मेरी पूर्वप्रेमिका असाध्यै राम्री थिई । ऊ मलाई बेसुमार प्रेम गर्थी । मेरा हर रहर र चाहनाहरुसँग ऊ परिचित थिई । मेरा हरेक आवश्यकताहरु पूरा गर्दिन ऊ हरदम तयार हुन्थी । मलाई के किन्नुपर्ने छ ऊ थाहा पाउँथी । म कुन मुडमा छु ऊ अन्दाज गर्न सक्थी । हुनसक्छ, यता मलाई निद्रा नपरेको रातमा उता ऊ आफ्नो ओछ्यानमा कोल्टे फेरिरहन्थी । यता म भोकाउँदा उता उसको पेटमा पनि मुसाहरु कुद्थे होला । जेहोस्, हामी केवल दुई भिन्न शरीर थियौं, आत्मा हाम्रो एक थियो । मानौं हाम्रो आत्माको आधा हिस्साको स्वामित्व ऊसँग हुन्थ्यो भने बाँकी आधा हिस्सामात्र मसँग रहन्थ्यो ।

तर समय एकनास रहेन । उसले बोकेर हिँड्ने आत्माले विस्तारै अरु कसैको अधुरो आत्मासँग एकाकार हुने नियत राख्न थालिसकेछ । मलाई यो कुराको बोध ढिलोगरी भयो । जब थाहा भयो, समय दाम्लो चुँडालेको पाडो जस्तैगरी बुर्कुसी मारेर धेरै पर पुगिसकेको थियो । अन्तत्वगत्वा पराया आत्मासँगको उसको आत्माको मिलन भयो । तत्पश्चात् मेरो आत्मा अधकल्चो बनेर कयौँ सालसम्म रहन पुग्यो ।

“जीवन आधा अधुरो मात्र बनेर कहाँ काटिन्छ र ! तेरो मनको ढाँचामा चट्ट परेर मिल्न सक्ने, तेरो आधा आत्माको अधुरोपनलाई धर्सोमात्र पनि दाग नदेखिनेगरी भर्न सक्ने, ठ्याक्कै तैँले नै लगाइराखेको चस्माको एकापट्टिको सीसा तँ भए, अर्कापट्टिको सीसा आफू बनिदिन सक्ने कुनै एउटी सुन्दरीको बारेमा अब तैँले सोच्नुपर्छ ।” यसरी साथीभाइको अनि अरु परिचित शुभचिन्तकहरुको सल्लाह तथा सुझावहरु ओइरिन थाल्यो । तर मनले कहाँ मान्नु र । मन त अर्काकै भैसकेपछि पनि पूर्वप्रेमिकालाई अझै आफ्नै अधिकार ठानिरहँदो रहेछ ।

सुरेश बडाल

तर यथार्थलाई नमानी धरै पाइएन । अर्काको गृहस्थी सजाएर, अर्काकै सन्तान पाइदिएर जीवनको राजमार्गमा सयको स्पिडमा निकै अगाडि बढिसकेकीलाई अब म नाथेले लखरलखर हिँडेर कहाँ भेट्टाउन सक्नु र ! देब्रे खुट्टाको बिजोडी एउटा चप्पलजस्तो आत्मा लिएर म खोज्न थालेँ त्यसैको दाहिनेपट्टिको अर्को जोडी ।

धेरै आए मनै हर्ने सुन्दरीहरु । कोही मुस्कानको अदा लिएर, कोही मधुर बोलीको जादु लिएर । कोही आए आत्मविश्वास अनि दृढसंकल्पको बलियो आकर्षण बोकेर । मलाई वर्षौंसम्म संसारमा कुनै स्त्री नै नभएजसरी वैराग्य पालेर हिँडेकोमा हद पछुत्तो लाग्यो । आखिर एउटा दुइटा सुकेका पात झरेर जाँदैमा रुख कहाँ नाङ्गिन्छ र ! मलाई त पतझडको याम सकिएर बसन्तयाम सुरु भएजस्तै भान भएको थियो त्यतिबेला, जतिबेला अकस्मात् झरी पर्दाखेरि ओत लाग्ने ठाउँ खोजेर घुसुल्टिँदै आएको बटुवाजस्तो मनको कुनामा ठाउँ खोज्दै एउटी सुन्दरी आएकी थिई ।

“म प्रेमको एक पराजित खेलाडी हुँ । मेरो मनमा भएको प्रेमिल पालुवा कसैले निमोठेर गएको छ । मेरो मन बन्जर छ,” बताएको थिएँ त्यस सुन्दरीलाई ।

“अतितमै बाँचिरहनु पर्छ भन्ने के छ र ! भविष्यको बाटोमा हिँड्नु नहुने हो र ? त्यो बन्जर मनमा मेरा प्रेमका पालुवाहरु पलाउन नसक्ने हो र ?” मेरो काँधमा टाउको अड्याएर उसले भनेकी थिई ।

