन हामी निदाउँदा देख्ने गर्छौँ ?
म गम खान्छु , निदाउँन उत्प्रेरित गर्ने चिज कसरी सपना हुन सक्छ र ? जबकी मैले सपना देख्न थालेदेखि म निदाउँन सकिरहेकै छैन । मैले अनुभूत गरिरहेकी छु कि सपनाले मान्छेलाई निदाउन दिँदैन । बरु वर्षौँदेखि बन्द भैरहेको आँखा पो खोलिदिँदो रहेछ ।
मेरो बुझाइमा सपनासँग अद्भुत शक्ति हुने गर्दछ । यसले वर्गीय खाडल पुर्नसक्ने ल्याकत राख्दछ। गरिबलाई धनी, निर्धोलाई बलशाली र मूर्खलाई परम् ज्ञानी बनाउन कतिबेर पनि लगाउँदैन । महाकवी कालिदास, अब्राहम लिंकन, भारतका धनाड्य रतन टाटा, एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सलगायत थुप्रै उदाहरण हाम्रो अगाडि छन् । उनीहरुले एउटा यस्तो सपना देखे जुन बारम्बार दोहोरियो । जसले उनीहरुलाई निदाउन अनुमति नै दिएन । सपनालाई वास्तविकतामा रुपान्तरण गर्न मिहेनत, लगाव र समयको भरपुर प्रयोग गरेर अफ्नो सपनालाई यसरी साकार गरिदिए कि आज उनीहरु जस्तो बन्नु धेरैको सपना बनेको छ ।
म घोत्लिन्छु, यस्तो शक्तिशाली प्रवृत्ति भएको सपनालाई प्रभाव पार्ने तत्व भने के के छन् होला ?

ईश्वरा शिवा

कुनै व्यक्तिको शारीरिक संरचना, मानसिक तथा मनोवैज्ञानिक स्थितिले उसको व्यक्तिगत सपना निर्धारण गरिरहेको हुन्छ । जस्तै: उच्च कदको पुरुषले सेना/प्रहरीमा भर्ती हुने सपना देख्लान् । त्यसैगरी, गोरी, स्लिम र अग्ली महिलाले मोडल बन्ने सपना सजाउलिन् । अर्कोतर्फ, मानिसको मानसिक अवस्थाले पनि सपनालाई मार्गनिर्देशन गरिरहेको हुन्छ। पढाइमा अब्बल व्यक्तिले बौद्धिक क्षेत्रतिर आफ्नो भविष्य खोज्ने गर्दछन् भने पढाइप्रति रुचि कम भएका व्यक्तिले शारीरिक परिश्रम गर्ने क्षेत्रतिर आफ्नो रुचि देखाउने गर्दछ्न् । जस्तो कि, कक्षामा प्रथम हुने विद्यार्थीले डाक्टर, इन्जिनियर हुने लक्ष्य राख्ने गरेको भेटिन्छ भने शैक्षिक स्तर न्यून भएका व्यक्तिले व्यापार व्यवसाय तथा दैनिक मजदुरी गर्नेबारे सोच्दछन् । त्यसैगरी मानिसको अनुभव, संवेग र प्रेरणाको स्रोतले पनि उसले देख्ने सपनाको प्रकार खुट्याउन सक्छ । यसलाई प्रमाणित गर्न एउटा गज्जबको उदाहरण नेटफ्लिक्समा उपलब्ध डकुमेन्ट्री “माइ अक्टोपस टिचर” मा भेटिन्छ । बच्चैदेखि समुन्द्रको वरिपरि विचरण गरिरहेको क्रेग फोस्टरले समुन्द्रका जीवसँग समुन्द्रभित्र नै छिरेर प्रत्यक्ष भलाकुसारी गर्ने सपना देख्छ । जब ऊ जवान हुन्छ, आफ्नो सपना पूरा गर्छ। अर्थात् ऊ समुद्रमा छिरेर एउटा फिमेल अक्टोपसलाई साथी बनाउँछ । उक्त अक्टोपसले सन्तान उत्पादनको लागि आफ्नो ज्यान कै बलिदान दिएको देखेर उसले निकै ठूलो पाठ पनि सिक्छ ।

