श्रीमती ‘श’भित्र निरन्तर थाक्दै मरिरहेकी थिई । राति एकभन्दा बढीपटक परिश्रम सहनुपरेको थियो । अहिले आँखा चिम्लेर अखबार पढ्न खोजिरहेकी थिई । अनि ऊ मरिरहेकी थिई, उसको यो अनुभव यही ठग्नु थियो । उसले थाहा पाइन्, सुत्नु असल हो कि ब्युँझनु ? निर्णय हुन नसकेकाले ऊ आलु काट्न थाली । तर आलु काट्दा गाह्रो के थियो भने, जहिले पनि औँलो काट्थी । त्यसपछि पतिसितको मायाको आश गर्न थाल्थी, पति विवश भएर माया गर्न थाल्थ्यो । पछि कति दिनसम्म उसले आलु खान छोडिदिएको थियो । अहिले उसले पनि छोडिदिई । पति थिएन । ‘श’ले कोठालाई हेरिन र बाहिर हेर्न थाली । हेरेर थाक्नु पनि उसलाई गाह्रो छैन, अब धेरै थाक्न असमर्थ छे । गाउन थाली । तर कुनै गीत उसलाई माथिल्लो पंक्तिभन्दा परतिर आउँदैन । यस्तो बखतलाई काट्न कतिपटक गीत घोक्ने सोचेकी थिई । तर घोक्नुसँग उसलाई स्कूलको बेलादेखि नै घृणा छ । बिहाको स्वीकृति दिँदा एउटा कारण यो पनि राखेकी थिई, अब केही नसम्झेरै काम चल्छ । तर देख्छे, काम केही गरी पनि चल्दैन । उसले विचार गरी, पंखा त जसरी पनि चल्न सक्छ । अलिकबेर हावालाई अनुभव गरिरही । अनि त्यसमा पनि केही रहेन । अखबारका सबै पढिसकेकी थिई, तर एउटा खबरले पनि उसमा उत्सुकता आएन । युद्धको खबरले पनि । अखबारहरुलाई गाली गर्न थाली र सोच्न थाली, यो ब्रह्माण्ड किन यस्तो ? उसलाई हाँसो उठ्यो र थाहा पाई यसको कारण ‘श’लाई भोक लाग्नु हो । ऊ केही खान थाली ।

उसले सम्झी, कु्नै दिन यसैगरी हाँसो हुँदाखेरी उसको पतिको अफिसर घरमा आएको थियो र ‘श’ले बडो झर्को मानेर उसको स्वागत गर्नुपरेको थियो । तर झर्को लाग्दा ऊ अलि बढ्तै प्रफुल्लित तुल्याउँछे आफूलाई । अफिसरले उन्नतिका लागि सहायता दिने वचन दियो र गयो । तर ‘श’ भोलिपल्टदेखि नै निराश भई र पतिलाई नोकरी छाड्ने सल्लाह दिन थाली । पतिले बडो मुस्किलले स्कूलहरुको पाठ सम्झी सम्झी त्यसैको भरमा ‘श’लाई सम्झायो, ‘यस्तो भावुक बन्नु हुँदैन, र मानिसले आसावादी हुनुपर्छ ।’ उसको पतिको अनुहार हरबखत धैर्य गरिरहेको अनुहार हुन्थ्यो । ‘श’लाई कुनै पनि धैर्य, आशा या अनुहारसँग पट्यार हुन्थ्यो । उसले आफ्नो प्रेमीलाई पनि यसैले छाडेकी थिई कि ऊ हरबखत भविष्यको कल्पना गथ्र्यो र ‘श’लाई कहिल्यै छोएको थिएन । ‘श’लाई शंका भएको थियो, उसको प्रेमी असमर्थ र असहाय छ । तर प्रेमीले प्रमाण दिएको थियो, यसभन्दा अगि सन्तानको कति सम्भावना उसबाट भइसकेको छ । ‘श’लाई आश्चर्य भएको थियो । उसले साेझै भनी, उसले प्रेमिका पनि तिनैलाई बनाउनुपर्छ जसलाई गर्भवती बनायो ।

