सन् १९३८, सायद मेरो जीन्दगीमा पहिलोचोटि त्यति धेरै खुशी भएको दिन हुनुपर्छ । मैले सरकारी जागिर पाएको क्षण, सरकारी जागिर अर्थात् हुलाक कार्यलयको सहायक अधिकृत । कम उमेरमै सरकारी जागिरे भएकोले परिवार र साथीहरु पनि म जत्तिकै खुशी थिए । जागिरको लागि नजिकको सहर ग्दान्स्कमा नियुक्ति मिलेको थियो ।
पहिलो विश्वयुद्धपछि दान्जिग (ग्दान्स्क सहरको जर्मन भाषाको नाम) सहरले आफ्नो नाम परिवर्तन गरेर स्वतन्त्र सहर ग्दान्स्क राख्यो । स्वतन्त्रताको अनुभूति गरेको २० वर्ष पुग्नै लागेको थियो । सन् १९३९, सेप्टेम्बर महिनाको एक दिन– एकाबिहानै ठूलो हल्ला मच्चियो । हिटलरको सेनाले पहिलो आक्रमण वेस्तरप्लातेमा गर्यो । र सुरु भयो दोस्रो विश्वयुद्ध । युद्ध, दुई दशक पनि भएको थिएन, सकिएको । पोल्याण्डले एक सताब्दीभन्दा पछि विश्वको नक्सामा आफ्नो अस्तित्व कायम गरेको थियो । र बल्ल उभिएको थियो स्वतन्त्र झण्डा, बल्ल बिहानको घाम मोत्वाभा नदीमा खस्दा हामीहरुले आफ्नो महशुस गर्दै थियौं । तर सुरु भयो अन्यौल, कि फेरि आफूले बोलिराखेको भाषा बोल्न पाइएला कि नपाइएला ? बिहान– आजको दिन काटिएला कि नकाटिएला ? रात–भोलि बिहानको झुल्के घाम देख्न पाइएला कि नपाइएला ? अन्यौल, डर, त्रास । मान्छेहरुको जनजीवन अस्तव्यस्त हुन थाल्यो, घरभन्दा बाहिर पनि कमै निस्किन थाले । सहर मुर्दाघर जस्तो सुनसान भयो ।
सहरभन्दा बाहिर सम्बन्ध विच्छेद भएकाले हुलाकको काम न्यून संख्यामा हुन्थ्यो । त्यतिबेला कार्यलय अधिकृत र म विभिन्न विषयमा कुरा गथ्र्याैं । उनी प्राय: जसो युद्धको कुरा गर्थे । आफू पनि बन्दुक बोकेर देशको झण्डा, आफूले बोलेको भाषा जोगाउन युद्धभूमिमा जाने इच्छा गर्थे । एक दिन उनले भनेका थिए, “सायद यो पाली मलाई युद्धमा जान कसैले पनि रोक्दैन होला, उसो त यति काम पनि छैन आजकाल, त्यसमाथि तपाईँ हुनुहुन्छ जिम्मेवारी सम्हाल्ने । हेरौं, माथिको आदेशको प्रतिक्षा गरिरहेको छु ।” उनले त्यति भनेको केही दिनपछि नै माथिबाट आदेश आयो, उनी युद्धमा जाने भए, कार्यालय प्रमुखको हिसाबले मैले काम गर्नुपर्ने भयो । युद्ध झन् झन् चर्कँदै थियो । जर्मन सेना हरेक युद्धहरु जित्दै मोस्कोतिर अघि बढिरहेको थियो ।
त्यसपछि हरेक चिठ्ठीहरुमा युद्धका खबर हुन्थे । हरेक मान्छेहरुको ओठको मुस्कान लिएर हिँड्थेँ म । चिठी पठाउनेहरुको बेचैनी र पाउनेहरुको खुशी महशुस त्यति बेलै गरेँ मैले । कोही चिठी पढिसकेपछि रुँदै मुर्छा पर्थे, कोही एक शब्द पनि नबोली मुर्ती झैं ठिङ्ग उभिन्थे । त्यत्तिबेलै मैले मान्छेहरुलाई नजिकबाट चिन्न पाएँ । चिठ्ठीहरु जति पठाइएका ठेगानामा पुग्थे त्योभन्दा बढी कार्यालयमा थुप्रिन्थे । कत्ति चिठ्ठीका पाउने ठेगाना लेखिएका मानिसहरु मारिएका थिए वा कत्ति विस्थापित भएका थिए ।
