धुम्म परेको दिन, घामलाई बादलले छेकेको छ । मनमा पनि दिक्दारीका बादलहरूले डेरा जमाएर बसेका छन् । बुझ्न सक्दिनँ मन किन खुलेको छैन ?

दरबार मार्ग कोजी क्याफेको भित्रीपट्टिको टेबलमा छु म । भर्खरै वेटर आएर कफी कप मेरो अघि राखेर गएको छ । खालि टेबलमा कफी आएसँगै मेरो खालि मनमा पनि विचारहरूका झुन्डहरू ओहोरदोहोर गर्दैछन् ।

हातमा हारुकी मुराकामीको “नर्वेजियन वुड” थपक्क बसेको छ, अझ भनुम् बसाएको छु। यो किताबको गाता खस्रो भए पनि सधैँ मीठो लाग्छ यसलाई स्पर्श गर्नुमा । खुसीले मेरो बर्थडेमा दिएकी गिफ्ट जो थियो, मीठो नलाग्ने कुरो पनि त आएन ।

किताब समाइरहँदा लाग्छ, म उसको स्पर्शमा डुब्दैछु ।

***

“आज त अन्तिम भेट पो हो है ।” बल्ल मस्तिष्कले यथार्थको जालो पन्छाउँछ । हातले किताबलाई टेबलमा बसाउँछ । मुटु ढक्क फुलेसँगै खुसीको आगमन हुन्छ । उसले नदेखेकै अवस्थामा म  घडी हेर्छु,  बोलाएको टाइमभन्दा ठ्याक्कै ४० मिनेट ढिलो आइकी छे ऊ ।

ढिलो आउनुमा मलाई गुनासो छैन । “धन्न  आई ।” मनले यस्तै सोच्छ र उसको स्वागतमा ओठहरू जबर्जस्ती खुल्छन् यसैबीच ऊ चुपचाप मेरो अगाडिको कुर्सीमा थपक्क बस्छे । उसलाई एकोहोरो म यसरी हेरिरहन्छु कि कुनै दुर्लभ प्राणीलाई जिन्दगीमा पहिलोपटक देखेको छु ।

बोल्ने आँट आएको छैन, कहाँबाट सुरु गरौँ ? दिमाग अल्छी बन्दैछ आज । ऊ पनि चुपचाप, लाग्छ मौन व्रतमा छे ।

पिङ्क लिप्स्टिकले पोतिएका उसका ओठहरू हेर्दा पनि आँखाहरू चुलबुल बन्न सकेका छैनन्, न त पहिले जस्तो मनमा बबन्डर नै चलेको छ उसको सुन्दरता देखेर।

[bs-quote quote=”विस्तारै मेरो हात उसको टाउको, गाला, घाँटी हुँदै छातीतिर सलबलाउन पुग्दछ । उसले पनि मेरो टिसर्टको गला समाएर आफूतिर तानेर अर्को गहिरो चुम्बन गर्छे ।” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”मधुसुदन घिमिरे” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/madhusudhan–scaled.jpg”][/bs-quote]

उसको मुहार आज त्यति खुल्न पनि सकेको छैन, धुम्म परेको आकाशजस्तै देखिदैछे।

उसलाई हेरिरहन पनि सक्दिनँ म, मौन अवस्थामै रहेर कफी सुर्क्याउँछु । चिसो भैसकेको कफी पेटमा सुलुलु पुग्छ, पेटसँगै मन पनि चिसो भैदिन्छ।

उसले पनि कफी कप हातबाट ओठसम्म बडो होसियारीपूर्वक पुर्याउँछे । कप समाउँदा थर्थराएका उसका हात देखेर मेरा आँखा फर्फराउँछन् ।

***

मनमा अस्ति ऊसँग भएको अन्तिम च्याटको सम्झना हुन्छ ।

“सन्जोग, अब हामी सँगै हुन सक्दैनौँ ।”

“किन ?” मैले आफ्नो ढुक्ढुकी महसुस गर्दै भनेको थिएँ ।

“कुनै कारण छैन ।” उसको उत्तर थियो ।

“विनाकारण किन मबाट टाढिन खोज्दैछौ खुसी ?” मैले मन थाम्न सकिनँ ।

“हरेक कुराको कारण हुन सक्दैन ।” उसको ठाडो जवाफले म घाइते चरा जसरी रन्थनिन थालेँ, तर उसले मबाट टाढा हुनुको कुनै ठोस कारण दिन चाहिन ।

