रातको एघार बजे फेसबुक म्यासेन्जरको घण्टी बज्यो । त्यो कुनै व्यक्तिबाट म्यासेज आएको छ भन्ने जनाऊ घण्टी अर्थात् सूचक थियो। प्रायः सुत्ने बेलामा अनलाइन देखिए पनि म्यासेज हेर्ने, पढ्ने र प्राथमिकता साथ च्याट वा संवाद गर्ने चलन छैन । त्यो रात एक होइन कयौँ म्यासेज लगातार आएको जनाऊ घण्टी बज्यो । त्यसैले बेवास्ता गर्न सकिने अवस्था रहेन । मेरो कुनै एउटा व्यक्तित्व विकास तालिममा सहभागी भएका र एसईई दिन तयारी अवस्थामा रहेका एउटा भाइको म्यासेज रहेछ। उनको म्यासेज यस प्रकारको थियो:
सर मलाई एकदमै चिन्ता लागेको छ। कोरोना महामारी कारण एसईई पनि एकदिन अगाडि स्थगित हुन गयो । अब कहिले हुन्छ कुनै जानकारी छैन । यो महामारी नियन्त्रण हुन सकेन र परिस्थिति झन् प्रतिकुल बन्दै गयो भने के होला ? हाम्रो एसईई परीक्षा कहिले होला ? हाम्रो भविष्य के होला ? म त अन्योलमा परेँ ।
त्यसपछि उनलाई ‘एसईई परीक्षा तयारी गर्न झन् अतिरिक्त समयावधि पाएका छौ, यो त परीक्षाको नतिजा झनै उत्कृष्ट बनाउने ठूलो अवसर हो र कोरोना तथा एसईई परीक्षाबारे नेपाल सरकारले केही योजना तय गरेको होला, त्यसैले त्यस विषयमा बढी चिन्तित हुनु बुद्धिमानी होइन’ भन्दै सम्झाउने कोसिस गरेँ । यद्यपि ती भाइ सजिलै सम्झिने मुडमा देखिएनन् र थप म्यासेज गरे । जुन यस प्रकारको थियो:
सर चीन र इटालीजस्तो सेवा सुविधा सम्पन्न राष्ट्रमा त हजारौँ मान्छे मरिसके । नेपालमा त झन् केही छैन। यहाँ महामारी फैलियो भने त हामी सबै मरिन्छ होला । हरेक पल मृत्युको डर लागिरहेको छ। त्यसमाथि विभिन्न सामाजिक सञ्जालमा आउने अनेकन् किसिमका समाचारले दिन प्रतिदिन चिन्ताको स्तर बढ्दै छ। मन बेचैन, अशान्त र आतङ्कित भएको छ। सहज रुपमा श्वास लिन पनि सकिरहेको छैन। यस्तो अवस्थामा के गरुँ?
यो प्रसंगबाट कोरोना भाइरसको महामारीले युवा मनोविज्ञानमा कति धेरै नकारात्मक प्रभाव पारेको छ भन्ने स्पष्ट बुझ्न सकिन्छ। यति मात्र होइन, युवाहरूमाझ कसरी अनावश्यक चिन्ता विकसित हुँदै गइरहेको छ भन्ने पनि स्पष्ट बुझ्न सकिन्छ। कल्पना गरौँ न ! नेपालभरिका स्कुलमा ती भाइजस्तै अनावश्यक रुपमा चिन्ता लिने, अत्तालिने, नकारात्मक मनोविज्ञान विकास गर्ने एसईई परीक्षाका लागि तयार कति धेरै विद्यार्थी भाइबहिनीहरू होलान् ? त्यसैगरी देशभर कति धेरै अनावश्यक रुपमा चिन्तित रहने युवा, वयस्क र वृद्धवृद्धा होलान् ?
