साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘ओशोः अचम्म जो मैले देखेँ’ पढ्दा पढ्दै …

Chovar Blues Mobile Size

गुगल सर्च गरेर ओशोका भनाईहरु म पहिल्यैबाट पढ्ने गर्थेँ। त्यसबाहेक ओशोबारे मैले कति पनि खोजी गरेको थिइनँ । वि.सं. २०७६ सम्म आइपुग्दा मलाई ध्यानप्रति निक्कै रुची बढिसकेको थियो । त्यसपछि ओशो ध्यान केन्द्र तपोवनबारे सर्च गरेँ, सम्पर्क गरेँ र १ हप्ताको लागि ध्यान गर्न जाने भएँ । त्यसै वर्षको असारमा करिब एक हप्ता तपोवनमा बिताएँ । त्यस समयमा मैले ओशोबारे अलि अध्ययन गर्न पाएँ । त्यही समयबाट मैले ओशोलाई नजिकबाट चिन्ने अवसर पाएँ । अझ मुख्य कुरा त मैले आफैँलाई नजिकबाट चिन्ने मौका पाएँ ।

ध्यान केन्द्रमा रहँदा मैले ओशोसम्बन्धी केही किताब पढेँ । साथै तपोवनबाट फर्किदा मैले The Discipline of Transcendance, Beyond the frontiers of Mind, Neither easy not difficult be simple, Seriousness is a disease लगायत केही किताब पनि ल्याएँ । सँगसँगै केही राम्रा बानीसमेत ल्याएँ । जस्तैः बिहानको केही समय योगा गर्नु, तनाव कम गर्न सामान्य ध्यान गर्नु, सकेसम्म सकारात्मक सोच्नु ।

केही दिनअघि एकदिने एकल यात्राका लागि धरान जाने निधो गरेँ । भानुचोकमा पुगेपछि मलाई विजयपुरको उकालो चढ्ने इच्छा जाग्यो । केही पत्रिका पनि बोकेर उकालो लाग्नुपर्यो भन्ने सोचेर नजिकको पुस्तक पसलमा गएँ । यत्तिकैमा आँखा अडिए, बोधिसत्व स्वामी आनन्द अरुणले लेख्नुभएको किताब, ‘ओशोः अचम्म जो मैले देखेँ’ मा पुगेर ।

……..

विवेक धिमाल
sagarmani mobile size

‘पुस्तकबारे’ शीर्षकमा स्वामीले पुस्तकको सुरुवातमै लेख्नुभएको रहेछ— “तपाईँको हातमा रहेको यो पुस्तक एक प्रेमकथा हो, जसको आरम्भ त छ तर अन्त छैन ।”

कति सुन्दर भनाई । साँच्चै, प्रेम त अनन्तः पो हुनुपर्ने हो त । केही दिनमा विछोड भइजाने प्रेम त कारण वा परिणामको अपेक्षासहित हुँदो हो । सायद यति गहिरो प्रेम आफ्ना गुरुलाई मात्र गरिँदो हो कि अरुलाइ पनि गरिन्छ ? थाहा छैन ।

२९ मार्च १९६९ का दिन स्वामी आनन्द अरुणले सिन्हा पुस्तकालयको चौरमा पहिलोपटक आचार्य रजनिश ‘ओशो’ लाई देख्नुभएको थियो । त्यसबेला उहाँ पटना विश्वविद्यालयमा इन्जिनियरिङको विद्यार्थी हुनुहुन्थ्यो । ध्यान, योगा र प्राकृतिक चिकित्साप्रेमी स्वामी अरुणले त्यही दिन बेलुका सिन्हा पुस्तकालयको चौरमा दिनुभएको प्रवचन सुनेर उहाँ ओशोप्रति अझ गहिरो प्रेममा पर्नुभएको हो । उक्त प्रवचनले उहाँको जीवनमा हलचल ल्यायो र परिवर्तन पनि ।

