दियो, पाला, टुकी, पानस र लाल्टिनपछिको जीवाशेष इन्धनलाई प्रकाश उर्जामा रूपान्तरण गर्ने तत्कालीन समयको एक अत्याधुनिक उपकरण मैन्टोल यानि पेट्रोमेक्स र यसको प्रयोग तत्कालीन समाजको एक प्रतिबिम्ब हो । लालटिन/ मैन्टोल संस्कृतिले नेपालको आधुनिक इतिहासको एक महत्वपूर्ण कालखण्ड प्रतिबिम्बित गर्दछ । वर्तमानमा नेपालको धेरै गाउँबस्तीमा विद्युतको विकास, वृद्धि र विकाससँगै मट्टीतेल जन्य यी उपकरणको वृद्धि र विकासमा क्रम भङ्ग भएको छ ।

धार्मिक तथा सांस्कृतिक पर्वहरू विवाह, देउसीभैलो, जात्रा, उत्सवलगायत राजनैतिक दलका सांस्कृतिक कार्यक्रमहरु मात्र नभई विद्यालयका अभिभावक दिवस एवं सांस्कृतिक कार्यक्रमहरु पनि रात्रिकालीन हुने त्यो समयमा मैन्टोलको महिमा अत्यधिक थियो । रात्रिकालीन राजनैतिक प्रशिक्षण र प्रौढ शिक्षा कार्यक्रमका लागि लाल्टिन अपरिहार्य थियो । हुनेखाने वर्गको घरमा बास पाएको मैन्टोलको महिमा यतिसम्म थियो कि कुनै उत्सवमा यसको प्रयोगको लागि एक जना अपरेटर स्ट्याण्डबाई रहनु पर्थ्यो । मानौं त्यो जीव अपरेटर होइन, ‘अर्दली’ हो ।

[bs-quote quote=”वर्तमानमा सम्पूर्ण राजनैतिक दलले आमजनताको दलप्रतिको वितृष्णा समयमा नै बुझ्न नसक्ने हो भने मैन्टोल जस्तै दल पनि नेपाली समाजबाट लोप हुने दिन नआउला भन्न सकिँदैन।” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”केशवविक्रम सिंह” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/received_2465282490445387.jpeg”][/bs-quote]

पहिलो र द्रोसो विश्वयुद्धसँगै नेपाली समाजमा मौलाएको ‘लाहुरे संस्कृति’ले नगद मात्र भित्र्याएन, नगदसँगै मट्टीतेल, लाल्टिन, मैन्टोल र राजनैतिक चेतनाको दियो पनि सँगै स्वदेश भित्र्यायो । यही चेतनाको दियो मट्टीतेलमा आगोसरी नेपाली समाजमा नसल्केको भए १०४ वर्षे जहानीयाँ राणा शासन वि. सं. २००७ सालमा अन्त्य हुने थिएन । राणा शासनको अन्त्य हुनुको मुख्य कारणमध्येको एक ‘लाहुरे संस्कृति’ पनि थियो।

पञ्चायत कालमा भूमिगत रात्रिकालीन राजनैतिक प्रशिक्षणमा पनि लाल्टिनले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । त्यो प्रशिक्षण केवल चेतनाको प्रशिक्षण थिएन । शारीरिक खेलहरु मार्सल आर्ट, हाई जम्प, लङ जम्प आदि पनि राजनैतिक प्रशिक्षणका अभिन्न अङ्ग थिए । तत्कालीन समयमा पञ्चायत सरकारले पञ्चायत विरोधीहरुलाई भिराइदिएको ट्याग ‘अराष्ट्रिय तत्व’ छोटकरीमा ‘अत’हरु यातना, जेल, नेल सहन पनि शारीरिक तन्दुरुस्ती हुनुपर्ने समयको माग थियो ।

वि. सं. २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएदेखि वि. सं. २०५० को दशक आसपाससम्म (तत्कालीन माओवादी जनयुद्ध थालनीपूर्व) नेपाली समाजमा लाल्टिन तथा मैन्टोलको प्रयोग सामाजिक, सांस्कृतिक एवं राजनैतिक प्रयोजनका निमित्त अत्यधिक मात्रामा भएको थियो । वि.सं.२०४६ सालपछि नेपाली समाजमा राजनैतिक पुनर्जागरण चरण उत्कर्षमा पुगेको बखत सम्पूर्ण टोल समाज, गाँउ बस्ती राजनैतिक गर्मागर्मीको रापले तरल भएको थियो । चेलीलाई माइतीमा प्रवेश निषेध, भाइ-भाइमा पानी बाराबारको स्थिति आदि खुबै मौलाएका थिए । व्यक्तिबीचमा फरक मत/विचार हुनु नै यसको कारण थियो । राजनैतिक आमसभा, जुलूस आदिमा स्वतःस्फूर्त जनसागर उर्लिन्थ्यो । नेताको सम्बोधनमा बज्ने तालीले मेघ गर्जनलाई मात खुवाउँथ्यो । विभिन्न राजनैतिक परिवर्तनका बाबजुत सबैले चाहेको ‘नयाँ नेपाल’ मा आज आमजनतामा दल र राजनैतिक क्रियाकलापप्रतिको त्यो जोश, जाँगर र उत्साह दिनानुदिन घट्दै गइरहेको पाइन्छ।

वर्तमानमा सम्पूर्ण राजनैतिक दलले आमजनताको दलप्रतिको वितृष्णा समयमा नै बुझ्न नसक्ने हो भने मैन्टोल जस्तै दल पनि नेपाली समाजबाट लोप हुने दिन नआउला भन्न सकिँदैन। विद्युतको प्रकाश अगाडि मैन्टोलको प्रकाश नगन्य हुनु नियति होइन। त्यो समयको माग हो । ‘मैन्टोल संस्कृति’को अन्त्यसँगै केही सामाजिक विकृतिहरूको पनि अन्त्य नभएको होइन, तर वर्तमान पुस्तालाई ‘मैन्टोल संस्कृति’ एकादेशको कथा भए जस्तै आज जनताको माग विपरीत चल्ने राजनैतिक दलहरू निकट भविष्यमा केवल इतिहासको पानामा सुरक्षित रहने कुरा सुनिक्षित देखिन्छ।

यो कुनै राजनैतिक दलप्रति कुनै आग्रह-पूर्वाग्रह होइन । देश विकासको निमित्त सबै जनताले राजनीति गर्नु पर्दछ भन्ने होइन तर सबै जनतामा ‘राजनैतिक चेतना’ हुनु अपरिहार्य हुन्छ । कम्तीमा पनि ‘कालो’लाई कालो र ‘सेतो’लाई सेतो भन्न सक्ने हैसियत सबैले राखौं।