युद्ध जित्नलाई हरेकले आ–आफ्नो ठाउँबाट सक्दो कोसिस गरिरहेकै थिए । ती सैनिकहरु जो विपक्षीको हमलाको प्रतिरक्षा गर्दै महिनौ, कयौं महिना लगातार खटिरहेका थिए । उनीहरु व्यग्र रुपमा पर्खिरहेका हुन्थे आफ्ना आफन्तहरुका बारेमा जान्न । सबैलाई पर्खनु थियो, युद्धको समाप्तिको घोषणा । सबैले पर्खिरहेका थिए एउटा स्वतन्त्र देश, जसको नक्साभित्र अटाओस् आफूले बोलिने भाषा, जसको नक्साभित्र अटाओस् समानता, र अटाओस् अमनचयन । सँगसँगै पर्खिरहेका थिए आफूले माया गर्ने मान्छेको अँगालो र मीठो मुस्कान । र हरबखत पर्खिरहेका हुन्थे उनीहरुको खबर । अरुको भावनामा खेल्ने अधिकार त कत्ति पनि थिएन हामीलाई । तर जब मानिस आफ्नो अस्तित्व, आफ्नो देशको अस्तित्व जोगाउने जोखिममा पर्छ त्यस पछि उसले अनेक उपाय सोच्न थाल्छ । र हामीले पनि हाम्रा कयौं पुस्ताहरुको खुशी र स्वाभिमान जोगाउन लागिपरेका सिपाहीहरुको क्षणभरकै लागि भए पनि खुशी र हौसला बढाउने विचार गर्यौं ।
उनीहरुलाई हौस्याइरहन्थी चिठ्ठीमार्फत् । चिठ्ठीमा ऊ कसैको आमा बन्थी, त कसैको बहिनी, कसैको साथी भने कसैको प्रेमिका बनिदिन्थी ।
त्यसपछि हामीले ती चिठ्ठीहरु जुन कयौं दिनहरुदेखि बेखबर बनेर कार्यालयमा थुप्रिएका थिए तिनीहरु खोल्ने निर्णय गर्यौं । र तिनीहरुको जवाफ लेख्न थाल्यौं । त्यत्तिबेला एक जना केटी थिई, बारबारा नाम गरेकी । युद्ध सुरु हुनुभन्दा केही महिना अगाडि मात्र हुलाक कार्यालयमा काम सुरु गरेकी थिई । बोल्दा सधैँ मुस्कुराएर बोल्थी । उसको चिठ्ठी लेख्ने कलालाई सबैले प्रशंसा गर्थे । मान्छे कत्तिसम्म आशावादी हुन सक्छ भन्ने एउटा दरिलो उदाहरण थिई ऊ । उसले लेख्ने चिठ्ठीहरुमा कहिल्यै पनि निराशा झल्किँदैनथ्यो । हुन त उसको अनुहारमा पनि कहिल्यै निराशा देखेको थिइनँ मैले । युद्धमा उसले आफ्नो आफूभन्दा सानो भाइ गुमाइसकेकी थिई । अरु आफन्तहरु पनि कता कता छन्, खबर थिएन । तर ऊ भने ती सैनिकहरु जो आफ्नो देश जोगाउन हतियार बोकेर उभिएका छन् । उनीहरुलाई हौस्याइरहन्थी चिठ्ठीमार्फत् । चिठ्ठीमा ऊ कसैको आमा बन्थी, त कसैको बहिनी, कसैको साथी भने कसैको प्रेमिका बनिदिन्थी ।
र लेख्थी “प्यारो छोरा, तिमीलाई भेट्नलाई मेरो ढुकढुकी जोडसँग धड्किएको छ । जहिल्यै पनि म खाना बनाउँदा अलिकति बढी बनाउँछु कि कतै तिमी अचानक आइपुगिहाल्यौ भने । तिमीले मेरो आँखा अगाडी बसेर नखाएको पनि वर्षाैं भयो । हो तिमीलाई भेट्ने मन औधी छ । तर यसको यो अर्थ हैन कि तिमी युद्ध छोडेर भागेर आउ । म तिमीलाई त्यत्तिन्जेलसम्म पर्खिन्छु, जतिबेला युद्ध जितेको उत्सव मनाउन सडकमा उभिएका मानिसहरुले देशको झण्डा बोकेर उभिएको पंक्तिमा अग्रभागमा तिमीलाई देखुन् ।”
