मोटो डन्डीको भए पनि उनको चश्मा स्टाइलिश थियो । लगाउन त पाइन्टमा सामान्य टप्स नै लगाएकी थिइन् तैपनि लुगा स्टाइलिश नै देखिन्थ्यो । हेर्दा सामान्य कालो लेदरको ब्याग काखमा च्यापेकी थिइन् । तर ब्याग पनि स्टाइलिश नै देखिन्थ्यो । खासमा भन्नुपर्दा लुगा, झोला अनि अरू ग्याजेटमा खास केही हुँदैन, मान्छे सुन्दर भएपछि यसै स्टाइलिश देखिन्छ ।
“हजुरको सीट पनि यही हो ?” झ्यालको आफ्नो सीटमा गजधुम्म परेर बस्दै कानमा इअरफोन कोच्ने तयारी गरिरहेको मलाई उही स्टाइलिश केटीले छेउमा आएर भनिन् । कानमा कोच्न लागेको इअरफोन गुजुमुजु पारेर खल्तीमा कोचेर उनका आँखामा वाल्ल परेर हेर्दै मुन्टो तलमाथि हल्लाएँ । उनी भने मलाई नहेरी फलफूल, तरकारीको झोला सीटमाथि कोच्न थालिन् ।
झोला माथि कोचे पनि स्याऊ तलै थियो, उनको गालामा । सुन्तला तलै थियो, उनको ओठमा ।
“मेरो झ्यालको सीट हो ।” मुट्ठीमा कच्याककुचुक पारेर अँठ्याएको बसको टिकट फैलाएर देखाउँदै उनले भनिन् । झ्यालको सीट मैले काटेको थिएँ । तर म कसरी यति सुन्दर केटीसँग जाबो सीटको लागि बहस गरौँ । आखिर म छेउमा बसौँ या झ्यालमा, बस्ने त उनीसँगै हो । उनले देखाएको टिकट हेर्दै नहेरी खुशीखुशी म छेउमा सरेँ । मेरा घुँडाहरूलाई आफ्ना घुँडाहरूले छुवाउँदै हाँसीहाँसी उनी कुनामा पसिन् ।
[bs-quote quote=”गालामै एउटा मसिनो कोठी हेरेँ । दाहिने कान हेरेँ । काजु झैँ नरम लाग्ने कानको लोती हेरेँ । त्यही लोतीमा अल्झिएको ल्वाँगजस्तो टप हेरेँ ।” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”सुरेश बडाल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/05/suresh-badal-timro-name.jpg”][/bs-quote]
बस गुड्यो । बसभन्दा छिटो मेरो मन गुड्यो । कुन्नि कतकता पुग्यो उही छेउकी केटीसँग । बस घच्याक्क गर्दा यसो चिहाएर हेरेँ उनलाई । एकटकले झ्यालबाहिर हेर्दै थिइन् । बाटोका मान्छेहरू, बाटोछेउका पसलहरू, रूखहरू, घरहरू । खै के-के हेरिन् उनले । तर मैले त उनको दाहिने गाला हेरेँ । गालामै एउटा मसिनो कोठी हेरेँ । दाहिने कान हेरेँ । काजु झैँ नरम लाग्ने कानको लोती हेरेँ । त्यही लोतीमा अल्झिएको ल्वाँगजस्तो टप हेरेँ ।
झसंग भएँ, जब एकाएक उनका आँखाहरूले मेरा आँखाहरूलाई हेरे । त्यसपछि लजाएर अन्तै अन्तै हेरेँ । पाकेटमारदेखि सावधान लेखिएको बसको भित्तो हेरेँ । बूढाको काँधमा टाउको अड्याएर उँघिरहेकी अघिल्लो सीटकी आइमाई हेरेँ । बाटोमा हेरेर स्टेरिंग घुमाइरहेको ड्राइभरलाई हेरेँ । बनेटमा बसेर ड्राइभरलाई हेरिरहेकी नक्कली नक्कली केटीलाई हेरेँ । तर उनलाई हेरिनँ, छेउकी केटीलाई ।
बोत्तल निकालेर पानी पिएँ तर प्यास मेटिएन । चोरीचोरी फेरि उनैलाई हेरेँ । कच्याउकच्याउ चुइगम चपाउँदै झ्यालबाहिर हेरिरहेकी थिइन् । एकछिन हेरिरहेँ, बल्ल प्यास मेटियो ।
“चुइगम ?” हातभरि सेन्टर फ्रुट चुइगम फैलाएर उनले सोधिन् ।
“नाइँ ।” निच्च परेर अस्वीकार गरिदिएँ ।
“खानूस् न ।” उनले कर गरिन् ।
