Chovar Blues Mobile Size

मान्छेहरू जब भोकाउन थाल्छन्,तब प्रायः जसो उनीहरु आफ्नो हात पेटमा राखेर अनुहार खस्रो पार्ने गर्छन् । बिरामी भएजस्तै आफ्ना चेहराहरु विचलित पार्न थाल्छन् । लामो थकाइ भएको जस्तै महसुस गर्छन् । अनि उहीँ आफूलाई शान्ति नदिने भन्दै ती आफ्नो महत्त्वपूर्ण शरीरको एक अङ्गलाई उपनाम दिने गर्छन् पापी पेट भनेर । पापी पेटले सताएर मार्न लाग्यो, होइन यो पापी पेटको लागि कतिन्जेल दाना भर्नु पर्ने ? यो पापी पेटको लागि कतिन्जेलसम्म दु:ख गर्नु पर्ने ?यो पापी पेटको लागि कतिन्जेल भौतारिनु पर्ने ? यस्तै यस्तै एकले अर्कालाई गर्ने प्रश्न अनि आफूले आफैँलाई गर्ने प्रश्नले समाजको कुना कुनामा पापी पेटको परिभाषा र चर्चा भित्री रूपमा भइरहेको हुन्छ।

विज्ञान प्रविधिको युगले दुनियाँमा यति फर्को मारिसक्यो, हामीले एकपटक आँखा चिम्लेर स्मरण गर्दा आफैँ आश्चर्यमा पर्छाैँ । विज्ञान प्रविधिको सहायताद्वारा विकसित मुलुकहरुले पृथ्वीदेखि लिएर अन्य ग्रहहरुसम्म मानव बस्ती निर्माण गरिसके, मान्छेले गर्ने दैनिक कार्यहरुमा सरलता ल्याउन प्रविधिको मानव यन्त्रहरु निर्माण गरेर आनन्द लिन थालिसके, सुन्दर मानव निर्मित स्थानहरु निर्माण गरेर उक्त स्थानहरुलाई अर्को ग्रहको नाम दिन थालिसके, पर्यटन विकास र पूर्वाधारमा ध्यान दिई आफ्नो मुलुकलाई पर्यटक आकर्षणको केन्द्र बनाई मुलुकको अर्थतन्त्रलाई व्यापक रुपमा वृद्धि गराउन थालिसके । तर हाम्रो समाज अनि मुलुक भने उहीँ पापी पेटले नै फनफनी घुमाइरहेको छ । पापी पेटले नै नचाइरहेको छ, पापी पेटले नै लछारपछार गराइरहेको छ, अनि उहीँ पापी पेटले नै सुताइरहेको छ । मुलुकको अर्थतन्त्र अनि समृद्ध नेपालको आशा पनि उहीँ पापी पेटले नै निल्न थालिसकेको छ । आज भोलि हाम्रो समाजमा पापी पेटको आकार अथवा बनावटको लागि होडबाजी चलिरहन्छ । पापी पेटको लागि अवसर कुरेर बस्नेहरु साइतको फल नै छाडेर कुदिरहेका हुन्छन् । सुरुमा हेर्दा भोकले विचलित भएर ख्याउटो अनुहार परेको साना आकार भएका पापी पेटहरु अवसर पाएको केही समयपछि हेर्दा मलजल पुगेर फस्टाएको फर्सी जस्तै हृष्टपुष्ट देखिन थाल्छन् ।

मनिभक्त राई (गाउँले)

मानौँ, एउटा डिग्री सकेर सहरबाट गाउँ आएको छोरालाई गाउँलेहरुले बधाई साथै धन्यवाद दिन्छन् । अनि नम्र र मीठो स्वरमा भन्छन्; “ए फल्ना ! तिमीले त राम्रै पढेर आयौं, अब त हाम्रो समाज पनि शिक्षित हुने भयो । हाम्रा बालबच्चाहरु अब हामी जस्तै अशिक्षित, अनपढ् त हुने भएनन् नि हगि !”

