हामी मानिसले सन् १९७७ मा भोयजर–एक (voyager-1) नामक अन्तरिक्ष यान ब्रम्हाण्डमा पठाएर हाम्रो सौर्य मण्डलको अन्तिम ग्रह यम (हालमा यमलाई ग्रहको श्रेणीबाट हटाइएको छ) लाई सन् २००४ मा छोडेर पछाडि पारिसक्यौं । जुन ग्रह सूर्यबाट ५९१००००००० किमी टाढा छ । हामीहरु धेरै टाढा पुगिसकेका छौं । अझ टाढा गइरहेका छौं ।
सन् १९९० मा पृथ्वीदेखि ६०० किमीमाथि हब्बल स्पेस टेलिस्कोप पुर्याएर हामीले अरबौं अरबौं कि.मी. टाढाका तारा नक्षत्रहरु पनि हेर्न भ्यायौं । भ्याइरहेका पनि छौं । हालसम्म १५०० वटा आकाश गंगाहरु देखिसक्यौं । एउटा आकाश गंगामा खरबौं ताराहरु हातेमालो गरेर जिइरहेका हुन्छन् । अनि हामीले हाम्रो आकाश गंगामा २५४ वटा अन्य सौर्य मण्डलहरु पनि देखिसक्यौं । हामी एउटा आकाश गंगा (खरबौं ताराहरुको एउटा समूह) मा रहेको एउटा सौर्य मण्डलभित्रको एउटा ग्रह पृथ्वीमा जन्म्यो–जन्मायो–मर्यो एक प्राकृतिक वृत्तमा घुमिरहेका छौं ।
पृथ्वी एउटा स्पेससिप (spaceship) हो । अर्थात एउटा बृहत् प्राकृतिक अन्तरिक्ष यान । जहाँ बसेर हामीहरु सूर्यको वरिपरि डुल्दै चक्कर लगाएर, उडिरहेका छौं । सूर्यचाहिँ एउटा आकाश गंगा वरिपरि उडेर घुमिरहेछ अनकन्टार ब्ल्याकहोलको चक्रव्यूहतर्फ । सूर्यलाई आकाश गंगा वरिपरि एक चक्कर लगाउन २३ करोड वर्ष लाग्ने गर्दछ ।
हामी आफू बाहिरको ब्रम्हाण्डमा कोसौंकोस टाढा पुगे पनि आफूभित्रको ब्रम्हाण्डमा यात्रा गर्न त्यति चाहँदैनौं । हामी आफूभित्रको यात्रा गर्न कम प्रयासरत छौं । उपलब्धीमूलक अन्वेषण पनि कम गरेका छौं । तसर्थ सानो प्रयास स्वरुप आफूभित्रको ह्यूज ब्रम्हाण्डमा भोयजर यान झैँ उडिरहने निधो गरेको छु, आफूभित्रको आकाश गंगामा हब्बल टेलिस्कोप झैँ विचरण गरी आफ्नो केन्द्रस्थानको दृश्यपान गर्ने संकल्प गरेको छु, आफ्नै चेतनासँग चुस्त–चुस्त भलाकुसारी गर्ने निर्णय लिएको छु ।
[bs-quote quote=”त्यसपछि निकै तल झरें । मसिना पुच्छर भएको कीराहरुसँग भेट भयो । उनीहरुलाई शुक्राणु नामले चिनिदोरहेछ । उनीहरुले, ‘तिमी पनि वास्तवमा हाइब्रिड शुक्राणु हौ’ भनी मलाई बताए । म अक्क न बक्क परें ।” style=”style-2″ align=”right” color=”#dd9933″ author_name=”हिमाल ओसिरिस्” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/himal-limbu.jpg”][/bs-quote]
म ‘म’ भन्ने अदृश्य तत्वलाई साक्षात्कार भेट गर्न चाहन्छु । ऊसँग मधुर मुस्कानसाथ बोल्न चाहन्छु । ऊसँग केही जिज्ञासा राख्न चाहन्छु । बुझ्न चाहने आशालाई जिउँदो तुल्याउन चाहन्छु । सायद ‘म’ ले पनि मलाई अन्वेषण गर्न चाह गरिरहेको हुनसक्छ । ‘म’ र मेरो फ्यूजन हुन जरुरी भइसकेको छ ।
