म जन्मको हिसाबले वि.स. २०४० को दशकका पुस्ताको प्रतिनिधित्व गर्दछु । हाम्रो समयमा बाह्रखरी पढ्दा ‘च’ बाट ‘ चर्खा’ धेरैपटक पुनरावृत्ति/कण्ठस्थ गरेका थियौं । हामी धेरैले चर्खा चित्रमा मात्र देख्यौँ त धेरै कमले यसको जीवन्तता देख्ने सौभाग्य प्राप्त गर्यौं । चार चुच्चे ‘च’  उच्चारण अभ्यासका हिसाबले लोप भइसक्यो । च बाट ‘चर्खा’ शब्दलाई चमेरो/चरा/चम्चा आदि शब्दले विस्थापित गरेसँगै प्राचीन स्थानीय प्रविधिको उच्चतम यन्त्रको महिमा दिनानुदिन घट्दो क्रममा रहेको छ । तत्कालीन समयमा व्यवसाय र स्थानीय अर्थतन्तसँग जोडिएको यस यन्त्रको प्रयोग वर्तमानमा शून्य भएको छ । स्वयम् चर्खा पनि भौतिक रूपमा लोप हुने अवस्थामा छ । वर्तमानको यान्त्रिक युगमा जनजीवनदेखि हरेक वस्तु/क्रिया/प्रक्रिया सरलतादेखि जटिलतामा रूपान्तरण हुँदै गर्दा भाषा व्याकरण त्यो अपवाद हो जुन समयको माग अनुसार सरलीकृत हुँदैछ ।

नेपाल प्राकृतिक, साँस्कृतिक, भौतिकलगायत सम्पूर्ण स्रोतहरुमा अब्बल हुँदा पनि हाम्रा स्थानीय उत्पादनलाई ब्रान्डिङ् गर्न नसकेका कारण हाम्रा श्रोतसाधनले उचित बजारमूल्य पाउन सकिरहेका छैनन्। विडम्बना ! पूर्वाधार विस्तारको अभावका कारण हामीले हाम्रै जुम्ला, हुम्लामा उत्पादित स्याउभन्दा न्यूजिल्याण्ड, चाइना र भारत आदि देशबाट स्याउ आयात गर्न बाध्य छौँ । फलस्वरूप कृषककाे श्रम, पसिना शून्य आम्दानीमा खेर गइरहेको छ । जसको कारण किसानहरु सडक आन्दोलनमा होमिएका छन्। उखु किसानको आन्दोलन हामीले भर्खरै देख्यौँ ।

केशवविक्रम सिंह

वर्तमानमा नेपालको अधिकांश पहाडी भूभागमा (सहरबाहेक) प्रतिमाना दूधको औसत मूल्य रू.५० मात्र, प्रतिकेजी खसीको मासुकाे औसत मूल्य रू. ६०० मात्र, र प्रतिपाथी मकैको औसत मूल्य रु. १५० मात्र कायम गरिएको पाइन्छ । कोही व्यक्तिले स्थानीय उत्पादनका दैनिक उपभोग्य सामाग्रीमा मूल्य अभिवृद्धि गरेको खण्डमा उक्त व्यक्ति सामाजिक बहिष्कारको जोखिममा पर्नसक्ने सम्भावना धेरै रहन्छ हाम्रो समाजमा । तर स्थानीय उत्पादनबाहेकका उपभोग्य सामाग्री/वस्तु/सेवामा करिब एक वर्षको अन्तरालमा नै सय प्रतिशत मूल्यवृद्धि हुँदा पनि हामीमा केही फरक परेको देखिँदैन । न त सरकारकाे  कुनै निकायले यसको लेखाजोखा राख्ने गर्दछ । विश्वव्यापीकरणकाे बढ्दो प्रभावका कारण हाम्रा स्थानीय उत्पादनका वस्तुहरू अवमूल्यन मात्र होइन अवहेलित भएका छन् ।

विश्वव्यापीकणको दलदलमा नेपालको अर्थतन्त्र दिनानुदिन फँस्दै गइरहेको छ । प्रतिसेट आइफोनको औसत मूल्य रू. एक लाख राखी केवल २०० वटा फोन सेटलाई ७५ प्रतिशत मूल्यह्रासमा खरिद गर्दा जम्मा हुने पूँजीले नेपालमा एउटा आलिसान घर बन्दछ, आधा करोड लागतको । हामी एक झोला फोनसँग एउटा घर साट्न बाध्य रहेका छौँ ।यो विचारणीय छ – “एक झोला अमेरिकन आइफोन इज इक्वाल टु एउटा घर, नेपालको राजधानी काठमाडौंमा ।”