त्यसपछि उसको फोन अफ भयो, मैले अनेक सुत्रहरू प्रयोग गरेँ तर ऊ मसँग कन्ट्याकमा आउन चाहिन ।

दुई वर्षको सम्बन्ध दुई मिनेटमै टुट्छ भनेर कल्पनासम्म गरेको थिइनँ, तर जिन्दगी सोचे अनुसार हुँदैन भन्ने तथ्यलाई स्वीकार गर्न बाध्य भएँ ।

प्रेम हार जितको खेल होइन भन्ने त थाहा थियो तैपनि कता-कता आफू मायामा हारेको जस्तै महसुस भयो । दिनमा भोक थिएन रातको निद्रा हरायो । खुसीले दिएको यो दुःखको चोटलाई मनमै राखेर अघि बढ्नुको अर्को विकल्प थिएन तर पनि मस्तिष्कले एउटै प्रश्न गरिरहन्थ्यो, “आखिर खुसीले किन मलाई छोडी ?”

र मैले आफैँलाई दोषी ठानेँ ।

केही महिना अगाडिको भेटमा हामी गार्डेन्स अफ ड्रिममा गएका थियौँ । पहिलोपल्ट नै होला ऊसँग म एकदम निकटमा थिएँ । चौरको एउटा कुनामा हामी थियौँ, सब जना आफ्नै तालमा थिए। मैले उसलाई आफूतिर तानेर किस गर्न खोजे उसले कुनै प्रतिवाद गरिन र म झनै इमोसनमा आइपुगेर उसको शरीरतिर मेरा हातहरू दौडन पुगे । उसले मलाई रोक्न खोज्दै थिई तर मेरो हात तीव्र गतिमा उसको छातीसम्म पुग्यो ।

“स्टप इट !।” उसको चर्को स्वर सुनेर म तर्सिएँ । ऊ बसेको स्थानबाट उठेर फटाफट हिँड्न थाली, मेरो मुटु डरले धड्किन थाल्यो । उसको पछि पछि म झन्डै कुदेको अवस्थामा पुगेर दाइने हात समाएर उसलाई रोके ।

“आयम् सो सरी खुसी ।” मुखबाट मेरो यति शब्द निस्कियो। अनि हामी आ-आफ्नो घरतिर लाग्यौँ ।

त्यस घटनापछि ऊ मसित केही दिन राम्ररी बोलीकी थिइन, पछि अवस्था आफैँ सामान्य बनेको थियो ।

मैले सोच्न थालेँ, “के त्यही घटना लिएर उसले मसित यस्तो निर्णय लिएकी हो त ?”

तर मनले मान्न सकेन यो कुरालाई ।

रातको बाह्र बजे उसलाई एउटा मेसेज पठाए “खुसी ! लाग्छ तिमीलाई मैले जति प्रेम गर्न पर्ने हो त्यति गर्न सकिनँ । मविना तिमी जिन्दगीभर खुसी भएर बाँच्न सक्छौँ भनी टाढिनुमा मेरो कुनै गुनासो छैन। जाँदाजाँदै मेरो एउटा अनुरोधलाई प्लीज इन्कार नगर्नू, म तिमीसँग अन्तिमपल्ट भेट्न चाहान्छु । जसरी पनि आइदेउ खुसी मेरो लागि भए पनि । म पर्खिरहनेछु दरबार मार्गको उही क्याफेमा जहाँ हामीले कयौँ समय बिताएका थियौँ ।”

***

र वर्तमानमा हामीबीचको शून्यतालाई चिर्दै उसले भनी,  “किन बोलायौ ?”

“किन बोलाएँ थाहा छैन खुसी, तर एउटा सत्य मेरो लागि चाहिँ ध्रुवसत्य हो, म तिमीलाई माया गर्छु ।”

मेरो जवाफ सुनेर उसको अनुहारमा कुनै बदलाव आएन ।

“सन्जोग, यो माया भन्नु नै के हो र ? एउटा भ्रम नै त हो । भ्रममा टेकेर जिन्दगी चल्न सक्दैन ।”

“माया भ्रम हो भने तिमीले भनेको जिन्दगी पनि त भ्रम हो नि ।” मैले भनेँ ।

“यस, लाइफ इज अल्सो एन् इलुजन । तर माया भ्रमभित्रको पनि भ्रम हो, भ्रमको पराकाष्ठमा टेकेर उभिन गाह्रो हुन्छ ।”

उसले भनेको कुरा बुझ्न सकिनँ मैले, “खुसी म जीवन दर्शन जान्दिनँ र जान्नु पनि छैन । भ्रम नै सही, मलाई त संसारको सुन्दर चिज नै प्रेम लाग्छ ।”

“तिमीलाई सुन्दर लाग्ला बट आइम् फेड अप अफ इट ।”

लाग्यो उसको मुखबाट बोली होइन गोली निस्किदैछ । एकपटक नजरमा नजर जुधाएर भनेँ, “खुसी ! यु नेभर लभ मी ?”

