“हजुर दुई महिनाको भाका पाउँ ! भदौ महिनामा मकै भाँचेपछि सबै चुक्ति पारेर बुझाउँला ।”
“भाका ! भाकासाका जान्दिनँ । बुझाउने भए खुरुक्क बुझा । होइन भने….।”
“हजुर अहिलेलाई त एककौडी पनि छैन । कहाँ पाएर चुकाउनु । घरमा मूसो रुन्छ । केटाकेटीहरू हिजोदेखि भोकै छन् । निगाहा होस् ।”
“मैले गर्नु पर्ने जति मिनाहा गरिसकेँ । तेरो निम्ति चार घन्टा म्याद दिनु पनि मैले कम दया, बारम्बार दया गर्न म दयाको कमारो होइन । अब ज्यादा कुरा गरेर टारौंला भन्ने नठान् । मलाई रिस उठेपछि नराम्रो उठ्छ ।”
“अहिलेलाई त मरे पनि तिर्न सक्तिनँ । हामी गरिबले भन्नासाथ कहाँबाट ल्याएर दिनु !”
“त्यसो भए राजीनामा गरेर देन त घरबारी । तीन सय पचास त्यो, तीन सय अरु दिउँला ।”
तीन सय पचासको बोली सुनेर मानबहादुृर जिल्ल पर्यो । ‘मैले त पचास मात्र लिएको थिएँ । तीन सय पचास त कहिल्यै लिएको थिइनँ’–ऊ मनमनै गम्न थाल्यो– ‘ब्याज पनि सालसालै बुझाएकै थिएँ । यसपालि असिना परेर नहो, बुझाउन नसकेको । एक सालको ब्याज बाँकी हुँदैमा तीन सय पचास कसरी भयो होला !’
“हजूर मैले तीन सय पचास कहिले लिएँ र ? पचास मात्र त हो नि ।” उसले सोध्यो ।
“कहिले ? लगेर खाने बेलामा खाइसक्यो तिर्ने बेलामा कहिले ?” मुखिया साहेब गर्जे ।
[bs-quote quote=”साँझको आगमनको साथसाथै दुई लोग्नेस्वास्ने,आफ्ना महादेवका जन्तीजस्ता लालाबाला पछि लगाएर, आफ्ना पुस्ता दरपुस्तादेखि बसेर आएको कुलघरलाई अन्तिम नमस्कार गरेर दुई आँशु चुहाउँदै बिदा भए ।” style=”style-2″ align=”right” color=”#8224e3″ author_name=” रमेश विकल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/ramesh-bikal.jpg”][/bs-quote]
मानेको शिरमा बज्र पर्यो । उसले लिँदै नलिएको रूपैयाँ कसरी तिर्ने ?
“हजूर म त पचासभन्दा बढी त एक पैसा पनि तिर्न सक्तिनँ । मैले त्योभन्दा बढी एक पैसा पनि लिएको छैन ।”– उसले नम्र तर दृढ स्वरमा भन्यो । मुखियासाहेबको निमित्त मानेको यो धृष्टता असह्य थियो । उनको तालुदेखि पैतालासम्म सुइरोले रोप्यो । उनले थरथर काँप्दै भने– “तँ सोझो मुखले मान्ने होइनस् । ए, काले ! त्यो माथिको कोर्रा लिएर आ ।”
मुखियाको बोली मानेको निमित्त, मानाने कालको आह्वान थियो । एक क्षणपछि यमराजको सालो होलाजस्तो काले हातमा कोर्रा लिएर आइपुग्यो । त्यसलाई देख्दैमा मानेको हंसले ठाउँ छाड्यो ।
“ह…जू…र..” उसले गिडगिडाएर भन्यो ।
“चूपचाप् ! बेइमान, पाजी ! ए काले ! ठोक् यस पाजीलाई !”– मुखिया साहेबले हुकुम दिए । उसको मुखबाट वचन भईमा गिर्न नपाउँदै क्रूर–ह्रृदय काले निरपरध मानेमाथि कोर्रा वर्षाउन थाल्यो । त्यो बिचरो गरिबमाथि ‘पूँजlपतिका जुत्ताको तलुवा’ कालेको दिलमा रत्ति पनि दया उठेन ! आखिर ऊ पनि त गरिब नै थियो ।
मानबहादुर असह्य यन्त्रणाले कराउन थाल्यो, त्यति गर्नु पनि उसको अधिकार थिएन । आखिर केहीबेर छटपटाएर मूर्छा पर्यो ।
भोलिपल्ट ।
मानबहादुरको आँखा खुल्दा सूर्यदेव आकाशमा निकै माथि चढिसकेको थिए । उसले चारैतिर हेर्यो अचम्म मानेर । उसको गोमुनि बाटुली निनाउरो मुख लाएर बसिरहेकी थिई । छोराछोरी पनि टुलुटुलु उसको मुख हेरिरहेका थिए ।
उसले बाटुलीसँग पानी मागेर खायो । कोल्टे फर्कन खोज्दा सारा जिउ दुखिरहेको । यसले त्यसको कारण पत्ता लाउन खोज्यो । तर उसको स्मरण–शक्तिले काम दिएन !
