आखिर जीवन भन्नु पनि के छ र ! एक मुठ्ठी प्राण न हो । अनि त्यही भोगाइहरुको सँगालो ! तर सोच्नुस् त, जीवनमा भोगिने हर भोगाइमा अलिकति पनि खुसी मिसिएन भने कस्तो होला ?

एउटा भनाइ छ। “धनीको खानपिन मीठो, गरिबको कथा मीठो”। हो, त्यही तीतो जीवनको मीठो कथाकी पात्र हुन् उनी । उनी अर्थात् मेरी छिमेकी । हुन त उनी मेरो बाउआमातिरका सात सात पुस्तासम्मको नाताले पनि नभेट्ने मान्छे हुन् । तर बडो अनौठो नाता छ । जस्तो कि घर जोडिएका तर मन नजोडिएका दुई छिमेकीहरु जसको पानी पँधेरो एउटै छ, तर ऊ नमर्दासम्म माया लाग्दैन ।

स्वार्थ मानव चोलाको रगतमै सवार छ क्यारे ! आज यो लेखिरहँदा यही लागिरहेछ ।

उनको मृत्यु मुटुको व्यथाले भयो । देख्नेहरु भन्थे, “मर्नेबेला नाक र मुखबाट बगेको रगत भुइँमा ताल बनेको थियो।”

तर किन मलाई लागिरहन्छ, दिनको दुई बजेतिर उनी अजङ्गको घाँसको भारी बोकेर आउनेछिन् । त्यो पल्तिरको बारीमा मल पुर्याउन हाम्रै घरको बाटो भएर अब एकैछिनमा आइहाल्छिन् । मानौँ म उनको बडेमानको पानीको गाग्रोसँग बानी परेको छु । आफ्नो बिस्तारामा पल्टिएर उनले आफ्नो प्रतिरक्षामा फर्काएको दुई शब्दमा न्याय खोज्न अभ्यस्त भएकी छु । धौलागिरि हिमालको साँठले ढक्क मुटु फुलाउने हिउँदमा रातको दश बजेतिर बज्ने उनले माझ्दै गरेको भाँडाको कल्याङमल्याङ आवाज मेरो लागि संगीत हो ।अझ यस्तो भनौँ, त्यो संगीतविना निद पर्न छोडेको छ अचेल ।

सिङ्गो गाउँ (जहाँ म पनि बस्छु) लाई उनको नाम थाहा छैन । पतिको पद या नामको विशेषण बनाएर पत्नीको नाम राखिदिने समाजमा उनी लगायत धेरै महिलाको नाम अलपत्र परेको छ । अनिश्चित गर्व जस्तै बेवारिसे ।जिम्बाल्नी, मुखिनी, सचिवनी, तल्लाघरकी, माथ्लोघरकी, जेठी, माइली यी विशेषणहरु आफ्ना नाम हराएका समाजका उनीजस्तै अरु आइमाईका नाम हुन् । तर उनको नाम श्रीमानको पदसँग पनि जोडिएन, उनको नाम त उनी विलय हुनुभन्दा धेरै पहिले विलय भयो । नाम जोडियो त केवल उनको होचो कदसँग । उनी डल्ली, भुन्टी, स्यानी सबथोक बनिन् । केवल एक प्रिय सम्बोधन बनिनन् ।

र उनको मृत्यु मुटुको व्यथाले भयो । देख्नेहरु भन्थे, मर्नेबेला नाक र मुखबाट बगेको रगत भुइँमा ताल बनेको थियो।

“मर्दको सयवटी हुन्छन्” भन्ने तत्कालीन समाजमा मर्द कहलिएको उनको श्रीमानकी चौथो श्रीमती हुन् उनी । होइन होइन, उनी श्रीमती भनेर भित्र्याइएकी होइनन् । भात पकाउने बाहुनी केटी चाहिएर भित्र्याइएकी रे ! राज दरबारमा भित्र्याइने सुसारे नानीहरुजस्तै । त्यसैले त उनको हैसियत भात पकाउनेभन्दा माथि कहिल्यै उठेन यत्रो सग्लो जीवनकालमा । उनको माइतीघरमा आमाको चाँडै निधन भयो । बाले आफन्त कहाँ गोठालो बसेर हुर्काएकी छोरी आफ्नी नाताकी फुपूको श्रीमानका लागि विवाहको कठित नाम दिइएर भात पकाउन आइपुगिन् । जसको फुपू र सौता एकै व्यक्ति थिइन् । श्रीमान् र फुपाजु पनि एकै ।