“माया गर्थेँ ।” उसले नजर झुकाएर सुस्तरी भनी।

मैले रुन्चे स्वरमा सोधेँ, “अनि यो सब किन त ?”

“तिमीलाई माया गरेर चोट दिन चाहन्नँ म, बरू बेलैमा सम्बन्धलाई सेफ ल्यान्डिङ गराएको राम्रो ।”

“तिमी माया गर्छौ म माया गर्छु फेरि दुर्घटना कसरी ?” मैले आसाको रबरलाई थोरै तन्काएँ तर चुँडियो ।

“दुर्घटना कसरी हुन्छ थाहा हुँदैन, त्यसैले त जिन्दगी फगत भ्रम हो ।”

उसले आफ्नो दर्शनलाई छोडिन् । मेरो पारो तात्यो, रिसले शरीर काप्यो ।

“त्यसो भए सत्य के त ?”

“मृत्यु ।”

“खुसी ! आर् यु म्याड ?”

“आइ हेट यु सन्जोग।” मुखमा लग्दै गरेको कफी कपलाई उसले टेबलमा जोडले राखी ।

***

हामी क्याफेबाट बाहिरिँदा मुसलधारे पानि पर्दै थियो । ऊसँग म केही बोल्न खोज्दै थिएँ, तर ऊ मलाई वास्ता नै नगरी सडक पेटीमा हिँड्दै थिई।

मैले टाढैबाट हेरी मात्र रहे, ऊ बेला बेला आफ्नो हात अनुहारतिर पुर्याउथी । सायद आँसु पुछ्दै थिई ।

पार्किङमा रहेको बाइक निकालेर म पनि सडक पेटीमा निस्किएँ ।

“सन्जोग !” पछाडिबाट कसैले मलाई बोलाउदै थियो । म पछाडि फर्किन चाहिनँ, थाहा थियो बोलाउने खुसी नै हो भनेर ।

बाइकको क्लज दबाएँ ।

“सन्जोग ! एकछिन ।” खुसी मेरै साइडमा थिई । मैले नजर बायाँतिर घुमाएँ । याचनाको भावमा उसको आँखाले मलाई नै हेर्दै थिए । त्यहाँ मैले आँसुको तलाउ भेटेँ ।

“तिमी कहाँ जाने ?” उसले सोधी ।

“खै, जिन्दगीले कहाँ लग्छ ।”

“आज म तिमीसँग जान्छु ।”

उसको अनेपेक्षित भाव देखेर म छक्क परेँ । अघिको खुसी र अहिलेको खुसीमा ठूलो भिन्नता थियो। उसले आँखाको आँसु आफ्नै हातले पुछी र मेरो बाइक पछाडि बसी । जसरी पहिलोपल्ट ऊ मेरो बाइकमा चढेकी थिई त्यसरी नै आज पनि सङ्कोच मानेर बस्दै थिई ।

“खुसी, आर् यु ओक्के ?” अगाडि बड्दै गर्दा मैले सोधेँ ।

“थाहा छैन ।” उसले संक्षिप्त उत्तर दिई।

म मौन नै रहे तर मनमा चलेको हुरी भने अझै थामिएको थिएन । तर पनि म आनन्दित नै थिएँ, जो खुसी मसँग थिई।

हामी गट्ठाघर आइपुग्दा झरी पनि थामियो, अगाडिबाट आइरहेको चिसो हावाको वेगले खुसीलाई सताउँदै थियो । अब भने ऊ मेरो ढाडमै टास्सिएर नजिक भई ।

बाटैभरी हामी दुई मौन भयौँ जसरी बाटाछेउका रूखहरू मौन थिए । करिब दुई घन्टा जतिको उकाली र घुम्तीहरूको एपिसोड पार गरेपछि हामी नगरकोट आइपुग्यौँ । घडीले साँझको छ बजाएको थियो।