चिन्ताको संक्षिप्त व्याख्या
मानवीय मस्तिष्क अति नै उत्सुक रहन्छ। विगतका घटनाक्रम, वर्तमान घटनाक्रम र निकट भविष्यको घटनाक्रमबारे जान्न, बुझ्न साथै विश्लेषण गर्न निकै सक्रिय रहन्छ। समग्रमा भन्नुपर्दा, मस्तिष्क कुनै न कुनै विषयलाई लिएर हरेक क्षण उत्सुक एवं चिन्तित रहन्छ।
कुनै पनि विषयमा अधिक चिन्तित रहनुभनेको बालुवाको दलदलमा फँसे जस्तै हो। जति धैरै चिन्ता लियो त्यति नै धेरै चिन्ता लिनु पर्ने विषय र कारणहरू प्राप्त हुँदै जान्छन्। अत्याधिक समय र उर्जा चिन्ता गर्नमा मात्र प्रयोग हुन्छ। परिणामस्वरूप चिन्ताको दलदलबाट बाहिर आउने बाटो पहिल्याउन सकिँदैन।
अनावश्यक चिन्ता लिनु कुनै पनि कोणबाट फलप्रद हुन सक्दैन। शारीरिक उर्जामा कमी, इच्छाशक्तिमा गिरावट, ध्यान केन्द्रित हुन नसक्नु अनावश्यक चिन्ता लिनुका केही नकारात्मक परिणाम हुन्।
अनावश्यक रुपमा चिन्ता लिँदा सेल्फ फुल्फिलिङ प्रोफेसी इफेक्ट (स्वयंकार्यान्वित भविष्यवाणीको प्रभाव) अनुभूत गर्न सकिन्छ। मानौँ तपाईं एउटी सुन्दर एवं आकर्षक महिलासँग सम्बन्धमा रहनु भयो। तपाईं ती महिलासँग ब्रेकअप हुन्छ कि भनेर चिन्तित हुनु भयो भने के होला? अब तपाईं ती महिलाप्रति अति नै आशक्त हुन थाल्नुहुन्छ जुन महिलालाई मन पर्दैन । त्यस पश्चात् महिला तपाईंप्रति पहिलेजस्तो आकर्षित हुँदिनन्। जसकारण सम्बन्ध टुट्न जान्छ। त्यसैगरी मानौँ, तपाईंले नयाँ व्यवसाय सुरुवात गर्नुभयो। तपाईं अर्थशास्त्र ठीक छैन, व्यवसाय गर्न सकिँदैन भनेर अनावश्यक चिन्ता लिनु भयो भने के होला ? अब तपाईं अवसरभन्दा पनि चुनौतीप्रति केन्द्रित हुनुहुन्छ। व्यवसाय सञ्चालन गर्नका लागि स्रोत र साधन परिचालन गर्न सक्नुहुन्न। त्यसैगरी रणनीतिक सोचको विकास गर्न, सिर्जनशीलता र धैर्यता कायम राख्न सक्नुहुन्न। अन्ततः तपाईं व्यवसायमा असफलता प्राप्त गर्नुहुन्छ।
चासो र प्रभावको वृत्त
स्टेफन आर. कोभेको ‘दि सेभेन ह्याबिट्स अफ हाइली इफेक्टिभ पिपुल’ पुस्तकमा ‘सर्कल अफ कन्सर्न’ र ‘सर्कल अफ इन्फ्लुएन्स’ बारे वर्णन गरिएको छ। चित्रमा ठूलो सर्कल र त्यसभित्र अवस्थित सानो सर्कललाई क्रमशः ‘सर्कल अफ कन्सर्न’ र ‘सर्कल अफ इन्फ्लुएन्स’ भनिन्छ। यी दुई सर्कलको सहायताले कुन कुरामा अत्याधिक समय र उर्जा लगाउनु पर्छ भन्ने स्पष्ट बुझ्न सकिन्छ।
‘सर्कल अफ कन्सर्न’ अर्थात् ‘चासोको वृत्त’मा ती सम्पूर्ण कुराहरू पर्छन् जसप्रति मानवीय चासो अत्याधिक रहने गर्छ। अर्को शब्दमा भन्नुपर्दा, जीवन प्रभावित पार्ने ती सम्पूर्ण कुराहरू जसप्रति हामी उत्सुक र चिन्तित हुन्छौँ। ‘चासोको वृत्त’मा पर्ने सम्पूर्ण कुराहरूमा मानवीय नियन्त्रण र प्रभाव हुन पनि सक्छ, नहुन पनि सक्छ। जस्तै: महामारी, प्राकृतिक प्रकोप, अर्थशास्त्र, युद्ध, वातावरण, अरु मानिसको धारणा, अरुको गल्ती आदि ‘चासोको वृत्त’मा पर्छन्।