[bs-quote quote=”र उनको मृत्यु मुटुको व्यथाले भयो । देख्नेहरु भन्थे, मर्नेबेला नाक र मुखबाट बगेको रगत भुइँमा ताल बनेको थियो।” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”आरती आचार्य” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/IMG_20201105_100020_123.jpg”][/bs-quote]

बिहे हुनुअघि निश्चय नै उनका इच्छाहरु सोधिएनन् । उनका बाले पनि छोरीको बिहेमा “नान्दिक” श्राद्ध गरे होलान् पितृ खुशी पार्न।उनलाई पनि सोझो अर्थमा लागेको हुँदो हो ,”श्राद्ध त मरेपछि गरिन्छ । सायद मेरा बाका निम्ति म आज मर्दै छु क्यारे !” त्यो उमेरमा उनलाई कसले हिम्मत दिने, “पितृ खुसी पार्ने नान्दिक श्राद्धहरु किन छोरीकै बिहेमा गरिन्छ ? छोराको बिहेमा गर्न मिल्दैन या छोरी श्राद्ध गरेर दान दिने गाई जस्तै हुन् ? कन्यादान, आखिर छोरीहरु दानै गर्नलाई हुन् त ?” यी प्रश्नहरु सोध्न ?

विवाहपश्चात प्रायः हरेक महिलाको इच्छा हुन्छ आमा बन्नु। गाउँका अरु पँधेर्नीहरुले जस्तै, “केट्केटीले चुसेका मासुका थुप्रो न हुन् यी स्तन भन्नु पनि, केको लाज ?” भन्दै छातीका चोली निर्लज्ज फुकाल्न उनलाई पनि मन हुँदो हो । तर उनका यी इच्छाहरु कहिल्यै पूरा भएनन् । र त छाती बनेर स्तन नबनेका आफ्ना छातीहरु छोपिरहिन्, जसरी पितृसत्ताले छोपिरह्यो उनी हुनुको अस्तित्व ।

उनलाई पनि कहाँ इच्छा थिएन होला र सन्तानको तोते बोलीमा “आमा….” शब्द सुन्न । नहतारिएका कहाँ होलान् र उनका श्रवण इन्द्रिय, ” सबभन्दा बढी कसको माया लाग्छ नानी ?” भन्दा “आमाको” भन्ने जवाफ सुन्न । यद्यपि समाजले उनलाई बाँझीको उपमा भिराइदियो जबरजस्ती उनीलगायत उनका दुई सौताहरुलाई, जसमा उनकी नाताकी फुपू पनि परिन् । मलाई लाग्छ, दोष उनीहरुमा होइन श्रीमानमा थियो । नत्र बिहे गरेका सबै श्रीमती बाँझी कसरी हुन सक्छन् ? तर समाज पुरुषलाई नपुंसक देखाउन चाहेन र चाहेन पुरुषको कमजोरी उदाङ्गो पार्न । त्यसैले त बाँझी आइमाईको श्रीमान नपुंसक हुन पनि सक्छ भनेर प्रश्न नै उठेन, केवल शंकासम्म गर्न सकिएन ।

खैर जेहोस्, उनको मृत्यु मुटुको व्यथाले भयो । देख्नेहरु भन्थे, मर्नेबेला नाक र मुखबाट बगेको रगत भुइँमा ताल बनेको थियो।

नत्र जीवनका सबैखाले यात्राहरुमा उनका सहयात्री आँसी, बाउसो, डोको, नाम्लो, गाग्री, चुलो र पँधेराहरु मात्र बने ।

जीवनकको कालखण्डमा समाजलाई उनी कहिल्यै चाहिएन, उनलाई समाज त झन् किन चाहिन्थ्यो र ! जब जङ्गलको दाउरा काट्ने दिन आउँथ्यो, जब अप्ठ्यारो भीरमा घाँस काट्नु पर्थ्यो, जब माटो खन्ने मट्किल्नाहरु देखाउनु पर्थ्यो, जब कमेरो खन्न जानुपर्ने हुन्थ्यो, तब मात्र उनका साथीहरु बन्थे । नत्र जीवनका सबैखाले यात्राहरुमा उनका सहयात्री आँसी, बाउसो, डोको, नाम्लो, गाग्री, चुलो र पँधेराहरु मात्र बने ।

जिन्दगी भोगाइ हो भन्छन्, तर उनका भोगाइहरुमा भोक धेरै आइपुगे । विहानै उठेर ढिकीजाँतो गर्नेबेलाको भोक, दिनभरिको मेलाबाट फर्कँदा घरमा नराखिएका खानेकुराको भोक, दिउँसो काम गर्दैगर्दा पटुकीले कँसिएका भोक, कसौँडीमा भातको सितासम्म नबसेपछि भोकै सुत्नुपर्दाको भोक। महिनावारी भएर एकसरो कपडामा रात बिताउँदा त्यो सबेरै लाग्ने भोक । जीवनमा कमैले भोग्छन् यति धेरै भोकका प्रकारहरु । “चोट” कसैले चोटकै प्रकार सोध्छ भने उनी फ्याट्टै भनिदिन्छिन्, श्रीमानका गोर्खे लौरीहरुका चोट, उनका बलिया लात्तीहरुका चोट, पितृसत्ताको प्रतिनिधि चोट ।

