फाइन प्रिन्टको फेसबुक पेजमा अपडेट खबरबाट मैले थाहा पाइसकेको थिएँ, असीम सागरको ‘क’ कवितासंग्रह प्रकाशित हुँदैछ । तर मैले खासै त्यतातिर वास्ता गरिरहेको थिइनँ । किनभने असीम सागरका कुनै पनि कविता मैले पढेको थिइनँ । केही दिनपछि साहित्यकार प्रमोद अमात्यको एउटा पोष्ट देखेँ, जहाँ लेखिएको थियो, ‘कहिलेकहीँ उहाँसँग (असीम सागरसँग) कुरा हुन्छ । एक दिन उहाँले मेरो कविता पत्रिकाले छाप्दैन भन्ने दुःख पोख्नुभएको थियो । एक वर्षपछि आज किताब प्रकाशन भएको खबरले म हर्षित भएको छु…………।’

यो पढेपछि मैले ‘राम्रो रचना नयाँ लेखकले लेख्न सक्दैन’ जस्तो शंका गर्ने पत्रिकाहरु सम्झिएँ । त्यसपछि उनलाई खोज्न बाध्य भएँ । मैले असीम सागरबारे गुगलमा सर्च गरेँ । उनको फेसबुक प्रोफाइल हेरेँ । केही कविता खोजेर पढेँ, राम्रा लागे । तर, उनको ‘टेको’ कविताले मलाई यसरी तान्यो कि, संग्रहभित्रै लगेर हुत्याइदियो ।

……

वर्गीय विभेद जुनसुकै समाजले पहिरिने गहना हो । हुनसक्छ, नेपालले त्यो गहनालाई अन्य मुलुकको तुलनामा अलि बढी मुल्यवान ठान्ला । त्यस्तो नहुँदो हो त हामी बाँचेको समाजमा ७/८ ओटा वर्गीय तह बन्ने थिएन होला । यदि त्यस्तो तह नबन्दो हो त ‘वर्गचित्र’ कविताको जन्म हुने पनि त थिएन होला । मैले आफूलाई ‘माखा धपाउँदै खाना खाने’ वर्गमा पाएँ होला सायद ! नत्र त्यहाँ पुगेर रोकिनुपर्ने कुनै अन्य कारण थिएन । यस संग्रहको पहिलो कविताले मलाई धेरैबेर रोकिदियो । निक्कै भावुक बनायो ।

[bs-quote quote=”मन्दिरबाट फुत्त आएर मान्छेको मनमा बस्न सक्ने भगवान, घरको आँगनमा गएर आफैँ फूल हेर्न सकिहाल्नुहुन्छ नि !” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”विवेक धिमाल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/IMG_2517.jpeg”][/bs-quote]

मेरो परिवारले हिन्दु धर्ममा विश्वास गर्छ । हिन्दु परिवारमा जन्मिएको हुनाले म पनि त्यसै हिन्दु भइहालेँ । आफू बुझ्न सक्ने भएपछि म नास्तिक पनि हुन सक्थेँ तर भइँन अथवा हुनुपर्ने आवश्यक ठानिनँ । यदि भगवानलाई आफ्नो परमपुर्खाको रुपमा मात्र लिने अथवा जसको कारणले आज हामी छौँ भन्ने सोचेर उनीहरुबाट ठूल्ठुला चामत्कारीपूर्ण सहयोगको अपेक्षा नगर्ने हो भने नास्तिक हुनुपर्ने नै केलाई छ र ?

म हरेक दिन विहान र साँझमा घरको सानो मन्दिरमा पूजा गर्ने गर्छु । बिजुलीबत्ती बाल्छु, अगरबत्ती जलाउँछु र प्रार्थना गर्छु । मलाई अगरबत्तीको बाश्नाले अन्तर्मनको यात्रा गराए झैँ लाग्छ । तर अपवादबाहेक प्रायः म फूल चढाउँदिनँ । किनभने त्यति राम्रो फूलको घाँटी निमोठेर मलाई चढाओ भनेर भगवानले भन्नुहुन्छ जस्तो लाग्दैन । मन्दिरबाट फुत्त आएर मान्छेको मनमा बस्न सक्ने भगवान, घरको आँगनमा गएर आफैँ फूल हेर्न सकिहाल्नुहुन्छ नि !

‘फूलहरुको विज्ञप्ति’ कविताको एक ठाउँमा कविले भनेका छन्:

फूलहरुलाई
बरु त्यति डर लाग्दैन
हतियार बोकेर हिँड्ने योद्धाहरुसित
जति डर लाग्छ
मन्दिरमा जाने भक्तहरुसँग ।

यो हरफ पढेपछि मचाहिँ ढुक्क भएँ, फूलहरु मसँग डराउने रैनछन् । बरु तपाईसँग पो डराउने हुन् कि ?