कसैकी साथी बनिदिन्थी र लेख्थी, “साथी, मलाई अझै पनि याद छ, जतिबेला हाम्रो पहिलो भेट भएको थियो, गिम्नाज्ममा । स्कूले जीवनका कति मीठा यादहरु छन् । किशोर अवस्थाका कति मीठा यादहरु छन् । हामीले गरेका उपद्रोहहरु हामीलाई बाँचुन्जेल सम्झीइरहने कोशेली बनेका छन् । तिमीले मेरो जन्मदिनमा पठाएको चिठ्ठी मैले पाएँ, तिमीले चिठ्ठीमा लेखेका हरेक सानासाना कुराहरुले मलाई त्यही दिनमा पुर्याइदियो । मेरो अठारौं जन्मोत्सव हामीले कति भव्य रुपमा मनाएका थियौं । र एउटा सामान्य भनाभन कसरी झगडामा परिणत भएको थियो । त्यस दिन मलाई महसुस भयो कि तिमी मेरो साथी रहुन्जेल मैले कसैसँग पनि डराउनु पर्दैन । तिम्रो लडाकु, आफ्नो अधिकारको लागि कसैसँग पनि लड्न नडराउने व्यवहारको म सदैव प्रशंसक हुँ र रहिरहनेछु । र जुन दिन तिमीले सेनामा भर्ती हुने निर्णय गरेका थियौ र जुन दिन तिमीले सबै परीक्षाहरु पार गरेर आएका थियौ । सायद म त्यत्ति खुशी अहिलेसम्म कहिल्यै भएको थिइनँ । तिमीलाई थाहा छ साथी ? मलाई युद्ध सुरु भएको खबरले अरुलाई जति डर दिएन, किनकि जबसम्म तिमी र तिमी जस्तै कसैसँग पनि झुक्न, नडराउने साथीहरु सेनामा छौ तबसम्म हामीले कहिल्यै डराउनु पर्दैन । तिमीहरु जसरी बन्दुक बोकेर लडिरहेका छौ, हामी पनि यता हामीले गर्नसक्ने काम गरिरहेकै छौं । मलाई आशा छ हाम्रो भेट चाँडै र त्यस्तो अविष्मरणीय दिनमा हुनेछ जुन दिनलाई हामीले हरेक वर्ष उत्सवको रुपमा मनाउनेछौं ।”
फेरि एकैछिन पछि कसैको प्रेमिका बनिदिन्थी, “प्यारा, जब मैले पहिलोचोटि तिमीलाई देखेको थिएँ,
तिमी हाँसिराखेको थियौ । तिम्रो अनुहारमा एक किसिमको चमक थियो, त्यही अनुहारको चमकले होला तिम्रो सारा व्यक्तित्व उच्च बनाइदिएको थियो । शुक्रबारको एक साँझ मैले तिमीलाई त्यो बारमा देखेको थिएँ । मेरा साथीहरु बीच तिमीसँग को पहिला बोल्ने भनेर एक किसिमको रमाइलो भनाभन जस्तै भएको थियो । त्यही भएर मैले साथीहरुलाई छोडिदिएँ तिमीसँग बोल्न । थाह छ तिमीलाई ? त्यहाँबाट निस्किएपछि म रात भर सुत्न सकिनँ । तिमीसँग बोल्न नपाएकोमा मलाई हरेक दिन पछुतो थियो । एकैचोटि मात्रै देखेको भए पनि तिम्रो अनुहार, त्यो अनुहारमा फुलिराखेको मुस्कान कुनै चित्रकारले बनाएको चित्र जस्तै रंगीन र उत्तिकै गाढा बनेर यो मनमा बसको छ । जुन दिन तिमी यो देशको नक्सा जोगाएर, पोलाक (पोल्यान्ड देशको नागरिक) भएर आफ्नै माटोमा गर्वसाथ बाँच्ने अधिकार स्थापित गरेर फर्कन्छौँ । त्यो दिन सहर छिर्ने मुख्यद्धारमै, सिंगो सहरको अगाडि तिम्री प्रेमिका भएको स्वीकार्नेछु ।”
यसरी लेखिएका प्रायः चिठीहरुका उत्तर आउँथे । कति चिठ्ठीहरुले आँशु बोकेका हुन्थे, कतिले प्रेम र धेरैजसोले युद्ध जितेर आउने प्रतिबद्धता । तर एउटा चिठीको उत्तरले हामी सबैलाई अचम्ममा पारेको थियो । जुन चिठी उसले प्रेमिका बनेर लेखेकी थिई । त्यसको उत्तर आएको थियो । र उत्तरमा लेखिएको थियो, “त्यो दिन मलाई लागेको थियो तिमी बोल्न आउँछौ भनेर त्यसैले पर्खिरहेँ अन्तिम क्षणसम्म । तिमीले भनेकोभन्दा पनि दोब्बर पीडा मलाई भएको थियो, तिमीसँग बोल्न नपाएकोमा । सायद तिमी जत्तिको सरल केटी मैले त्योभन्दा अगाडि नदेखेको भएर पनि होला । जब तिम्रो चिठी पढेँ, र फेरि पढेँ र फेरि, फेरि कत्तिचोटि पढेँ ? म आफैंलाई थाहा छैन । त्यो दिन हाम्रो देश जोगाएको खुशीयाली बोकेर म घर आउँछु र स्वागत गर्नेहरुको भीडमा तिम्रो अनुहार देख्न पाउँछु भन्ने हर्ष सायद म शब्दमा वर्णन गर्न सक्दिनँ होला ।”
