साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पुरूषको कथाः रहस्यता

Chovar Blues Mobile Size

‘रहस्यता … नानी … तँसँग कुरा गर्नुछ ।’

रातको बाह्र बजेको छ । कोठाको बत्ती बन्द छ । सायद सहरमा घरहरु अँध्यारा हुने भएकाले होला ! र योभन्दा पर मेरो आँखाको उज्यालो झलमल छ । म देख्न सक्छु, बाहिर निःस्पट अन्धकार नाचिरहेको छ । भित्र म एक्लै चिच्याइरहेको छु ।

‘रहस्यता … नानी … आइजन बा एकचोटि । अरुबेला त मैले नबोलाउँदै आउँथिस् त यार ! आइजन प्लिज !’

छनछनी आवाजमा पाउजु बजाउँदै डायन वा किचकन्डी तिमी जे भन, मध्यरातमा तिनको उपस्थितिको किंवदन्ती मैले अक्सर सुनेको छु । तर यो समय मैले बोलाउँदा ऊ आउली त ? ऊ अर्थात् मेरी बहिनी हो । जो तिमीले भनेजस्तो भूत, पिसाच केही पनि हैन ।

अहँ ! ऊ आउँदिन् । उसका गोडा तिमीले भनेजस्ता उल्टा छैनन् । उसको गर्दन चारै दिशामा घुम्दैन । उसले कसैको रगत चुस्दिन् तर यो धरतीले उसलाई सिङ्गै निलेको छ । ऊ यहीँ कतै दफन भएकी छे । सायद मेरो सालनाल गाडिएकै ठाउँमा उसलाई पुरिएको छ । सायद उसका अस्थिरपन्जर यसको गवाहा दिइरहेका छन् ।

sagarmani mobile size
रूपक अधिकारी

एकादेशको कथामा जस्तै छ उसको सत्य पनि । उसको सत्य म एकदिन भगवानलाई अवस्य सोध्ने छु । आखिर यो धरतीले किन आँट गर्यो उसलाई निल्न ? उसको सत्य यो छ कि ऊ कहिल्यै जन्मन चाहन्न थिई । उसले यो कुरा मलाई एकपटक भनेकी पनि थिई ।

म अझ पनि सम्झन्छु, पशुपतिमा एकसाथ बजेका घण्टाहरु । एकसाथ उडेका परेवाहरु । जो उडे एकसाथ । एक चक्कर लगाए गणेश भगवानले जस्तै र आएर उही ठाउँमा बसे । त्यतिबेला मेरा आँखासामु केही पनि थिएन । कोही पनि थिएनन् । ती फिरन्तेहरु । ती मलामीहरु । ती जन्तीहरु । मृगस्थली आगाडि डाँडामा बसेर जिन्दगी निहालिरहेका जिन्दगीहरु ।

अहँ ! केही पनि त थिएनन् । थिए त केवल एक्लै जलिरहेका चिताहरु ।

उफ्, मलाई आज सम्झँदा पनि उदेक लागेर आउँछ । ती चिताहरु कसरी आफैँ जल्न सकेका होलान् है ? ती चिसा पार्थिवहरु ! उफ्, अझै चिसै होलान् कि राता कोइलाजस्तै तापिल भैसकेका होलान् ? पृथ्वीका भूगर्भभित्र बाफिएर बसेका लाभा जस्तै होलान् कि उनीहरुको अस्तु बागमतीले निलेर नीलो समुन्द्रको आमासयमा जम्मा गरेर राखेकी छन् ? आखिर सत्य के हो ? आखिर जिन्दगी के हो ? दुई तिहाई पानीले बनेको शरीर हावा, पानी र जमिनमा मिल्नु मात्र जिन्दगी हो त ?

‘जिन्दगी के हो म भन्न सक्दिनँ तर तेरो मृत्यु म हो दाजु ।’

मैले बोलाउँदा नआएकी ऊ जिन्दगीको सवालमा आएको मेरो उल्झनको साँचो फुकाउँदै आई । तर उसको यो मास्टर की (चाबी) ले सबै साँचो फुकाउन सक्ला त ? म कहिलेकाहीँ यही सोच्छु, तर फेरि सम्झन्छु, मेरा हरेक प्रश्नको उत्तर हो रहस्यता । कहिलेकहीँ नछापिएको इन्साइक्लोपेडिया हो रहस्यता । भलै ऊ आफैँमा रहस्य छे । भलै मेरो कुरा संसारलाई झूटा लाग्छ । मिथ्या लाग्छ ।

तर सत्य यही हो- मेरी नजन्मिएकी बहिनी आज पनि मरेकी छैन । ऊ मसँग जिन्दगी बाँचिरहेकी छे ।

मेरो जिन्दगी – उसको जिन्दगी ।

मेरा आँखा – उसका आँखा ।

मेरा ओठ – उसका ओठ ।

मेरा हरेक अंग – उसका अंग ।

मैले हेरेको, ऊ देख्छे । मैले सुनेको, उसले बुज्छे । उसको बोली मैले बोल्छु ।

म एकसाथ दुई जिन्दगी बाँचिरहेको छु । वा यसलाई यसरी बुझ्नुस्, शरीर मेरो छ र आत्मा रहस्यताको ।

‘नानी, जिन्दगी के हो ? तैँले मात्र हैन, कसैले पनि भन्न सक्दैन । तर कुनै दिन कसैले प्रश्न गर्‍यो भने त्यो पल म सजिलै भन्न सक्छु- रहस्यता ।’

‘यति धेरै माया गर्छस् है मलाई … ?’

