गतसाता सामाजिक संजालमा दुई महिला चर्चा रहे । उनीहरू थिए- नायिका श्वेता खड्का र झापाकी रेणुका नेपाल ।
श्वेता केही वर्षअघि आफ्नो पुछिएको सिउँदोमा पुनः सिन्दुर भरेकी कारण चर्चामा रहिन भने रेणुका पतिको मृत्युपछि पनि सिउँदोको सिन्दुर नपुछेको कारण चर्चामा रहिन । युरोप, अमेरिकामा भए यस्ता काम व्यक्तिको नितान्त निजी कुराभित्र पर्थे । सार्वजनिक चर्चाको विषय बन्दैन थिए । तर हाम्रो देशमा बन्यो । कारण, हाम्रो समाज अहिले पनि रुढीवादी र परम्परावादी छ ।
विशेष रूपमा भारत र नेपालीकाे कुरा गर्दा, परम्पराको नाममा सती प्रथाको माध्यमबाट लाखौं, करोडौं निर्दोष महिलाहरूको क्रूरतापूर्वक ज्यान लिने देश हो । मृतक पतिको चितामा पत्नीलाई जबर्जस्ती जिउँदै जलाउन गर्व गर्ने, धर्म देख्ने पुरुषप्रधान समाज हो । धर्म र परम्पराको नाममा निर्दोष नारीलाई पतिको चितामा जबर्जस्ती जिउँदै डढाएर पुण्य कमाउने समाज हो हाम्रो । वि. सं. १९१० को मुलुकी ऐनमार्फत् सती प्रथा रोक्न खोज्ने जङ्गबहादुर राणाको चितामा ४२ रानीहरूलाई जबर्जस्ती जिउँदै डढाउने देश हो नेपाल । चन्द्रशमशेरले वि. सं. १९७७ मा यस प्रथामाथि बन्देज नलगाएको भए अरु कति थप निर्दोष नारीहरूको जीवन पतिको चितासँगै खरानी हुन्थे होला । सम्झदा मात्र पनि रिंगटा लाग्छ ।

[bs-quote quote=”नारी रजवती हुँदा उत्सव मनाउने पुरुष कालान्तरमा नारीलाई अपवित्र वस्तु ठान्दै रजवती भएको बेला अँध्यारो कुनामा थुन्न पुग्यो । रजवती भएपछि नारीलाई कुमारी मान्ने समाज कालान्तरमा तीनै नारीलाई अछुत मान्न पुग्यो ।” style=”style-2″ align=”right” color=”#8224e3″ author_name=”राधा पाेखरेल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/radha-pokharel.jpg”][/bs-quote]

अन्तर्यमा अहिले पनि सती प्रथाको संगीत गुन्जिरहेको हाम्रो समाजमा श्वेता र रेणुकाको कदमलाई सहासी मान्नुपर्छ । पुनर्विवाहमार्फत् नवजीवन सुरु गरेकी श्वेतालाई हार्दिक बधाई ! पतिको मृत्युपछि पनि सिन्दुर, पोतेसहित पतिको काजकिरियामा बसेकी रेणुकाको सहासलाई सलाम !!