त्यसपछि बाक्लो रुपमा चिठीहरु आदनप्रदान भए, बारबाराले हरेक पटक प्रेम र हौसला भरेर चिठी पठाई । प्रत्युत्तरमा पनि प्रेम सँगसँगै उसले बाहिर बसेर गरिरहेको कामको लागि धन्यवाद आउँथ्यो । उनीहरुले एकअर्कालाई लेखेका चिठीहरु हार्दिकता र सम्मानले भरिएका हुन्थे । यो क्रम चलिरहेकै थियो । यसरी नै दिनहरु, महिनाहरु र वर्षहरु बिते । युद्ध लम्बिरहेको थियो । पोलिस सेना एउटा ठूलो युद्धमा पराजित भएर पछि हट्नु परेपछि देश बाहिर रहेर भए पनि आफ्नो संगठन बनाउनमा व्यस्त थियो । यसरी सोभियत युनियन र बेलायतमा उनीहरुले आफ्नो सैनिक संगठन बनाएर पुनः युद्धमा सहभागी भइरहेका थिए । तर सन् १९४४ अन्त्यतिर एउटा ठूलो युद्ध भयो । जसमा दुवैतर्फ गरेर हजारौंको संख्यामा सैनिकहरु मारिए । त्यो, सम्भवत दोस्रो विश्वयुद्धमा युरोपको सबैभन्दा ठूलो क्षति भएको घटना थियो । त्यो खबरले हामीलाई केही दिन विचलित बनाइदियो । त्यस युद्धको विस्तृत जानकारी नआएकोले कसको कति क्षति भएको हो बताउन सक्ने स्थिति थिएन । यस्ता अपृय समाचारहरु सुन्नुपर्ने, पत्याउनुपर्ने र फेरि आफ्नो जिन्दगी चलाउनुपर्ने बाध्यता भएको भए पनि यो घटना शान्त हुन निकै समय लाग्यो । तर जब अलिक पुरानो भयो बारबारा भने निकै उदास देखिन थाली । सधैं हाँसी रहने, खुशी भइरहने मान्छे अचानक त्यस्तो अवस्थामा देखिएकीले कारण जान्न म उत्सुक थिएँ ।
“के छ बारबारा, तिमीलाई सन्चो छैन कि कसो ?” जवाफमा उसले आफ्नो वास्तविक स्थिति ढाक्ने असफल प्रयास गरी र झिनो मुस्कानका साथ ठिक छु भनी । तर साँचो कुरा पत्ता लाग्न समय लागेन मलाई । त्यो जुन भयानक युद्ध भएको थियो, त्यसपछि त्यहाँ लडिरहेका पोलिस सेनाहरुको हताहतीको जानकारी अहिलेसम्म पनि नआउनु र उसको लागि आउनुपर्ने चिठी आउन बन्द हुनु एकैसाथ भएको रहेछ । त्यसपछि उसको बोल्ने, हाँस्ने र काम गर्ने जाँगर कम हुँदै गएको थियो । उसले लेख्ने अरु चिठीहरुमा पहिलेको भन्दा उर्जा कम हुन थाल्यो । उसले देखाउन नचाहे पनि पहिलेको भन्दा फरक देखिन थाली । र एक दिन उसले गम्भीर हुँदै भनेकी थिई, “सर म यहाँ बस्न सक्दिनँ होला, मलाई आजकाल यी सबै कुराहरु बिराना लाग्न थालेका छन् । युद्ध सकिन्जेल पर्खिनु छ मैले, सायद अब यो ठाउँभन्दा धेरै टाढा जान्छु ।”
विहान उठ्दा शान्त हावा चलेको थियो र दिन एकदमै उज्यालो थियो । यो सपनापछि मेरो शरीर एकदमै हलुका भएको छ । मलाई किन किन यो युद्ध सकिने संकेत हो जस्तो लागेको छ । सायद अब चाँडै म घर फर्किन्छु होला ।