त्यसपछि स्वामीले ओशोलाई निजी भेटका लागि प्रयास गर्न थाल्नुभयो । शिविर आयोजकसँग अनुरोध गर्नुभयो तर तत्काल भेट गर्न सम्भव नहुने कुरा आयोजकले बताए । त्यसपछि स्वामीले ओशोलाई भेट्न गर्नुभएको संघर्षले एउटा गुरु र शिष्यबीचको उच्चतम सम्बन्धलाई देखाउँछ ।

+++

स्वामी आनन्द अरुणले ओशोलाई भेटेपछि उहाँले ओशोबाट उत्तिकै माया र सहयोग पाउनुभयो, जति उहाँ गर्नुहुन्थ्यो । त्यसपछि उहाँले पटनामा सत्संग र अन्य कार्यक्रमहरुको आयोजना गरी ओशोलाई सहभागी गराउन सफल हुनुभयो । यसरी ओशोसँग झन्झन् नजिक बन्न पुग्नुभयो । कार्यक्रम व्यवस्थापनको क्रममा उहाँले पाउनुभएको दुःख र सफल बनाउनका लागि गर्नुभएको मिहेनतलाई जति प्रशंसा गरे पनि कमै हुन्छ ।

+++

स्वामी आफ्नो पढाइ छोडेर ओशोको सामिप्यमा बस्न चाहनुहुन्थ्यो तर ओशोले पहिला पढाइ सकाउन सुझाउनुभयो । अन्ततः स्वामीले आफ्नो पढाइ सकाएरै छाड्नुभयो अनिमात्र सन्यास लिनुभयो । ओशो सम्बोधीको दिन पारेर नेपाल आउन चाहनुहुन्थ्यो तर स्वामी विद्यार्थी जीवनमै रहनुभएको हुनाले आर्थिक सहयोग अविभावकबाट जुटाउनुपर्ने हुन्थ्यो । छोराले ध्यान तपस्या गरेको मन नपरिरहेको परिवारले सहयोग गर्ने कुरापनि भएन । अन्ततः त्यस समयको ओशोको नेपाल भ्रमण हुन सकेन । पछि सन् १९७२ ओशोलाई भेट्दा उक्त कुरा सम्झाएर खुब रोएँ, स्वामीले उल्लेख गर्नुभएको छ ।

+++

एक दिन हजुरबाको देहान्त भएको खबरसहित पिताले पठाएको टेलीग्राम प्राप्त हुन्छ । त्यसपछि उहाँ नेपाल फर्किनुहुन्छ । हुँदाखाँदाको जागिर छाडेर उहाँ सन्यासी बन्नुभएको कुरा गाउँलेको लागि रमिता र चर्चाको विषय बन्छ । पछि उहाँले जागिर पनि सुरु गर्नुभयो र अफिस समयपछि न्युरोडको पीपलबोटमुनि पुनाबाट मगाएका ओशोका किताबहरुको स्टल राख्न सुरु गर्नुभयो । तर अधिकांश आगन्तुकहरु किताब उठाएर केही पल्टाउँथे र पुस्तक त्यहीँ राखेर हिँड्थे । केही सीप नलागेपछि, किताब मन नपरे पैसा फिर्ता गर्न सकिन्छ भनेर लेखिएको बोर्डसमेत राख्न बाध्य हुनुपरेको थियो ।

+++

विस्तारै नेपालमा पनि ओशोबारे चासो बढ्न थाल्यो । स्वामी आनन्द अरुणले ध्यान केन्द्र सञ्चालन गर्न थाल्नुभयो । जहाँ शाही परिवारका सदस्यहरुको समेत सवारी भएको घटनाहरु उल्लेख छन् । अध्यात्मप्रति तत्कालीन राजा विरेन्द्रको पनि उत्तिकै चासो थियो । उनका निजी सचिव त ओशोका किताबहरु पढ्ने गर्थे नै, विस्तारै ध्यान केन्द्रमा थुप्रै अनुयायीहरु जम्मा हुन थाले । यसरी नेपालमा ओशोका अनुयायीहरु बढ्दै गए । उहाँ अगाडि लेख्नुहुन्छ, “अहिले नेपालमा करिब १४ ओटा ठूला आश्रम, ८० भन्दा बढी ध्यानकेन्द्रहरु स्थापना भइसके । काठमाडौँमा मात्र २० ओटा सक्रिय ध्यानकेन्द्रमा नियमित ध्यान हुन्छ ।”

………..

