पुल बन्दै गैरहेको छ । हिजोदेखि रेलिङहरु राख्न सुरु गरियो । आउने जाने यात्रुहरु पनि त्रसित भएर त्यो अजङ्गको पुललाई टुलुटुलु हेर्छन् । हामी सबैलाई उनीहरुको त्यो दृष्टि मन पर्छ । त्यसबेला हामीहरुलाई यस्तो लाग्छ, मानौँ त्यो पुलको लागि इष्टिमेट पनि हामीले नै गरेका हौँ र हाम्रै खर्चले त्यो पुल बनेको हो ।
खोलाको बगरमा ससाना झुप्राहरु बनाएर हामी कार्यरत छौँ । हाम्रो एउटै इच्छा छ, पुल बनोस् र सप्तकोसीको बाँधलाई नछोई पारि पुगियोस् ।
तर हिजोआज त्यो जोश–उत्साह सबै मरिसकेको छ । यस्तो लाग्छ, हामी मूर्दाहरुको बस्तीमा निरुदेश्य आफूलाई बलिका लागि प्रस्तुत गरिरहेछौँ । नाइकेका आँखामा चढ्दै आइरहेको संस्कारको रङले हाम्रो मनभित्र अजीब डर पैदा गरिरहेछ । ऊ हिजो एक्लै फतफताइरहेको भेटियो, देउताले कसलाई भोग मागेको छ कुन्नि ! यही अनुचित आशंकाले सबै कामदारहरुको मुटु ठेगानमा छैन । मृत्युको भय निरन्तर बढी नै रहेको छ ।
यात्रुहरुको ठक्–ठक् आवाजमा त्यो जीवनको रङ छैन, जुन पहिला थियो । एकलास र निरन्र खोलाको आवाज पहिलाको जस्तो आनन्ददायक नभएर निरस र झर्कोलाग्दो हुँदै गएको छ । अझ एक्कासि राति उठ्दा खोलाको आवाज असङ्ख्य अकालमा मर्नेहरुले अत्यासमा कराएको एउटा डरलाग्दो सिम्फोनीजस्तो लाग्छ । प्रेत आवाज । एक्लो सन्नाटाभरि जताततै प्रेतहरुको अहास गुञ्जिरहेको भान पर्छ । हामी सबैलाई प्रत्येक दिनको सूर्य हाम्रै मृत्युको षडयन्त्र लिएर आइरहेको झैँ लाग्छ ।
हामी सबैले अनिश्चयको हातमा आफूलाई सुम्पिदियौँ । यो अनिश्चय अरु निश्चित सम्भाव्य घटनाभन्दा औधी चर्को हुँदो रहेछ । यो आलो डर विस्तारै सर्वग्राही भएर नदीको किनारभर फैलिदोरहेछ ।
नाइकेको वरिपरि बसेर राति हामी उसका रहस्यमय आँखाहरु नियाल्दै भूतले ढुङ्गो लडाएर बाटो रोकिदिएको, बगरैभरि राँकेभूतहरुको कबाज, बोक्सी र धामीका सास रोकेर सुन्नुपर्ने कथा कानभरि कोचार्छौँ र सपना बितारिरहन्छौँ । ऊ भन्छ– ‘भूतले भए पनि देउताले भए पनि पुल बनाइसकेपछि मानिसको भोग माग्छ ।’ हामी सबै सम्भाव्य मृत्युको आशङ्काले एकअर्कालाई सान्त्वनाको लागि हेरिरहन्छौँ ।
यसरी सबै अनिश्चित भोगका लागि कुनै पनि काममा अव्यक्त त्रास हाम्रो मुटुको धुकधुकीबीच टक्क अडिने गर्छ ।
हिजोदेखि फल्याक ओछ्याउन सुरु गरियो । पुलको तल–माथि गरिरहनुपर्ने यो औधी अप्ठ्यारो काम हो । कतिखेर को पुलबाट तल खस्यो, यो खबर सुन्न हामी सबै सतर्क भइरहेका हुन्छौँ ।
राति सबै जना आआफ्नो झुप्रोमा छटपटाइरहेको सबैलाई अनुभव हुन्छ । नदीको तीव्रतर आवाजको साथै एउटा ठूलो आजाजले हामीलाई उठाउँछ, ‘को हँ ?’
हामी सबै छौँ माथि । डाँडाको ढुङ्गा तल नदीमा खसेको हुनुपर्छ । नाइके विस्तारै फुस्फुसाउँछ ।
ऊ आजभोलि हामीसँग बस्दैन । उसका रहस्यमय कथाहरु पनि सुन्न पाइँदैन । एक्लै घोरिएर बसिरहन्छ । पुल तयार हुन लागिसक्यो, तर अहिलेसम्म मान्छेको भोग प्रभुले किन लिनु भएन ? यही नै प्रश्न उसको टाउकोभरि खेलिरहन्छ । यो विधि–विधान, बाँचिरहेको क्रम क्रूर व्यङ्ग्यजस्तो लाग्छ उसलाई । केही ठूलै चिज चाहेको हुनुपर्छ प्रभुले ।
दिनभर सबै सुस्त कामजोरजस्ता देखिन्छन् । नाइके पनि कसैलाई केही भन्दैन । आफैँ एक्लै गुनगुनाउँछ, पन्ध्र दिनअगाडि नै तयार भैसक्नु पर्ने, खै अझैसम्म बनिसकेन । यही चाल हो भने त यही पुलले पाँच वर्ष खान्छ । हामी कोही पनि कामको बीच वीरगति प्राप्त नगरेकोमा उसलाई अव्यक्त रीस छ । ऊ चाहान्थ्यो, सबै काम स्वभाविक रुपले होइहाल्ला । तर यहाँ स्वभाविक केही पनि छैन र प्रभुको श्रापको लागि रातदिन नयाँ प्रकारको आशङ्काले आफूलाई सम्पूर्ण ढाकेर ऊ निस्प्राण झैँ पुलको वारपार गरिरहन्छ ।
यस्तो लाग्छ, बोल्टहरु फुस्किएर दुईतिर ठडिएका खम्बाहरुले आएर किच्ने हो कि ! नदीदेखि उठाइएको गारो नै भत्किएर हामी सबैको एउटै चिहान हुने हो कि ! यस्तै–यस्तै त्रासले हामीलाई एकोहोरे र अधबेस्रो झैँ बनाइदिएको छ । किन कोही पनि रगतको भोग दिने कुरो उठाउँदैनन्, इन्जिनियर–ओभरसियरहरु ? बिचरो नाइके मात्र आफ्नो सनातनको रक्षार्थ रातदिन चिन्तित देखिन्छ ।
यसरी वारपार गरिरहेको नाइके एक दिन पुलदेखि तल नदीमा खस्यो । हामी सबैले आत्यासमा हास्याङ्फस्याङ् गर्दै उसलाई खोज्न निकै तलसम्म नदीको किनारै किनार दौडिरह्यौँ । तर उसलाई भेट्न सकिएन । दुःख मिश्रित सन्तोषको लामो सास फेर्दै हामी बगरको बालुवामा आफ्ना पदचिन्हहरु बनाउँदै–मेट्दै झुप्रोतिर फक्र्यौँ ।
यसरी एउटा संकार फेरि बाँच्यो । हामीलाई अहिलेसम्म थाहा भएन, यो उसको आत्महत्या थियो कि दुर्घटना ? जे होस्, इतिहासमा नलेखिने संस्कारग्रसित टाउकोले यसरी सन्तोष पायो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।