हामीले एकअर्काका मनमा प्रेमका बिरुवाहरु रोप्यौं । भावनाका थोपाहरुले सिंचन गर्यौं । प्रेमका फूलहरु हराभरा गरेर फुल्दै गए । तर जब ऊ मलाई भेट्न भनेर पाटन दरबार स्क्वाएर बोलाउँथी, मलाई मेरी “एक्स”कै सम्झनाहरुको बन्चरोले मुटुमा हाने झैँ हुन्थ्यो । मेरी पूर्वप्रेमिका र म कैयौंपटक पाटनका गल्लीहरुमा डुलेका थियौं । मलाई त कृष्ण मन्दिर छेउबाट मेरै विगतले हेरिरहे झैं लाग्थ्यो । दरबारको कौसीमा बसेर कुनै मल्ल राजाले “यो केटीभन्दा त तेरी पूर्वप्रेमिका नै राम्री थिई यार” भने झैं लाग्न थाल्यो ।

मेरा विगतका घाउका खाटाहरु काँचो सुपारी घोटेर लगाए झैं गरेर भरिदिने, मेरा हर दुःखहरु आफ्नै डँडाल्नु थापेर सहिदिने, हर सुखहरुमा सँगै हाँस्छु भन्ने दृढ संकल्प बोकेर आएकी सुन्दरीको अगाडि पनि मैले मेरी पूर्वप्रेमिकाकै अनुहार उज्यालोगरि देखिरहेँ ।

म विगतको दलदलमा घाँटीसम्म डुब्नेगरी भास्सिरहेँ । सुन्दरी मलाई उतार्न खोज्थी, तर उसको लागेशक्ति लागेन । अन्तत्वगतवा उसले भनेरै छाडी, “म हारें । सकिनँ तिमीलाई अगाडि हिँडाउन । बिदा !”

पहिलो प्रेम वियोगको छटपटीमा दुखिरहेको मलाई दोस्रो वियोगले रत्तिभर दुखाएन । पहिलो प्रेम भुल्न गाह्रो हुन्छ भन्ने भनाइको बलियो उदाहरण काखी च्यापेर म जीवनयात्रामा एक्लै हिँडिरहें ।

तर जीवनको यात्रा जति एक्लै हिँडौँ भने पनि कोही न कोही बाटोमा हमसफर बन्न आइदिने रहेछ । यस्तैमा कुममा कुम जोडेर केहीपरसम्म हिँडौँ भनेर आएकी अर्की सुन्दरीले मनमा ठूलो प्रभाव छोड्न थाली । मान्छे सम्बन्धहरुमा कहिल्यै निरपेक्ष भएर व्यवहार गर्न नसक्दो रहेछ । अझ त्यो सम्बन्ध विपरीत लिङ्गीसँगको हो भने त झन् निश्चित दूरी त निश्चित समयसम्म मात्र राख्न सक्दो रहेछ । एउटा सामान्य चिनाजानी, त्यसपछि सामान्य साथीमात्र भएकी उनी कुनैदिन छुट्नै नसकिने अभिन्न साथीको रुपमा रहन लागिन् ।

“मेरो पहिलो साथी किताबहरु हुन्, दोस्रोमात्र तिमी”, उनले कुनै दिन यसो भनिदिँदा मेरा मनका केही तारहरु बेस्सरी झंकृत भएका थिए । त्यो सुमधुर धुनजस्तो बोलीमा म कायल भैगएँ ।

“मेरो त साथीमात्र हैन, पहिलो प्रेम नै पुस्तकहरु हुन् ।” मैले अझै एक कदम अगाडि बढेर भनेको थिएँ ।

“मेरो पहिलो प्रेमचाहिँ तिमी, दोस्रो किताब भनें भने के गर्छौ नि ?” सुन्दर अक्षरमा डिको दिएजस्ता आँखीभौं नचाएर उनले सोधेकी थिइन् ।

“त्यतिबेला पनि तिमी मेरी पहिलो प्रेम हुन सक्दिनौ ।” मैले सत्य बोलेको थिएँ । तर मेरो असल अनि निष्कपट मन नै मन पर्यो भनेर फुरुक्क पारिदिएकी थिइन् उनले !

पुस्तक प्रेमले जुरेको सम्बन्ध पुस्तककै पानाहरु पल्टिएजसरी एकपछि अर्का सुन्दर च्याप्टरहरु छिचोले झैं सुन्दर पलहरु छिचोल्दै अगाडि बढिरह्यो । तर कथामा डुब्दैगर्दा आफैंलाई पात्रको अनुहारमा देखे झैं, कथाको घटनाहरुमा आफ्नै जीवनका चित्रहरु पाए झैं उनको अनुहारमा म जानी नजानीकन उही पहिलो प्रेमिका नै खोज्न थालेछु ।

