हामी भेटिँदाको क्षण कुन गीत बजिरहेको थियो याद छ ?

त्यो याद छैन, तर तिमी गएपछि जति गीत सुनेँ, ती सब याद छन्.

~लाङ् लिभ

मेरो यो कथा कतिलाई रिलेटेबल होला कतिलाई नहोला.

समयसँगै प्रेमको परिभाषा परिवर्तन हुँदै गयो. हरेक समयले आफ्नो परिभाषालाई नै प्रेमको शाश्वत परिभाषा मान्ने मूर्खता गरिरह्यो. मैले थुप्रै युग देखेँ. ती हरेक युगमा म प्रेमी नै थिएँ. मैले सधैँ प्रेम नै गरेँ. सतासीमा जन्मिएको हुँ यो लाइफमा. सो, सेभेन्टिज र अर्ली एटिजको प्रेमचाहिँ पास्ट लाइफहरुमा गरेँ. नाइन्टिजको ल्याण्डलाइन र प्रेमपत्रवाला प्रेम पनि मैले गरेँ. मिल्लेनियल्सहरुको टिन्डर हुकप्स पनि मैले गरेँ.

समय अनुसार प्रेमको अनुहार र परिभाषा फेरिँदै जाने रहेछ. बाँचुन्जेल प्रेम गर्नु. सधैँ प्रेमी रहनु. भगवान दाहिना हुन्छन् प्रेमीहरुको. यो अलि रिसेन्ट प्रेम कथा हो त्यसैले मैले शाहरुख खानहरुले नाइन्टिजमा भन्ने डाइलग भनिरहनु पर्दैन नाटक गरेर…… “सच्चा प्यार जिन्दगीमा सिर्फ एक बार होता है .” प्रेमको परिभाषा पुरै परिवर्तन भइसकेको युग हो यो. तपाईंका छोराछोरीको युग. मचाहिँ छेपारो हुँ. युग फेरिँदा म आफ्ना परिभाषा पनि फेर्छु. त्यसैले मैले अहिलेसम्म हाम्रा पालामा यस्तो थियो भन्नु परेको छैन. सबै युग मेरो युग हो. म सबै समयको हुँ. आई एम अल्वेज कन्टेम्पोररी .

सच्चा प्यार दिनमा एउटा गर्दा पनि फरक पर्दैन. प्रेम भगवान हो भन्ने अनि फेरि अनेक नियम, कानुन, बन्धन र मर्यादा दिने?

भगवानको परिभाषा के हो ? सर्वशक्तिमान, सर्वव्यापी, सर्वद्रष्टा. एटलिस्ट मलाई स्कूलमा त यही पढाए. मोरल साइन्स किताबमा यही लेखिएको हुन्थ्यो. अब भगवान सर्वव्यापी हो र प्रेम भगवान हो भने मेरो प्रेमचाहिँ मैले किन सर्वव्यापी बनाउन नपाउने ? फकिङ हिप्पोकृटस् . नियम बनाउन आउँदैन ढङ्गको बडे आए सोसाएटीका रक्षक. आफ्ना नियम र सिद्धान्तका प्वाल टाल पहिला. कि स्कूलका किताबमा झुटो कुरा पढाएको हो भने फिस फिर्ता मागौं सबै मिलेर हामी.

[bs-quote quote=”सच्चा प्यार दिनमा एउटा गर्दा पनि फरक पर्दैन. प्रेम भगवान हो भन्ने अनि फेरि अनेक नियम, कानुन, बन्धन र मर्यादा दिने?” style=”style-2″ align=”right” color=”#8224e3″ author_name=”अनुपम पाेखरेल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/09/anupam.jpg”][/bs-quote]

साथीहरु बसेर पिउँदै थियौं,अनि एउटा गीत बज्यो. जान त सबै बितेर जान्छ, तर जिन्दगीमा केही यस्ता क्षण हुन्छन् जो हामी सधैँका लागि राख्न चाहन्छौं. हामी जिन्दगीका ती रमाइला क्षणहरुलाई केही न केही सधैँ साथ रहन सक्ने कुरासँग जोड्छौँ. क्षणहरु बितेर जान्छन्. स्मृति ती कुराहरुमा स्टोर्ड भएर बस्छन्. तपाईंले पनि कुनै सुगन्धमा वा कुनै गीतमा वा कुनै मौसममा भर्नु भएको होला नि यादहरु ? जस्तो कि जाडोयाम आउँदा म एउटी जाडोयाम जस्तै चिसो हृदय भएकी, त्यस्तै चिसो देशमा बस्ने एउटी एक्स सम्झिन्छु. मैले चाहिँ प्रायः गीतहरुमा भर्ने गरेको छु यादहरु. अनि सुगन्धहरुमा. जस्तो कि लेभेन्डर फूलको सुगन्ध. म एउटा सानो बट्टामा लेभेन्डर फूलको सुगन्ध बोकेर हिँड्छु. इसेनसियल ओइल. कुनै क्षणमा असाध्य खुसी भयो भने अलिकति लेभेन्डरको बास्ना छर्कंछु आफैँमा. अनि आफैँलाई सुँघ्छु. मैले यसरी ल्याभेन्डरको बास्ना अर्थात् खुसी भनेर तालिम दिएको छु आफ्नो दिमागलाई. साइकोलोजीमा यसलाई पाभलोभियन कन्डिसनिङ् भन्छन्. खुसी वा दुख, चाहेको जस्तो इमोसन चाहेको बेलामा आफैँ उत्पादन गर्न सक्नेगरी दिमागलाई तालिम दिन सकिन्छ. यसको एउटा भयङ्कर फाइदा छ.

