गद्य कविता लेखनमा सुपरिचित र स्थापित नाम हो सुवास खनाल । विभिन्न साहित्यिक संघ संस्थाहरुमा नेतृत्वदायी भूूमिकामा रहनुभएका खनालको हालै मात्र सपनाका अवयव नामक कविता संग्रह बजारमा आएको छ । शाब्दिक बुक्सले प्रकाशनमा ल्याएको उक्त कविता संग्रहमा ३३ ओटा कविताहरु संग्रहित छन् ।

कथा, कविता, निबन्धलगायतका विषयहरुमा कलम चलाउने खनालको २०७१ सालमा विचारको उल्टो नदी कवितासंग्रह बजारमा आएको थियो । प्रस्तुत छ, कवि खनालसँग साहित्यपोस्टका लागि शान्ति प्रियवन्दनाले गरेको कुराकानीको सम्पादित अंशः

साहित्य कस्तो हुनु पर्छ ? कसको पक्षमा लेखिनु पर्छ भन्ने लाग्छ ?

साहित्य यस्तै लेखिनु पर्छ भन्ने त छैन, तर लेखनप्रति हरेक लेखकको आफ्नै विश्वास भने हुने गर्दछ । मेरो पनि आफ्नो विश्वास छ । आफू उभिएको जमिन र यसको धरातलीय यथार्थसँग नजिक भएको लेखनी नै मलाई मन पर्छ ।

नेपाल विकासोन्मुख मुलुकको कोटीमा पर्छ । यहाँका बहुसङ्ख्यक मानिस गरिबीको रेखामुनि छन् । हाम्रो शिक्षाको इतिहास हेर्ने हो भने धेरै टाढा पुग्नु पर्दैन । प्रजातन्त्र प्राप्तिपश्चात् शैक्षिक गतिविधिले देशमा दिशा प्राप्त गरेको हो । हाम्रा बहुसङ्ख्यक मानिसका अन्तर्यका कथा करिब एकै किसिमका छन् । साहित्य त्योभन्दा पर भाग्न सक्दैन । साहित्य किनारीकृत र सामाजिक वहिष्करणमा परेका वर्गको उत्थानका लागि मार्ग निर्देशक बन्नुपर्छ र आम मानिसको जीवनलार्ई साहित्यले सम्बोधन गर्नुपर्छ भन्ने सम्झिन्छु ।

लेखनमा कविता नै किन रोज्नु भयो ?

मैले कविता यात्रा २०५७ सालदेखि सुरु गरेको हुँ । कविताको मर्म नबुझ्दैमा यो यात्रामा रहेछु । पछि बुझ्दै गएपछि लाग्न थाल्यो, यो गम्भीर यात्रा हो । विस्तारै यसमै क्रमिकता बढ्दै गयो । लेखनी निरन्तर गरिरहेको छु । कविताबाहेक केही कथा र निबन्धहरू पनि लेखेको छु । तर वेभ म्याचिङ कवितासँग भइरहेको अनुभूति हुन्छ । पहिलो प्रेम भन्छन् नि, लेखनमा पहिलो प्रेम कवितासँग नै भयो । कविता लेखनमा आफूलाई सहजता महसुस गरेकै कारण यो विधामा क्रियाशील छु । अध्ययनको रुचि साहित्यका सबै विधातर्फ हुँदाहुँदै पनि लेखन र प्रकाशनमा सङ्ख्यात्मक रुपमा कविताहरू नै बढी छन् ।

‘विचारको उल्टो नदी’ सार्वजनिक भएको धेरै समयपछि मात्र ‘सपनाका अवयव’ लिएर आउनु भयो । कृतिहरूबीच यति लामो समयको अन्तराल किन बन्न पुग्यो ?

कविता र सङ्ग्रहको सङ्ख्या नबढाऊँ भन्ने त लाग्दैन । कवितामाथि न्याय भयो भन्ने लागेपछि मात्र प्रकाशन गर्ने इच्छा राख्छु । लेखक तथा मोटिभेटर रोगर हस्डेन भन्छन्, ‘ कविता खतरनाक साथै आवश्यक हुन्छ । यसले हामीलाई मष्तिष्कले तय गरेको भाषाको सीधा बाटो तोड्न मद्दत गर्दछ । कविताका शब्दहरूले जे गर्न सक्दछ त्यो पक्कै पनि मानव जीवनको पूर्णताको लागि आवश्यक छ ।’ म हस्डेनसँग सहमत छु । तर कविता लेखनमा हतारो गर्दिनँ । नियतवश यसो गरिएको हुँदैन । स्वाभाविक रुपमा कविता लेखन अघिको अब्जर्भेसनलाई बढाउँदा लेखन सुस्त हुन पुग्दो रहेछ । २०७१ मा ‘विचारको उल्टो नदी’ प्रकाशन गरिसकेपछि २०७७ सम्म आइपुग्दा प्रकाशन योग्य जम्मा तेत्तीस कविताहरू सञ्चय हुन पुगेछन् । तिनै कविताहरूलाई समेटेर दोस्रो कविता कृति ‘सपनाका अवयव’ प्रकाशन भएको छ ।

नेपाली साहित्यको यो समयमा कविताको अवस्था कस्तो छ ?

नेपाली साहित्यमा ६० को दशक जुन उर्जाका साथ गतिवान भयो, त्यो अवस्थामा ७० को दशक छैन भन्ने समीक्षकहरू तर्क छ । केही ढङ्गले म आफू पनि यो कुरामा सहमत छु । यो दशकमा समग्र साहित्यको गतिजस्तै कविता लेखनमा सामयिक चेतको तीव्रता अलिक कमजोर बनेको हो कि भन्ने लाग्छ, तर सङ्ख्यात्मक रुपमा हेर्दा त्यो पक्ष सही हो । गुणात्मक रुपमा भने त्यो अनुभव हुँदैन । हरेक युगमा उक्त समयलाई सम्बोधन गर्ने कवि लेखकहरू बाँचिरहेकै हुन्छन् र तिनले युगबोधी आवाजलाई कविताको विषय बनाइरहेकै हुन्छन् । अहिले पनि त्यो भइरहेको छ ।

साहित्य सिर्जना र कृति प्रकाशनका आगामी योजनाहरु के छन् ?

तत्कालै त कुनै कृति प्रकाशनको योजना छैन । तर कथाहरू केही लेखेको छु । केही समयको अन्तरालमा सङ्ख्यात्मक रुपमा वृद्धि गरेर प्रकाशन गर्ने सोच छ । अरु व्यवस्थित योजनाहरू बनिसकेका छैनन् । समयक्रममा सिर्जना र कृति प्रकाशनको कडी त जोडिरहने नै छन् ।