वर्तमानमा इपिडेमिक रहनसक्ने कोरोना यसरी प्यानडेमिक हुनु पनि विश्वव्यापीकरणको परिणिति होइन भन्न सकिँदैन । तर प्यानडेमिककाे कारण नै विश्वव्यापीकरण हो भनी केवल विश्वव्यापीकरणको विपक्षमा विरोधका लागि विरोध गर्नु ट्रान्स बोर्डर मानव मोबिलिटी मानव स्वास्थ्य विरुद्ध छ भनेर प्रस्ट्याउन खोज्नु यो लेखकाे ध्येय होइन ।

हाम्रो देशको मुख्य अर्थतन्त्र रेमिट्यान्सले धानेको छ जुन ट्रान्स बोर्डर मोबिलिटीकाे प्रतिफल हो । लेखको ध्येय यो हो कि स्थानीय उत्पादनलाई रेमिट्यान्सकाे अलवा देशको अर्थतन्त्रको मेरुदण्ड किन नबनाउने ? विश्वव्यापीकरणको केही बेफाइदाबाहेक फाइदाहरु नभएका होइनन् । यक्ष प्रश्न यो हो कि – हाम्रो अर्थतन्त्र विश्वव्यापीकरणको हावीले कुन दिशातर्फ उन्मुख रहेको छ ? यसरी परनिर्भरतामा निस्सासिएको अर्थतन्त्रकाे निकास के ? हामी वैदेशिक ऋणको भारविना आत्मनिर्भर भएर बाँच्ने कहिले ?

वर्तमानमा हाम्रो देशमा एक माना दूधकाे मुल्य र ५०० मी.ली. चिसो पेय पदार्थको  मूल्य औसतमा बराबर हुन आउँछ। नर्थ फेस ब्रान्डको  ज्याकेटले दिने न्यानोपनभन्दा भेडाको उनबाट बुनेको ऊनीको स्वीटरको न्यानोपनमा कुनै कमी हुँदैन । अति राष्ट्रवादीहरुको जस्तो बहुराष्ट्रिय कम्पनी र त्यसका उत्पादनलाई अन्धविरोध गर्नुभन्दा दूध र पेय पदार्थ, ब्राण्डेड ज्याकेट र स्थानीय ऊनी स्वीटर जस्ता प्रतिनिधि उदाहरणबीचकाे फाइदा- बेफाइदा लेखाजोखा गरी आत्मसाथ गर्नु शोभनीय हुन्छ ।

हाम्रो देशको अर्थतन्त्रलाई ज्यादा खोक्रो बन्न नदिनका लागि आम जनताले विदेशीभन्दा स्वदेशी वस्तु/ सामाग्रीलाई प्राथमिकता दिनुमा नै हामी सबैको भलो हुन्छ । विश्वका ब्राण्डेड् वस्तुको बहिष्कार होइन स्वीकार गर्नसक्ने आर्थिक हैसियत बनाउनु हामी सबैको कामना हो ।त्यसैले कम्तिमा पनि साठी-चालीस अनुपातमा स्थानीयकरण र विश्वव्यापीकरणलाई आत्मसाथ र अवलम्बन गर्ने हो भने अहिले विनाअर्थ खेर गइरहेका स्थानीय श्रोतसाधन हामीलाई वरदान साबित हुने थिए ।

नेपालका धेरै ग्रामीण भेगमा स्थानीय प्रविधिका यन्त्रहरुको प्रयोगमा कमी आएसँगै कृषिजन्य उत्पादनमा ह्रास आइरहेको छ । उदाहरणका लागि उखु पेली खुदो बनाउने ‘कोल’काे लोपसँगै उखु उत्पादनमा ह्रास आएको तथ्यलाई लिन सकिन्छ। कोलकाे लोपसँगै भोगटे, ज्यामिरे र अमिलोजस्ता फलफूलहरू अवहेलित भएका छन् । अघिल्लो पुस्ताले रोपेका एक-आधा आफ्नै मृत्यु कुरेर बसेका बोटबाहेक नयाँ बोटहरू देख्न पाइँदैन । हाम्रो पुस्तामा यी फलफूलहरु केका लागि रोप्ने भन्नेमा नै अन्योलता सृजना भएको छ । यी फलफूलबाट बनाइने ‘चुक’ र उखुको ‘खुदाे’लाई हामीले पछिल्लो पुस्ताको लागि केवल शब्दकोशमा शब्दको रुपमा सुरक्षित राखिदिनबाहेक अरु सकेका छैनौँ ।

