निक्कै वर्ष पहिले, कलिलै उमेरमा लेखक बनेका फुच्चे दाजुभाइसम्बन्धी एउटा लेख पढेको थिएँ । मैले जीवा लामिछानेलाई उनै कलिलो उमेरमा लेखनमा रुचि राख्ने, कुनै पनि भ्रमणमा डायरी नछुटाउने दाजुभाइका बाबुका रुपमा सबैभन्दा पहिले चिनेको हुँ । र पछि एनआरएनए अध्यक्षको रुपमा ।

सन् २०१७ ताका उनको पहिलो यात्रासंस्मरण ‘सरसर्ती संसार’ पढेको थिएँ । त्यो कितााब पढ्दा, उनी जुन देशको एअरपोर्टमा उत्रिन्थे, म गुगल गरेर हेरिहाल्थेँ । त्यसो गर्दा पढाइ जीवन्त लागेको अनुभव गरेको थिएँ । त्यसैले बजारमा देश देशावर आउनेबित्तिकै लाग्यो, मात्र रु. ३९५ मा, त्यो पनि घरमै बसीबसी, देशविदेश घुम्न सकिन्छ भने किन नघुम्ने ?

……….

सन् १९९४ ताका रुवाण्डामा फैलिएको जातीय द्वन्द्वमा करिब सय दिनमा झण्डै १० लाख मानिसले ज्यान गुमाएका थिए । यति थाहा पाएपछि मनमा प्रश्न उठ्छ, अहिले रुवाण्डामा जातीय सद्भाव कस्तो छ ? हो, लेखकले यही प्रश्नको उत्तर दिने प्रयास गरेका छन्, ‘कङ्काल सम्याएर उभिएको विकास’ शीर्षकमा रहेर ।

हाम्रो देशमा पनि जतीय द्वन्द्व फैलाउन उद्दत तत्व, समूह बेलाबेलामा सक्रिय हुन्छन् । उनीहरुको लागि यो उदाहरण महत्वपूर्ण बन्ला कि ?

विवेक धिमाल

कुनै पनि देशका ट्याक्सी चालक तथा होटल व्यवसायीले सबैभन्दा पहिला त्यो देशको प्रतिनिधित्व गर्छन् । लेखकले रुवाण्डामा भेटेजस्तै ट्याक्सी चालक नेपालमा कति जना होलान् ? हामी स्वदेशी यात्रुका लागि त मिटरमा हिँड्न नमानेर ट्याक्सी चालकसँग धेरै नै बार्गेनिङ गनुपर्छ भने उनीहरुले विदेशी यात्रुसँग कति शूल्क अशुल गर्दा हुन् ?

मलाइ लाग्दैन कि नेपालमा भ्रष्टाचार हेर्न सिंहदरबार नै पुग्नुपर्छ । बरु कुनै पनि विदेशीले एयरपोर्टबाट तीनकुने पुग्दा नपुग्दै ट्याक्सीभित्रै अनुभव गरिसक्छ नेपालको भ्रष्टाचाार । अझ बीचतिर कफी किन्न उत्रिएको भए त अझ प्रष्ट भइजान्छ । रुवाण्डा पढ्दै गर्दा लाग्यो—
गृहयुद्धमा १७-१८ हजारको कङ्काल बिछ्याएको नेपालले त्यसपछिका दिनमा एक घर एक नेता त पायो, तर विकास पायो त ?

+++

रुवाण्डापछि लगत्तै लेखकले तान्जानिया घुमाउन सुरु गरिहाले । किलिमन्जरो हिमालको फेरी एकपटक पुर्नताजगी भयो । त्यसपछि घुम्ने पालो मोजाम्बिक राष्ट्रको ।

‘बन्दुककै कारण आफ्नो देश स्वतन्त्र भएको भन्दै मोजाम्बिकको राष्ट्रिय झण्डामा एके-४७ राइफल राखिएको छ ।’(पेज २९) यो पढेपछि म झल्याँस्स भएँ, लोकसेवा आयोग पढ्दाका ती दिनहरु सम्झिएँ । मैले त्यो समयमा सामान्यज्ञानमा पढ्दा कौतुहलता जागेको थियो । तर त्यो समयमा इन्टरनेटको पहुँच कहाँ ?

