वल्लो गाउँ र पल्लो गाउँको अन्तर त्यति धेरै थिएन । त्यसैले पनि होला विजय दिनमा एक दुईचोटि मावली घर टेकिरहन्थ्यो । हातमा दूधको क्यान बोकेर विहानको चिसो मौसममा चिसोले कठ्याङ्ग्रिएर एकै ठाउँ थुप्रिएका हुस्सुसँग रम्दै शीतलाई टेक्दै चप्पल नभिरेको पैतालालाई उफार्दै नातिकाजीको जस्ताले बेरेको डेरीमा पुग्यो । शीतमा टेकेर रगत छ्याल्ब्याल परेको जस्तो देखिने पैतालालाई मुसार्दै हातमा सासको तातो बाफ लिदैँ सेकिरहेको थियो विजय । कताबाट कुन हावाले लछार्दै ल्यायो कुन्नि ? विजयको मस्तिष्कभित्र हुटीडाँडा जाँदा देखेको अन्जान प्रेमिकाको अनुहार, टोलाएर टाउकोमा हात लाएर बसिरहेको विजयको गालामा नातिकाजी काकाले छ्याप्प पानी छ्यापिदिए । झसङ्ग भएर जुरुक्क उठेर खाली क्यान बोकेर विजय बाटैबाटो लाग्यो ।

निद्रादेवीले नै सरापे झैँ विजयको आँखामा निद्रा देवी बसिनन् । १० बजे, आधा रात नै भए झैँ भइसकेको थियो । झ्याल खोलेर बाहिरको अन्धकारलाई चियाउँदै विजयले घाँटीमा अड्केको खकारलाई खकारेर  थुक्यो । अनि उधोमुन्टो लाएर खाटको छेउमा गएर थचक्क बस्यो । हरेक दिन ५ बजेदेखि नै निद्रादेवीको वरदान पाए झैँ मस्त हुने विजय त्यो रात ध्वस्तै थियो । आँखा अबिरले पोते झैँ रातै भइसकेेको थियो । दिगागको कुनाकन्धरामा हरेक कुरा डुलिरहेकै थिए तर बीचको भागमा उसकै यादले घच्घचाइरहेको थियो । मस्तिष्कमा घुमेको उसको अनुहारलाई रगतले हरेक अङ्गलाई सुनाउन तुफान कुदिरहेको थियो । खाटमा डङ्रङ् ढलेर आँखालाई बन्द गरेर उसका यादलाई बन्देज गर्न विजय खोजिरहेको थियो । आँखालाई बन्द गरिरहेको विजय निद्रामा परेछ ।

निश्चल आचार्य

कुखुरा बासेको कानले सुन्यो तर विजयले सुनेन, सुने तापनि नसुने झैँ गरी कोल्टे फिरेर विजय निदायो । घाम चुम्बन गर्न तम्सिएर आइपुग्यो । बिचरो विजय, चुम्बन गर्न आएको घामदेखि होइन बुबाको गालीको मुड्कीदेखि डराइरहेको थियो । जुरुक्क उठ्दा घाँटीको माझमा सासको तेन्द्रो अड्किएर खक्खक् खोक्दै थियो ।

” ओइ विजय ! वस्तुलाई खोले मैले ख्वाइसकेँ, जा तँ गएर एक डोको घाँस काटेर ल्याइआल । जा जा ।”, गोठबाट बोलेर होला, विजयको कानले मसिनो स्वर सुनेको ।

विजय लामो हाई काट्दै तल पुग्यो, अंखरामा गाग्रीको पानी खनायो अनि आँगनमा पुगेर छ्याप्प मुखमा छ्याप्यो, निद्रादेवी झसङ्ग हुँदै भागिन् पनि होला । गोठको निदालमा झुन्डिरहेको हँसिया अनि गोठभित्रै लम्पसार परिरहेको डोकोलाई जुरुक्क घाँटी न्याक्दै उचालेर बुई बोक्यो । उसका पाइला सुस्तसुस्त चलिरहेको थियो । सुस्त गतिमा चलेका पाइला देख्दा पन्ध्र मिनेटको बाटो पनि एक घन्टै लाग्ला जस्तो । एक घण्टै त लगाएनन् ती पाइलाले तर आधा घण्टा चाहिँ लगाए ।

