घरअगाडि बाँसको कप्टेराले बारेको खोरबाट सुङ्गुरहरु ङार्ङार् ङुर्ङुर् कराइरहेछन् । कान्छा पोडे निद्रा खुले पनि मन मारेर आँखा चिम्ली सुत्छ । माथि सुतेकी बूढीआमा कराउँछे । ऊ सुनेको नसुन्यै भएर सुतिरहन्छ । आमाको फत्फत् झन बढ्छ, ‘चाँडै उठ् कान्छा ! खत्री गाउँको विवाहमा छिट्टै गरी जानुपर्छ भात सोर्न । मेरो यो बूढो शरीर सधैँ उत्तिकै दुखिरहेछ । झन् सधैँ मलाई नै चिन्ता छ । दशैँ आइसक्यो । ज्वाइँ, भाञ्जा आउँछन् । के खुवाएर पठाउनु ? दस–बाह्र टपरी सोरेर ल्याइस् भने पो अहिल्यैदेखि सुकाएर राख्न सकिन्छ । तैँले सोर्नु पनि पर्दैन । नातिलाई सँगै लैजा… भइहाल्छ नि ! नत्र त हेर् है बाबू, इज्जत जाला । बाबु–बाजेको बिँडो थाम्न सकिनस् भने त जन्मिएको के सार ? तेरो उमेरमा तेरत बाबु… सम्झिँदा पनि कस्तो कस्तो लागेर आउँछ । कति माछा मारेर ल्याएर खुवाउँथे । भोजको भातहरु सुकाउँदैको हैरान हुन्थ्यो । ख्वै तँ त … झन् देश–परदेश घुमेर आएको मान्छे । झन् अल्छी मात्र छस् ।’
उसलाई दिक्क लाग्छ । भोजको टपरी सोहोरेर बाबु–बाजेको बिँडो थाम्न दिक्क लाग्छ । जूठो सुकाएको भात खान घिन लाग्छ, अनि कात्रो कपडा लगाएर हिँड्न दिक्क लाग्छ । मसानबाट नजिकको घरमा बसेर सधैँ सधैँ मुर्दा सुँघ्न घिन लाग्छ । उसलाई यस स्थितिबाट उम्केर फेरि पनि कतै टाढा टाढा गएर बस्न मन लाग्छ । सहरको यस अन्त्य स्थान उसको लागि दुःखदायी साबित भैसकेको छ । भाग्न मन लाग्छ । यी एकाबिहानै सहरका गल्लीको जूठोहरु, नालहरु, गुहुहरु सोहोरेर खर्पन भिरेर भात खान फर्कने स्वास्नीबाट ।
उसले पनि पहिले खर्पन नै बोकेर सहरका गल्ली चाहारेर दुई चार पैसा बार्दलीबाट फ्याँकेका बगलीमा हालेर हिँड्ने गरेथ्यो उसको बूढोको बाबुसँगै । तर ऊ परदेश भागेको यो सब दुर्गन्धी स्थितिबाट उम्कन थिएन । उसलाई सम्झना छ, त्यतिखेर यो स्थिति असहज भएको थिएन । बाबु बूढो, जसले जीवनभर मुर्दाको कात्रो नै लाएर मर्यो, जूठो भात सार्नसिवाय केही जानेन । छोराछोरी जन्माउनसिवाय केही जानेन । जानेन उसले यस फोहोर गल्लीबाट उम्कन । जानेन उसले बाबुको बिँडो थाम्नुसिवाय । यो सहरबाहिर उसले केही जानेन । गाउँ जान्यो, केवल टपरी सार्ने नाताले । धान सोर्ने नाताले । खोला जान्यो केवल माछा मार्ने नाताले । बाबुले न कचहरी नै जान्यो न अड्डा–अदालत । न कसैको भाषण नै जान्यो । उसको बुबा आफ्नै किसिमको संसारमा बाँचेर मर्यो । उसको जेठो छोरालाई पनि यसै गरी हेर्न सिकाएर मर्यो । मसानघाट नजिक घुमाएर कात्रो लिन सिकायो । गाउँको भोजबाट टपरी सोर्न सिकायो । गल्ली चाहार्न सँगै लिएर हिँड्यो । आखिरमा उसको दाजुलाई दुर्गन्धी स्थितिलाई पनि सहज बनाइदिएर मर्यो । सहरको अट्टाहासको पात्र बनेर मर्यो । कान्छा पोडेको दाजु अहिले बाबुको स्थितिमै छ । ऊ यसै गरी नै बाँचिरहेछ जसरी उसको बाबुले बाँचेको थियो । सायद उसको बराजु पनि यसै गरी नै बाँचेको थियो होला ।
