रुट चक्र अर्थात् मूलाधार चक्र जगाउने अगरबत्ती बालेर यो लेख्दैछु. ठमेलमा किनेको. नागचम्पाको बास्ना. रुट चक्रको मन्त्र ‘हो लं लं’को ध्वनिले पनि त्यसलाई जगाउँछ. गीत बज्दैछ, ओशोको पुने आश्रममा जन्म भएको, ‘लभ इज द फायर’. ओशोको गर्लफ्रेन्ड ‘माँ विवेक’ हो. बोइफ्रेन्ड मिलारेपाले गाएको. अचम्म मान्नु पर्दैन. ओशो आश्रममा चल्थ्यो यो सब. बूढाले स्वर्गको सिर्जना गरेका थिए पुनामा. केही समयकै लागि सही. म जागेको छु अहिले. जिन्दगी मुर्छा विरुद्धको सतत् युद्ध हो. गुर्जियफको ठाडो भाषामा भन्दा. भक्तिको मीठो भाषामा भन्ने हो भने चाहिँ, सतत् प्रभु नाम सुमिरन. ज्ञान योगमा यही कुरा ‘म भावको’ साधना हुन्छ. एकै सेकेन्डको बेहोसी, मान्छे चुक्यो. गीतामा कृष्णले त्यसैले भनेर गए, योगी कहिले निदाउँदैन. निद्रामा पनि ऊ होसमै हुन्छ. भर्खर एउटा स्पाइनमा काउकुती लगाउने, कुण्डलिनी मातालाई जगाउने यात्रा हानेर आएँ. त्यसैको मिठास छ यसमा. यसमा अर्थात् आजको कथामा .

मलाई अध्यात्म होटल रुमहरुले पनि सिकाएको हो केहीहदसम्म. चाहे जति राम्रो होस् रुम, कुनै एउटा समयमा चेकआउट गर्नैपर्छ. कहिले मेरो त कहिले हाम्रो भनेको कोठा फेरि कुनै दिन कोही अरुले मेरो वा हाम्रो भन्छ. पोखरा हिँड्नुअघि दुई जना प्यारा भाइ भेट्न आएका थिए. दाजु भाइ. भाइको जन्मदिन, उल्टै मेरो लागि उपहार लिएर आएको थियो. किताब. म किताब लिन र दिन मन पराउने मान्छे हुँ उपहारमा. किताब वा अत्तर. केटाहरुले ल्याएका किताबको नाम थियो सय वर्ष बूढो मान्छे, जो झ्यालबाट फाल हान्यो र बेपत्ता भयो. केटाहरु भन्दै थिए, लुसिफरमा पूर्ण विरामको सट्टा फूल स्टपको प्रयोगले गर्दा पढ्नमा उनीहरुलाई ध्यानको अभ्यास भएको छ. होस् गुम्यो कि फ्लो ब्रेक भयो. सही हो. मैले चाहेकै त्यही हो. गुर्जियफ स्टाइल. हीरा खोज्न धुलोमा थोरै लडिबुडी गर्नैपर्छ.

अनुपम पाेखरेल

त्यस्तैमा म केटाहरुलाई बिदा गरेर पोखरा लागेँ. होटल रुमहरु मलाई आश्रमझैँ पवित्र लाग्छन्. सबैको. साझा. होटल रुमबाट म प्याराग्लाइडिङ् गर्न जाँदै र फर्कंदैको कथाले आजको अध्याय समाप्त हुन्छ.

दिउँसो हामी दह्रै जम्यौं क्लब प्याराडिजोमा. कृष्णको रोल गर्नु परे ठ्याक्कै सुहाउने चिटिक्क परेको एउटा थिएटर एक्टर भाइ र उसको साथी, अनि गृहस्थ जीवन बिताउँदै गरेका एक भ्लगर प्लस ट्राभल फ्रिक साथी सत्संगमा पोखराको प्रतिनिधित्व गरेर आए. कुरैकुरामा प्याराग्लाइडिङको बुकिङ गर्दिए साथीहरुले र म उनीहरुलाई बिदाई गरेर ट्राभल एजेन्सीले पठाएको गाडीमा चढेर लागेँ पखेँटा ओढेर भीरबाट फाल हान्ने खेल खेल्न. यो वर्णन किन जरुरी छ भने, डर के आगे जीत है. मलाई खासमा हाइटदेखि डर लाग्छ. इन बिल्ट डर हो. मनको डर हैन, शरीरले महसुस गर्ने आदिम डर. तर, बहादुर त्यो हैन जो डराउँदैन. बहादुर त्यो हो जो डराउँछ र डरको बाबजुद मन लागेको गर्छ. करेज इज लभ अफेयर विथ द अननोन. जिन्दगीमा हुन सक्ने जे सुकै अज्ञातसँगको इश्क, त्यसको स्वीकार नै साहस हो.

गाडी हल्लन चोकतिर कतै रोकियो र एक सज्जन चढे. हुलिया हेर्दै पाइलट. मैले परिचय गरेँ. ध्यान गराउँछु, आश्रम चलाउँछुका डिङ् हानेँ मैले. पाइलट सज्जनले आफूले हजार फ्लाइट हानिसकेको हान्नु भयो. हामी यसरी साथी भयौँ. कम्मरमा ग्लाइडर बाँधेर हामी ठाडो ओरालो भीरबाट कुद्दै फालहानेर फेवातालमाथि उड्न थाल्यौं. मैले उडान अवधिभर विभिन्न प्रयोगहरु गरिरहें. कहिले ध्यान गरें. कहिले हात खुट्टा फालेर चराझैँ उड्ने प्रयत्न गरेँ. उड्दै गर्दा एउटा चिल पनि दोस्ती गर्न आयो र हामीसँगै उड्न थाल्यो.

यो अद्भूत उडानपछि आनन्दको मुस्कान र थकानको चाल लिएर म बसुन्धरा पार्कमा टहल्दै थिएँ. फेवाताल, माछापुच्छ्रे र अन्नपूर्ण एकसाथ देखिने पार्क. अन्नपूर्ण हिमालको भव्यताले मलाई यस्तो मोहित गर्दै थियो, त्यो क्षणमा मैले केहीबेरलाई आफ्नो नाम फेरेर अन्नपूर्ण राखेँ र आफैँलाई सुस्तरी बोलाएँ, ‘अन्नपूर्ण !’

आफैंले भनेँ, ‘हजूर !’

कुरा गर्दै थिएँ आफैंसँग, एउटा डुङ्गा किनार लाग्दै थियो. ब्याकग्राउण्डमा घाम सुनौलो रङ्ग पोत्दै थियो अन्नपूर्ण र माछापुच्छ्रेमाथि. तिनको छायाचाहिँ फेवातालमा पौडी खेल्दै थिए.

डुङ्गा चालक साथीले एक्कासि बोलाए, आऊ आऊ. म गैदिएँ. हामी फेवातालको बीचमा डुङ्गा रोकेर चुरोट खाँदै सूर्यास्त हेर्न थाल्यौं. मैले सोचेँ- पूर्णिमाको चाँदनी रातमा यहाँ झन् चाँदी रङ्गका माछापुच्छ्रे र अन्नपूर्ण पौडी खेल्दा हुन्.

मैले सोधेँ, “मिल्छ ?”

साथीले आँखा झिम्काउँदै भने, “मन मिले नमिल्ने के छ !”

अब एकपल्ट पूर्णिमाको रात पारेर पोखरा जान्छु एएसएपी !!