करिब एक हप्ताअघि केही सामान किन्न म ग्रोसरी पसल गएको थिएँ । पसलमा उही दाइ हुनुहुन्थ्यो, जो मलाई देखेपछि एक फाँको मुस्कान मतिर फ्याँल्नुहुन्थ्यो । अन्दाजी ३५/३६ वर्षको हुनुपर्ने हो तर आजसम्म सोधेको छैन । पसलमा अरु ग्राहकहरु पनि थिए, दाइ सामान दिन व्यस्त हुनुहुन्थ्यो । त्यो खालि समयको मौका छोपेर केही समय मैले पनि पसलभरि आफ्ना आँखा चराउने विचार गरेँ । केहीछिनमा मेरा आँखा भित्ताको घडीमा गएर अडिए र त्यहीँ चर्न थाले । ओशोको फोटो अंकित त्यो घडी देखेपछि म अन्तिम ग्रहक बन्न मन पराएँ । केही समयपछि पसल खालि भयो र मैले सामान अर्डर गर्दै घडीको सम्बन्धमा पनि सोध्न भ्याएँ । अनि पो थाहा पाएँ, उहाँ पनि अध्यात्ममा रुची राख्नुहुँदो रहेछ । तपोवनलगायत थुप्रै ध्यान केन्द्रमा गएर ध्यान पनि गर्नुभएको रैछ । समय मिल्दा घरमा समेत ध्यान गर्नुहुँदो रहेछ । मैले पनि ‘तपाईँको बोली व्यवहारले गर्दा नै म तपाईँको पसलमा आउन मन पराउँछु’ भनेर खुलेर प्रशंसा गरेँ । किनभने उहाँको व्यवहार आम व्यापारीको भन्दा फरक नै थियो । आखिर सामान त खासै गुणस्तरीयता आउँदैन पनि, अझ पसलवालाको बोलीमा पनि गुणस्तर भएन भने त्यहाँ किन जानु ?

………..

मलाई अक्षर चिनाउने गुरु धेरै जना हुनुहुन्छ । तर जिन्दगी चिनाउने गुरुचाहिँ ओशोलाई मान्छु । सिक्ने सिकाउने क्रममा गुरुले दिनुभएका सानातिना कारवाही भोगे तापनि त्यसलाई सकारात्मक रुपमै लिन थालेको छु ।

स्वामी अगाडी थप्नुहुन्छ, “कयौँ शिष्य गुरुको मीठो शब्द र व्यवहारमा मात्रै अड्किएर बसेका हुन्छन् तर जब गुरुले वास्तविक काम सुरु गर्नुहुन्छ, गुरुले भित्रबाट उसकै हित सोचेर करुणापूर्वक गरेको चोटिलो प्रहार सहन सक्दैनन् ।” (पेज नं १४९)

अझै पनि हाम्रो समाजमा ध्यान गर्नुलाई पागल बन्ने सुरुवाती लक्षणकै रुपमा हेर्ने गरिन्छ । तर, ध्यान गर्नु, योगा गर्नु त मानसिक उपचार पो रहेछ । अनि सन्यास लिनु घरपरिवार त्याग्नु होइन रहेछ भन्ने कुरा मैले तपोवन गएपछि मात्र थाहा पाएको हुँ । तपोवनको प्राकृतिक सुन्दरताले जो–कोही मोहित हुन्छ नै, अझ त्यहाँको भौतिक संरचना पनि सामान्यदेखि विशिष्टसम्मकै रहेछ । यो सबै सम्भव बनाउन हरसम्भव प्रयास गर्नुहुने स्वामी आनन्द अरुणको किताबले ओशोलाई अझ नजिकबाट चिन्ने अवसर दियो नै, अझ भौतिक रुपमा एकपटक भेट हुन पाएको भए ? ……. लागिरहृयो ।

प्रतिक्रिया
Loading...