‘यति उति थाहा छैन, तर तँ भएपछि मलाई जीवनसाथी चाहिन्छ भन्ने कहिल्यै लाग्दैन । म जिन्दगीभर तैँसँग बाँच्न चाहन्छु ।’

‘यसरी सधैँ हुँदैन दाइ । अब मलाई भाउजू भन्ने मान्छे चाहिन्छ । म अरु केही जान्दिनँ ।’

आँखा अँध्यारो कोठा र अँध्यारो रातको बीचमा अडियो । जाडोयाममा बाफले ढाकिएको झ्यालको सिसामा म अडिएँ । मोबाइलको उज्यालो झ्यालको सिसामा देखिन्छु तर रहस्यता देखिन्न । फर्किएर हेर्छु, ऊ हुन्न । जसरी आउँछे, उसैगरी हराइसकेकी हुन्छे । फेरि झ्यालतिर हेर्छु ।

‘अब यो बूढो ज्यानलाई कसले मन पराउला खै ?’ मनमनै आफैँलाई प्रश्न गर्छु ।

‘धेर बूढो भन्ने हैन है ! मारिदिन्छु फेरि म ।’

‘बूढो त हो नि अनि । अझै तन्नेरो छ दाइ भन्ठान्छेस् ?’

यसपटक अर्को प्रश्न थपिदिएँ । उसले मलाई एकटकसँग हेरिरहन्छे । मानौं म उसको दाइ नभएर, प्रेमी हुँ । म उसलाई उसैगरी हेरिबस्छु ।

‘तँलाई थाहा छ … ? किन एक्लो छस् ?’ सँधै जवाफ लिएर आउने ऊ प्रश्न पनि गर्न सक्छे भन्ने कुरा मलाई पहिल्यै थाहा छ । र यो पनि थाहा छ त्यो प्रश्नमै कहीँ मैले उत्तर पाउँछु ।

‘किन छु … ?’ मैले भनेँ ।

‘तँ स्वीट त छस् तर जेरीजस्तो छैनस् । तँ गुलाफजस्तो त छस् तर तँमा काँडा छैनन् । तँ हावा छस् तर आँधी हुन जानेको छैनस् । तँ जेजे हुनुपर्ने त्यो सब छस् तर उनीहरुले खोज्नेजस्तो छैनस् ।’

म मजस्तो भएकाले एक्लो हुनुपरेको रहेछ । अब मैले कस्तो हुनु त ? मैले जेरीजस्तो कसरी हुने ? मैले गुलाफजस्तै काँडाबीच कसरी फुल्ने ? मैले आँधीजस्तो स्वभाव कसरी जन्माउने ?

‘एकछिनको लागि तँ यो मान कि तँ उनीहरुजस्तै आजको दुनियाँकी केटी होस् । मेरी बैनी होनस् । के तँ पनि मसँग प्रेम गर्ने थिइनस त् ?’

‘अहँ ! म तँसँग प्रेम गर्दिनँ । तँसँग कोही किन प्रेम गरोस् ? न तँ चटपटा छस् न टेढो छस् । तँ पैले कुर्कुरेजस्तो बन तब एउटीले त के हजारले भन्नेछन्- टेढा हे पर मेरा हे ।’

टेढो अनुहार लगाएर फेरि मैले झ्यालको सिसामा हेरेँ । योभन्दा त पहिलेकै म धेरै राम्रो थिएँ । यस्तो सोचेपछि भन्न मन लाग्यो- हे गर्ल्स, डन्ट बि सिल्ली ।

म तिमीहरुलाई मतिर फर्किएर हेर भन्दिनँ, किनकि म जे छु पूर्ण छु । रहस्यताले भनेजस्तै तिमीहरु टेढोमेढो नै खोजिरहनु, किनकि यो संसारमा कोही पनि सही छैन । गलतमध्ये कम गलत रोज ताकि तिम्रो जिन्दगी यो रातजस्तो अँध्यारो नहोस् । जिन्दगी घामजस्तो उज्यालो भएर बलिरहोस् ।

रहस्यता कहिल्यै झूट बोल्दिन, तर आज म चाहन्छु कि उसको यो बात झूटा ठहरिऊन् । उसले खोजेकी जस्तो भाउजू ढिलोचाँडो म उसलाई पक्कै दिने नै छु । तर हे मेरा युगका चेलीहरु, सधैँ आरोप मात्र हैन, सधैँ आक्षेप लगाएर मात्र हुन्न, मेरो यो मनको बात कसैले सुन्न सक्छौ भने राजा चुन । राजा पनि त्यस्तो कि जो राजकीय स्वभावको धनी होस्, न कि रानीहरुको आँखाको तारा । तिम्रो गलत निर्णयको आक्षेप हामीमा नबर्सियोस् । प्लीज बन्द गरिदेऊ भन्न- अल मेन आर सेम ।

‘तँ मान्छे रुवाउँछस् यार दादा ।’

‘किन र ? के भयो ? मैले केही गल्ती गरेँ र … ?’

मैले पहिलोपटक रहस्यताको आँखामा आँसु देखेँ । यो सब तिमीहरुकै कारण भएको हो । मेरा आँखा यो देखेर थीर हुन मानेनन् । बगिरहे । मेरा आँखाबाट ऊ बगिरही । मेरो सासबाट ऊ बाँचिरही । मैले उसलाई अङ्गाले । जवाफमा उसले पनि मलाई कँसेर अङ्गाली ।

‘म तँमा नभएर आफैँमा जिउँदो हुन्थेँ भनेँ पत्रिका, रेडियो, टिभीलगायतका हरेक ठाउँमा चिच्याएर भन्न सक्थें- अल मेन आर नट सेम ।’

प्रतिक्रिया
Loading...