यसरी हामीले कस्तो सपना देख्छौँ भन्ने कुराको निर्धारण हामी हुर्किरहेको वातावरण अनुसार पनि हुने गर्दछ।
देश अनुसार सपनाको स्वरुप पनि फरक हुने गरेको पाइन्छ । कुनै देशको भौगोलिक, सामाजिक, धार्मिक, आर्थिक तथा राजनैतिक संरचनाले देशका औसत नागरिकको लक्ष्यमाथि प्रभाव पारिरहेको हुन्छ । पहाडमा बसोबास गरिरहेका व्यक्तिले तराईमा घर बनाउने अनि तराईमा बसिरहेका मानिसले काठमाडौंमा घर बनाउने सपना देख्नु सामान्य हो । त्यसैगरी, हामी नेपालीले जस्तो किसिमको सपना बुन्छौँ त्योभन्दा भिन्न प्रकारको सपना अन्य देशका नागरिकले देखिरहेका हुन्छन् । कुनै जापानीले रकेट उडाउने सपना बुनिरहँदा हाम्रो लागि कार कुदाउन सक्नु पनि निकै ठूलो सपना बनिरहेको हुन्छ। भारतमा चुलोचौको हुँदै बजारसम्म आइपुगेका हिन्दु धर्मावलम्बी महिलाले राजनीतिमा आफ्नो स्थान बनाउने सपना देखिरहँदा साउदी अरबमा मुस्लिम धर्मावलम्बी महिलाका लागि बुर्का उतारेर बजारसम्म आइपुग्नु पनि उडेर चन्द्रमा छुनुजत्तिकै ठूलो सपना बनिरहेको हुन्छ । हाम्रो जस्तो विकाशील राष्ट्रमा एउटा दूरदर्शी र इमान्दार नेता पाउनु पनि सपनाकै कुरा हुन जान्छ ।
मलाई फेरि सोच्न मन लाग्छ, अन्य कारणजस्तै लैङ्गिक कारणले सपनालाई प्रभाव पार्छ कि पार्दैन होला ?
मेरो एउटा सपना छ । यस्तो लाग्छ कि मेरो सपना पूरा गर्न धर्ती आकाश एक गरिदिउँ । म चाहन्छु, मलाई निद्रा नलागोस् ताकि निदाउनै पर्ने समय पनि म सपनाको लागि खर्च गर्न सकुँ । मलाई भोक पनि नलागोस्, खाना खाने समय पनि सपनाकै नाम गरिदिउँ जस्तो ! मलाई स्वास्थ समस्या नदेखियोस् । म प्रत्येक पल सपनाकै लागि समर्पित गर्न सकुँ । मलाई कहिल्यै थकाई नलागोस् ताकि मैले सफलताको शिखर चुम्न सकुँ। र मेरो सपनासँग सम्बन्ध नराख्ने कुनै पनि क्रियाकलाप मैले गर्नु नै नपरोस् ।

तर सोचे झैँ जिन्दगी कहाँ हुन्छ र ? यदि हुन्थ्यो भने पनि जिन्दगी जिन्दगीजस्तो नै कहाँ हुन्थ्यो र ? प्रत्येक व्यक्तिको संघर्षका कथा हुन्छन् र त जिन्दगी सुन्दर छ ।