अब त मलाई के चाहियो र, लेखक जता जता घुम्छन् मेरा आँखा किताब र गुगलमा सँगसँगै दौडिन सिपालु भइसकेका थिए ।

+++

युगाण्डा भ्रमणको कुरा गर्दा त्यहाँका क्रूर शासक दादा इदी अमिनलाई नसम्झिने कुरै भएन । उनले सन् १९७१ देखि १९७९ सम्म सत्ताको बागडोर सम्हालेका थिए । भनिन्छ, ‘उनी बस्न घरको गोप्य कोठाको फ्रिजमा उनले चाहेका बेला खानका लागि मान्छेको मासु राखिन्थ्यो । उनको घरमा काम गर्नेहरुले दिएको विवरणअनुसार त्यो फ्रिजको माथिल्लो भागमा मानिसको सिङगो टाउको नै राखिएको हुन्थ्यो । आफ्ना शत्रुहरुको शरीर काटेर त्यसका केही टुक्रा उनी काँचै सिनित्तै निल्थे रे ।’(पेज ३९) ।

अँ, संसारकै लामो नाइल नदीको उद्गमस्थल भिक्टोरिया ताल भएको देश पनि हो युगाण्डा ।

त्यसपछि लेखकले रहस्यमयी भनिने बर्मुडा ट्रयाङ्गल पुग्दाको आफ्नो अनुभव सुनाउछन्, त्यो पनि संसारकै ठूलो पानीजहाज ‘हार्मोनी अफ द सिज’चढाएर । के बर्मुडा ट्रयाङ्गल हामीले सोचेजस्तै रहस्यमयी छ त ? उत्तरका लागि किताबका केही पानाको यात्रा गर्नै पर्ने हुन्छ ।

+++

क्रोएसिया भ्रमणबारे लेखक भन्छन्, ‘म यात्राको सारा योजना र व्यवस्थापन गर्ने जिम्मा छोराहरुलाई सुम्पिन थालेको छु । सन्तानलाई स–साना कुराको व्यवस्थापनको जिम्मेवारी दिँदै जाने हो भने भोलि उनीहरु ठूलो कामका लागि तयार हुन्छन् भन्ने कुरामा विश्वस्त छु ।’ तपाईँ हामीमा यो कुराको विकास भएको छ कि छैन ? थाहा छैन ।

अँ, क्रोएसिया भन्नेबित्तिकै विश्वकप फुटबल र लुका मोडरिचको सम्झना आइहाल्छ । त्यसपछि त क्रोएसिया घुमघामको कथा त्यसै रोचक लाग्ने भइगयो ।

‘जङ्गलविहीन डाँडा र उजाड ठाउँलाई किन राष्ट्रिय निकुञ्ज भनिएको होला ?’ यतिबेला लेखक आइसल्याण्डको थिङभेलिर राष्ट्रिय निकुञ्जको कुरा गर्दैछन् । यही चाखलाग्दो ठाउँमा पुगेपछि म पनि सांग्रिला बुक्सको बुकमार्क राखेर भोजपुरबाट ल्याएको अलैँचीको स्वादमा चिया बनाउन किचनतिर लागेँ ।

+++

फिनल्याण्ड भन्नेबित्तिकै म नोकिया फोन सम्झन्छु । सायद तपाईँ पनि त्यही सम्झिनुहुन्छ होला । तर अबदेखि श्रीमती बोकेर दौडिने प्रतियोगिताभन्दा पनि फिनल्याण्डको याद आउने भयो ।

फिनल्याण्डको भ्रमण गराएपछि लेखकले ‘लस भेगास’ सहर पुर्याउछन् । योचाहिँ मैले अमेरिकाको सबैभन्दा बढी सर्च गरेको सहरमध्ये पर्छ । त्यसैले होला, हरेक शब्दले मलाई यसरी घुमाए कि आफैँ लस भेगासमा भएको प्रतित भयो । तर यो सहर निक्कै पछिमात्र विकास भएको थाहा पाउँदा अचम्म लाग्यो ।

