“चुपचाप घरको काममात्रै गर्ने, जे भन्यो त्यो मान्ने र गोरी अनि सुन्दर बुहारी खोजेको हुँ मैले त !”, यत्ति भनेर तिहारकै दोस्रो दिन (यही मंसिर २ गते)  एक जना अधबैँसे पुरुष र अर्को अलिक पाको उमेरको पुरुष मान्छे छिमेकीको आँगनबाट बर्बराउँदै आफ्नो बाटो लागिरहेको दृश्यले मलाई  आफू बच्चा छँदा गाउँमा गाई, भैंसी, बाख्राको दलाली गर्न आउँने मान्छेको याद आयो । अलिक पर पुगेपछि पाको उमेरको मान्छेले थपे, “बिहेपछि पनि पढ्ने, सरकारी जागिर खान तयारी गर्ने रे । उस्तै त आजसम्म क्याम्पसमा कति केटासँग लागेकी होली, बिहेपछि पनि पढाइको बाहानामा त्यहीँ सब गरुँला सोचेर ….. ।”

अब  थप्ने पालो पहिलो मूल्यांकनकर्ताको, “केटी के साह्रो उत्ताउली हो ? टाउकोमा पछ्याैरा पनि नराखीकन बसेकी, झन् त्यसैमाथि त्यो रित्तो टाउको उचालेर जवाफ दिन्छे ।” यो अभिव्यक्ति कोही एउटा व्यक्तिमात्रले कोही एउटा केटीलाई मात्रै भनिरहेको भने पटक्कै थिएन होला ! नत्र मलाई यति साह्रो नदुख्नुपर्ने ।

…….

घरको ल्यान्डलाइनमा फोन आएपछि हतारहतार रिसिभ गर्न भित्र दाैडिएँ । फोनमा माइजूले भनिराख्नु भएको थियो,”भान्जी, हजुरको दिदीको  बिहेको कुरा पक्का भइसक्यो । पर्सि बिहे छ । आजमात्रै मान्छे कुरा गर्न आएकाले कार्ड छाप्ने समय हुँदैन होला, यसैलाई निम्तो मान्नुपर्ने छ । दिदीले मन त गरेकी छैन, तर बिहे गरेपछि मन पराइहाल्छिन् नि । चुलेनिम्तो छ है ।” मलाई माइजूका शब्दहरूले दिदीको निर्दोष  अनुहार झलझली याद आयो । किताब किन्दा, कुन किताब पहिले पढ्ने, कुन रङ्गको  कपडा किन्ने भन्ने मामिलामा पनि सधैं पटकपटक सोच्ने दिदीलाई आज आफ्नै जिन्दगीको निर्णयबारे सोच्ने अधिकार रहेन । कसरी चित्त बुझाउलिन् अर्काले सहीछाप गरिदिएको जिन्दगीको तमसुकमा ?

……..

कक्षा १२ को परीक्षाको तयारी गरिरहेकी एक जना बहिनीले एकपटक ‘मेरो परीक्षा आएको छ’ भन्ने वाक्यांश पनि राख्न सकिनन्। उमेरमा आफूभन्दा १२/१५ वर्ष जेठो , कहिल्यै नदेखेको, नभेटेको र नामै नसुनेको पुरुषसँग यति हतारमा बिहे गरिहाल्न सक्दिनँ भनेको पनि कसैले सुनेनन्। घरपरिवार राम्रो  छ। जग्गाजमिन धेरै छ। केटो नालायक निस्किए पनि छोरी भोको रहँदिन भन्ने समाजका तर्कहरू आमाबुबाले सुने तर आफ्नै छोरीको अनुहारको विवशता र  दुविधाको रङ्ग कसैले देखेनन्।

………….

[bs-quote quote=”जब सुन्दा- सुन्दा कान थाक्छन् तब आँखा खुल्छन् । दिल होइन चेतनशील व्यक्तिको दिमाग दुख्छ र सम्बन्धविच्छेद जस्ता ‘भुइँचाला’ आउँछन्, जसको सतप्रतिशत जिम्मेवारी फेरि प्रत्यक्ष या अप्रत्यक्ष रूपमा महिलाले नै लिनुपर्छ ।” style=”style-2″ align=”right” color=”#dd3333″ author_name=”कल्पना जाेशी” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/C360_2018-06-27-18-14-38-478.jpg”][/bs-quote]

“तपाईं त प्रगतिशील र चेतनावादी कविता लेख्नुहुन्छ। सामाजिक, समता र समानताका मुद्दाको वकालत गर्नुहुन्छ। तपाईंको लेखनीको फ्यान त म हो तर बिहेको मामिलामा भने बिहेपछि यो सब लेख्न बन्द गर्नुपर्नेछ । छोरी बुहारी बनेर आइसकेपछि पहिलेजस्तो हुँदैन। घरपरिवारमा जस्तोसुकै  पनि सहनुपर्छ। तपाईंले फेरि तीनै मुद्दामा लेख्न थाल्नुभयो भने त परिवारको कुरा पब्लिक भइदिन्छ ।”, यो अपमानजनक चेतावनी स्वयं  मलाई  आएको हो।

……….