समाजमा संस्कार रातारात निर्माण हुँदैन । संस्कार निर्माणका लागि सयौं, हजारौं वर्ष समाजले खर्च गरेको हुन्छ । अग्रगामी संस्कारले समाजलाई ऊर्जा दिन्छ, अग्रगमनतिर लैजान्छ । पश्चगामी संस्कारले समाजलाई प्रतिगमनतर्फ धकेल्छ । वैदिक कालसम्म नारी स्वतन्त्र थिए । पुरुष समान थिए । अझ कतिपय सवालमा पुरुषभन्दा नारी सम्मानित र शक्तिशाली पनि थिए ।
निजी सम्पत्तिको सुरुवातसँगै सम्पत्तिको उत्तराधिकारीको खाँचो पर्‍यो । जसका लागि विवाह नामको संस्था जन्मियो । कालान्तरमा यो संस्था नारीहरूका लागि बन्धन बन्यो । सन्तानको हकदार एकलौटी बाबु बन्न थाल्यो । अंश र वंशको मालिक एकलौटी बाबु मात्रै हुनथाल्यो । जसका कारण समाजमा  उत्तरवैदिक कालसम्म पवित्र र सम्मानित रहेको नारी क्रमशः कमजोर, निरीह, अपवित्र र दासी बन्न पुग्यो ।
नारी रजवती हुँदा उत्सव मनाउने पुरुष कालान्तरमा नारीलाई अपवित्र वस्तु ठान्दै रजवती भएको बेला अँध्यारो कुनामा थुन्न पुग्यो । रजवती भएपछि नारीलाई कुमारी मान्ने समाज कालान्तरमा तीनै नारीलाई अछुत मान्न पुग्यो । आजको वैज्ञानिक युगमा सरोगेट मदरको अवधारणा विस्तारै विकास भैरहेको छ । सभ्यताको शैशवकालको त कुरै छाडौं, दास समाजमा समेत नारीहरूप्रति सम्मान थियो । नारीलाई पवित्र धरती मानिन्थ्यो । महाभारतकी ऐतिहासिक पात्र माधवी त्यसको ज्वलन्त उदाहरण हुन् । माधवीले चार अलगअलग राजाबाट चार राजकुमारलाई जन्म दिएकी थिइन् । जसवापत् माधवी समाजमा असाध्यै सम्मानित थिइन् । पवित्र देवीको रूपमा उनी पुजिन्थिन् ।
संस्कार र परम्परा बन्नु र भत्कनु समय लाग्छ । समाजको तत्कालीन आवश्यकताले समाजमा संस्कार र परम्परा बन्ने र भत्कने गर्दछ । समाजमा नारीको भूमिका सम्मानितबाट अपमानित र शक्तिशालीबाट शक्तिहीन कसरी बन्न पुग्यो भन्नेबारे माथि अलिकति चर्चा गरियो ।
समय गतिशील छ । समाज परिवर्तनशील छ । जति नै बाँध बाँधे पनि अन्ततः कहिले सुस्त गतिमा कहिले तीव्र गतिमा समाज अघि बढी नै रहन्छ । अग्रगामी परिवर्तनकारी सोच र साहस भएका शासकहरू भए भने समाज परिवर्तन तीव्र गतिमा हुन्छ । यदि शासकहरू प्रतिगामी भए भने पनि समाजमा अग्रगामी सोच बोकेका अगुवाहरू कोही न कोही परिवर्तनको नेतृत्व गर्न जन्मछन् । जातपात, छुवाछूत र नारीप्रतिको विभेदविरुद्ध राणाकालमै योगमायाले गरेको विद्रोह त्यसको एउटा उदाहरण हो ।
समाजमा हमेसा अग्रगामी र पश्चगामी सोचबीच संघर्ष चलिरहेको हुन्छ । संस्कार र परम्परा सम्वर्धन गर्ने नाममा कहिलेकाहीँ समाजका अगुवाहरू पनि भ्रममा पर्नसक्छन् । समयानुकूल संस्कारमा सुधार र क्रान्ति ल्याउन सकिएन भने त्यस्तो समाज रुढीवादमा फस्छ । परिवर्तनको नाममा बदलाभाव र निरपेक्ष रूपमा अप्राकृतिक समानताको नाराले समाज भत्कन त सक्छ तर बन्न सक्दैन ।