फाइदा के भने, अब म खुसी महसुस गर्न मन लागेको बेला लेभेन्डरको बास्ना सुँघ्छु. ‘ल अफ रिभर्स इफेक्ट’ ले काम गर्छ. हठयोगको कथा यही त हो. हठयोग अर्थात ‘योगा’ पनि ल अफ रिभर्स इफेक्टकै एप्लिकेसन हो. फुर्सद भएको, जङ्गलमा आफ्नो मनलाग्दी गरेर बसेको एउटा कुनै ऋषि मित्रले यो अब्जर्भ गरे हज्जारौँ वर्षअघि, मनमा एउटा कुनै भावना भएको बेला शरीरको कुनै एक खास पोस्चर हुन्छ. त्यो पोस्चर कस्तो हो भनेर पत्ता लगाउन सकेको मान्छेले त्यही पोस्चर गरेर मनमा त्यही पुरानो भावना उत्पन्न गराउन सक्छ. न्युरो लिंगुइस्टिक प्रोग्रामिङ भनेको यही त हो. तपाईं विद्यार्थी हो भने के गर्न सक्नुहुन्छ भने, चुइगम चपाउँदै पढ्नुहोस् र परीक्षामा बस्दा उही फ्लेभरको चुइगम चपाउनुहोस्. पढेको कुरा तात्तातै आउँछ. दिमागले यसरी काम गर्छ.

साथीहरुसँग हुँदा बजेको गीत थियो कृष्टिना पेरीको ‘अ थाउजेन्ड इयर्स…” यो गीत र मैले अहिलेसम्म देखेको सबैभन्दा राम्री केटीबीचको सम्बन्धको कथा हो यो कथा. सम्बन्ध एकतर्फि हो. आजभोलि भुराहरु क्रसभन्दा रहेछन् त्यस्तो सम्बन्धलाई. म बन्दीपुरमा थिएँ. साथीहरुसँग. टोली नै भनौं. एउटी केटी थिई साथीहरु माझ, साथीहरुकी साथी, जो हाम्रो टोली बन्दीपुर बजार घुम्दा मलाई फर्कीफर्की हेर्दै थिई. एउटा विहान हामी थानी माईको उकालो चढ्न जाँदै थियौँ. ढकमक्क सुनगाभाले ढाकेका रुखहरुको क्यानोपी छिचोलेर अघि बढ्दै थियौँ. साथीहरुकी साथी यहीँनेर आफ्ना साथीहरुभन्दा अलि विस्तारै हिँड्न थाल्दा, लाज पचाएर उसले मेरो र मैले उसको हात समाउँदा, उसको फोनमा यही गीत बज्दै थियो. त्यो दिन त्यो गीत हाम्रो गीत बन्यो. विहानदेखी बेलुकासम्म हामीले त्यही गीत सुनिरह्यौं. बेलाबेला लजाउँदै, बेलाबेला हात समाउँदै. दारुले मातेर होस हराएको नाटक गर्दै. आँखाले एकअर्काको ओठ टोक्दै. केटाले फर्स्ट मुभ गर्नुपर्छ भन्ने कुरा खुइलिए. राती टोली दारु खान बस्दा उसले एक्कासी भनी, “सु गर्न जान्छु, साथी हिँड”. ट्वाइलेट थियो काठको भर्याङ् ओर्लेर अलि पर बारीमा. बोराको ढोका भएको. केटीले ट्वाइलेट छिर्नुअघि मलाई ग्वाम्लाङ् अँगालो मारी र आफ्ना ओठ विस्तारै मेरो ओठमा राखेर आँखा चिम्ली. मैले गङ्गा नुहाएँ. समाधी जगाएँ. गीतहरु विशेष बन्ने त्यसैगरी त हो. त्यस्तो कुनै हृदय छुने भावना असोसिएट भएका बाहेकका म गीत सुन्दिनँ. सायद तपाईं पनि त्यसै गर्नुहुन्छ.

मेरा साथीहरु गए केही दिनपछि. हात समातेर सँगै उकालो चढ्ने केटी पनि गई. मसँग गीत रह्यो. “लडीन्छ भन्ने डर हुँदाहुँदै म कसरी प्रेम गरौँ, कसरी बहादुर बनौँ, तर एक्लै उभिएको तिमीलाई देखेर मेरा सारा शंका आफैँ बिलाएर जान्छन्… तिमीलाई पर्खिंदा हरेक दिन म मरिरहेँ.” आइ ह्याभ डाइड एभ्रीडे वेटिङ फर यु…..

दुई तीन दिन म एक्लै मोबाइलमा यो गीत बजाएर यता उता भौंतारिरहेँ. कहिले होटलको आँखीझ्यालबाट सडकमा हिँडेका भुसुनाजस्ता मान्छे हेरिरहेँ. कहिले कविता लेखेँ, कहिले त्यसै पहाड पहाड दौडिएँ. प्रेमले मलाई झनन्न हानेको थियो. त्यसैको करेन्टमा मैले एउटा कविता संग्रह नै तयार गरेर सकाएँ. बन्दीपुरजस्तो हुनुपर्ने खास काठमाडौं. अथवा नेपालको कुनै पनि ठाउँ. आफ्नो स्थानीयतालाई, स्वच्छतालाई कति जगेर्ना गरेका. सडकमा मोटर दौडाउन नपाइने. इँटा छापेका सडकमा पैदल नै हिँड्नुहोस्. तमाशामा देखाइएको फ्रान्सका गल्ली अथवा कल मी बाई योर नेममा देखाइएका ईटालीका गल्लीभन्दा कम छैनन् बन्दीपुरका गल्ली. चाहे एक्लै भौंतारिएर हिँड्नुहोस् चाहे जोडी भएर लठारिएर.
अर्किड ट्रेलमा ढकमक्क फूलेका सुनाखरी फूलको सौन्दर्यपान गरेर फर्केको एक साँझ मैले देखेँ, मैले अहिलेसम्म देखेको सबैभन्दा राम्री केटी. सृष्टी श्रेष्ठ. पूर्व मीस नेपाल. माई क्रस. सेतो पातलो टिसर्ट र हल्का खुइलिएको नीलो जिन्स लगाएकी. अरु कोही मिस नेपाल त्यस्तो सुन्दर लागेका हैनन् मलाई कहिले. यी त सुन्दरताकी देवी जस्ती रहिछिन्. मल्लकालीन समयको भक्तपुर जस्तो ढुङ्गाले छापेको बन्दीपुरको सडकमा उनी उभिएकी थिइन् आफ्नो एक साथीसँग. मैले लाज पचाएर उनलाई हेरेँ. सृष्टिको टाउको हेर्दा मैले टाउकोमा लगाएको टोपी खस्यो. त्यस्ति अग्ली. युजीएलवाई अग्ली हैन, टल अग्ली. लेभेन्डर फूलको बगैँचाजस्ती.

अर्को दिन साँझपख म ‘के गर्ने’ क्याफेमा बसेको थिएँ. पुरानो काठको घरलाई हल्का मोडर्न डेकोर दिएर बनाइएको क्याफे. माटोको पालामा तेल राखेर दियो बालिएको. दियोको उज्यालोको नृत्यमा म अमेरिकानो पिएर बसेको थिएँ. बार्दलीमा लसुन र मकैका घोगा सुकाएको. क्याफेमा आइन् सृष्टि. साथमा थिए साथी. फ्यान बनेर बोल्न मन लागेन, मैले हाई पनि भनिनँ. साँझको वातावरणले दिमागका नोस्टाल्जियाका स्पटहरुमा हान्छ सायद. म हल्का मिस गर्दै थिएँ अस्ति भर्खर जो गएकी थिई उसलाई. त्यसैले मैले फोनमा बजाएँ …..
आई ह्याभ डाइड एभ्रीडे वेटिङ फर यु…..

हल्का छड्के नजर सृष्टितिर पनि थियो. धपक्क बलेकी सुन्दरताकी देवी. मिठ्ठो उपन्यासकी फेभरेट लाइन जस्ती. गीत बज्ना साथ सृष्टिले मतिर पुलुक्क हेरिन्. अनि बिस्तारै उही गीत गाइन्. मेरो साख्खै फोनबाट बजेको गीत, मैले पूजा गरेको गीत, पूजा गरे हुनेगरी सुन्दर देवीले गाइन्. मन्दिर जस्तो माहोल भयो बन्दीपुरको त्यो क्याफेमा एक्कासि. अल्लाहले मेरो इबादत कुबुल गरे. सायद कुनै ट्रेन दौडियो उनको पनि दिमागमा नोस्टाल्जियाको. सायद कसैले कुनै उकालोमा उनको पनि हात समातेको थियो प्रेमले. अनि सायद दुई हृदय एकैपल्ट उही गतिमा धड्किएका थिए यही गीत सुन्दा. दिन र रातबीचको एउटा सानो बिन्दु जत्रो त्यो साँझ त्यो एउटा एउटा गीत यसरी थुप्रै थुप्रै भावहरु स्टोर गरेर मेरो मेमोरीमा कैद भएको थियो.