साइप्रसको राजधानी निकोसियासँग एउटा विभाजित सहरको कथा सुन्न मन थियो नै तर श्रीलङ्काको ‘हात्ती अनाथालय’ले यसरी तान्यो कि युद्धको दर्दनाक भुमरीभित्र धकेलिदियो । त्यस अनाथालयमा रहेको ३ खुट्टे हात्तीको जीवनसंघर्ष पढ्दा जोकोहीको आँखामा आँसु छचल्किन्छ ।

+++

कम गुरुत्वकर्षण भएको मुलुक क्यानडा त्यसपछि चीन, हङकङ हुँदै लेखकले पूर्वी जर्मनीको वाइमर सहरमा रहेको हिटलरको तानाशाही शासनकालमा निर्मित ‘वुखेनभाल्ड बन्दीगृह’ पुर्याउँछन् । जुन आजकल म्युजियम बनेको छ ।

त्यसपछिको घुम्ने पालो ‘लियो टोल्सटोय म्युजियम’ । रुसी महासंघको दागेस्तान गणराज्य घुम्दा नेपालको पहाडी र हिमाली भौगोलिक बनोटसँग मिल्दोजुल्दो लाग्छ । दागेस्तान डायरी पढेपछि मेरो मुखले लामो हाई हुत्यायो । एकछिन किताब बन्द गरेर टिभी हेर्नुपर्यो भन्ने सोचेँ । तर अगाडिको च्याप्टर देखेपछि मेरो अल्छी डाँडा काटेर भाग्यो । त्यो च्याप्टर के थियो थाहा छ ?

एकपटक खुबै चर्चा भएको विरेन्द्र बियर र यसको उत्पादन तथा बन्द हुनुका कारणहरुको नालीबेली । त्यसपछि म्युनिखको प्रसिद्ध बियर फेस्टिभलले नतान्ने कुरै भएन । त्यो फेस्टिभलले त तान्नेमात्र होइन, मताउनेसमेत रैछ । र अन्तमा जर्मन उद्यमी हेरिबेर्ट विर्थले १८० रोपनीमा फैलिएको निजी जङ्गलमा निर्माण गरेको मिनी नेपाल अर्थात ‘नेपाल–हिमालय मण्डप’ घुमेपछि नेपाललाई यति धेरै माया गर्ने हेरीप्रति श्रद्धाले शिर निहुरिन्छ र देश देशावर पनि सकिन्छ ।

…………

किताब पढिसकेपछि लाग्यो, मैले पनि एकै बसाईमा देश देशावर चहारेँ । यस किताबमा लेखकले हरेक शब्दलाई कुँदेर सुन्दर वाक्यहरुको निर्माण गरेका रहेछन्, जसले गर्दा पाठकलाई आफैँ घुमेजस्तो लाग्छ ।

गैरआवासिय नेपाली संघको काम मलाई थाहा थिएन, तर यो किताब पढेपछि विदेशमा बस्ने नेपालीहरुका समस्याहरुमा यसले साथ दिएको कुरा बुझियो । कुनै कुनै ठाउँको बारेमा यस्तो लाग्छ, कतै लेखकले अलि बढी नै भट्याइरहेका त छैनन् ? त्यसपछि गुगल, युट्युबमा हेरिन्छ पनि । अनि मात्र विश्वास लाग्छ, ती ठाउँका बारेमा अझ बढी भनिदिएका भए हुन्थ्यो नि !

इन्टरनेटबाट हेरेर इन्टरनेटमै घुमेका कुराहरुमा म बेला बेलामा मख्ख पर्ने गर्थेँ, तर ती तस्बिरहरुमा प्राण भर्न त शब्दहरुको खाँचो पर्ने रैछ, जुन यो किताबमा पाएँ मैले ।