नारीपुरुष समानताको कुरा गर्दा पनि यस्ता दुर्घटनाहरू भएका छन् । निश्चय नै यो समाज पुरुषप्रधान छ । यसले नारीलाई पुरुषको भोग्या र दासीको रूपमा व्यवहार गरिरहेको छ । यस्तो सोच र संस्कारलाई फेर्नुको कुनै विकल्प नै छैन । तर कसरी ? नारीवादी सोचका आधारमा वा सहअस्तित्वको आधारमा ? कुनै बेलाको युरोप, अमेरिकामा जस्तै हाम्रो देशमा पनि नारीवादी सोचबाट नै नारी स्वतन्त्रता सम्भव छ भन्ने धारणा राख्नेहरू पनि धेरै छन् । मेरो विचारमा त्यो एकाङ्गी सोच हो । एकाङ्गी सोचबाट सर्वाङ्गिण समानता सम्भव छैन ।
वैवाहिक सम्बन्धले नारीलाई बन्धक बनायो; तसर्थ यो वैवाहिक संस्था भत्काइदिउँ । पत्नी मरेको ४५ दिन नपुग्दै पतिले अर्की पत्नी भित्र्याउन हुने, नारीले अर्को विवाह गर्न किन नहुने ? पत्नी मर्दा पतिले जूठोसमेत बार्न नपर्ने तर पत्नीले चाहिँ सिन्दुर, पोते सबै घाटमै पुछेर, छिनालेर जिन्दगीभर पतिको नाममा विधवा जीवन जिउनु पर्ने ? अब यस्तो चलन मानिदैन । देखाइन्छ अब नारीशक्ति पुरुषलाई ।
कुरा सबै ठीक हो । संस्कृतिको नाममा यस्ता विकृतिलाई मान्नुहुन्न । यसलाई भत्काउनै पर्छ । तर भत्काउनुको अर्थ ध्वंस गर्नु मात्रै होइन, मुख्य कुरा निर्माण गर्नु हो । बदलाभावले प्रेरित भएर गरिएको ध्वंसले निर्माण गर्न सकिँदैन । के हामी नारी पितृसत्ताको बदलामा मातृसत्ता स्थापित गर्न चाहान्छौं ? पक्कै चाहादैनौं ।
यस सन्दर्भमा विजय कुमारले आफ्नो पुस्तक `सम्बन्धहरू´ को स्त्री र पुरुष शीर्षक लेखमा लेखेका छन्, “म स्त्री र पुरुषबीच सुन्दर सहअस्तित्वको पक्षमा छु । समानताभन्दा पनि म स्त्रीपुरुष सम्बन्धमा संवेदनशीलताको पक्षमा छु । समानता एक गणितीय अवधारणा हो । यो सृष्टिमा कोही पनि कोहीसँग समान छैनन् । …. त्यसैले म सम्बन्धको सुन्दरताको पक्षमा छु । स्त्री र पुरुष समान होइनन् । असमान पनि होइनन् । हामी एकअर्कामा भएका शक्ति र कमजोरी दुवैका प्रति थप संवेदनशील हुँदै गयौं भने एउटा सुन्दर सम्बन्ध हाम्रो प्रतीक्षा गरिरहेको हुन्छ ।”
अन्त्यमा, रेणुकाले सिन्दुर, पोते घाटमा नफालेर सिउँदो र गलामा जसरी लगाइरहेकी छन्, हेर्दा सामान्यजस्तो लागे पनि यो एउटा सांस्कृतिक क्रान्ति हो । हजारौं वर्षदेखि चल्दै आएको संस्कार र परम्परालाई तोड्न सजिलो छैन । भाषण गर्न, उपदेश दिन सजिलो हुन्छ, तर त्यही काम सुरु गर्न ठूलो साहस चाहिन्छ । पतिप्रतिको प्रेम र मानवीय संवेदनाको हिसाबले पनि पतिको मृत्युपछि पत्नीले सिन्दुर, पोते लगाइरहनु राम्रो हुन्छ । रेणुकाको यस साहासी कदमलाई सलाम गरौं र सबैले साथ दिऔं ।
वैवाहिक सम्बन्ध कायम भएको केही समयपछि नै श्वेताले पति श्रीकृष्ण श्रेष्ठलाई गुमाउनु पर्दा जति विक्षिप्त र विह्वल बनेकी थिइन्; त्यसबेला उनको पीडामा उनीसँगै आँसु बगाउने उनका थुप्रै फ्यानहरू थिए । आज फेरि उनको पुनर्विवाहमा उनीसँगै खुसी हुने थुप्रै फ्यानहरू छन् । तर, विवाहमा जुन तामझाम देखाइन, त्यसले उनका फ्यानहरूको मन चस्किएको छ । वैयक्तिक रूपमा त्यति तामझाम गर्नुको साटो `पुनर्विवाह परामर्श संस्था´ स्थापना गरेको भए राम्रो हुनेथियो कि ?