***

होटेल रुमको बालकोनीमा छु, खुसी मेरै छेउमा वाइनको ग्लास बोकेर आकाशतिर हेर्दै छे । मेरो हातमा बियरको ग्लास छ, म उसलाई हेरिरहेको छु ।

“हाउ बिउटिफूल नाइट ।”, ऊ आकाशमा चम्किरहेका ताराहरू र जुनलाई सङ्केत गर्छे । म हेरेजस्तो गरिदिन्छु ।

“तिम्रो अगाडि सब फिक्का लाग्छ।”

“भयो फुर्काउन पर्दैन ।”

आफ्नो मायालाई स्थान दिने मेरो प्रयासलाई उसले कुनै प्रवाह गर्दिन ।

“खुसी ! मबाट केही गल्ती भयो र ?” म उसलाई सोध्छु।

“गल्ती तिम्रो होइन सन्जोग ।” ऊ केही गम्भीर हुँदै भन्छे, “प्लीज आज यस्तो कुरा केही नगर, तिमीसँग पहिलो र अन्तिम रात बिताउँदैछु ।”

उसको कुरा सुनेर मेरो मुटु अचानोमा राखेर खुकुरीले रेटिएको झै महसुस गर्छ। त्यसपछि उसलाई कुनै प्रश्न गर्न मन लाग्दैन । एकोहोरो भएर टोलाइरहन्छु ।

हातमा भएको ग्लासलाई दुवैले छेउको टेबलमा राख्छौँ ।

“सन्जोग !” मधुर आवाजमा उसले बोलाउँछे ।

“खुसी !” म भावविभोर हुन्छु र उसको नजिक, निक्कै नजिक पुग्छु जहाँ हावाले पनि छिर्ने स्थान पाउँदैन।

बियरले शरीरमा आफ्नो वर्चश्व कायम गर्दै जान्छ । म शरीर केही झमझमाएको महसुस गर्छु । आफ्नो देब्रे हातले उसका केसराशि चलाउन थाल्छु । ऊ पनि आफ्नो दुवै हातले मलाई जोडले अङ्कमाल गर्न पुग्दछे ।

कसैले छुटाएर अलग गराउँछ कि भने जसरी हामीले एकअर्कालाई अङ्गालोमा च्यापिरहन्छौँ । मेरो ओठले उसको ओठको स्पर्श गर्छ र गरिरहन्छ। हामी चुम्बनको लामो गहिराइमा डुब्छौं ।

विस्तारै मेरो हात उसको टाउको, गाला, घाँटी हुँदै छातीतिर सलबलाउन पुग्दछ । उसले पनि मेरो टिसर्टको गला समाएर आफूतिर तानेर अर्को गहिरो चुम्बन गर्छे । एकअर्कालाई अङ्कमाल गरेकै अवस्थामा हामी हल्लिदैं रुमभित्र पुग्छौं ।

खुसीले मेरै जीउमा आफूलाई समर्पित गरिसकेकी हुन्छे । म उसको शरीरलाई बेडमा पल्टाएर बाहिरी आउटर, टिसर्ट र प्यान्ट खोल्दै जान्छु । उसरी नै उसका हातहरू मेरो बाहिरी वस्त्र खोल्न हतारिन्छन् । त्यसपछि मायाको सागरमा हामी डुबिरहन्छौँ । चकमन्न रातमा हाम्रा सुस्केराहरूलाई साथ दिँदै होटेल रुमको बेड एक तमासले खटखटाउन थाल्दछ, आवाज भन्नु यत्ति मात्र ।

स्वर्गीय आनन्दमा हराउँदै विस्तारै हामी मैन बनेर पग्लँदै जान्छौँ र शिथिल हुन्छौं ।

***

भोलिपल्ट विहान म बिउँझिँदा सँगै सुतेकी खुसी हुदिनँ, केवल उसको शरीरको मीठो बास्ना रुमभरि व्याप्त हुन्छ । उठेर म टेबलमा छोडिएको कागजको टुक्रालाई हेर्छु जहाँ उसकै अक्षरहरू पाउँछु।

“ह्याप्पी मर्निङ सन्जोग । अचम्म लाग्यो होला यो केटी कहाँ गायब भई भनेर। तिमीलाई योभन्दा बढी कन्फ्युजनमा राख्न चाहन्न ।

यो दुई वर्ष मेरो जीवनको सबैभन्दा विशेष क्षण बन्न पुगेको छ। तिमीलाई थाहा नै छ, मैले पनि माया गर्थेँ । हुन त अझै पनि गरेकी नै छु तर तिमीले मलाई गर्ने मायाभन्दा कम अवश्य नै छ। म भाग्यमानी महसुस गर्छु सन्जोग, जति दिन म तिम्रो बनेर जीवन जिएँ त्यतिन्ज्यल म आफूले आफैँलाई बिर्सिएँ । सायद मायामा यस्तै हुन्छ कि ?

