लगनको महिना मंसिर सुरु भएपछि, विवाह गर्ने उमेर भएका अविवाहित युवायुवतीहरुको कोठाबाट भित्तेपात्रो र मोबाइलबाट क्यालेन्डर एप्स एकैपटक गायब हुन्छन् । त्यसैले होला, उनीहरुलाई आफन्तहरुले मंसिर लागिसक्यो है भनेर बारम्बार सम्झाइरहनुपर्छ । जिस्काउनका लागि मात्र सोधिएका मंसिरको चाँजोपाँजोबारेका प्रश्नहरुलाई हाँसेर टार्न सके पनि कहिलेकाहीँ जोडी मिलाउने उद्देश्य बोकेर आएका प्रश्नहरुले भने दबाबको परिस्थिति समेत सृजना हुन जान्छ।

कोरोना महामारीको विषम परिस्थितिबाट गुज्रनु नपरेको भए, यसबेला सहरका पार्टी प्यालेसहरु भरिभराउ हुन्थे। बाटोमा बैन्डबाजाको आवाज घन्किरहेको हुन्थ्यो। गाँउघरमा, छरछिमेकका आमाकाकीहरु भेला भएर दुनाटपरी गाँस्नु हुन्थ्यो । बुबाकाकाहरुले घुर्यानभरि कटेराकटेरीहरु बनाएर भोज खाने ठाउँ ठिक्क पारिसक्नु हुन्थ्यो। अर्थात्, सबैतिर आआफ्नो किसिमले विवाहको माहोल छाएको हुन्थ्यो । यस वर्ष भने कोरोना महामारीकै कारण छिट्पुटबाहेक वैवाहिक कार्यक्रमहरु भएका देखिएनन्। देखिए पनि तुलनात्मकरूपमा अघिल्ला वर्षहरूमा भन्दा कम देखिए ।

विभिन्न कारणले प्रेमसम्बन्ध टुटेर अन्तै साइनो जोडिन लागेकाहरु बाहेक, विवाहले सबैको मनमा एक किसिमको रोमाञ्चक अनुभूति गराउँछ नै । प्रेमविवाह हुनेहरुका लागि वर्षौँ सजाएको सपना पूरा हुनलागेको क्षण र मागीविवाह हुनेहरुको लागि एकअर्काप्रति कैयौं उत्सुकता जाग्ने क्षण, दौडधुपकै बीच पनि विवाहअघिको माहोल निक्कै रमाइलो हुने गर्छ । त्यसमाथि, आफ्नो संस्कृतिमा धनी हुँदाहुँदै पनि हिजोआज भित्र्याइएका विभिन्न पृ-म्यारिज र पोस्ट-म्यारिज इभेन्ट्सहरुको चलन र सामाजिक संजालहरुबाट सजिलै प्राप्त हुने बधाई र शुभकामनाका शब्दगुच्छाहरुले अझै धेरै रमाइलो माहोल सृजना गरिरहेको हुन्छ । विवाहको समय र नवदाम्पत्य जीवनका केही महिना या वर्षजस्तै रमाइलो जीवनभर टिकेको पाउन भने हम्मेहम्मे पर्छ ।

[bs-quote quote=”जब एकअर्काको आवश्यकता परिपूर्तिकै लागि साथ रोज्नु छ भने, आवश्यकतानुसार जसले जे सक्छ त्यही गरेर हाँसीखुशी जीवनयापन गरे हुन्न र ?” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”समीक्षा खतिवडा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/samikxya-khatiwada.jpg”][/bs-quote]

सामान्य हिसाबले सोच्दा विवाह शब्द सामान्य नै लाग्छ। अपवादबाहेक सबैले जीवनमा एकपटक गर्ने कर्म विवाहको उद्देश्य एक असल जीवनसाथी प्राप्त गर्नु हो। तर, पूर्वीय सभ्यतामा विवाहले दुई व्यक्तिबीच मात्र नभई दुई परिवारबीच सम्बन्ध कामय गर्ने पुलको कार्य गर्दछ। भविष्यको जीवन कस्तो रहन्छ भन्ने कुरा तय गर्न विवाहको सम्बन्धमा लिइएको निर्णयले पनि ठूलो भूमिका खेल्दछ ।

एउटी छोरी भएर सोच्दा, बिहेपश्चात घर र श्रीमानबाट राखिने सामान्य अपेक्षाहरुमा, पढाइ पूरा नभएको भए, मैले बिहेपछि पनि पढ्न पाए हुन्थ्यो, कतै कुनै पेसा, व्यवसायमा आबद्व भएको भए बिहेपछि पनि काम गर्न पाए हुन्थ्यो लगायतका अपेक्षाहरु पर्दछन्। यीबाहेक माया गर्ने श्रीमान्, सहयोगी परिवारजस्ता अपेक्षाहरु त स्वत: रहने नै भए।

अर्कोतिर, एउटा छोराले उसको पारिवारिक अवस्थाअनुसार, बिहेपश्चात् आफ्नी श्रीमती पनि धेरथोर कमाउने भए हुन्थ्यो वा परिवारमा बुवाआमा वृद्ध, रोगी या अशक्त हुँदै गएका भए, बुबाआमाको हेरविचारसँगै परिवार सम्हाल्दिए हुन्थ्यो, घरबाहिर बसेर काम गरिरहनु परेको भए कामबाट फर्कदा मीठो मुस्कानसँग दुई गाँस खाना पस्किदिए हुन्थ्यो लगायतका अपेक्षाहरु राखेको हुन्छ ।