प्रस्तुत यी सबै उदाहरणहरूले एउटै स्पष्टीकरण दिइरहेको छन् कि हामीले जतिसुकै समानता र महिला सशक्तिकरणका कुरा गरे पनि व्यवहारिक जीवनमा भने  ‘बिहेपछि यस्तो चल्दैन नि त’ भनेर जतिसक्दो आफैँलाई अनावश्यक सहनशील र दबाबमूलक स्थितिमा बाँच्न सकिने बनाउन बाध्य भइरहेका छाैँ । समाज स्वयं अहिले यस्तो कठिनाइका साथ गुज्रिरहेको छ कि ‘यसो पनि होइन उसो पनि होइन’ भन्ने वातावरणले थप अन्योलता छाएको छ। पढेलेखेकाे बुहारी पनि चाहिने, त्यही बुहारीले टाउको ठाडो गरेर तर्कसंगत कुरा गरिहाले पनि “पोथी बासेको” हुने या अनेक चारित्रिक आरोपहरू लाग्ने। नपढेको बुहारीलाई पढेलेखेका छिमेकीका बुहारीसँगै तुलना गरेर पनि ‘अनपढ’ ‘गवाँर’ जस्ता उपमा पनि दिइरहने ।

एक दुई  त झनै रोचक घटनाहरू देखिएको छ । भोगिएको पनि छ। केटीको बारे सबै कुराहरू राम्रो लाग्यो तर पहिलो भेटमै केटासँग कुरा गर्दा टाउको नझुकाएर कुरा गरी, सिधा नजर मिलाएर हिम्मतका साथ कुरा गरी, यसो गर्दा केटाको अपमान भयो, नडराइकन आफ्ना कुराहरू राखी । कन्याको रूपमा भन्दा एउटा जिम्मेवार र चेतनशील व्यक्तित्वको रूपमा प्रस्तुत भई ।  ‘एकपटकलाई  संस्कारी बुहारीको अभिनय त गर्न सकिनँ अब वास्तविक जीवनमा झन् के खोजेजस्तै बुहारी बन्ली ?’ भनेर आफ्नै  अनुमान र पुर्वानुमानको भरमा ‘व्यक्तिगत विश्वविद्यालयबाट’ चारित्रिक प्रमाणपत्र दिएर बिहे रोकिएका उदाहरणहरू पनि छन्।

अर्कोथरिका जुत्ताछाला कारखानाको कालीगढजस्ता कुरा गर्ने पनि आउँछन् बिहेको प्रस्ताव ल्याएर। जसको छाला र रुपरङ्गबाहेक कुनै कुरामा ध्यानै नजाने हुन्छ। ‘अलिकति मोटी भई, अलिकति छोटी भई, अलिकति ख्याउटी भई, हल्का नाक नमिलेकोले त्यति गतिलो अनुहार नदेखिने’ । यी र यस्ता यावत् प्रतिक्रिया दिएर विनाकाममा हंगामा गराउने  धारावाहिक उनीहरूको चलिरहन्छ।

अर्को ठाँउमा बिहेको कुरा गर्दा उल्टै पहिले कुरा भएको केटीबारे हुँदै नभएको नानाथरी कुरा भन्दै हिँड्ने गरेका उदाहरण प्रसस्तै नभएका होइनन्।

कसैले आफ्नो एक जिन्दगी खर्चेर, हत्केला र कुर्कुच्चा फाटेको वास्ता नराखेर लालनपालन  र पठनपाठन गराएका छोरीहरूलाई एकैभेटमा ‘यस्ती रहिछे र उस्ती रहिछे, सायद यस्ती पनि होला !’ भनेर नानाथरी पूर्वानुमान गरिदिँदा ती आमाबुबाको नजरमा त्यस्ता मान्छेको के हैसियत रहन्छ ? र छालाको, उचाइको, ताैलको या अन्य बाहिरी आवरणकै आधारमा कोही योग्य र अयोग्य घोषणा गर्ने अधिकार कसले दिन्छ ती ‘बिचाैलिया’हरूलाई ?