“नाइँ । बाहिरतिरको कहिल्यै खाँदिनँ ।”
हातको चुइगम झोलामा राखेर फेरि झ्यालतिरै फर्किन् उनी । मलाई पछुतो लाग्यो । किन खाइनँ मैले चुइगम ? म लजाएँ कि एटिच्युड देखाएँ ? झ्यालको सीट छोडेर पग्लिसकेको मान्छे चुइगम नखाएर फेरि किन जमेँ ? बाहिरतिर केही नखाने पल्टेर इमान्दार र सोझो पल्टिने प्रयास आत्मघाती त भएन ? मैले आफ्नो कदमप्रति खेद व्यक्त गरें ।
खाजा खाने ठाउँमा बस रोकियो । सबै यात्रु उत्रिए । म पनि उत्रेँ । उनी पनि उत्रिइन् । उनलाई छेउमा पाएरै अघाएको मान्छे म । उनलाई हेरेरै प्यास मेटाएको । मलाई खाजा खाने मान्छेहरू वाहियात लागे । बाहिरतिर नखाने छवि पनि त मेन्टेन गर्नु थियो । बसछेउमै उभिएँ । केही खाइनँ ।
पेट भरेका मान्छेहरूले रित्तो बस भरियो । अघाएका मान्छेहरू बोकेको बस कुद्यो । उनले कुरकुरेको प्याकेट फुटाइन् । अब भने मैले आफ्नो गल्ती सच्याउने मौका थियो । उनले अफर गरेदेखि खाने थिएँ तर अफसोस, दिइनन् । एउटा टुक्रा क्रुमक्रुम पारेर चपाइन् उनले । मेरो मुखभित्र रसको मुहान छुट्यो । अर्को टुक्रो चपाइन् । झ्यालतिर हेर्दै कुरकुरेको कर्याककर्याक गर्ने प्याकेट बजाएर दर्जनौं टुक्रा क्रुमक्रुम पारिरहिन् । मेरो मुखभित्रको नाइल नदी घाँटीको बाटो हुँदै पेटसम्म आन्द्रा घोच्नेगरी बगिरह्यो ।
“सुन्तला खानुहुन्छ ?” आफ्नो झोलाबाट सुन्तला निकालेर उनको कुममा हल्का छोएर बोलाउँदै अफर गरेँ । कुरकुरेको धुलो लागेको हातका औँलाहरू चाटिरहेकी उनले पुलुक्क मलाई हेरिन् अनि मेरो हातको सुन्तला हेरिन् ।
“नाइँ”, मुसुक्क हाँसेर उनले अस्वीकार गरिन् ।
“खानूस् न”, मैले कर गरेँ ।
“नाइँ, घाँटी दुखेको छ । चीसो कुरा खाँदिनँ ।”, यति भनेर उनी झ्यालतिरै फर्किन् । म चुपचाप सुन्तला केलाउन थालेँ । मलाई त्यो सुन्तला खल्लो लाग्यो । बेरसिलो लाग्यो ।
बीचतिर कतै उनी उत्रिन् । मलाई गएँ पनि भनिनन् । बाई पनि भनिनन् । कुनै सामान्य दिनको कुनै सामान्य अपरिचित हमसफ़र जस्तैगरी गइन् उनी, मेरो मनमा अनि जीवनमा रतिभर प्रभाव नपारीकन ।
तर छेउको खाली सीट र आउनै बाँकी मेरो गन्तव्यका कारण उनको झझल्को अझै केहीबेर आइरह्यो । आफ्नै मनको कुनै गहिराईमा पुगेर देखें आफ्नै जिन्दगीको अर्को समानान्तर रेखा । मेरै आफ्नो अर्को प्रतिरुप देखें मैले । सायद यो विशाल अन्तरिक्ष र निराकार समयको प्रभावका कारण थियो । कुनै समानान्तर ब्रह्माण्डमा आफूलाई पुन: पाएँ । म त्यहाँ पनि थिएँ जहाँ उनी मेरै छेउमा थिइन्, त्रिशुली जाने बसको ७, ८ लेखिएको बी साइडको सीटमा । उही भावमा हत्केला फैलाएर उनले त्यही बिन्दुबाट उसैगरी सोधिन् मलाई, “चुइगम ?”
“हुन्छ”, मुसुक्क हाँसेर उनको हत्केलाबाट मैले एउटा सेन्टरफ्रुट टिपें ।
“अरु पनि लिनूस् न ।” उनले कर गरिन् ।
“हैन, एउटा भए पुग्छ ।”
हातको बाँकी चुइगम झोलामा राखेर मतिर फर्किन् उनी । मलाई के गरौँ के भनौं भयो ।
“त्रिशुलीसम्मै हो ?” सोधेँ उनलाई ।
“हैन, अलिवरै, देवीघाटसम्म । हजुर त ?”
“म त त्रिशुलीसम्मै ।”
लस्काएर “ए” भनेपछि निकैबेर चुप भइन् उनी ।
सधैंभरि केटामान्छे मात्र बोलिरहनु पर्छ भन्ने कहाँ लेखिएको छ र ! केटीमान्छेहरुले पनि त बोलाउनु हुन्छ नि । आजकल बुलेट बाइक त चलाउँछन् केटीहरु । बन्जी हन्छन्, प्याराग्लाइडिंग गर्छन् । यति आँटिला भएपछि आफैँ कुरा झिक्न केको आइतबार ।
मेरो मनमा खेलिरहेको कुराको भेउ पाएरै होला उनले सोधिन्, “तपाईंको फेसबुकमा के नाम छ नि ?”
एकछिन त अवाक् भएँ । सीधै परिचय सोधेको भए भैहाल्थ्यो त, घुमाएर फेसबुकको नाम सोध्न के खाँचो थियो र । तैपनि भनिदिएँ, “रियल नाम जे हो फेसबुकमा पनि त्यही छ ।”
“हाहाहा… यु आर सो फन्नी” भनेर उनले एकचोटि मेरो तिघ्रामा प्याट्ट हिर्काइन् ।
उनी स्टाइलिश छिन् ठिकै छ । आजकलका केटीहरु फरवार्ड अनि आँटिला हुन्छन् । यो पनि ठिकै थियो । तर यसरी कसैलाई चिनजान गर्नु अगाडि नै दुख्नेगरी हिर्काउनु जरुरी थियो र ? मैले अँध्यारो मुख लगाएँ ।
खित्का छोडेर हाँस्दाहाँस्दै झट्ट रोकिएर उनले सिरियस अनुहार बनाइन्, “सरी, म त साथी ठानेर अलिक बढी नै जिस्किए छु । तपाईंलाई नराम्रो त लागेन ?”
अब भने मलाई नराम्रो लाग्यो । त्यति खिल्खिलाउँदी सुन्दरीले जाबो प्याट्ट एकचोटि तिघ्रामा हान्दैमा केलाई अँध्यारिनु पर्थ्यो र मैले पनि ।
“हैन, हैन ठीकै छ । म पनि साथी नै त हो नि ।”
उनले मोबाइलमा खोलेको फेसबुकको सर्च गर्ने कोठामा मैले मेरो नाम टाइप गर्न लगाएँ । उनले एड बटन थिचेपछि मेरा फोटाहरु हेर्न लागिन् ।
“कति ह्यान्डसम हो मान्छे त, आबुई आबुई आबुई !”, उनी मलाई साना केटाकेटीलाई जिस्काए झैं गरेर पो जिस्काउन थालिन् । म पनि के कम, भन्दिएँ, “साक्षात् मान्छे यहीँ छ, के फोटो हेरेर ह्यान्डसम भनेकी नि ?”
“आहा, होन्त है ? कति हिरो के तिमी त । गर्लफ्रेन्ड छैन तिम्रो ?”
“अहिलेसम्म त छैन, अब आजैबाट बन्न बेर छैन”, एउटा आँखो यस्सो झिम्काएर भनें ।
“उस् उस् उस्” भनेर उनी मसँग हाइफाइब गरेर हाँस्न थालिन् ।
हाम्रा गफहरु बढ्दै गए, हाँसोहरु फैलिँदै गए । बसका अरु यात्रुहरु पनि जिल्ल परेर हेर्न थाले हामीलाई । के यिनीहरु पहिलेदेखि नै चिनेका साथीहरु हुन् ? फगत एक घण्टाको यात्रामै कोही कसरी हात हालेर चल्ने, तिमी तिमी भन्नेगरी नजिकिन सक्छ र ?
खाजा खाने ठाउँमा बस रोकियो । सबै यात्रु उत्रिए । म पनि उत्रेँ । उनी पनि मसँगै उत्रिइन् । उनलाई छेउमा पाएरै अघाएको मान्छे म । उनलाई हेरेरै प्यास मेटाएको । उनीसँग जिस्किएर चलेरै टन्न थियो मन । मलाई खाजा खाने मान्छेहरू वाहियात लागे ।
बसछेउमै उभिएँ । केही खाइनँ । मसँगै उभिएकी उनले भने “एकछिन है” भनेर मेरो हातमा आफ्नो ब्याग थमाइदिएर निस्किन लागिन् ।
“ए, कता तिमी ?” उनको पछिपछि दुई पाइला हिँडें ।
“सुसु गर्न जान लाको । दर्शन गर्न जान्छौ ?” उनी बेस्सरी खित्खिताइन् । म नीलोकालो भएँ ।
पेट हल्का गरेर उनी फर्किइन् । आउँदा उनको हातमा कुर्कुरेको ठूलो प्याकेट थियो । पेट भरेका मान्छेहरूले रित्तो बस भरियो । अघाएका मान्छेहरू बोकेको बस कुद्यो । उनले कुरकुरेको प्याकेट फुटाइन् । एउटा टुक्रा आफू खान्थिन्, अर्को मलाई खुवाउँथिन् । कुरकुरे सकियो तर कुत्कुती लाग्ने हाम्रा फ्लर्टहरु सकिएनन् ।
रसिला गफहरु हुँदाहुँदै पनि बोल्दाबोल्दा ओठमुख सुके । अनि झल्याँस्स सम्झिएर आफ्नो झोलाको सिक्री खोलें ।
“सुन्तला खान्छौ ?” आफ्नो झोलाबाट सुन्तला निकालेर उनको कुममा हल्का छोएर बोलाउँदै अफर गरेँ । कुरकुरेको धुलो लागेका हातका औँलाहरू चाटिरहेकी उनले पुलुक्क मलाई हेरिन् अनि मेरो हातको सुन्तला हेरिन् ।
“खुवाइदेउ न”, उनले मुसुक्क हाँसेर भनिन् ।
एकछिन त वाल्ल परेँ ।
“हात फोहोर छ, हेर न…”, यति भनेर उनले मुख आँ गरिन् । सुन्तला केलाएर केस्राकेस्रा गरेर उनको मुखमा राख्दिन थालेँ । सुन्तलाभन्दा बढी त त्यो पल नै रसिलो लाग्यो ।
मलाई उनीसँगको यात्रा कहाँसम्म पुग्ने हो भन्ने कौतुहलताले अधीर बनायो । मलाई हेर्नु थियो आफूले बाँचेको जीवनको रेखाबाट जिन्दगीको त्यो अर्को समानान्तर रेखामा जहाँ उनीसँग बिताउँदै थिएँ म आफूले बाँच्न सक्नेभन्दा पनि भव्य एउटा वर्णनातीत प्रेमिल पल ।
त्यस जीवनरेखाको एउटा बिन्दुमा हामी आआफ्ना बिसौनीहरुमा पुगेपछि बसबाट उत्रियौं । तर एकछिनलाई छुटे पनि हाम्रा सम्पर्कहरु बाक्लिन थाले । फोन, च्याट, र भिडियो कलमा हाम्रा हाँसोहरु साटिए, आँशुहरु साटिए । उनको साथ मलाई प्रिय लाग्न थाले । उनीसँग खर्च गरेका समयहरुले मलाई असीम आनन्द दिन थाले । के उनी मसँग प्रेममा छिन् ? मलाई यो प्रश्न सोध्न पनि हिम्मत आउँदैन थियो । मलाई नकारात्मक उत्तरको त्रासले न्याक्थ्यो । यदि उनले प्रेम छैन भनिन्, के म सुन्न सकुँला र ?
हिउँदहरु बिते, केही थान बर्खाहरु पनि बितेर गए । उनको हातबाट टपक्क टिपेर खाएको त्यो चुइगम मनमा गएर पो टाँस्सिएको रहेछ । उनलाई केवल साथीमात्रको हैसियत दिएर मनबाट छुटाउन मन मान्दैन थियो । तर आफ्नो मन पो आफ्नो वशमा हुन्छ त पराईको मनको त के भरोसा ।
जे नसुन्नु पर्ने थियो त्यही सुन्नु पर्यो । आफ्नो चार वर्षको प्रेम सफल भएको जानकारी दिँदै मङ्सिरको एक विहान उनले बिहेको निम्ता गरिन् । भनिन्, “बाटोमा भेटेर चिनेर, त्यसपछि फेसबुकबाट एड गरेर पनि यति क्लोज फ्रेण्ड भाको तिमी मात्र हो यार । बिहेमा जसरी नि आउ ल ? अत्ति क्लोजहरुलाई मात्र बोलाको छु नि । नाई भन्न पाउँदैनौ है ?”
मेरो आशामाथि दुःखको पहाड खस्यो । म:मको किमा जसरी छियाछिया भयो मन । गाडीको सहचालकले “त्रिशुली आइपुग्यो” भनेर कराएपछि प्यारालाल युनिभर्सबाट पुरानै दुनियाँमा आएर धड्याम्म बजारिएँ । धन्न चुइगम नखाएर ठिकै गरेछु । नत्र उताजस्तो झण्ड जिन्दगी हुने रहेछ यार । बेकारमा मन मात्र अमिलिने ।
जीवन न हो जुन रेखामा हिँडियो, राम्रै बाटो हिँडिने रहेछ । जीवनमा पश्चातापहरुलाई बिल्कुल ठाउँ दिनु हुँदैन भन्ने मन्त्र मनमा खेलाउँदै बसपार्कमा उत्रिएँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।