आमाको फत्फतबाट दिक्क मानेर त्यसै सुतिरहेको कान्छो पोडे कहाँ कहाँ सोच्न पुग्छ । आफ्नू परिवेशबाहिर सोच्न पुग्छ । सायद उसको बाबुले यसरी सोचेको थिएन होला । आफूप्रति कहिल्यै हिनत्वबोध गरेन होला । त्यसैले त छोराहरुलाई त्यही अट्टहासको बाटो सिकायो । कान्छा पोडेले अर्को संसार देखिसकेको थियो आफ्नू परिवेशबाहिरको । उसले विदेशबाट केही कमायो भने यही सहज स्थिति असहज भएर आउनु । यही फोहोर गल्ली घिन हुनु । अनि आफ्नू र आफ्ना छिमेकका दाजुभाइको स्थिति देखेर संवेदनशील हुनु । नोकरी उसले भाँडा माझ्ने गरेको नै किन नहोस्, तैपनि उसले धेरै कुरा देखेर जानिसकेको थियो । सहरको यस अन्त्य स्थानबाट निस्केर कतै सफा ठाउँमा गएर बस्ने इच्छा थियो । सफा घरमा बस्ने इच्छा थियो । सफा कपडा लाउने इच्छा थियो । यही धुन लिएर भाँडा माझ्ने कामबाट भागेर ऊ घर फर्केको थियो । यही चाहाना र यही विचार लिएर ऊ आफ्नू पुरानो घरभित्र पसेको थियो, आजभन्दा दुई वर्षअघि । घरको विपन्नताले उसको सोचाइको प्रतिकूल भयो । धुनको प्रतिकूल भयो । आखिर जिन्दगीको इच्छाको प्रतिकूल रह्यो । अनुकूल वातावरण उसको कहिले हुन सकेन । उसकी स्वास्नीलाई आफूअनुकूल बनाउन खोज्यो । नाल सोर्न छोड्ने नियति लिएर स्वास्नीलाई सँगै लिएर गई कुल्ली काम गर्यो । विपन्नतामा केही सुधार आउन सकेन । कुल्ली काम सकियो, त्यसपछि के गर्ने ? ऊ आफैँ खेती नभएको मान्छे । काम पाएन । उसले काम पाएन । एकाबिहानै कुचो बोकेर सडक सफा गर्नुसिवाय काम पाएन । उसकी स्वास्नीले कहतारो बोक्नु नै पर्ने स्थिति आयो । उसले यो पनि नसोचेको होइन कि ढकी बुनेर नै जीविका चलाऊँ । तर ढकीबाट पनि जीविका चलेन । त्यहाँ पनि उसले धर पाएन । परिस्थिति नै सोचाइको प्रतिकूल बनिदिएपछि उसले के गर्न सक्थ्यो ? आखिर पुरानो स्थितिभन्दा बढी उसले कसरी सुधार ल्याउन सक्थ्यो एक्लो व्यक्तिले ?
उसले उधारो लिने ठाउँ पनि सकिएको थियो । उधारो लिएको पैसा तिर्न नसक्दा उसले कति बाजी त साहुको पसलअगाडिबाट भाग्नु परेको छ ।
मन नलागी नलागी कान्छो उठ्यो, सुतिरहन वाक्क भएर । उसकी स्वास्नी बिहानै उठेर पानी लिन इनारतिर गइसकेकी थिई । उठेर घुँडा फाटेको मैलो सुरुवाल लगायो । कुइना फाटेको कमिज लगायो । कालो जरिकोट भिर्यो । उसका आँखामा फाटेका लुगा टल्किए, दशैँको मुखमा फाटेका लुगा उसका लागि बढी दर्दनाक कुरो थियो । फाटेका लुगा लाउन उसलाई हिनत्वबोध भइसकेको थियो । तैपनि त उसको तत्काल लुगा किन्न कहाँबाट पैसा आउने ? उसको कहीँ पनि पैसा आउने स्रोत थिएन । ऊ न कात्रो नै भिरेर हिँड्न मन पराउथ्यो न जाल हानेर माछा मारेर । न उसले गाउँबाट अन्न नै मागेर ल्याउँथ्यो । परदेशबाट ल्याएका जडौरी लुगाहरु पनि उसको कुनै बाँकी थिएन । लुगाको त समस्या थिएन परदेशमा । तर अब ऊ साँच्चै नै मुस्किलमा परेको थियो । उसले उधारो लिने ठाउँ पनि सकिएको थियो । उधारो लिएको पैसा तिर्न नसक्दा उसले कति बाजी त साहुको पसलअगाडिबाट भाग्नु परेको छ । ‘साँच्चै नै यहाँ बसेर मेरो गुजरान हुँदैन ।’ ऊ मनमनै विचार गर्दै थियो ।
बगलीबाट ठुटो बिँडी झिक्यो र सल्कायो । सल्किएको ठुटो बिँडीको धूवाँ–धूवाँसँगै मिलेर भागिरहेको थियो । घरअगाडि पेटीमा निस्क्यो । जताजतै फोहोर व्याप्त थियो । सूर्यका किरणहरु नालसम्म पनि आइपुगिसकेका थिएनन्, पारि कसाईको पसलसम्म पनि आइपुगिसकेका थिएनन् । माथि जङ्गलको गुँरासको गुच्छाहरुमा रातै भएर घाम छरिएको थियो । सुङ्गुरको लिँड छरिएको सडकअगाडि उभिँदाउभिँदै घाम कसाईले काटेको राँगोको जीउसम्म आइपुग्यो ।