मलाई अचेल यस्तै यस्तै लाग्छ । तर सोचे झैँ जिन्दगी कहाँ हुन्छ र ? यदि हुन्थ्यो भने पनि जिन्दगी जिन्दगीजस्तो नै कहाँ हुन्थ्यो र ? प्रत्येक व्यक्तिको संघर्षका कथा हुन्छन् र त जिन्दगी सुन्दर छ । यदि सुखैसुख हुन्थ्यो भने सुखको के महत्त्व हुन्थ्यो होला र ? दुःख हुन्छ र त सुखको अनुभूति रोमान्चक हुने गर्दछ ।
म फेरि बरालिएँ ।
म त सपनालाई लैंगिक भिन्नताले असर गर्दछ कि गर्दैन भनेर सोचिरहेकी थिएँ । एकथोक सोच्दासोच्दै अर्कोथोक सोच्न सक्ने प्राणी मान्छे मात्र होला । एउटी महिला भएर केही बन्ने सपना देख्नु नै ठूलो कुरा हुने गर्दछ । सपना पूरा गर्न लाग्ने उर्जा र समय मिलाउन झनै मुस्किल हुने गर्दछ । जस्तै: एउटी विवाहित महिलाले घरपरिवार सम्हाल्नु, घरायसी कामकाज गर्नु, बच्चाको स्याहार गर्नु, इष्टमित्र राख्नु, जागिर खानु र अध्ययनलाई पनि सँगै लानु जस्ता विषय सामान्यत: असम्भव नै देखिन्छ । र लक्ष्य नबनाउँदै लक्ष्यलाई तिलान्जली दिनुपर्ने हुन्छ । यदि लक्ष्य पूरा गरिछाड्छु भन्ने अठोट भएमा निकै ठूलो मूल्य चुकाउनु पर्ने हुन्छ । या त परिवार त्याग्नुपर्ने हुनसक्छ या त स्वास्थ्य धरापमा पार्नुपर्ने हुन्छ।
महिला स्वास्थ्यको कुरा गर्दा मासिक रक्तस्रावको दुखाइ र झन्झट वर्णन गरिसाध्य हुन्न । महिनावारीका दिन हरेक महिलाका लागि दुःखदायी हुने गर्दछ । विवाहितको हकमा मेजर अपरेशनबाट बच्चा जन्माएका महिलाको पीडा झनै दुःखद् हुन्छ । कामको बोझ बढी हुँदा तल्लो पेट दुख्ने र कम्मर दुख्नेजस्ता समस्या देखा पर्दछन् । यस्तो अवस्थामा घरकै काम गरेर थकित बनेका महिलालाई स्वरोजगार बन्न गाह्रो हुने नै भयो । झन् कार्यस्थल महिलामैत्री नभएमा त उनीहरुका सपना सपनामै सीमित हुने गर्दछन् । त्यसमा पनि सरकारीभन्दा निजी क्षेत्रमा जागिर गर्ने महिला बढी मर्कामा पर्ने गर्दछन् । प्रायःजसो कार्यस्थलका प्रमुख पुरुष हुने हुँदा महिलाका पीडा बुझिदिँदैनन् । महिलाको र पुरुषको शारीरिक प्रक्रियागत भिन्नताको बेवास्ता गरिन्छ । र उनीहरुको स्वास्थ अवस्थाबारे नजरन्दाज गरिन्छ । दुर्गम र पहाडी भेगका महिला, दैनिक ज्यालादारी काम गर्ने महिलाले अत्यधिक शारीरिक श्रम गर्नुपर्ने हुन्छ। उनीहरुको जीवनमा आरामको स्थानै हुन्न। जसका कारण अधिकांश महिलामा आङ खस्नेलगायत अन्य स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् । अत: पुरुषको लागि सपना पूरा गर्न जति मुस्किल हुन्छ, त्योभन्दा बढी महिलाले देखेका सपना पूरा हुन मुस्किल बनिरहेको हुन्छ ।
सपना देख्न र पूरा गर्न एकअर्कालाई सहयोग गर्नु नै असली मानवता हो ।
हरेक क्षेत्रमा विभेद देखेर/भोगेर आजित भएको यो मन शंकालु छ । म सोच्छु, कतै सपनाले पनि भेदभाव त गर्दैन ? होइन भने उस्तै मिहेनत गरे पनि कसैका सपना चामत्कारिक रुपले सफल हुने अनि कसैको सपना नराम्रोसँग बिफल हुने, किन? आखिर त्यस्तो के छ सपनामा ? जसको गन्तव्य भेट्नु जो कोहीको वशमा हुँदैन।
हुन त संरचनागत लाभांश र  सपना हासिल हुनु नहुनु बीच गहिरो सम्बन्ध हुन्छ । सामाजिक रुपमा अवहेलनामा परेको समुदाय र समाजले ग्राह्यता दिएको समुदायका व्यक्तिहरुले देख्ने सपनामा अन्तर त हुन्छ नै, लक्ष्य हासिल गर्ने प्रक्रियामा पनि निकै भिन्नता पाइन्छ । पिछडिएका समुदायका महिलाहरुको कथा/व्यथा सो समुदायका पुरुषको तुलनामा धेरै मार्मिक हुन्छन् । हाम्रो जस्तो देशमा तेस्रो लिङ्गी र अपाङ्ग व्यक्तिहरुको सपना पूरा हुन हम्मेहम्मे नै पर्दछ । यसर्थ, सपना देख्न र पूरा गर्न एकअर्कालाई सहयोग गर्नु नै असली मानवता हो ।
अन्त्यमा, जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष सपना देख्नु हो । सपनाविनाको मान्छे सायद मान्छे नहुन सक्छ । तसर्थ, सपना देख्ने बानीको विकास गरौं । र सपना देख्नेहरुले मिहेनत अनि लगन अत्यावश्यक हुन्छ भनी बुझ्न आवश्यक हुन्छ । यस धर्तीमा समस्या नभएको कुनै ठाउँ छैन । लक्ष्य हासिल गर्न जति समस्या आइपर्छ लक्ष्य प्राप्तिपछिको आनन्द पनि त्यति नै बढी हुन्छ । अत: आफूसँगसँगै अरुलाई पनि सपना पूरा गर्न सहयोग गर्ने गरौं । सबै सपनाका मालिकहरुलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना ।