खोल्सीमा बगेको जल; वायु वा थलमार्गबाट हेलिएर वा रथाटन गरी सागरमै किन नपुगोस्, उसले बोकेको स्वाद र गन्ध मुलभूत रुपमा उही नै हुन्छ | यो अनवरत यात्रामा समयको छालले जीवनका आकार र रेखाहरु बदल्नेमा भने कुनै सन्देह छैन | यसरी नै भूतकालका कन्तुरहरु क्रमभंग गर्दै, टुक्रिएका यादहरुको समास वर्तमानमा गर्दा, मेरो मानसपटल सदैव बालापनमा पुगेर हैरान, बेचैन र अवाक् बन्छ |

“छेउछेउको तितो, बीचको मीठो |”

“जो बीचमा सुत्छ उसलाई आन्टीबूढी आएर मीठो मानेर खान्छे |”

दिउँसो खेल्नेबेलामा हजुरआमा यानिकि आमासँग को सुत्ने भनेर मेरो र बहिनीको जहिल्यै झगडा पर्थ्यो | बच्चैदेखि निकै छेरुवा मलाई त्यति भनेपछि पुगिहाल्थ्यो | आन्टीबूढीको डरले भने ठूलो भइन्जेलसम्म पनि छाडेन | त्योबेला, रेडियो नेपालमा बेलुकाको साढे सात बजेतिर घटना र विचार भन्ने कार्यक्रम आउँथ्यो क्यारे | त्यो कार्यक्रम सुरु हुनु अगाडि एउटा धुन बज्थ्यो | त्यो धुनलाई मैले आन्टीबूढी आउन लागेको संकेतका रुपमा बुझ्थेँ | निकैपछि थाहा भयो, चकचक गरेको बेलामा तह लगाउनको लागि त्यस्तो कथा बनाइएको रहेछ |

आजकल, नाबालाकीय अवस्थामा सुषुप्त रहेका आमाको स्मरणका पानाहरु कतै हराएको महसुस हुन्छ | अझ भनौं, बा जीवितै हुँदा मलाई आमाको खास याद नै छैन | बाले स्कुलमा दिउँसो खाजा लिएर गएको, गाउँमा हुँदा मट्यांग्रा बोकी, बाको पछि लागेर लाखु धपाउन गएको भने धमिलो रुपमा सम्झिन्छु | मेरो उमेर त्यस्तै ४-५ वर्ष हुँदा बा बित्नुभयो | त्यो समय मलाई राम्रैसँग थाहा छ, तर जति प्रयास गरे पनि त्यो कालखण्डको फ्रेमभित्रको आमाको चित्र मेरो स्मरणमा आजसम्म कहिले आएन | अझ यसो भनौं, मेरी आमाले रातो कपडा र चुरा पोते लाएको मैले देखेर पनि सम्झिन सक्दिनँ | आमाको तस्बिर मेरो स्मृतिको क्यानभासमा सधैं स्यामश्वेत नै रह्यो |

[bs-quote quote=”मैले थाहा पाउँदाबाटै आमा नियमित औषधी खानुहुन्थ्यो | हामीले धेरै पिरोल्दा आफ्नो मुटुमा प्वाल परेको र अब छिट्टै मर्ने कुरा सुनाउनुहुन्थ्यो |” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”मिलन पाैडेल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/12/IMG_-s03y6o-scaled.jpg”][/bs-quote]

समयको कठोर संघर्षले गर्दा छिट्टै मुजा परेको ठूलो अनुहार, त्यसमाथि आधा झरेर र बाँकी फुलेर सेतो भएको कपाललाई ढाक्नेगरी शिरमा गुथेको सेतै मलमलको पछ्यौरा, आङमा मैलो रङको चोलो र त्यस्तै फुस्रोखाले धोती, सर्लक्क परेको ठूलो गाँठी जिउडाल, असन्तुलित भए पनि सामान्य हिँडाइ, केहीबेर हिँडेपछि खुइ…या गरेर कम्मरमा हात राखी एकछिन रोकिने उहाँको बानी र घुँडाबाट आइरहने राइफलको तेलको गन्धसँगै म हुर्किएँ | मैले देख्ने बेलादेखि अन्तिमसम्म आमालाई लगभग उस्तै नै पाएँ | सायद बुढ्यौलीमा मात्रै देखेकाले होला, अचेल मेरी आमा उमेर छँदा कस्ति हुँदी हुन् भन्ने खुब जान्न मन लाग्छ |

आमालाई निकै चिया पिउनुपर्ने; बिहान र दिउँसो खाजा खाने समयमा उहाँलाई चिया अनिवार्य चाहिन्थ्यो | चिया पिउने उहाँको आफ्नै तरिका थियो | बीट नदोब्रिएको ठूलो बटुकोबाट आफैँ थालमा खन्याएर, सेल्याएर, थालबाटै तन-तन पिउनुहुन्थ्यो | त्यो आमाको थाल र बटुको अझैसम्म पनि घरमै छ | आमाकै सिको गर्दै मैले पनि निकैपछिसम्म त्यसरी नै स्टीलकै थालमा चिया खान्थेँ | ठूलो हुँदै गएपछि केही लाज र गालीले गर्दा स्टीलको गिलासमा सरियो | आजकल पनि मलाई चिया खाँदा पाएसम्म र भएसम्म स्टीलकै गिलासमा चाहिन्छ | चरेसको थालमा भात खानु र कप वा सिसाको गिलासमा चिया पिउनु कहिल्यै नपरोस् जस्तो लाग्छ | दूध चियाको लत नजानेरै त्यहीँबाटै सुरु भयो र यो सायदै छुट्ला |

मैले थाहा पाउँदाबाटै आमा नियमित औषधी खानुहुन्थ्यो | हामीले धेरै पिरोल्दा आफ्नो मुटुमा प्वाल परेको र अब छिट्टै मर्ने कुरा सुनाउनुहुन्थ्यो | हत्तपत्त म आमाको काखमा लुटपुटिएर ठूलो भएपछि मुटुको डाक्टर बन्ने र आमालाई निको बनाउने कुरा गर्थेँ | मैले यसो भनिरहँदा आमाको अनुहारको भाव खै कस्तो हुन्थ्यो तर म मर्छु भन्न चाहिँ छाड्नु हुन्थ्यो | सायद बालापनको क्षणभंगुरीय मिठासले आमालाई एकछिन भए पनि आनन्द दिँदो हो | आज समयको छालले काट्दाकाट्दै शरीर तन्काएर ठूलो बनाएको छ | जीवनको रेखाचित्र कोरिदै जाँदा लाडे पल्टिएका त्यी अबोध वाचाहरु भने तस्बिरमा अटाएनन् |

बच्चामा ममीसँग झगडा परेपछि म सधैंजसो घर छाडेर जाने धम्की दिन्थेँ | आफ्नो केही कपडाहरु झोलामा राखेर; तिमीहरुको घरमा बस्दिनँ भन्दै थर्काएर, म झोला बोकेर घरबाहिर लाग्थेँ | आमाले कहिलेकाहिँ “मलाई नि लैजाउ बाबु, तिमी भएनौ भने मलाई खान पनि दिन्नन् !” भनेर भन्नुहुन्थ्यो |

जिस्किएर भनेको उहाँको कुरामा म असीमित सत्यता देख्थेँ र भन्थेँ “आमालाई पनि मसँगै लान्छु | जोगी भएर, मागेर भए पनि जसै पाल्छु |”

जति सान झारेरबाहिर निस्किए पनि घर आगाडिको दगदगेको बुटोछेउमा पर्खालको आड लाएर लुक्नबाहेक टाढा जाने आँट चाहिँ कहिले आएन | त्यहाँ लुकिन्जेल मैले कहिले मागेर, कहिले अरु काम गरेर आमालाई पालेको कल्पना भने खुबै गर्थें |

१५ वर्ष अघिको एक विहान, सपनाबाट असिनपसिन भएर ब्युँझन्छु | पृष्ठभुमिमा टंगटंग बजेको ५ घन्टीले विहानको ५ बजेको संकेत दिन्थ्यो | दुई तले खाटको माथिल्लो ओछ्यानछेउको झ्यालबाट म शून्य अवस्थामा बाहिर चियाउँछु | मेरा ज्ञानेन्द्रीयहरुले केही मेसो नपाएको भान हुन्छ | सपनाबाट ब्युँझेको धेरैपछिसम्म पनि आँसु खस्न भने छाडेको छैन |

केहीबेरको शून्यतापश्चात् कहीँकतै सुनेको कुराले केही राहत दिन्छ , “सपनां कोही जिउँदो मुन्छे मर्या देख्यो भने, त्यो मुन्छेको आयु बढ्छ |” केही शब्दहरुको स्मरणीय दर्कोले मेरो अतालिएको चेतलाई थोरै भए पनि शान्त बनाउँछ तर पुनः निद्रा भने लागेन |

हजुरआमालाई प्रायः म सपनामा देखिरहन्थेँ | भेट भने विद्यालयबाट घर जाँदा मात्रै हुन्थ्यो, लगभग महिनामा एकपटक | त्योबेला आमालाई रोगले च्याप्दै लागेको थियो | म सामान्यभन्दा अलि धेरै नै आमालाई सपना देख्थेँ | त्यस्तैमा त्यो विहानको सपनामा मसँग बोल्दाबोल्दै, आमा बित्नुभएको देखेकोले म आत्तिएको थिएँ |

केटाकेटी बेला, त्यो सपना मैले बिर्सिहालेँ | लगभग १ हप्तापछि बल्ल थाहा भयो; एक हप्ता अगाडि नै मलाई खोज्दाखोज्दै विहानको त्यही समयमा आमाको शरीर निर्जीव भएछ | विज्ञानले ओतेको युगमा रक्तसंचार नभएको शरीरले कोशौं पर रहेको पुन्टे प्राणीसँग अलबिदा माग्यो |

त्यो दिन र आजको दिन, मैले आमालाई सपनामा फेरि कहिल्यै देखेको छैन | सपनाको परिधि मेरो मस्तिष्कको पकडभन्दा बाहिरको भएर होला, कयौंपटक आमालाई सपनामा देखियोस् भनेर सुत्नेबेलामा निकै सोचे पनि नहुने रहेछ |

बालक र वृद्धबीचको सम्बन्ध किन घनिष्ट हुन्छ भन्नेबारे विज्ञानले अनेक तर्क पेश गरेको होला | मलाई भने यो प्रकृतिले बनाएको निकै खास र अर्थपूर्ण नियम हो भन्ने महसुस हुन्छ| यसकारण कि यो सम्बन्ध, संसर्ग र आत्मीयताले अचेतन मनमा आफ्नो सभ्यता, संस्कार र दर्शनको अभूतपूर्ण खाँबो गाड्ने रहेछ | यस्ता यादहरु समयको धर्सा र घर्षणसँगै अझ शूक्ष्म, सपाट, सरल र जीवन्त लाग्दा रहेछन् | बचपनकै स्मृतिचित्र भए पनि, मेरा लागि वर्तमानमा स्व: प्राणित्वको मुख्य हिस्सेदार यिनै यादहरुका कँसिलो पोका बनेका छन् |

तत्पश्चातदेखि वर्तमानसम्म जीवनमा घटित उच्छ्वास , चंचलता, माधुर्य, आत्मीयता जस्ता मनका विकिरणहरुमा मैले सदैव आमाको त्यही तरङ्ग संचारित भएको आभाष पाउँछु | भावनात्मक निकटताको गहिरो प्रारूप बालक हुँदै नजानेर अनुभव गरिएछ | खैर, जानेर कहिले पनि मनुष्य त्यो बिन्दुसम्म नपुग्ला |

१५ वर्षपछि पनि, आमालाई फेरि एकैपटक भए पनि सपनामा देखियोस् भन्ने मनोकामना जारी नै छ |