अनि लामो स्वास फेर्दै उक्त डिग्रीवालाको जवाफ आउँछ; “उम पढ्न त दु:ख सुख पढियो, तर के गर्नु पढेर पनि ? अहिलेसम्म यो पापी पेटको लागि केही गर्न सकिएको छैन ।”

यति भन्न साथ सम्पूर्ण माहोल नै स्तब्ध हुन्छ । किनकि यो पापी पेटलाई परिभाषित गर्न र यसको बारे जानकारी आदानप्रदान गरिरहन प्रायः जसो मान्छेहरु चाहदैनन् । यसको परिभाषा आदानप्रदान गर्न थाल्यो भने फेरि पेटभरि टन्न असुलेर आएको ती पेटहरु पनि कराउन थाल्छन्, छट्पटाउन थाल्छन् । तर हाम्रो समाजमा भित्री रुपमा भने यो पापी पेटको चर्चा र यसको परिक्रमा अत्यन्तै व्यापक रूपमा स्थापित छ ।मान्छेहरू यसलाई भर्न र यसको आकार वृद्धि गराउन लछारपछार हुने गर्दछन् । कसैले विद्यालयमा स्थायी रुपमा सरकारी तवरको जागिर पायो, उहीँ पापी पेटको लागि, कसै राष्ट्र सेवक बन्यो उहीँ पापी पेटको लागि, कसैले एउटा राम्रो अफिसमा जागिर पायो उहीँ पापी पेटको लागि, कोही एउटा सरकारी कर्मचारी भयो उहीँ पापी पेटको लागि । हुँदाहुँदै अब समाज र मुलुक निर्माणका सबैभन्दा प्रमुख व्यक्तित्व बन्न सफल भएका हाम्रा मुलुक हाक्ने सर्वोच्च पदाधिकारीहरु पनि उहीँ पापी पेटकै लागि त्यहाँसम्म पुगेका हुन् भन्दा फरक नपर्ला ।

अब हेरौं, पापी पेटको व्यापकता कहाँदेखि कहाँसम्म रहेछ ? यहीँ पापी पेटहरुले भित्री रूपमा सडकदेखि सदनसम्म हल्लाइरहेको छ । मुलुक निर्माणको लागि उच्च पद आरोहण गर्ने क्रममा खाइएको शपथ पनि उहीँ पापी पेटकै लागि हुन सक्छ । यो कुराको स्पष्टता अब सजिलैसँग पाउन हामीलाई त्यति असहज भने कदापि छैन । किनकि मुलुकमा भइरहेको अशान्ति, द्वन्द्व, हड्ताल र भ्रष्टाचारलाई नै पापी पेटको उदाहरण मान्न सकिन्छ । जसको नकारात्मक प्रभावमा लाखौं जनताले पीडा खेप्नुपरेको छ ।

मुलुकमा पापी पेटले यतिसम्म स्वार्थीपन ल्याउन थालिसक्यो कि, जहाँ पापी पेटको कारण असल पेटहरु दिनानुदिन भोकभोकै तड्पिरहेका छन् । गरिबी र अभावको जिन्दगी जिउँदै आइरहेका छन् । आफ्नो क्षमता र योग्यता अनुसार पाउनुपर्ने अवसरदेखि बन्चित भइरहेका छन् । त्यति मात्र नभएर आफ्नो अधिकारले पाउनु पर्ने सेवा सुविधा र विकासदेखि पनि टाढिरहेका छन्, यी नै पापी पेटहरुको कारण । मुलुकमा सक्रिय रूपले पापी पेटको दुर्गन्ध गाउँको एउटा झुपडीको भित्तादेखि सहरको अग्लो महलहरुको पर्खालसम्म भित्री रूपमा फैलिएको छ । जसले गर्दा हाम्रो समाज अनि सिङ्गो मुलुकले नै जहिल्यै गरिबीको रेखामुनि रहेर विभिन्न प्रकारको दु:ख, कष्ट र चुनौतीहरु बेहोर्नु परिरहेको छ ।

“गिद्धको हुलमा बकुल्लाको नाश” भने झैँ पापी पेटको हुलमा विचरा ! अलिअलि भएका ती असल पेटहरुको कुनै अस्तित्व देखिदैन । राम्रो बिरुवा अथवा राम्रो फललाई राम्रो नजरले हेर्न र स्याहार गर्नलाई त फेरि हाम्रो समाजको परम्परा नै टाढिसकेको छ । त्यसैले बिरुवाको चिल्लो पातलाई पत्तो पाए भने स्याहारसुसार गरेर हुर्काउनको सट्टाअघि उखेलेर फालिदिन चाहिँ सक्षम हुन्छन् । यस्तै प्रवृत्तिहरुले गर्दा पनि हाम्रो समाजमा पापी पेटको उत्पादन र वृद्धि अधिकतम रूपमा भइरहेको पाइन्छ ।