मैले जीवनभर तिमीलाई साथ दिने अठोटका साथ मायाको बगैँचामा रङ्गीचङ्गी फूलहरू फुलाएँ । र विश्वास रोपेर तिम्रो मन जित्ने कोसिस गरिरहेँ अनि सफल पनि भएँ । तर भाग्यको खेल भनम् कि समयको झेल ? आज तिमीबाट नचाहादा नचहादै टाढिनु पर्ने अवस्था आएको छ।

माया कम भएर होइन सन्जोग, धेरै माया भएर टाढिदैछु तिम्रो जीवनबाट ।

एकाएक म तिम्रो नजरमा फरक बन्न चाहन्थेँ, म बद्लिने कोसिसमा थिएँ र तिमीबाट टाढिने प्रयास गरेको पनि हो, तर तिमीले अन्तिमपल्ट भेटौं भन्यौ, मैले माया भएरै सहजै तिम्रो अनुरोध स्वीकार गरेँ । तिम्रो अगाडि मैले माया गर्न चाहान्न भन्ने देखाउनु थियो, तर तिम्रो व्यवहारले कोमल बनायो मलाई । जिन्दगीको यो मोडमा कथाले ढुङ्गा बन्न भनेको थियो मलाई तर सकिनँ सन्जोग । तिम्रो मायाले पगालिदियो।

तिमीबाट छुटकारा पाउन खोज्नुको एउटै कारण भनेको, तिमीमा मेरो यादको र मेरो मायाको एउटै अंश पनि जीवित नरहोस् भन्नु नै थियो। शरीरमा कुनै खोट थिएन मसँग, खै कुन् आश्चर्य हो ? एकाएक जीवाणु भेटियो त्यो पनि ब्लड क्यान्सरको ।

मर्नु त एकदिन छँदै छ, तर समेट्नु पर्ने खुसीहरू हजारौं छन् । हजारौं छन हाम्रा सपनाहरू । सँगै जिएर जीवनलाई जीवनजस्तै बनाउने अविलासा पनि आज तुहिएको छ ।

बिताउन चाहेको तिमीसँग सिङ्गो जीवन तर केवल एक वर्षको आयु साँचेर हजार खुसी कसरी दिउँ सन्जोग तिमीलाई ? कसरी गरौँ माया यो छोटो अवधिमा र के भनेर बुझाउँ तिमीलाई र आफ्नै मनलाई ?

त्यसैले सन्जोग, आज तिमीबाट टाढा भएर मेरो छोटो जीवनमा पूर्णविराम लगाउन यो दुनियाँभन्दा पर जाँदैछु । न खोज्नु मलाई, भेट्ने छैनौ तिमीले कतै पनि । बरु मैले भनेको मान्छौ भने आजैबाट बिर्सिने प्रयास गर्नु । हो, गाह्रो छ तर पनि हामी समयको दास हौँ । समयले जता जता पुर्याउँछ त्यतै जानु पर्ने रहेछ।

गुड बाई माई लभ ।”

***

आँखाको डिलबाट आँसु झरेको पत्तै पाइनँ । अगाडिको दृश्य धूमिल बन्दै गएको छ । मनको हुरी त शान्त भएको छ आज तर ऊसँगको अतितले अङ्कमाल गरिरहेको छ र गरिरहनेछ।

लुला हुँदै गएका गोडाहरूलाई बेड भएतिर पुर्याउँछु, सिरानीमा उसको कपालका अवशेष बसेको रहेछ। रातो कलर गरिएको कपाललाई हातमा लिन्छु र झ्यालतिर गएर त्यसलाई गहिरिएर हेर्छु । खुब माया लाग्छ एक रेसा कपालको पनि । चोरी औँलाको टुप्पोमा कपाललाई राखेर विस्तारै फू गर्छु । कपाल उडेर झ्यालबाहिर पुग्दछ ।

“खुसी ! साँच्चै रहेछ, तिमीले भने झैँ मृत्यु नै सर्वसत्य ।”