आफ्नो छोराको केही कर्तुतको पोल खुली पो हाल्छ कि भन्ने डर पनि रहन्छ कैयौं अभिभावकमा ।  अर्को ठाँउमा बिहेको कुरा गर्दा उल्टै पहिले कुरा भएको केटीबारे हुँदै नभएको नानाथरी कुरा भन्दै हिँड्ने गरेका उदाहरण प्रसस्तै नभएका होइनन्।

एउटा मान्छे जन्मेदेखि नै अप्रत्यक्ष या अप्रत्यक्ष रूपमा आफ्नो व्यक्तित्व विकासमा लागेको हुन्छ । उसको आफ्नै अनुभव, विचार, मान्यता, दृष्टिकोण, सामाजिक आर्थिक प्रभाव र जीवनप्रतिको आदर्श हुन्छ । एकपटकको भेटकै आधारमा कसैलाई लान्छना लगाएर, अनुहारकै आधारमा व्यवहार अनुमान गरेर, कसैलाई ‘अयोग्य’ घोषणा गरिदिँदा कतिसम्म मानसिक र संवेगात्मक असर पर्ला त्यो व्यक्तिलाई ? धेरै टाढा नजाऊँ, पसलमै पनि  ‘छ्या यो कपडा मेरो स्तरकै होइन । कस्ताकस्ता कपडा राख्नुभएको ?’ भनेकै कारण एउटा पसलेलाई असह्य हुन्छ भने हामी  बिहेको मामिलामा किन यति असंवेदनशीलता देखाइरहेका छाैँ?

छोरीलाई कपडाको स्तरमै पनि किन राख्न तयार छैनौँ । आमाबुवालाई किन पसलेलाई जत्तिकै सम्मान पनि दिन सकिरहेका छैनौँ ?

पहिलो भेटमै बिहेको लागि तयार हुने छोरी संस्कारी तर ‘होइन अर्को भेट चाहिन्छ, केही समय चिनजान गर्न लाग्छ’ भन्नेबित्तिकै कसरी यो मुद्दा चरित्रसम्म पुग्दछ ?  बिहेको प्रस्ताव  आउनेबित्तिकै सहमति जनाइहाले पनि बिहे भइसकेपछि फेरि ‘कसैले नपत्याएर माइतीमा बसेकी थिइस् तब त कुरा जानेबित्तिकै आत्तिएर हुन्छ भनिस्’ भन्ने झटारो पनि नसुनिने होइन।

प्रेम विवाहको मामिलामा यी अनावश्यक विवाद रहँदैनन् । या त यस्ता विवादास्पद प्रेमहरू विवाहसम्म पुग्दैनन्। पुगिहाले पनि स्वयं  केटाले (हुनेवाला श्रीमान) नै परिवारको साथ दिएर केटीमाथि अन्याय हुन भने दिँदैन। अहिलेको समयमा सबैभन्दा बढी खतरा र द्वन्द्वात्मक अवस्था मागी विवाहमा रहेको छ। नाम सुन्नेबित्तिकै, तस्वीर देख्नेबित्तिकै बिहेको लागि सहमति जनाइहालेपछि केटी ती ‘व्यक्तिगत विश्वविद्यालयबाट’ ए प्लस ग्रेडिङ्सहित संस्कारी ठहरिने, यदि उसले आफ्नो भविष्यप्रतिको चिन्ता, केटाको सोचाइबारे जिज्ञासा, केही प्रतिक्रियाहरू राखिहाली भने ‘अख्तियारले’ नै बर्खास्त गरिदिने। ‘बिहेअघि नै यति निडर भएर प्रतिक्रिया दिने, बडा दिमागको प्रयोग गर्ने भएकी, केटासँग केटाकै जसरी कुरा गरी’ यिनै आधारमा उनी अयोग्य बुहारी ठहरिन्छिन्।

स्कुल, क्याम्पस र विश्वविद्यालयहरूमा सिधा टाउको गरेर, नडराइकन्, स्पष्ट भएर, हाउभाउसहित आफ्नो विचार  राखिएन, प्रश्नको जवाफ दिइएन भने ‘प्रेजेन्टेसन्’  र प्रयोगात्मक परीक्षाको नम्बर काटिने भनेर जसरी पनि निडर र निर्भीक भएर बोल्न, विचार राख्न र प्रतिक्रिया दिन अभ्यास गराइएको हुन्छ । न केटीलाई एउटा केटालाई अर्को नियम हुन्छ, न केटीलाई एउटा  केटालाई छुट्टै पाठ्यक्रम हुन्छ । शिक्षा किन यत्ति पनि व्यवहारिक हुन सकेन त आखिर? किन सँगै पढेको/ सिकेको  त्यही केटाले नै स्पष्ट बोलेकै र विचार राखेकै आधारमा चरित्रसम्म पुग्न पछि पर्दैन, जब कुरो बिहेको मामिलामा आउँछ।