व्यवसायिक फलफूल खेती केवल मीठो परिकल्पनासिवाय व्यवहारमा लागू हुन सकिरहेको छैन । वर्तमान् पुस्तामाझ ‘कोल’ पनि ‘चर्खा’जस्तै केवल शब्दमा सीमित रहेको छ । स्थानीय प्रविधिका यन्त्रहरुको लोपसँगै हाम्रो भूभागबाट धेरै वनस्पतिहरू लोप हुने सुनिश्चित छ । यी र यस्ता स्थानीय प्रविधिका यन्त्रहरुलाई वैज्ञानिक ढंगले पुनर्जीवन दिनसकेमा हामी सबैको कल्याण हुने कुरा पक्का छ । कृषिक्रान्ति नाराबाट होइन, बाँझो खेतबारीबाट सुरु नभएसम्म हामी संसारकै नमूना कृषि प्रधान देशका जनता रहिरहने छौँ । यस्तो देश जहाँका जनताको मुख्य पेसा कृषि रहे तापनि आलु, प्याजदेखि चामलसम्मका दैनिक उपभोग्य सामाग्रीहरुका लागि अन्य देशको बाटो ताक्नु पर्दछ।

नेपाल कृषि प्रधान देश भएकाले यहाँका स्थानीय प्रविधिका यन्त्रहरु कृषिमैत्रि रहेका छन् । यी यन्त्रहरु र कृषिबीच पारस्परिक सम्बन्ध रहेको छ । यी प्रविधिको विकास गर्नु भनेको विभिन्न जीव र वनस्पतिको संरक्षण, वृद्धि र विकास गर्नु हो । उपभोग्य वस्तुको उपलब्धता र क्रयदरबीचमा समानुपातिक सम्बन्ध रहेको हुन्छ । टनेल खेतीको विस्तारका कारण गोलभेडाकाे उपलब्धता बढेसँगै हाम्रो भान्सामा गोलभेडाबिना तयार भएको तरकारी हामीलाई तरकारी कम खोले ज्यादा जस्तो लाग्छ । अघिल्लो पुस्तामा चिकेन सुपको लागि देवाली, झाँक्री पूजालगायत अन्य कुनै विशेष दिन कुर्नुपर्ने हाम्रो समाजमा ब्रोइलर कुखुराको उपलब्धता बढेसँगै करिब दिनहुँजसो हाम्रो भान्सामा चिकेन आइटम बनिरहेको हुन्छ ।

माग र आपूर्तिबीचको सन्तुलनविना अर्थतन्त्र मजबुत रहन सक्दैन। नेपालमा उपभोग्य सामग्रीको मागको तुलनामा आपूर्ति न्यून रहनु अर्थतन्त्र दिनानुदिन खस्कनुको मुख्य कारण रहेको छ । स्थानीय प्रविधिका यन्त्रहरुकाे वृद्धि र विकासले स्थानीय उत्पादनमा वृद्धि गरी स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने कुरामा दुई मत छैन ।

स्थानीय प्रविधिको वैज्ञानिकीकरण र स्तरवृद्धि गर्नसकेमा स्थानीय ज्ञान र सीपको कार्य दक्षतामा निखारता अभिवृद्धि हुने थियो । स्थानीय प्रविधि धेरै हदसम्म वातावरण मैत्री हुने हुँदा यसको प्रयोगले दीगो विकासको प्रक्रियामा थप टेवा पुर्याउछ । जब अन्तराष्ट्रिय बजारमा स्थानीय उत्पादनको पहुँच पुग्नेछ तबमात्र यस यान्त्रिक युगमा पनि केवल भाषा/व्याकरणमा मात्र नभई जनजीवन पनि जटिलताबाट सरलता/सहजतामा रूपान्तरण हुन्छ ।

स्थानीय प्रविधिका यन्त्रहरू हाम्रा अमुल्य निधि हुन् । यिनीहरुको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।

जय स्थानीय प्रविधि !