तर, हामीकहाँ जीवनका उद्देश्य, रहर र सपनाहरुको मेलभन्दा बढी महत्व जात र कुल खानदानको मेललाई दिइन्छ। कतिपय अवस्थामा “राम्रो मान्छे उम्काउन हुन्न” भन्दै हतारमा निर्णय लिनेगरेको पाइन्छ । नतिजास्वरुप, पढ्न पाए हुन्थ्यो भन्ने सोचिरहेकी केटीसँग बुबाआमा र घर सम्हाल्दिए हुन्थ्यो भन्ने अपेक्षा राख्ने केटाको विवाह हुन पुग्छ। त्यसपछि, दम्पतीमध्ये एक जनाले सपनाको आकाशमा उडान भर्न खोज्दा अर्कोले पार्टनरको निम्ति सम्झौताको जीवन जिउन तयार बनिदिनुपर्छ।

जात, जागिर, खल्ती र खानदानको नापतौल गरेर बनाइएका ज्वाइँ र रुप, सीप, जाँगर र जवानी जोखेर बनाइएका बुहारीले, जब सोच, विचार, सपना र रहरहरुको तराजुमा एकअर्कालाई जोख्ने दिन आउँछ, तराजुका पल्लाहरु स्थिर रहन हम्मेहम्मे पर्छ । तिनै असन्तुलित पल्लाहरुसँगै दाम्पत्य जीवनले पनि सन्तुलन गुमाउन सुरु गर्छ । त्यसैले त बर्सेनी सम्बन्धविच्छेदका सयौं मुद्दाहरु दर्ता हुने गर्छन् ।

विवाहपछि विशेषगरी महिलाहरुका सपनाहरु पूरा नभएको, आफ्नो योग्यता र क्षमताको उचित प्रयोग गर्न नपाएको, घरभित्रै सीमित हुनुपरेको बारेमा विभिन्न लेखहरु पढ्न पाइन्छ । व्यवहारिक जीवनमा पनि सोचविचार नगरी गाँसिएका वैवाहिक सम्बन्धले तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलाहरुले आफ्ना सपनाहरुको बली दिएर परिवारलाई “फलानोको जस्तो परिवार भए पो…” भन्ने उदाहरणको रुपमा प्रस्तुत गरेको पनि देखिन्छ। तर यसको मतलब यो होइन कि पुरुषहरु विवाहपछि पनि विवाहअघि जस्तै स्वतन्त्र रहेर सपनाको संसारतर्फ लम्कन पाऊन् । एउटा क्षेत्रमा अघि बढ्न रहर गर्दैगरेको पुरुषले जब पारिवारिक अवस्थाको कारण चाँडै विवाह गर्नुपर्ने परिस्थिती सृजना हुन पुग्छ, तब बढेको जिम्मेवारीसँगै सपनाभन्दा बढी ध्यान आम्दानीको बाटोतर्फ लगाउनुपर्ने हुन्छ, त्यो पनि तत्काल । यसरी सोच्दा लाग्छ, कतिपय हतारका विवाहहरु केवल वि”वाह” नभई विवाह”बन्धन” हुन पुगेका छन् ।

यस्तो अवस्था सृजना हुनुमा आधा दोषको जिम्मा त हाम्रो सोचाइले नै लिनुपर्छ । बिहेपछि, आफ्नो कमाई नभएर श्रीमतिको कमाइमा निर्भर हुनुपरे, एउटा पुरुषलाई हामी लाछी र नामर्दको ट्याग भिराउन हतार गरिहाल्छौ। त्यही ठाउँमा एउटी श्रीमतिले, श्रीमानको कमाइमा निर्भर भई आफ्नो अधुरो पढाइ पूरा गरेर आत्मनिर्भर बन्न सक्षम बनिन भने उनका श्रीमान् र परिवार हाम्रो नजरमा “उदार” बन्न पुग्छन् । जबसम्म महिला र पुरुषलाई हेर्ने नजर एउटै बनाउन सकिन्न तबसम्म धेरै विवाहहरु, फेरि पनि बन्धन नै बनिरहन्छन् ।

जब एकअर्काको आवश्यकता परिपूर्तिकै लागि साथ रोज्नु छ भने, आवश्यकतानुसार जसले जे सक्छ त्यही गरेर हाँसीखुशी जीवनयापन गरे हुन्न र ? जो जसमा निर्भर भए पनि, जसले जसको लागि कमाइदिए पनि, एकअर्काप्रति माया र सम्मान रहिरहनु महत्वपूर्ण कुरा हो। एकार्काको साथ र सहयोग भए विवाहअघिका अधुरा सपनाहरु विवाहपछि पनि अवश्य पूरा हुन्छन् ।

त्यसैले, विवाहअघि चिना मिलाउनलाई जति महत्व दिइन्छ, त्यति नै महत्व विवाहपछिका अपेक्षाहरुको तालमेल मिलाउनलाई पनि दिने गरौँ । एकअर्काको सपनाको दास होइन, सपनाका खुट्किलाहरुमा प्रेरणाको स्रोत र सहयात्री बनौँ । त्यसपछि कसो स्थिर नबन्लान वैवाहिक जीवनमा अपेक्षाका पल्लाहरु ? त्यसपछि कसो नपाइएला, विवाह”बन्धन”मा बाँधिन नभई सुखद वैवाहिक जीवनयापन गर्न ?

अन्त्यमा, कोरोना कहरलाई छल्दै, स्वास्थ्य सतर्कता अपनाएर वैवाहिक जीवनतर्फ अघि बढ्दै गरेका यस वर्षका सम्पुर्ण बेहुलाबेहुलीहरुलाई सुखद वैवाहिक जीवनको शुभकामना ।