विजयका पाइलाले पनि थाहा पाइसकेछन्, विजयको मुटुमा चलेको व्यथा । घाँसको भारीलाई डोकाको पेटभरि नअघाउन्जेल कोचेर हिँडेको विजयले बाटोको बीचमा हृदयको बीचको भाग नै फुट्ला जसरी धड्किनेछ भनेर कहाँ सोचेको थियो र ?

अस्पतालको पैसा लिने ठाँउमा पैसो गन्दै बसेकी केटीले विजयको बाको अनुहारलाई तीखो आँखाले हेरेर भनी । बिचरा, विजयको बाको मस्तिष्कको बैंकमा जम्मा भएको सोच्ने शक्ति पनि सकिसकेको थियो ।

‘पैसा सुरक्षित गरिराख्ने ठाँउ बैंक हो है’ भनेर गाँउमा एकचोटि दुई केटा र दुई केटी सुनाउँदै र बुझाउँदै हिँडेका त हुन्, तर पैसा नै नभएपछि राख्ने ठाँउ थाहा भएर मात्र के गर्नु ?

“बैंकबाट पैसा ल्याउनु अब दाइ !, गोजीमा नभएपछि बैंकबाट त ल्याउने होला नि ? बैंकमा होला नि पैसा ?”,  अस्पतालको पैसा लिने ठाँउमा पैसो गन्दै बसेकी केटीले विजयको बाको अनुहारलाई तीखो आँखाले हेरेर भनी । बिचरा, विजयको बाको मस्तिष्कको बैंकमा जम्मा भएको सोच्ने शक्ति पनि सकिसकेको थियो । साइरन बजाएको गाडीमा मनभरि साइरन बजाउँदै कुद्नु पर्ला  भनेर काहाँ थाहा थियो र ?

हातमा माटो र गोबरको लत्को बोकेर दिन काट्ने विजयका बाले दिनभर आँसुको लत्को बोकेर बस्नु पर्ला भनेर नि काँ सोच्या थिए होला र ? कल्पनाभन्दा पनि उचाईको कुरा खप्नलाई शक्ति त पैसा भन्दा बढी लाग्ने रैछ । त्यही शक्ति बेचेर पैसा कमाउने मान्छेले काहाँबाट किन्न सक्नु शक्ति ?

धुलिखेल अस्पतालको इमेर्जेन्सीबाट आइ.सी.यूमा कोचिइसकेका रैछ विजयलाई । आँसुका ढिक्का गन्दै बसेका ती अन्जान विजयका बाले अत्तोपत्तो पाएको थिएनन् । गाँउले आफन्त दुई जना थिए । विजयका बासहित तीन जना थिए कुरुवा । ‘आई.सी.यू भनेको धेरेै साह्रो भएपछि लाने ठाँउ रे’ भनेर झस्किFदै थिए ती गाँउलेहरु ।

विजयको बाको आशाले आत्माहत्या गरिसकेको थियो । ” रामको इच्छा ” विजयको बाको मुखले बोलिरहन्थ्यो , मन पोलिरहन्थ्यो ।

“रोग पत्ता लाग्या छैन, तर हामी प्रयास गर्छौँ । बिरामी अहिले होशमै छन् ।” आई.सी.यूबाट निस्केका डाक्टरले विजयका बाको रुन्चे अनुहारलाई हेरेर बोलिरहेका थिए ।

त्यो रुन्चे अनुहार विजयको बाको स्थायी अनुहारको रुपमा परिणत भयो । ‘रुन्चे बा’ नाम राखे नि पाप नलाग्ने भइसकेको थियो ।

विजयले बाआमालाई अग्लो घरमा राख्ने, अप्सराजस्ती ती प्यारीसँग जीवन बिताउने रहर बोकेको थियो । सबै रहर मात्र भए । भक्लक्क सुतेको विजय नउठ्नेगरि सुत्यो ।