यस्तो हुनै सक्दैन—
‘डस्टर’ कविताले मलाई स्कुले जीवनमा नफर्काओस् र सोच्न बाध्य नपारोस् । डस्टर कति निकम्मा र स्वार्थी बानी बोकेर ब्ल्याकबोर्डमा दौडिरहेको हुँदोरैछ भन्ने कुरा । ‘पृथ्वीको आयु’ले मेरो आयको निर्धारण नगरोस र म मान्छेले मेरो आयुसँगसँगै पृथ्वीको पनि आयु घटाउँदै गरेको छर्लङ्ग नपारोस् । ‘याद’ले कसैको यादमा नडुबाओस्, ‘जीन्दगीको गाडी’ले नघिसारोस् मेरो जिन्दगी । यस्तो हुनै सक्दैन ।

गाउँमा छँदा म सानै उमेरदेखि मलामी जाने गर्थेँ । लाश बोक्न नसके पनि मलामीचाहिँ जानैपर्छ भन्ने लाग्थ्यो । जंगलको बाटो हुँदै लाशलाई घाटमा पुर्याएपछि हामी दाउरा खोज्न जान्थ्यौँ । हामी दाउरा लिएर आइपुग्दा केही काकाहरु तास खेल्न बसिसकेका हुन्थे । त्यो देख्दा मलाई साह्रै नराम्रो लाग्थ्यो । मैले बुझ्न सकिरहेको थिएनँ, उनीहरु खेल्नका लागि कसैको मृत्यु पर्खन्थे ? वा त कसैको मृत्युले उनीहरुलाई खेल्ने फुर्सद जुराउँथ्यो ?

आजकल पनि इटहरी, विराटनगरतिर थुप्रै मलामी जान्छु । फेरि यतातिर लाश जलुन्जेल कसैलाई बस्ने फुर्सद हुन्न रैछ । सुरुमा भरिभराउ घाट एकैछिनमा खाली हुन्छ, जतिबेला लाशका आँखासमेत जलिसकेका हुँदैनन् । यस्तो देखेर लाशले के सोच्दो हो ? मलाई अचम्म लाग्छ, जिन्दगीको अन्तिम गन्तव्यमा पुगेर पनि मान्छेहरुलाई कत्रो हतार होला ?

‘मलामी गएको साँझ’ कविता पढेपछि मलाई थुप्रै लाशहरुले ताने घाटसम्मै । र मुस्कुराउँदै भनेँ— जिन्दगीमा त्यतिधेरै हतार पनि नगर्नु, जति हतार हामीलाई जल्नका लागि हुन्छ ।

एकपटक ‘घरबेटी बा र नानीहरु’ कविताले मलाई डोहोर्याएर लग्यो र कोटेश्वरको एउटा अँध्यारो कोठामा लगेर थुनिदियो । जहाँ बसेर मेरा साथीहरु असल विद्यार्थी बन्न संघर्ष गरिरहेका थिए । हो, त्यहीँबाट भर्खरै प्लस टु सकाएर काम गर्दै पढ्दै गर्ने मेरो उद्देश्य विहान घरबेटी नउठ्दै कोठाबाट निस्कन्थ्यो र राति घरबेटी सुतेपछि मात्र कोठामा लुसुक्क छिथ्र्यो । जाबो एउटा मरन्च्याँसे ज्यान पाल्न त त्यति सकस परेथ्यो भने बालबच्चासहित भाडामा बस्नेहरुको दैनिकी पक्कै सहज नहोला । हुनसक्छ, सबै घरबेटीमा यो कुरा लागु नहोला । त्यसैले त कविले कविताको अन्त्यमा भनेका छन्– ‘तर यहाँ सबैको मन ढुङ्गा हुँदैन ।’

चीरपरिचित संकेतमा बानी परेर होला, ‘चक्र’ कवितामा म झुक्किएँ र कविता सकिएको छैन भन्ने आशले अर्को पाना पल्टाएँ । अनि पो बल्ल बुझेँ, हरेक कविता पूर्णविराममा अन्त्य भएका रहेछन् । उच्चारण गर्नै अप्ठ्यारो लाग्ने क्लिष्ट शब्दहरु खाँदेर कविताको वजन बढाउन सकिन्छ भन्ने मान्यता यो संग्रहमा भेटिन्न । बरु सरल भाषामा लेखिएका प्रायःजसो कवितामा कतै आफैँलाई पाइन्छ भने कतै आफैँलाई हराइन्छ पनि ।

किताब पढ्नु शब्दहरुको फगत ताण्डव हेर्नुमात्र होइन बरु हरेक शब्दमा आफ्नो जिन्दगी भेटाउनु पनि हो । पढ्दै जाँदा यस्ता शब्दहरु भेटिउन् जसले आँसु पुछेर वर्षौँसम्म कन्तुरको कुनामा सुरक्षित राख्न पाइयोस् । कतै यस्ता वाक्यहरु भेटिउन्, जसलाई अँगालो हालेर रुन सकियोस् ।

साहित्यकार नेत्र एटमले मेरो एउटा पोष्टमा कमेन्ट गर्नुभएको थियो, ‘कुनै पनि संग्रहका १० प्रतिशत कविता मन परे भने त्यो संग्रह राम्रो हो ।’

तर मलाई त यस संग्रहका ७० प्रतिशत कविता मन परे । अब के भनौँ ?

अँ, यति चाहिँ भन्छु, ‘क’ कविताहरूकाे संग्रह हो असीम सागरको कवितासंग्रह ‘क’ ।