कुनै बेला प्रायशः अबेरसम्म घोरिएर घोत्लिन्छु । आफूले आफूदेखि आफूभित्रैसम्म विचारको ड्रिल मेशिनले खनेर कठिन यात्रा गर्न पुग्छु । कल्पनाको जन्जालमा फसेँछु कि वास्तविकताको जञ्जीरमा बेह्रिएछु, खुट्याउन नसके पनि काल्पनिक वास्तविकतामा भने अवश्य जसोतसो बाँच्न सफल भए झैँ लाग्छ । कुनै बेला आफू अदृश्य कोष बनेर आफ्नै रक्त कोषहरुसँगसँगै नसा–नसा भएर बहन्छु । कुनैबेला आफ्नै स्वास–प्रस्वाससँग भित्र–भित्रै मित्रता गाँसेर रमाइलोपनको स्वास लिन्छु । स्नायुहरुलाई स्नेहको भाका सुनाउँछु । उसले स्मरण गरिदिन्छ । हाडहरुका कठोर कडापनलाई च्यात्ने प्रयत्न पनि गर्छु । तर म माने पनि मेरो मन मान्दैन । हाडहरु शेष भएर भग्नावशेषमा परिवर्तन भए म कसरी स्थिर रहेर थामिनु ? मलाई आफूभित्र रहेको ब्रम्हाण्डको गहिराइमा डुबेर जिउनु निको लाग्छ । त्यसैले आफूबाहिर रहेको ब्रम्हाण्डलाई कहिले काहीँ चटक्कै माया मार्न पुग्छु ।
म आफूबाहिरदेखि आफूभित्रै गुप्तस्थानसम्म अनुसन्धानात्मक अन्वेषण गर्न थालनी गर्दैछु । अहिले म मभित्रै छु ।
आफ्नो गिदीभित्र पुगेर गिदीकै बारे सोच्दा गिदी नै खलबलिने गर्दछ । कस्तो गिदी ह्याभ्स् भए जस्तो गिद्दी लागेर आउँछ । मेरो गिदीको औसत तौल १.४ किलो रहेछ । जसमा १०० देखि २०० विलियन (१ विलियन बराबर १ अरब हुन्छ) भन्दा बढी ब्रेन सेलहरु मैले भेटेँ ।
म अल्मलिँदै, अल्झिँदै अलि ओरालो झरें । त्यहाँ प्राणलाई टिकाइराख्न सक्ने वायुको जमात पाएँ । जसलाई फोक्सो नामले चिनिदोरहेछ । अनि त्यसलाई बाहिर निकालेर जमिनमा पैलाएर राखेमा एउटा ब्याडमिन्टन कोर्टको साइजभन्दा बढी जमिन ढाक्ने गर्दोरहेछ । अर्थात ८३ स्क्वायर मिटर स्थान ढाक्दोरहेछ । जसमा ३.८ लिटर हावा अटाउने गर्दोरहेछ । यसको लम्बाइ १०, १२ इन्च लामो भएको पाएँ । त्यहाँ ३०० मिलियन (एक मिलियन बराबर दश लाख हुन्छ) हावाका मसिना थैलाहरु रहेछन् । जसलाई क्लस्टर भनिँदोरहेछ ।
अनि अन्य स्थानतर्फ मोडिएँ । शरीरकै सबैभन्दा ठूलो अंग मानिने कलेजो कहाँ पुगें । शरीरभरिमा रहेका जति पनि रगतहरु हुन्छन्, त्यसको १० प्रतिशत यसैमा रहेको हुँदोरहेछ । यसले ५०० भन्दा बढी प्रकारका कार्यहरु गर्दछ भनी थाहा पाउँदा म आश्चर्यचकित भएँ । यसको मुख्य कार्य चिल्लो पदार्थलाई पचाउने र शरीरलाई आवश्यक पर्ने तत्वहरुलाई बैंक ब्यालेन्स गरेर राख्ने रहेछ । यो मात्र एउटा यस्तो अंग रहेछ । जसको सानो भाग टुक्रिन गएमा पनि फेरि पलाएर आउँदोरहेछ । एउटा वयस्क मानिसको कलेजोको तौल १.५ किलो र मोटाइ ६ इन्च हुँदोरहेछ । प्रत्येक मिनटमा १.४ लिटर रगत कलेजो भएर शरीरभरि बहने गर्दोरहेछ ।
अलि मास्तिर लागें । जसमा चलायमान स्वचालित कडा मांसपेसी भेटें । जसलाई मुटु भनिदोरहेछ । यो हाम्रो मुठ्ठीभन्दा अलिकति ठूलो हुँदोरहेछ । यसको तौल २३० देखि ३४० ग्रामसम्म हुनेरहेछ । एक मिनटमा औसत ७० पटक ढुकढुक ढुकढुक गरेर धड्किरहँदो रहेछ । ३.८ लिटरभन्दा बढी रगत प्रत्येक मिनट मुटुमा प्रवेश गर्ने रहेछ । ७६ वर्षको उमेरसम्म पुग्दा २.८ विलियनसम्म मुटु धड्कने गर्दोरहेछ ।
अनि अलिकति तेर्सो लागें । बृहत् झोला झैं थैलो देखें । त्यसको नाम आमशय रहेछ । यसको लम्बाई १० इन्च जति लामो पाएँ । जसमा ०.९ लिटर खाद्यन्नहरु अटाउने गर्दोरहेछ ।