उनले गिफ्ट गर्ने किताबहरुमा म मेरी पूर्वप्रेमिकाकै स्पर्शहरु पाउँथें । किताबका बुकमार्कहरु पनि पूर्वप्रेमिकाकै बाहुलीबाट पेश गरिएका गुलाब झैं लाग्न लागे । काउचमा अढेसिएर बसेकी उनलाई अँगालोमा बाँधेर, उनकै टाउकोमा शिर अड्याएर मन्द आहट उनका कानमा पर्ने गरेर किताब पढ्दैगर्दा कथाका पात्र सँगसँगै हाँस्ने उनीमा मेरी पूर्वप्रेमिकाकै मुस्कान खोज्न लागेछु ।

“तिमी मसँग हुँदा पनि किन मसँग हुँदैनौ ?” एकदिन सोधेरै छाडिन् उनले ।

“तिमीमा म मेरो पहिलो प्रेम खोजिरहेको हुँदो रहेछु ।” बताउनै पर्ने थियो मैले ।

“अनि के भो त ? तिम्रो पहिलो प्रेम किताब हो भन्ने मलाई थाहै छ त ।” कति निश्चिन्त भएर भनेकी थिइन् उनले ।

“मेरो पहिलो प्रेम मेरी पूर्वप्रेमिका थिई । उसलाई म अझै भुल्न सकेको छैन ।”

बाइण्डिङ्ग उप्किएका पेपरब्याक किताबका पानाहरु छिरोलिए झैं छिरोलिइन् उनी । तर पनि हरतरहले सम्हाल्न खोजिन् आफूलाई । बलजफ्ती सम्झाउँथिन् मलाई, “नमीठो विगत त मसँग पनि छ । तर पनि बिर्सिंदै जानुपर्छ । मान्छे विगतमै अड्किराख्यो भने मान्छे रहँदैन । यो संसार त हरेक पल बदलिइरहेको हुन्छ। यो ब्रह्माण्ड त हरेक पल फैलिइरहेको हुन्छ भने, तिमी एउटामात्र कतिन्जेल साँघुरिएर बस्छौ ? अगाडि बढ । म हरदम तिम्रो साथमा छु ।”

तर लिसो टाँस्सिए जस्तैगरी टाँस्सिएका पहिलो प्रेमका सम्झनाहरु झन् चहकिलोगरी आउन थाले । लाग्थ्यो कुनै हुण्डरी आइदेओस् खुशीहरुको, कुनै आँधी आइदेओस् प्रेमको ता कि राजमार्गछेउको घरको भित्तो धुलोले ढाकेजसरी छपक्कै पुरिदेओस् पूर्वप्रेमिकाको अनुहार र याद पोतिएको मेरो मनको भित्तो । अहँ, आएन त्यस्तो हुरी ।

कुनै कमजाेर लेखकको गुमनाम किताब बुकशपका डिस्प्लेबाट हराए जस्तैगरी किताबप्रेमी मेरी प्रेमिका पनि आजित भएर मेरो जिन्दगीको डिस्प्लेबाट थाहै नपाई हराइन् ।

अतितमै बाँचिरहने कि अगाडि बढ्ने भन्ने कुरा एक्लोपनले तय गरिदिँदो रहेछ । एकलास गल्लीहरुमा रित्ता हातहरु हलाएर हिँडिरहँदा ती हातका कुनै औंलामा आफ्ना औंला अंकुशे बनाएर साथै हिँडिदिने कुनै छाया मिस हुँदो रहेछ । तर आफूले चाहेको छाया त अर्कै छायासँग एकाकार भैसक्यो भन्ने कुराको निकैपछि यथार्थबोध भएको दिन आफ्नो पछिपछि आएका छायाहरुको सम्झना आउने रहेछ ।

ती दरबारका काठहरु पहिले जो थिए आज ती छैनन् । पुराना रङ्गहरु फिक्का भैसके, नयाँ चमकहरु छन् । पुनःर्निर्माण हुँदाहुँदा स्वरूप उही बसे पनि वस्तुहरु आज उही छैनन् । ती बुकशपका बुक्सेल्फ़हरुमा पनि जुन किताबहरु आज छन्, ती पहिले थिएनन् । जो पहिले थिए, ती आज छैनन् । अनि किन मेरै मात्र हृदयमा ती पुराना पैतालाका डोबहरु बाँकी छन् ? किन नयाँ लहरले नयाँ सतह बनाउँदैन ?

आफ्नै मनलाई प्रश्न गर्ने हिम्मत हुनेहरु साहसी हुँदा रहेछन् । मैले पनि त्यही साहस देखाएँ र आफैंलाई भनें, बिझाउने खिलहरु अब मुटुबाट हटाउने छु । धेरै उज्यालो भए आँखा खाइदेला, ज्यादै मधुरो भए सकस पर्ला, तर अब आफ्नो मनको होल्डरमा आफ्नै दृष्टि सुहाउँदो बत्ती अटाउने छु ।

बत्ती नभए मैनबत्ती नै सही, तर आफ्नो औकात नभएको झुमरसँग बिल्कुल तुलना गर्ने छैन । कस्सम !