श्रीमती कुटेर मर्द बन्ने समाजको एक होनहार मर्दकी श्रीमती उनी उर्फ “स्यानी” । सौताको हेपाहा चोट, केश लुछिएका चोट, समयमै घाँस नकाटेपछिका चोट, भाँडा धुन आनाकानी गरेपछिका चोट, बाँझी हुनुको मनोवैज्ञानिक चोट, समाजको नजरले डसेको चोट । चोट, चोट र मात्र चोट । तर यहाँ त सामान्य नागरिकका चोटसम्म बिक्दैन । बिक्री नै गर्नु परे पनि तपाईंको चोट बिक्न तपाईं कुनै ठूलो मान्छे बन्नुपर्छ । हाय चोटहरुको व्यापार ! विज्ञान देशै छोडेर अन्तरिक्षमा बसाइँ सर्न सुरसार गरेको बेला नारी समावेशिता र सशक्तिकरणले उनको घरको दैलोसम्म पनि टेक्न मानेन ।

खैर जेहोस्, उनको मृत्यु मुटुको व्यथाले भयो । देख्नेहरु भन्थे, मर्नेबेला नाक र मुखबाट बगेको रगत भुइँमा ताल बनेको थियो।

सिरु र फूलखरीहरु, बन्सो र बुकीहरु, लालुपाते र गुँरासहरु, उत्तिस र कटुसहरु, खनिउँ र कुटमिरोहरुबाहेक उनले अर्को संसारको कल्पना गर्ने समय पनि पाइनन् । यदि कसैले “तिमीभन्दा कयौँ वर्ष पहिलेकी महिलाले भौतिक र रसायन शास्त्रमा नोबेल पुरस्कार पाइन्, तिमीजस्तै महिला चन्द्रमा पुगिन्, तिमीजस्तै महिला विकसित देशको नेतृत्व हाँक्छिन्” भनेर सुनाइदिएको भए उनी के सोच्थिन् होला ? कम्प्युटरका प्रोगामहरुले रकेट नियन्त्रण गर्छन्, त्यही प्रोगाम गर्ने पनि पहिलो महिला नै हुन्, विज्ञान अब चन्द्रमामा बस्ती बसाउने भन्छ भन्दै सुनाएको भए उनको प्रतिक्रिया के हुन्थ्यो होला ? उनका जिज्ञासा र प्रश्नहरु कस्तो आउँथे होला ?

खैर जेहोस्, उनको मृत्यु मुटुको व्यथाले भयो । देख्नेहरु भन्थे, मर्नेबेला नाक र मुखबाट बगेको रगत भुइँमा ताल बनेको थियो ।

अब उनी भाँडा माझ्छिन् । भोलि विहानै सबै काम गर्छिन् र मलाई उसैगरी बोलाउनेछिन्- ओए कान्छी, कहिले आइस् सहराँट ?”।

संसारमा अन्तिम दिनको पाहुना रहेको दिनसम्म पनि उनी आफ्नै मृत्युको नियति बोकेर कतै जङ्गलमा घाँसको भारी बोक्ने असफल प्रयास गर्दै थिइन् । धन्न ! कसैले भेट्यो र घरसम्म ल्याइपुर्यायो नत्र एक भारी घाँस र एकमुठी सास कतै जङ्गलमा अलपत्र….।

उनको काजकिरियामा दशदान गरियो । मलाई भने सब बेकार लाग्छ । जसले बाँचुन्जेल गतिलो नाम पाएन, पहिचान र अस्तित्व पाएन उसलाई मरेपछि दशदानको के अर्थ ? हुन त उपचार नपाएर मरेको गरिबले नै अक्सर यहाँ पैसाको माला पाउने गर्छ । आज उनी छिनन् तर पनि लाग्छ, “दश बज्नै आँट्यो । अब उनी भाँडा माझ्छिन् । भोलि विहानै सबै काम गर्छिन् र मलाई उसैगरी बोलाउनेछिन्- ओए कान्छी, कहिले आइस् सहराँट ?”।

तर मलाई लाग्ने मात्र हो । अहँ, अब उनी आउँदिनन् । उनलाई न अब कसैको कुटाइ र ओठे जवाफ नै खानुपर्छ । समाजका अनुसार उनले आफ्नो दुख लुकाइन् ।