“अहिले कस्तो छ ?”–बाटुलीले सोधी– “हिजो रातिदेखि बल्ल आँखा खोलेके ! कस्तो, छिः म त डर पनि लाग्यो ।”
बाटुलीको प्रश्नले मानबहादुरको स्मरणशक्तिलाई सहारा दियो । अनि उसको आँखाको अगाडि हिजोको दृश्य प्रष्टसँग खिचियो ।
“जिउ सर्वाङ्ग दुःखिरहेछ”– उसले भन्यो “मलाई यहाँसम्म कसले ल्याइदियो ?”
“मुखिया साहूका नोकरहरूले । उनीहरू भन्दथे कि तपाईँलाई साहूको घरबाट निस्केर आउनलाग्दा को को बदमासहरूले पिटे रे ।” बाटुलीले भनी ।
मानबहादुर मनमनै हाँस्यो । नजाने किन हो…। तर उसले बाटुलीलाई केही पनि बताएन । ऊ अन्धकारैमा रही ।
एक महिनापछि
मानबहादुर राम्रै तयार भइसकेको थियो । एकदिन कामबाट फुर्सद लिएर एक क्षण आराम लिनलाई आँगनमा बसिरहेको थियो । बाटुली पनि त्यहीँ थिई, केटाकेटीहरू कुनै त्यहीँ थिए, केही खेल्न गएका थिए ।
“ए, माने यता !” पर बारीको डिलबाट साहू–मुखियाले हाँक दिए । मानबाहादुरको मुटुले ढ्याङ्ग्रो ठोक्यो । उसका पाइला मजबुरन उतै बढे ।
“आज र भोलिमा तैंले यो घर छाडिदिनु पर्यो । अर्कौ मानिस बस्न आउने भयो ।” मुखियाले साधारण हुकुमी ढङ्गले भने । ममानबहादुर अलमल्ल पर्यो । उसले कुरै केही बुझ्न सकेन ।
“के भन्नु भएको ? भएको घर छाडेर कहाँ बस्न जाने नि ?”– उसले सोध्यो ।
“जहाँ मनलाग्छ जा । यो घरमा बस्ने तेरो केही हक छैन ।”– मुखियाले भने उसको चेहरामा क्रूरता चिह्न स्पष्ट झल्किरहेको थियो ।
“मेरो घरमा मैले बस्न किन नपाउने ?”– मानबहादुृरले भन्यो । उसलाई आश्चर्यको साथै केही जोश पनि आयो ।
“तेरो रु… त्यो त मेरो, यसमा तेरो बाबुको पनि हक लाग्दैन”– मुखिया गर्जे– “तेरै हातले राजीनामा गरेर दिएको छस् । यो हेर कागज ।” यति भनेर कागज झिकेर देखाए ।
मानबहादुरले दिउँसै तारा देख्न थाल्यो ।
“हे राम ! के हो यो सपनी हो कि विपना… सपना त होइन… त, के, दुनियाँमा यस्तो पनि हुनसक्छ ? यस कागजमा पनि खास मेरै बूढी औंठाको छाप छ ।”, ऊ सोच्दा सोच्दै थचक्क बस्यो । त्यत्तिकैमा गाउँका दुई चार जना बूढापाकाहरू पनि आइपुगे । उनीहरूको दिलले पनि सत्य कुराको निर्णय गर्यो । सबै रहस्य बुझे; तर तर को बोल्ने ? कसले पूँजीपतिको विपक्षमा, गरिबको पक्ष लागेर आफूलाई पूँजीपतिको शत्रु बनाउने ?
‘राजाको अगाडि बाबाको दुहाई’ सबैले दिलमा एक धारणा भए पनि मुखले मानबहादुरसँँग भने– “हेर बाबै ! तैंले राजीनामा गरेर दिएको रहेछस्, बिर्सेको होलास् । जे भए पनि मुखियासाहेबले तँलाई बेइमानी गरेको होइन त ।”
मानबहादुर के गरोस्, उसमा बिद्रोह गर्ने शक्ति थिएन । उसमा सत्य पक्षको निम्ति मेल गर्न सक्ने सुबुद्धि र साहस थिएन । । चुपचाप ऊ घर गएर बाटुलीसँग सबै कुराको रहस्य बुझाएर भन्यो–“ हेर, आजदेखि हामीले यो घर पनि छाडिदिनु पर्यो । आफ्ना जे भएका झिटीझाम्टा पोको पार्यो ।”
बाटुलीले अक्क न बक्क भएर उसको मुख हेर्न थाली । उसलाई यो कुरा कहाँ कहाँबाट बोलेको झैं लाग्यो ।
“के हेरेको ? आफ्नो जे भएको पोको पार !” मानबहादुरले भन्यो । बाटुली झस्की । अनि ऊभित्र गई र केहीबेरमा तयार भएर निस्की ।
साँझको आगमनको साथसाथै दुई लोग्नेस्वास्नी, आफ्ना महादेवका जन्तीजस्ता लालाबाला पछि लगाएर, आफ्ना पुस्ता दरपुस्तादेखि बसेर आएको कुलघरलाई अन्तिम नमस्कार गरेर दुई आँशु चुहाउँदै बिदा भए । सायद उनीहरूलाई यो दुःखको समयमा पनि साथ दिने फगत एउटा भाग नै रह्यो !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।