काठमाडौंंको गल्लीभित्रको एउटा गल्लीजत्रो कोठामा आफ्ना किताबकापी , भाँडाकुँढा, लुगाफाटो र एउटा खाट राखेर पढ्न बसेको विजयको अनुहार सम्झेर विजयका बाको आँखा रसाइरहन्थे । गोठमा बाल्टी बोकेर ठिङ्रिङ्ग उभिएर टोलाइरहेका थिए विजयका बा । खै के के कुरा सोचे कुन्नि ? तर आँखाभरि आँसु भने टिल्पिल भरिएको थियो ।

रुद्राक्षको बोटको पातहरु हल्लिरहेका थिए । घामले डाँडा काट्न आटिसकेको थियो । विजयका बाले दूध दोएर घरभित्र छिरे।

……

चावाहिलको स्तुपाभन्दा दुई तीन घरपछाडिको घरमा विजय सरेको मात्र चार दिन भएको थियो । के थाहा विजयलाई त्यही घरको भुइँतल्लामा आफ्ना आँखा त्यति राम्री अप्सराको आँखासँग जुद्छ भनेर ? त्यही दिन राति सभादुई बजेसम्म विजयका आँखाले उसैलाई खोजिरहेको थियो । आँखा उसैको आँखासँग आँखा दुधाइ खेल्न तड्पिरहेको थियो । निद्राको तीर्खाले हो कि उसलाई नपाउनुको मर्काले हो ? तर आँखाबाट आँसु झरिरहेका थिए ।

“राम नाम सत्य हो” कानभित्र ती आवाज मजाले छिरिरहेको थियो । आर्यघाटपारिको  डाँडामा उपरखुट्टी लाएर टोलाइरहेको थियो विजय । रुवावासीको झङ्कारले झनन् भइरहेको थियो जीउ । उसको मन आफ्नै गाँउमा ध्यान दिएर खसी काटेको कुरातिर पुगिरहेको थियो । बेला बेला ती औँलाका टुप्पाहरु आँखाको फेदसँग जिस्कन पुगिरहन्थे । खुट्टाहरु आपसमा जुदिरहन्थे । लम्पसार परेको लास देखेर उसको होश लम्पसार पर्न खोजिरहेका थिए । खै कति बेला पाइलाहरु जोशमा चलेर आफ्नो कोठासम्म पुगे ? विजयलाई पत्तै भएन । कोठामा बसिसकेपछि आफैँ दङ्ग पर्यो ।

लफोन कम्पनीको टिकटिके मोबाइलमा नमस्तेको सिम हालेको थियो विजयले । बेला बखत बुबालाई फोन हानिरहन्थ्यो । बुबा आमा सबैसँग बोलेर अलि आनन्द आयो पनि भनिरहन्थ्यो । विजय कोठामा राति एक्लै भए पनि दिउँसोभरि साथीहरुको नानाभाँती गफको साथमा हुन्थ्यो । उनीहरुकै गफले अलि अलि देशको समाचार, परिस्थिति अरु अरु थुप्रै गफका कुराले विजय अलि चतुर हुन पनि थालेको थियो ।

पशुपति क्याम्पसबाट आफ्नो कोठा फर्कदै थियो विजय । एक्कासी आँखाले संसार पाँचवटा भए झैँ देख्यो । एकछिन बाटोमा छेउ लागेर उभिरह्यो । एकछिनमा अलि कम भएजसो लागेर विजय चाँडो चाँडो गरेर कोठामा पुग्यो । अनि खाटमा भक्लक्क सुत्यो । हृदयमा ठूलो समस्या परेको थियो विजयलाई तर विजय आफैँलाई पनि थाहा थिएन । डाक्टरले  नभन्नु भनेका थिए रे !

विजयले बाआमालाई अग्लो घरमा राख्ने, अप्सराजस्ती ती प्यारीसँग जीवन बिताउने रहर बोकेको थियो । सबै रहर मात्र भए । भक्लक्क सुतेको विजय नउठ्नेगरि सुत्यो ।