‘सर्कल अफ इन्फ्लुएन्स’ अर्थात् ‘प्रभावको वृत्त’मा ती सम्पूर्ण चासोका कुराहरू पर्छन् जसमा केही नियन्त्रण गर्न र प्रभाव पार्न सकिन्छ। जस्तै: स्वभाव, सोच, कार्य, मनोवृत्ति, तपाईं के पढ्नु र लेख्नु हुन्छ, तपाईं कहाँ बस्नु हुन्छ, प्रतिबद्धता, नेतृत्वदायी भूमिका आदि ‘प्रभावको वृत्त’मा पर्छन्।
प्रतिक्रियात्मक मानिस ‘चासोको वृत्त’मा जिउने गर्छन्। कुनै पनि घटनाक्रम चल्दा, अनपेक्षित परिणाम प्राप्त हुँदा उनीहरु सतप्रतिशत जिम्मेवारी लिँदैनन्। कार्य निष्पादनमा गतिशील हुँदैनन् र चुनौतीबाट पछि हट्ने गर्छन्। परिस्थिति बुझ्नभन्दा पनि अरुलाई दोषारोपण गर्न, आलोचनात्मक प्रतिक्रिया दिन र अवमूल्यन गर्न बढी सक्रिय रहन्छन्।
त्यसैगरी अग्रसक्रिय मानिस ‘प्रभावको वृत्त’मा जिउने गर्छन्। कुनै पनि घटनाक्रम चल्दा, अनपेक्षित परिणाम प्राप्त हुँदा उनीहरु सतप्रतिशत जिम्मेवारी लिने गर्छन्। जस्तोसुकै प्रतिकूल परिस्थितिको सामना गर्नुपरे पनि धैर्यशील रहन्छन्। अरुलाई दोषारोपण गर्न, आलोचनात्मक प्रतिक्रिया दिन, अनावश्यक रुपमा चिन्तित रहनुभन्दा पनि परिस्थिति बुझ्न तथा कस्तो कार्य अथवा कदम चाल्न सकिन्छ भन्नेमा बढी केन्द्रित रहन्छन्। भविष्यमा सामना गर्नुपर्ने अरू परिस्थितिको लागि समेत उनीहरु तयारी अवस्थामा रहन्छन्।
चिन्ता हटाउने रणनीति
चिन्तित रहनु र चिन्तनशील रहनु फरक कुरा हुन्। अनावश्यक चिन्ता गरेर समस्या समाधान गर्न सकिँदैन। समस्या समाधानको लागि चिन्तनशील रहन सक्नुपर्छ। अनावश्यक चिन्ता हटाउन अथवा मनको शान्ति कायम राख्न, हरेक समस्याप्रति विजयी हन निम्न रणनीति अवलम्बन गर्न सकिन्छ:
- प्रभावको वृत्त वृहत बनाउने:
अधिकांश मानिस प्रभावको वृत्तभन्दा पनि चासोको वृत्तमा बढी केन्द्रित हुन्छन्। अत्याधिक समय र उर्जा त्यसैमा लगाउँछन्। जसकारण चिन्ता मुक्त रहन सक्दैनन्। सुरुमा जुन विद्यार्थी भाइबारे चर्चा गरिएको थियो, ती भाइ चासोको वृत्तमा केन्द्रित थिए। भनाइको तात्पर्य, ती भाइ एसईई परीक्षा कहिले हुने, महामारी नियन्त्रण हुन नसके के गर्ने, मरिन्छ कि भन्नेमा मात्र केन्द्रित थिए। एसईई कहिले सञ्चालन गर्ने त्यो सरकारको चासोको कुरा हो । एसईई परीक्षा स्थगित भयो त के भो ! यस्तो अवस्थामा झन् राम्रो सँग तयारी गर्न सकिन्छ नि ! माहामारी कसैको नियन्त्रणमा छैन तर यस विरुद्ध विजयी हुन ‘प्रभावको वृत्त’ फैलाउन वा वृहत् बनाउन भने सकिन्छ । महामारी कसरी नियन्त्रण गर्ने वा नियन्त्रण नभए के गर्ने भन्ने जस्ता विषय मुख्यतः सरकारको चासोको कुरा हो । चिन्तित हुँदैमा अनुकूल परिस्थिति सिर्जना हुँदैन । महामारी फैलियो त के भो ! यस्तो अवस्थामा महामारी नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न सकिन्छ । सामाजिक दूरी कायम गर्न, सरसफाईमा ध्यान दिन र घरमै बस्न त सकिन्छ नि! यसो गर्नुलाई नै प्रभावको वृत्तमा केन्द्रित भएको वा प्रभावको वृत्त वृहत् बनाउने कोसिस गरेको भनिन्छ। प्रतिक्रियात्मक होइन अग्रसक्रिय हुनुहोस्।