अझै म मभित्र भित्रै छु । पछाडि ढाँडतर्फ लागें । मैले दुईवटा मृगौलाहरु देखें । एउटा मृगौला ४.५ इन्च लामो ३ इन्चसम्म चौडा हुँदोरहेछ । झण्डै झण्डै कम्प्यूटरको माउस् जतिकै आकारको । मृगौलाले एक दिनमा १८० लिटर बराबरको रगत फिल्टर गर्ने रहेछ भने १.५ लिटर पिसाब उत्पादन गर्दोरहेछ ।
त्यसपछि निकै तल झरें । मसिना पुच्छर भएको कीराहरुसँग भेट भयो । उनीहरुलाई शुक्राणु नामले चिनिदोरहेछ । उनीहरुले, ‘तिमी पनि वास्तवमा हाइब्रिड शुक्राणु हौ’ भनी मलाई बताए । म अक्क न बक्क परें । किनकि जुन कुरा मैले दाबी र घोषणा गरेको थिएँ । त्यही कुरा उनीहरुले मलाई बताएको थियो । शुक्राणुको आकार पुच्छर भएको लाम्चो अलमोण्ड जस्तो हुँदोरहेछ । यति सानो एक कोषीय जीवभित्र हाड, छाला, मांसपेशी, गिदी, कलेजो, मुटु, नशा, रगत, आन्द्रा, आमशय, मृगौला, हाम्रो सबै अंगहरु कता अनि कसरी अटेको होला ?
मेरो आँखाले मलाई हेर्छ र देख्छ । मैले चाहिँ मेरो आँखालाई देखें र हेरें । जहाँ १०७०००००० कोषहरु एकजुट भएर एकिकृत भएको पाएँ ।
आफूभित्रको यात्रामा रहँदा ३७ डिग्री सेल्सियसको अधिकतम तापक्रमले म उकुसमुकुस भएकोले आफूदेखि बाहिर प्राणधारी वायु ग्रहण गर्न निस्किएँ ।
अनि भित्रभित्रै निकै घुमफिर गरें र थाहा पाएँ, मेरो शरीर ७५०००००००००००० भन्दा बढी कोषहरु मिलेर बनिएको रहेछ । यति धेरै कोषहरु कसरी एक हुन आए ? सोच्दा–सोच्दै म आफूभित्रै झण्डै रन्थनिएर अल्मलिएँ ।
कोषहरुभित्र भित्र भित्र गएँ । केही पाइनँ । एकदम रित्तो थियो । शून्य । यही शून्यता नै मेरो वास्तविक स्वरुप रहेछ । म चाहिँ उसको छाया मात्रै रहेछु ।
मैले यो रहस्य पनि बुझेँ । म मानिस अद्भुत जन्तु । म आफसेआफ बाइ चान्स (by chance) द्वारा बनिएको होइन रहेछु । म अद्भुत रीतिले बनिएका थिएछु । म आफूले आफैँलाई एउटा उत्कृष्ट इन्टेलिजेन्ट डिजाइन (ID) पाएँ । कसैद्वारा योजनाबद्ध र व्यवस्थित रुपले योजनाकारद्वारा बनिएको डिजाइन । म एउटा डिजाइन हो भने मेरो डिजाइनर को ?
त्यसैले मैले मेरो अज्ञात डिजाइनरलाई सम्झन पुगें । डिजाइनरले मलाई स्वप्न दर्शनद्वारा सिनाइटिकस कडेक्सबाट एउटा श्लोक सम्झाउनुभयो । मैले सम्झें र हृदयको पाटीमा खोपेर भविष्यसम्मको चिन्हको लागि स्मारक बनाइराखें । त्यहाँ यसरी अक्षरहरु खोपिएर कुँदिएको थियोः–
‘किनकि तपाईँले नै मभित्रका अङ्ग प्रत्यङ्ग बनाउनुभयो, तपाईँले मलाई मेरो आमाको गर्भमा रच्नुभयो । म तपाईँको प्रशंसा गर्छु । किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु । तपाईँका कामहरु अद्भूत छन् । र त्यो कुरा म पूर्ण रुपले जान्दछु । जब अदृश्यमा म बनिदै थिएँ । मेरो रचना तपाईँबाट लुकेको थिएन । अनि जब म पृथ्वीको गहिराईमा रचिदैथिएँ । तपाईँका आँखाले मेरो नबनिएको शरीरलाई देखेँ । मेरो निम्ति नियुक्त गरिएको आयु तपाईँको पुस्तकमा लेखिएको थियो । त्यसको एउटै कुरा पनि पूर्ण हुन अघि सब लेखिएका थिए ।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।