युगौँदेखि पापी पेटको लागि भित्री रूपमा भइरहेको प्रवृत्तिहरुले समाज र र सिङ्गो मुलुकलाई नै विकास र समृद्धिको यात्रामा अन्य मुलुकको तुलनामा धेरै पछाडि छाडिसकेको छ । कुनै एउटा सरकारी जागिरको लागि नियुक्ति हुने क्रममा आफ्नो योग्यताले अब्बल नभएका व्यक्तिहरुले पनि उच्च तहका सम्बन्धित पापी पेटहरुको लागि केही दानापानी प्रदान गरेमा उक्त व्यक्तिहरु सीधै जागिरमा प्रवेश गर्न सक्ने वातावरण प्रचलित छन्, तर उहीँ जागिरको लागि योग्यताले सक्षम भएका व्यक्तिहरुले दानापानी प्रदान गर्न नसकेमा माथिबाट आउने एउटै जवाफ हुन्छ, “माफ गर्नु होला ! के गर्नु हजुर ? हाम्रो पनि यो पापी पेटको सवाल छ । कुनै अर्को ठाउँमा प्रयास गर्नु होला ।धन्यवाद !” यति भनेर बिदा गरी पठाउने  प्रचलन छ ।

कुनै बेला गम्भीर र अन्यायमा परेका दु:खद घट्नाहरुको मुद्दाले अदालतहरु हल्लाइदिन्छ । त्यस्तो परिस्थितिमा पनि पापी पेटहरुलाई टन्न हुनेगरी दानापानी कोची दिएमा उक्त मुद्दाको लागि अदालतले पीडित पक्षप्रति उभिएर सजायको फैसला गरिदिन्छ । कुनै एउटा हत्यारा अथवा बलत्कारीले पनि पापी पेटहरुलाई दानापानीले स्याहार गर्न सके उक्त हत्यारा अथवा बलत्कारीले उल्टै संरक्षण अनि रिहाइ पाउने गर्दछन् । हुँदाहुँदै विद्यालयजस्तो पवित्र मन्दिरमा पनि पापी पेटको प्रवृत्तिलाई प्रवेश गराउन थालिसकेका छन् । यस्ता यस्तै प्रवृत्तिमा पापी पेटहरु आफ्नो स्वार्थ आपूर्ति गर्दै आफ्नो पेटको आकार बढाएर दिनभरि आरामदायी जीवन जिउँदै मस्त सुतिरहेका छन् । त्यसैले मुलुक पनि सुतिरहेको छ । यस्तै प्रवृत्ति र प्रचलनले गर्दा घरको दराजमा बिएडदेखि डिग्रीसम्मको शैक्षिक योग्यताको प्रमाणपत्र थन्क्याएर असल पेटहरु प्रवासतिर गई रगत पसिना बगाउन बाध्य भएका छन् हजारौं गरिब इमान्दार । गरीबी र अभावको जिन्दगी जिउँदै गाउँको कुना कप्चामा कोचिएर, थिचिएर बसिरहेका छन् ।

हाम्रो समाजमा यिनै पापी पेटहरुले “जसको शक्ति उसैको भक्ति” भन्ने भनाइलाई गलत ढंगबाट प्रमाणित गर्दै आइरहेका छन् । जसको कारण आज सिङ्गो नेपाल गरिबीको खाल्डोमा परिसकेको छ । त्यसैले आफ्नो पापी पेटको लागि केही गरे पनि आफूमा भएको स्वार्थीपनलाई त्याग्नु पर्छ । अब पापी पेट अन्त्य गर्ने कार्यमा आजको पुस्ताको कठिन  जिम्मेवारी बन्न आएको छ । यसप्रति जागरुक भएर निस्वार्थ भावनाको साथ अगाडि बढ्दै जानुपर्ने परिस्थिति आएको छ । समाज अनि मुलुकको हरेक जिम्मेवार अङ्गहरुमा पापी पेटको लागि भइरहेको फोहोरी खेलको अन्त्य गरी हाम्रो मुलुकलाई विकास र समृद्धिको मार्गतिर डोर्‍याउन जरुरी देखिन्छ । गाउँदेखि सहरसम्म व्यक्ति विशेषको योग्यता र क्षमताको कदर हुनु पर्दछ । अनि मात्र पापी पेटहरुको संख्या क्रमशः  घट्दै गई विस्तारै समृद्ध नेपाल, सुखी नेपालको आशा गर्न सकिन्छ ।