- सबैभन्दा नराम्रो र खराब घटनाक्रम परिकल्पना गर्ने:
मस्तिष्कलाई अनिश्चितता मन पर्दैन। हरेक कार्यमा निश्चितता चाहन्छ। कुनै पनि घटनाक्रमबाट प्राप्त हुने सक्ने संभावित परिणामप्रति स्पष्ट हुनुहोस्। चाहे त्यो जतिसुकै नराम्रो र खराब किन नहोस्। यदि तपाईं त्यस्ता घटनाक्रम र परिणामप्रति स्पष्ट हुन सक्नुभयो भने अनावश्यक चिन्ता लिनु कति धेरै निरर्थक रहेछ भन्ने प्रमाणित हुन्छ। मानौँ तपाईंले कुनै विषयमा पुस्तक लेख्नु भयो। यस्तोमा सबैभन्दा नराम्रो र खराब घटनाक्रम र परिणाम के हुन सक्ला? हदैसम्मको हुने भनेको त्यही पत्रपत्रिका र सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया आउने न हो। कोही पनि मानिस किन यस्तो वाहियात पुस्तक लेखेको भनेर घरसम्म गाली गर्न वा हातपात गर्न आउँदैनन् नि। मानौँ तपाईंले हजारौं दर्शकसामु एउटा भाषण गर्नुभयो तर त्यो सोचेजस्तो प्रभावकारी हुन सकेन। यस्तोमा सबैभन्दा नराम्रो र खराब घटनाक्रम र परिणाम के हुन सक्ला? हदैसम्मको हुने भनेको केही संख्याका मानिस प्रभावित हुन नसक्नु न हो। विश्वभरिका मानिस तपाईंको ज्यानको पछि त लाग्दैनन् नि। त्यसैले यी उदाहरणहरूले अनावश्यक चिन्ता लिनु निरर्थक रहेको पुष्टि हुन्छ। त्यसैगरी जति पनि कुराहरुप्रति चिन्तित हुन्छौँ, त्यसको ८५ प्रतिशत कुराहरू घटित नहुने विभिन्न अध्ययन अनुसन्धानबाट पुष्टि भएको छ। त्यसैले यस तथ्याङ्कअनुसार पनि अनावश्यक चिन्ता लिनु निरर्थक रहेको पुष्टि हुन्छ।
- व्यस्त रहने:
मानवीय मस्तिष्कले एकैपटक दुई कुराका बारेमा सोच्न वा केन्द्रित हुन सक्दैन। उदाहरणार्थ, फुटबल खेल खेलेको वा हेरेको बेला क्रिकेट बारेमा सोच्न सक्दैन। त्यसैगरी खाना पकाउने क्रममा लुगा कसरी धुने भनेर मस्तिष्कले सोच्न सक्दैन। यो अरु कार्यहरु र चिन्तामा पनि उत्तिकै लागू हुन्छ। मानौँ तपाईं कुनै रुचिकर कार्यमा संलग्न हुनुहुन्छ। यस्तो अवस्थामा मस्तिष्कले चिन्ता गर्न सक्ने क्षमता राख्दैन। त्यसैले अनावश्यक चिन्ता हटाउन आफूलाई मन पर्ने कार्यमा संलग्न हुनुहोस्। ती कार्यहरु पुस्तक पढ्ने, प्रेमी वा प्रेमिकासँग जिम हल गएर व्यायाम गर्ने, सम्पूर्ण परिवारका लागि मिष्ठान्न भोजन पकाउने, संगीत रचना गर्ने, लेख रचना गर्ने, पुस्तक लेख्ने, नयाँ परियोजनामा आवद्ध हुने, ध्यान गर्ने आदि हुन सक्छन्।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