खैर जेहोस्, उनको मृत्यु मुटुको व्यथाले भयो । देख्नेहरु भन्थे, मर्नेबेला नाक र मुखबाट बगेको रगत भुइँमा ताल बनेको थियो ।

नारी अस्तित्वलाई फगत वस्तु ठान्ने समाजले उनको अस्तित्वको कुनै मूल्य देखेन । उनी महिलाहरुबाटै पनि हेपिइन् । पितृसत्तालाई पुरुषले मात्र बढावा दिने त होइन क्यारे ! सासू, बुहारी, आमा, छोरी ! मेरो पुस्तामा पनि छ, पितृसत्ताको दवदवा । धेरै बुहारीहरु सासुबाटै अपहेलित हुन्छन्, महिलालाई बढी हेप्ने महिला (नारी जाति नै) हो । एक समय थियो, म पनि उनलाई गाली गरिरहेको हुन्थेँ । सायद मैले समाजबाट यही सिकेँ कि दबाइएकाहरुलाई उठ्नै नसक्नेगरी पेल्नुपर्छ । आज त्यही पश्चाताप गर्दै छु…..।

लेख्नेहरुले कुनै विख्यात व्यक्तिको जीवन लेख्छन् । उनीहरुका दुःख लेख्छन् र उनीहरुको अवसानमा दुख्छन् । तर मलाई यी गुमनाम मृत्युहरुले झन् बढी दुखाउँछन् । जसले कहिल्यै न्याय नामको शब्दको अर्थसम्म बुझेन, जसलाई समाजले मलामी दिन पनि कन्जुस्याइँ गर्छ, एक नारी जसले जन्मघरमा आफ्नो बाल्यकाल पनि नभोगी पुरुषको घरको अस्तित्व बचाइदिई, कथित इज्जत धानिदिई, आफ्नो आकाङ्क्षाहरुको तिलाञ्जली दिएर कसैको सिन्दुरको गरीमा बचाइरही, बदलामा के पाई ? यही कि गोर्खे लौरीहरुका सुम्ला, सौताको हेपाइ, आमा नबनेका भोगाइ र समाजमा तिरस्कारको सम्मान ?

थाहा छैन, यी शब्दहरुलाई कुनै पत्रिकाले छाप्न योग्य देख्छन् या देख्दैनन् !

एक सृष्टि जो चुपचाप आई र मान्छेसम्मको हैसियत नपाएर अकाल घाँसका भारीहरुमा मृत्यु बोकेर मरी । यी अलिखित कहानीहरु इतिहासको कुनै पानामा लेखिने छैनन् । पितृसत्ताका वर्चस्वमा दबाइएका आवाजहरु सुन्ने मान्छेहरु नै हुनेछैनन्। इतिहास भन्नू पनि फगत सत्ता र राजनीति गर्नेहरुका लेखिने न हुन् । नारीका त्यागहरुको इतिहास लेखिन्छन् र ? तर इतिहास लेखिँदैन भन्दैमा मलाई उनलाई मर्न दिन मन छैन । थाहा छैन, यी शब्दहरुलाई कुनै पत्रिकाले छाप्न योग्य देख्छन् या देख्दैनन् ! तर पनि उनी यी शब्दहरुको अस्तित्व बोकेर बाँचिरहने छिन् मेरा च्यात्तिएको डायरीका पानाहरुमा । मेरो प्रश्नैप्रश्नले भरिएको मानसपटलको एक कुनामा सृष्टिको बेहाल मृत्यु घुमिरहने छ उसैगरी फनफनी…..र म प्रश्न सोधिरहने छु समाजलाई,
खोई तेरो र हाम्रो सहअस्तित्व ?
खोई तेरो नैतिकता र धर्म ?
ए समाज, हरेक पापको प्रयाश्चित शङ्खका ध्वनि र वेदका श्लोकहरु होइनन् । यो बुझ्न तँलाई कति समय लाग्छ हँ ?

अनि सुन्नुस् न, उनको नाम मती सुवेदी रहेछ । माइतीघरमा मती पौडेल । नागरिकतामा अर्कै केही छ अरे तर के फरक पर्छ ? अब नामले कुनै अर्थ राख्दैन र उनको नामले चिन्न खोज्नुभयो भने पनि उनको छिमेकीले समेत चिन्दैनन् । यी शब्दहरु पुरुषको अस्तित्व बचाउन आफ्नो अस्तित्व हराएर गुमनाम मृत्यु मरेका उनीजस्ता हरेक नारीहरुलाई समर्पित जो इतिहासको पानामा अलिकति पुछारतिर पनि अट्न सकेनन् ।

अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट