कहिलेकाहीँ स्वाभाविक रुपमा घट्ने घटनाहरूले पनि केही कुरा सोच्नैपर्ने बनाउँदो रहेछ भन्ने कुरा रुखबाट स्याउ खसेको देखेर गुरुत्वप्रवेगको नियमसम्म पत्ता लगाउने आइज्याक न्युटनभन्दा बढी कसले बुझेको होला र ! यस्तै कुनै घटनाले मलाई नामाकरणको विषयमा सोच्न बाध्य तुल्यायो । व्यक्ति नामले भन्दा पनि कामले धेरै परिचित हुन्छ भन्ने बुझेको भए तापनि कुनै महान पुरुषको उल्टो नाम जप्दाजप्दै रत्नाकर वाल्मीकि बनेको किंवदन्ती पढेर हुर्केको मान्छेलाई नामको उच्च मूल्यबोध हुनु अनौठो कुरो पनि होइन । भलै आफ्नै नाम बिर्सने अपवाद थमस अल्फा एडिसनको बेग्लै कुरा ।

प्रख्यात मिथक महाभारतमा शकुन्तला पुत्र भरतकै नाउँबाट भारतको नाम रहन गएको कुराले होस् वा जर्ज वाशिङ्टनको नामबाट अमेरिकाको राजधानीको नाम वाशिङ्टन राखिएको कुराले होस्, व्यक्तिको अमरत्व नाममा नै हुँदो रहेछ भन्ने कुरा निसङ्कोच सत्य हो भन्ने प्रष्ट हुन्छ ।

निरंजन सत्य हाम्रो जीवनको उचाइभन्दा माथि छ । भलै कोही नजन्मिन सक्ला तर नमर्न कदापी सक्दैन । कैयौँ सम्भावित जीवनहरू त जन्मपूर्वै समाप्त भैसकेका हुन्छन् । जन्म र मृत्युबीचको एक निमेष दूरीलाई त हामी जीवन भन्छौँ, त्यो पनि चितामा पुगेर हराइजान्छ । आखिर चिरकालसम्म रहने भनेको त नामै मात्र न हो । जसलाई हामी अजर-अमर भन्छौँ उनीहरू पनि केवल नाममा बाहेक अन्यत्र कहाँ बाँचिरहेका छन् र?

यसप्रकार नाउँ वैयक्तिक पहिचानको आधार मात्र होइन । नाम नै अमरत्व हो, नाम नै इतिहास हो, नाम नै व्यक्तित्व र अस्तित्व पनि हो । यहाँसम्म बुझेपछि यति उच्च महिमा धान्ने नाम कसरी निर्धारण हुन्छ अर्थात् व्यक्तिको नामाकरण विधि के हो भन्ने सम्बन्धमा एकछिन चर्चा नगरी बस्न म कहाँ सक्थेँ र !

[bs-quote quote=”ज्योतिषी/जैसी कुनै अन्तर्यामी होइन, जसले अर्कालाई कुन नाम मन पर्नेछ भन्ने कुरा बुझेर उसको भविष्यको इच्छा अनुकूलको नाम सोच्न सकोस् ।” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”चिन्तन नेपाल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/BeautyPlus_20200229110718410_save_1.jpg”][/bs-quote]

संसारमा नामले कसरी ठाउँ पायो भन्ने सम्बन्धमा विद्वानहरूमा मतैक्यताको अभाव छ । एकथरी विद्वान् भन्छन्- संसारमा सुरुमा केही थिएन, दशै दिशामा घोर शून्यता व्याप्त थियो । शून्यताले धेरै वर्षसम्म तपस्या गरेपछि संसार पायो । तर संसार पनि खालि थियो । त्यही खाली संसारले पनि धेरै वर्षको तपस्या गरेपछि अनेक जीवहरूको आगमनपश्चात् बल्ल आयो मान्छे । वास्तवमा त्यही मान्छे संसारको आदीमानव थियो । आदीबाट ‘आद’ र मानवबाट ‘म’ मिलाएर (आद+म) उसको नाम ‘आदम’ राखियो ।

फेरि अर्काथरी विद्वान् अघि सर्छन्- सुरुमा पुच्छरसहितको मान्छे थियो । जसलाई हामी प्रजातिगत रुपमा रामापिथेकस भनेर चिन्छौँ तर व्यक्तिगत रुपमा उनीहरू कसैको पनि नाम थिएन । पुच्छर ओछ्याएर ढुङ्गामाथि बसी उनीहरूले हजारौँ वर्षको तपस्या गरे । हजारौँ वर्षसम्मको किचाइ सहन नसकेर पुच्छर शरीरबाट गलेर खस्यो । पुच्छर खसेका रामापिथेकसहरूले आपसमा कसैलाई बुच्चे भने, कसैलाई ठुटे भने त कसैलाई लिँडे भने। यसरी उनीहरूको पुच्छरको पतनसँगै नामाकरणको परम्परा सुरु भएको हो ।

यी दुवैथरी विद्वानको तर्कबाट एउटै कुरा सिद्ध हुन्छ, त्यो के भने मान्छेको नामाकरणको इतिहासले उसको चेतनाको इतिहाससँगसँगै पाइला चालेको हो ।

रामापिथेकसको युगबाट रामबहादुरको युगसम्म आउन्जेल नामाकरणका हजारौँ विधिले स्थान पाए । कसैले जन्मिनेबित्तिकै नगरै थर्किने गरी रोएकोले ‘रावण’ नाम पाए । कोही घनघोर मेघ बर्सिरहेको बेला जन्मेर ‘मेघनाद’ नाम पाए । कसैले इन्द्रलाई युद्धमा जितेर ‘इन्द्रजित’ कहलिए । कोही जन्मिनसाथ घोडाको जस्तो आवाज निकालेर रोएकोले ‘अश्वत्थामा’ नामाकृत भए ।

यसरी व्यक्ति जन्मिँदाको संयोगले नै उनीहरूलाई नाम दिँदै आएको थियो । बीचैमा समाजले जैसी भनिने अर्को प्राणीको आविष्कार गरिदियो, जो पेसागत रुपमै मानिसहरूको नाम राख्ने कार्यमा संलग्न हुन्थ्यो ।

विशेषगरी हाम्रो पूर्वीय समाज, त्यसमा पनि अझ विशेषगरी हिन्दु समाजमा जैसीले नै नाम राख्ने परम्पराले भुक्तमानभन्दा पनि पहिलेदेखि राज गरेको देखिन्छ । व्यक्ति जन्मेको संयोगका आधारमा हिसाबकिताब गरी उसको नाम, राशि, नक्षेत्र निर्धारण गर्ने प्रचलन भएको समाजमा एउटा व्यक्ति सामान्यतः जीवनभर त्यो नाम बोकेर हिँड्थ्यो, जुन नाम जैसीले राखिदिएको हुन्थ्यो । यसरी आफ्नो पहिचानको मुख्य बिन्दू ‘नाम’ समेत जैसीले राखिदिनुपर्ने समाजमा हुर्केको व्यक्ति भाग्यभरोसे नभई के हुँदो हो ?

एकछिन मेरो प्रश्नमा घोरिएर मनमनै जवाफ दिनुहोस्- तपाईं (ज-जसको नामाकरण जैसीबाट भएको छ) तपाईंको वास्तविक नाम, जुन नाम जैसीले राखिदिएको हो, प्रति कति सन्तुष्ट हुनुहुन्छ?)

यस्तै असन्तुष्टिवश निस्कन्छन् अनेक उपनामहरू: घायल, विवश, पागल, अभागी, प्यासी, उदासी, निरासी, बैरागी आदि ।

अधिकांशको जवाफ ‘सन्तुष्ट छैन’ भन्ने नै आउँछ भन्ने मेरो विश्वास छ । किनकि ज्योतिषी/जैसी कुनै अन्तर्यामी होइन, जसले अर्कालाई कुन नाम मन पर्नेछ भन्ने कुरा बुझेर उसको भविष्यको इच्छा अनुकूलको नाम सोच्न सकोस् । विचरा जैसीले आफ्नो भएभरको ज्योतिष ज्ञान प्रयोग गरी राखिदिएको नाम कसैकसैलाई यति असह्य हुन्छ कि उनीहरूलाई त्यही नाम बोकिहिँड्न कमिलाले आफूभन्दा दशौँ गुणा ठूलो भारी बोकेभन्दा पनि असह्य र अस्वाभाविक लाग्ने गर्छ ।

यस्तै असन्तुष्टिवश निस्कन्छन् अनेक उपनामहरू: घायल, विवश, पागल, अभागी, प्यासी, उदासी, निरासी, बैरागी आदि ।

हुन त नाम व्यक्तिको स्वाभाव वा शारीरिक अवस्था अनुकूलको हुनैपर्छ भन्ने त होइन । तर पनि नामाकरणमा जैसी जतिसुकै दक्ष भए पनि कदाचित आफ्नो अदक्षता तब महसुस गर्दाहुन्, जब उनीहरूले ‘बलबहादुर’ नाम राखेकै मान्छे कमजोर/निर्बल भएर निस्कन्छ । उनीहरूले ‘शान्तबहादुर’ भनेकै मान्छे हिंस्रक भएर निस्किन्छ, उनीहरूले ‘वीरबहादुर’ भनेकै मान्छे काँतर भएर देखिन्छ । यसप्रकार जैसीप्रतिको जनविश्वास घट्दै जानुको प्रमुख कारणमध्ये यो पनि एक हो भन्ने मेरो ठम्याइँ छ ।

नामाकरणको सम्बन्धमा जैसीले केही कुरामा नयाँ विधि अबलम्बन गर्नुपर्ने देखिन्छ । जस्तै: टाउको गोलो हुनुको साटो घन आकारको भएकालाई ‘घनटाउके’ नाम दिनु उपयुक्त हुन्छ । त्यस्तै नाक अस्वाभाविक रुपले लामो भएकालाई ‘लामीनाक्चे’ र थेप्चो नाक हुनेलाई ‘थेप्चेवीर’ नाम दिनु पनि न्यायसंगत नै देखिन्छ । त्यस्तै गरी शरीरभन्दा टाउको ठूलो हुनेलाई ‘फर्सीटाउके’ नाम दिनु पनि उत्तम तरिका मानिन्छ । तर बिडम्वना टाउको र नाकभन्दा पनि जैसीको चित्त थालीमा राखेको दक्षिणाले बुझाइसकेको हुन्छ । दक्षिणामा चित्त बुझेर नै जैसीहरूले गोरो मान्छेको नाम पनि ‘कालोबहादुर’ राख्नुपरेको बिडम्वना कसले बुझिदिने?

फलतः गरिब मान्छेकै नाम धनप्रसाद हुनु, सधैँ हारिरहने मान्छेकै नाम जितबहादुर हुनु, कहिल्यै भनेको नमान्ने मान्छेकै नाम मानबहादुर हुनु वास्तवमा जैसीहरूका ज्योतिषीय दक्षताका चमत्कार मात्र होइनन्, थालीका दक्षिणाले देखाउने जादू पनि हुन् ।