दोस्रो विश्वयुद्ध सुरु भएदेखि नै नाजी सेनाले आफूविरुद्द संगठित हुनसक्ने डरले पोलिस बौद्धिक जमातको गिरफ्तारी र हत्यालाई तीव्रता दिएको थियो । त्यसैले हरेक दिन आफू गिरफ्तारीमा पर्नसक्ने डरले सताइरहन्थ्यो । युद्ध रोकिने संकेत अलिकति पनि देखिएको थिएन । त्यसपछिका कयौं महिना हामीले कष्टप्रद तरिकाले कटायौं । हाँस्नुपर्ने बाध्यताले हाँस्यौं, काम गर्नुपर्ने बाध्यताले काम गर्यौं र बाँच्नुको विकल्प नभएकाले बाँच्यौं ।
१९४५ को अप्रिल, सोभियत सेना हिटलरको सेनालाई पछि धपाउँदै जर्मनतर्फ अघि बढिरहेको थियो । सोही महिनामा आएको एउटा चिठीमा उसको नाम लेखिएको थियो । त्यो चिठी हातमा पर्ने बित्तिकै खुशीले उफ्रिएर म बारबारा भएकोतिर दौडेको थिएँ । उसको नयनमा यतिका महिनादेखि हराएको खुशी फेरि हेर्न चाहान्थेँ म । उसले खुशीले आँशु बगाउँदै चिठी खोली र ठूलो स्वरमा पढी । चिठीमा लेखिएको थियो, “प्रिया धेरै, धेरै माया अनि सम्झना । यत्तिका दिनसम्म चिठी लेख्न नपाएकोमा माफी माग्छु । तर ती दिनहरुमा सायद तिमीलाई नसम्झेको पल कमै थिए होलान् । त्यो ठूलो युद्धको घटना तिमीले सुनिसकेको हुनुपर्छ । तर युद्धमा हामीले विपक्षीलाई निकै पछाडिसम्म धकेल्न सफल भएका थियौं । सोभियत सेनासँग मिलेर युद्ध गरिरहेको हाम्रो बटालियन अब बर्लिनतर्फ अघि बढिरहेको छ । प्यारी, म त्यत्ति भाग्य, भगवान र चमत्कारमा विश्वास गर्ने मान्छे त हैन । तर पनि हिजो राति मैले देखेको सपना तिमीलाई सुनाउन मन लाग्यो । सम्भवत युद्ध सुरु भएदेखि मलाई पहिलोचोटि त्यत्ति गहिरो निद्रा परेको हुनुपर्छ । सपनामा तिम्रो र मेरो भेट भएको थियो, ब्जेज्नोको समुद्र किनारमा । तिमी बाल्टिकको नीलो पानी हरेर खुशीले रोइरहेकी थियौ । त्यसपछि तिमीले भन्यौ, “यत्तिका वर्षपछि म यहाँ यो खुला आकाशमुनि, मेरो प्रिय बाल्टिक र सबैभन्दा प्रिय मान्छेसँग छु । सायद म जत्तिको भाग्यमानी मान्छे यो समयमा कोही हुन सक्दैन ।” त्यत्ति भनिसकेर तिमी मेरो अङ्गालोमा बेरिएको थियौ । विहान उठ्दा शान्त हावा चलेको थियो र दिन एकदमै उज्यालो थियो । यो सपनापछि मेरो शरीर एकदमै हलुका भएको छ । मलाई किन किन यो युद्ध सकिने संकेत हो जस्तो लागेको छ । सायद अब चाँडै म घर फर्किन्छु होला । तिम्रो सबैभन्दा प्रिय ठाउँ हाम्रै देशको नक्साभित्र अटाउँन योगदान गरेकोमा म आफैँलाई एकदमै खुशी महसुस भइरहेको छ । अब हाम्रो भेट चाँडै नै हुनेछ ।”
चिठी पढिसकेपछि उसले सोची, प्रिय तिम्रो सपना चाँडै नै यथार्थमा परिणत हुनेछ । र खुशीले रुन थाली ।
त्यसको केही हप्ता पछि १९४५ को मे महिनामा जर्मन सेनाको नेत्तृत्व गरिरहेको हिल्टरको मृत्यु भएको दाबी सोभियत संघले गरेपछि युरोपमा युद्ध समाप्तिको घोषणा भयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।