ध्रुवचन्द्र गौतम

प्रेमी गएर फेरि कहिल्यै फर्केन । तर ‘श’का तीन चार छोराछोरी भएपछि फेरि आयो र त्यसपछि गएन, अर्थात् आइरह्यो । उसको साथ ‘श’लाई कुनै असुविधा भएन । ऊ अझै पनि इमान्दार हुने चेष्टा गथ्र्यो । ‘श’ उसलाई मूर्ख ठान्थी । पत्नीसित बोल्दैनथ्यो र ऊसित माया निर्माण गरिरहन सक्थ्यो । उसले कहिल्यै ओठहरुको उपयोग गरेन । यसमा त्यसै पनि डर लागिरहन्थ्यो, सायद कुनै रोग होस् । ‘श’ उसलाई खुशी पनि पार्ने उपाय सोचिरहन्थी र केही आशा गर्न खोन्थी । पति कहिलेकाहीँ उसलाई लिएर डुल्न जान्थ्यो । कहिलेकाहीँ दुवै मिलेर बजेट बनाउँथे । छोराछोरीको भविष्यमाथि चिन्ता पनि प्रकट गर्थे ।

अहिले पनि ‘श’ एकप्रकारले छोराछोरी आउने बेलाको लागि तयार भएर बसेकी थिई । ऊ अहिले आफैँमाथि आक्रमण गरिरहेकी थिई । यो पनि सोच्तै थिई, ऊ कहिलेसम्म यसरी गरिरहन्छे ? उसलाई केवल के गरुँ, के गरुँ लागिरह्यो । यो कसरी हुन सक्थ्यो कि आफ्नो उपस्थिति पनि भइरहोस्, र ‘श’ले चाहना गरेकी थिई यसैको ।

उसले दलिन र अन्त पनि आँखा घुमाई र अचानक (सायद अचानक होइन पनि) सोची, यो समय निद्राको लागि उपयुक्त छ कि आत्महत्याको लागि ? ऊ तैपनि तर्सिन । चाहनालाई चाहन्थी त्यस्तो केही होस् । सायद दिनको एकपटक ऊ यस्तै फैसला गर्न खोज्छे, तर उसबाट कुनै हुँदैन । ऊ मन मनमा मर्छे र आँखा लागिरहन्थ्यो । तैपनि आत्महत्या गर्नलाई एकपटक पतिसित सल्लाह लिन चाहन्थी, तर उसलाई पतिसित डर हुन्थ्यो, के भनेदेखि ऊ ‘श’माथि हाँस्न सक्छ, या हुन सक्छ उसलाई पत्नी मान्न पनि छाडिदेओस् । हुन सक्छ, कुनै डाक्टरकहाँ लगेर आत्महत्याको औषधि मागोस् । पतिले डाक्टरलाई चिनेको थियो र ‘श’लाई अलिकति केही भयो कि आषधि लेखाएर ल्याउँथ्यो । त्यसमा पनि आवश्यक र अनावश्यक औषधि छुट्याउँथ्यो र केवल जरुरी मात्र किन्ने गथ्र्यो । जस्तो टनिकसनिक उसले कहिल्यै किनेन । कहिलेकाहीँ आम्दानी भएको बखत जब ऊ फजुल खर्च गर्ने मुडमा आउँथ्यो । ऊ पत्नीलाई केही ल्याउने वचन दिन्थ्यो र त्यो रात रमाइलो बनाउने प्रयत्न गथ्र्यो । ‘श’ त्यसैले डराउँछे, र पुरानो प्रेमीसित उसलाई डर लाग्दैन । पतिले जुन किसिमले उसित ‘श’लाई देखेको छ, त्यसअनुसार सन्दिग्ध भइसक्नु पर्ने हो । तर ऊ जहिले पनि धैर्य गरिरहेको अनुहारमा हुन्छ, र त्यसको बारेमा कहिल्यै केही सोध्दैन । पति र प्रेमसित बस्दा ‘श’ एउटा अनौठो असजिलोमा हुन्छे । यदि ती दुवैमा (उसलाई लिएर) अलिकति निराशा भए खुशी पनि हुँदो हो । तर यहीँ निराश हुन्छे ।