उसकी स्वास्नीले माटोको गाग्रोमा पानी ल्याएर गग्रेटोमा राखी । बिँडी उसले बसरी तान्यो र फ्याँकिदियो । सडकको चारैतिर हेर्यो । टोलका केटाकेटीहरु त्यही लिँडहरु, जूठोहरु, परालहरु कुहिएर गनाइरहेको सडकमा लौसीको बियोँको गुच्चा खेल्न सुरु गरिरहेका थिए । उसले हेरिरह्यो । भित्र आमाको फत्फत् सुन्न नसकी फुत्त बाहिर निस्क्यो । चियापसल नजिक गयो । बाहिर उभिएर चिया माग्यो ।
‘आज किन उदास देखिन्छस् ए कान्छा ? खत्री गाउँको भोजमा गइनस् ?’ दूध बोकेर आउने एउटा गाउँलेले सोध्यो ।
‘के जान्थ्यो ? विदेश घुमेर आएको कान्छो न हो । पैसा कमाएर ल्याएको छँदै छ होला त । पैसा भएसम्म किन टपरी सोर्ने भन्ने विचारले गम्म परेर बसेको हुनुपर्छ । फुर्ती छ कान्छाको, कसो ?’ होटेलको साहूले कुरा थप्यो ।
‘के फुर्ती नहोस्, टोलमा सदस्य हुन उम्मेद्वार भइसकेको कान्छो पो हो । हारेर पो त ! नत्र त कान्छो पोडेले के के गथ्र्यो के के ? थाहा छ जमाना फेरिसकेको छ ।’ चिया पिउँदै गरेको मान्छेले कुरा थप्यो । कान्छो पोडेको उपहास होटलभरि गुञ्जिरहेको थियो । सबै जना हँस्सी उडाउन पाएकोमा रमाइरहेका जस्ता देखिन्थे ।
बाहिरको केही नयाँ परिवर्तनहरु देखेर आफ्नू समाजको बिग्रिएको स्थिति सुधार्न चाहने प्रवृत्तिको कान्छो पोडे थियो ।
‘हुकुचा होटल नेवार मरेका भए त कान्छाले जित्थ्यो, तर के गर्नु सबै जिउँदै छन् ।’ अर्को बुज्रुकले कछाडको फेर घुँडासम्म तान्दै भनिरहेको थियो । कान्छो पोडेले केही नभनी हेरी मात्र रह्यो । चिया पिइसकेर पानी माग्यो । होटलको नोकरले उसलाई पानी हालिदियो । गिलास खकालिसकेर कान्छो पोडेले साहूजीसँग बिँडी माग्यो । सल्काएर हेरिरह्यो भुइँतिर । वास्तवमा उसले चुनाउ उसका आफ्नै जातले भोट नदिएर हारेको थियो । आफ्नै जातले उसलाई विश्वास नगरेर उसले हारेको थियो । ऊ खिन्न हुँदै घोरिरह्यो । होटलको हाँसोले उसको मनको बाघलाई झन् बढाइदियो । चुनाउ हार्नु, यो उसको जिन्दगीको हारमध्येको एउटा महत्वपूर्ण हार थियो । पोडे–च्यामेको गन्हाउने स्थिति सुधार्नेको हार थियो । दासता–जीवनबाट उम्कनेहरुको हार थियो । उसको एउटा सुनौला लहरको हार थियो ।
वास्तवमा उसले न भाषण नै छाँट्न जानेको थियो न अरु चाप्लुसीहरु । कान्छो पोडे सोझोपनको साधारण मानिस थियो । बाहिरको केही नयाँ परिवर्तनहरु देखेर आफ्नू समाजको बिग्रिएको स्थिति सुधार्न चाहने प्रवृत्तिको कान्छो पोडे थियो । न उसले आफूलाई नेता सम्झिएको थियो न उसमा कुनै स्वार्थ नै लुकेको थियो । उसको हारपछि ऊ केवल समाजको अट्टहासको पात्र बन्यो । दाजुभाइको उपहासको पात्र बन्यो । ऊ अब यस दुर्गन्धबाट अलग भएर मात्र बस्न चाहान्थ्यो ।
ऊ सरासर घरतिर लम्क्यो । होटलमा अझै पनि उसका कुराहरु भैरहेका थिए । उसलाई खत्री गाउँमा जान पनि मन लागेन । कही काम गर्न पनि मन लागेन ।
आखिरमा के गर्न सक्दछु र यस उपहासले भरिएको सहरमा मजस्तो सानो जातिको गरिब मान्छेले !– ऊ आफैँले चारैतिर निराशा देख्यो । स्वास्नीको कमाइ खाएर बस्न पनि उसलाई दिक्का लागिरहेको थियो ।
आमाले गाली गर्ने कुरामा ध्यान नदिई कान्छो पोडे रित्तो हात लिएर घरतिर लम्क्यो । टपरी सोर्न नजाने अठोट गरेर फक्र्यो । यो समाजबाट अलग भएर अन्त कतै जाने अठोट गरेर घरभित्र पस्यो, रित्तो हात लिएर ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