त्यो मान्छेसँग कसरी एक जिन्दगी बिताउन सकिएला, जहाँ आँखा र ओठहरू खुल्ने अनुमति हुँदैन, टाउको झुकाएर कान थाप्दै चुपचाप आदेशको पालना गर्नुपर्ने मात्रै अपेक्षा हुन्छ ?

बिहेको मामिलामा केही अनावश्यक प्रेसर केटालाई बढी नभएको पनि होइन । तिनै प्रेसर र अपेक्षाले नै पनि हो केटीलाई अलिक कमजोर, डराउने, लजालु, ‘दिमागहीन’, प्रश्न गर्नेभन्दा जति भनियो त्यति मात्रै सुन्ने  पात्रको रूपमा अपेक्षा राखिने । केटा बिहेअघि जागिरे छ कि छैन, कति कमाउँछ, सरकारी जागिरे छ कि प्राइभेट ? प्रत्येक आमाबुवालाई चिन्ता हुन्छ । तर आफ्नो छोरीलाई पनि पढाइमा अहिलेसम्म कहिल्यै कसैको छोराभन्दा कमसल तरिकाको शिक्षा दिइएन भने जागिरकै लागि छोरीको ‘मोलमोलाइ’ नगराैँ भन्ने सोच्दैनन्। कति पुरुषले बिहेपछि जागिर गर्न नदिने प्रस्ताव पनि राख्छन् । यी प्रस्ताव पनि बिहेको मामिलामा सहजेै स्वीकार्दै आएको पाइन्छन् ।

बिहेको मामिलामा जसरी हुन्छ एउटा केटी नै कमजोर, डराऊ, लजालु, समर्पण भाव भएको हुनैपर्ने अपेक्षा हुन्छ ।  केटाले विचारसम्म पनि सुन्न सक्दैन ? त्यो मान्छेसँग कसरी एक जिन्दगी बिताउन सकिएला, जहाँ आँखा र ओठहरू खुल्ने अनुमति हुँदैन, टाउको झुकाएर कान थाप्दै चुपचाप आदेशको पालना गर्नुपर्ने मात्रै अपेक्षा हुन्छ ? किन बिहेलाई पनि स्वतन्त्र विचारधारा भएको केटीलाई रणनीतिक हिसाबले ‘जीवनदासी’ बनाउन मिल्ने माध्यमको रूपमा लिइँदै छ ?

जब सुन्दा- सुन्दा कान थाक्छन् तब आँखा खुल्छन् । दिल होइन चेतनशील व्यक्तिको दिमाग दुख्छ र सम्बन्धविच्छेद जस्ता ‘भुइँचाला’ आउँछन्, जसको सतप्रतिशत जिम्मेवारी फेरि प्रत्यक्ष या अप्रत्यक्ष रूपमा महिलाले नै लिनुपर्छ । त्यसपछिको जिन्दगीमा पीडा पनि महिलाकै थपिदै जान्छन् ।

निष्कर्षमा, बिहे गर्नकै लागि जहाँ आफूले केही गल्ती, अनैतिक, अश्लिल, अवैधानिक काम नगरेरै पनि प्रत्येक पल डराएर, आवाज दबाएर, खुलेर हाँस्न र रुन पनि अनुमति चाहिन्छ । जहाँ आफूले आफूलाई आफूजस्तै हुन पनि हजारौं सम्झौता र त्याग मात्रै गर्नुपर्छ, त्यो सम्बन्धलाई हामीले विवाह भनेर परिभाषा दिएर  प्रदुषित गर्ने काम गर्नुहुँदैन । जहाँ विचार सुनिँदैन, भावनाको कदर हुँदैन, प्रश्न गर्ने अधिकार खोसिन्छ, त्यहाँ एकदिन कुर्कुच्चाले माैन रहन बिर्सिन्छ र टाउकोले झुक्दाझुक्दै विश्रामको आवश्यकता महसुस गर्दछ । विचार, दृष्टिकोण, आत्मसम्मान, विश्वास र बाैद्धिकताको कदर साथै माया, विश्वास र भरोसाको फूलबारीमा मात्रै हुर्किन, फल्न र फुल्न सक्ने सम्बन्ध हो विवाह।