‘श’ अहिले हेर्छ, घडी । यहाँ केही पनि बजेको छैन कि । उसको आत्महत्या गर्ने र निदाउने दोधार गएको छैन । ऊ केही पनि पाउँदिन, के गरोस् र कसरी गरोस् ? समय दोधारमा रमाइलै जान्छ । निदाउँदा होइन तर आत्महत्या गर्दा ऊ सबैले देखेको हुन चाहन्छे (मर्न नपरोस् भनेर ?) ‘श’ले जहिले पनि त्यस्तो समय रोजेकी छ, पति आउने या कोही अरु । मर्नेबेलामा ऊ केही गरी आफ्नो वीभत्सताको साक्षी राख्न चाहन्छे । एकपटक यो सोचेर ऊ दिनभरि आत्तिएकी थिई, यदि मर्ने समय कोही आएन र एक्लै हुनुपर्यो भने ? यो हाँसोको कुरा थियो होला, तर त्यस दिन सोचेकी थिई, अब यस्तो गर्दिनँ । कुनै कुनै बेला रोमान्स खोजेको बखत ऊ यही नै गर्न थाल्थी । तर यो या केही पनि त्यतिकै उच्चाट लाग्थ्यो जति आफूलाई ऐनामा हेर्दा । जे भए पनि हेर्दा आफूलाई निकै सान्त्वना दिइरहन्थी, अहिले ममा निकै बाँकी छ । के ? यो अनावश्यक छ । ऊ अब केही भन्नुपर्यो भने नथाहा पाएरै हुन्छे, कुनै पनि रोमान्स नखोजेर साधारण निराशाबाट पनि आजित छे र एक सफल गृहिणी भएर आशा खोज्छे ।

अहिले ऊ चुइङ्गम चपाइरहेकी र बेलुकाको खानेकुराको बारेमा सोचिरहेकी थिई । एकपटक फेरि ऊ झस्कन्छे, पति र प्रेमी कुरा गर्दै आइरहेका भए ! ऊ आत्तिन्छे । अथवा सन्तुलित रहन सक्छे । तिनीहरुले कुरा गर्नु उसका लागि एक प्रकारको अस्वाभाविक हुँदो हो । त्यसैले उसले कहिल्यै एकआपसमा परिचय गराइन । उसले फेरि तुरुन्तै चुइङ्गमले दाँत दुखेको अनुभव गरी र त्यस्तो केही हुँदा पनि भएन । ‘श’ले देखी, टाढाबाट उसको पति मात्र आइरहेको थियो । रोजै हिजोभन्दा निराश हुन्छ । त्यसैले आफ्नो अनुहारमा दिनदिनै बढी धैर्य टाँसेर आउँछ । अहिले पनि ऊ हिजोभन्दा बढी धैर्य गरिरहेको देखिन्थ्यो । ‘श’ केही यस्तो सोच्न थाली । (उसलाई सुनाउन) जो हिजोसम्म नभएको होस् । जसले गर्दा ऊ उत्तेजित होस्, निराश होस्, तर यसरी डरलाग्दो गरी धैर्य र आशा गर्न छाडोस् (कैयौँ वर्षदेखि उसको पट्यार) । ‘यही त हुन्छ ….यसबाहेक के …. तिम्रो धैर्य र आशा गर्नु नगर्नुले केही हुँदैन, तिमी मानिस हुँदैनौँ …. ।’

यस्तो केही पाइन्न । ऊ चाहन्थी, उसको पति कृत्रिम होइन, एक इमान्दार र आशावादी पति र गृहस्थ बनोस् …. । तर पतिको कुनै पनि कुरो सत्य थिएन । ऊ महिनाको थालनीमा आदेश, उत्साह र आशाले भरिन्थ्यो र अन्त्यमा निराशमा रित्तिन्थ्यो । जे पनि उसलाई अनावश्यक लाग्थ्यो, आफ्नो भाग्यलाई सराप्न थाल्थ्यो र सबभन्दा पछि करुणरसको कविता लेख्न चाहन्थ्यो ।

‘श’ साँच्चिकै उसलाई खुशी तुल्याउने कामनाले केही खोजिरहेकी थिई । त्यस्तो केही भएन । अचनक उसले सम्झी र पतिलाई आफू गर्भवती भएको सूचना दिई अनि पतिको सन्दिग्ध आँखा हेर्दै रहस्यले (भविष्यका लागि स्विटर बुन्दै) भनी, ‘मलाई थाहा छैन अब (यसपटक) के हुन्छ …. ?’