हिजोआज निदाउरी छे । बैँसालु जून खिस्रिक्क छे । अस्तिअस्तिकी पिउरीजस्ती जून आज लोहाजस्ती छे ।

*

जून ! तिमी हरेश नखाऊ । खात्लाकखुत्लुक नहोऊ । तिम्रो अन्तरवेदना मलाई थाहा छ ।

जून ! तिमी एक्ली कदापि हुन्नौँ । हिरा हुनु पर्ने तिम्रो जीवन बालुवा हुन नदिन छाती ठोकेर इमान्दार साक्षी बक्ने म छु, तिम्रो लागि र तिमी जस्तै प्रत्येक नारीको लागि ।

हो जून साँचो हो ! साँचो !!

ओहो ! कौतुक नेत्रले पुलुक्क हेरी मसँग तिमी नझस्क,नतर्स । हुनसक्छ, तिमीले मलाई घटीभन्दा घटी,अलिकति पनि जानेकी छैनौ । बदलामा विश्वास गर जून ! मैले तिमी र तिमी झैंका उमेरदार स्त्रीका अनेकौं विवश- व्यथा र लाचारी- पीडा,अनि नारी अस्पष्ट कथाहरू केही-केही मात्रै भए पनि बुझेको छु ।अझै बुझ्ने चाख लिएर ,म अरू-अरू पनि धेरै घुम्ती र अप्ठ्यारा मार्गहरू चहार्न उतर्सिरहेको छु ।

**

कणाद महर्षि

आमै जून ! यसरी हात खुट्टा नछोड ! आफू आफैंमा नउकुसमुकुसेऊ ! यो मान्छेकै जीवन र मान्छे-मान्छेसँगैको संसर्ग त ह‍ो ।

यहाँ भाउँटो त कति बल्झिन्छन् कति, तर बुझ, यी छिनैमा तर्किन्छन् पनि । कमसेकम आफ्नै भावनाको पाइलालाई रोक्नु हुन्न ।

*

मलाई थाहा छ, तिमी आजभोलि आफ्ना संगीहरूसित छिल्लिन पनि छोडिसकेकी छ्यौ । हाँसोको उन्मादमा लट्ठिएर, गलेका अङ्ग प्रत्यङ्गहरू मस्त मस्किएर अरूको काँधमा छाडा बिसाउने छात्रा-संस्कार पनि तिमीले त्यागिसकेकि छ्यौ ।

त्यसो होइन जून ! त्यो भूलको पथ हो,गलत हो ।

भएको कुरा हुन हो, सुर्ताएर फाइदा के भो ?

तिमी छ्यौ यो संसार छ, तिमी हुन्नौ यहाँ शून्य पनि नरहला सायद तिम्रा लागि ।

त्यसैले तिमी हिजो बिर्स, वर्तमानमा रमाऊ र यो फटाहा युग, ढोँगी परम्परा अनि छुल्याह वातावरणमा उर्लदो विध्वंश छेड्न भ‍ोलिको अगाडि सोच । चोलो स्याहारेर पटुका कस । ठिङ्ग,तम्तयार होऊ । तिम्रो पेटभित्रको जन्मने बच्चालाई पर्ख ! ल्याउनु त पर्छ, पर्छ ।

छात्रालाई असमञ्जस्यमा पारी क्षणिक आनन्द चुसेपछि तिम्रो दुई जिउ स्वीकार्न नमान्नेको त्य‍ो जन्मने बच्चालाई यहाँका बलजफतका पुरूषका सहनहीन उन्मत्तपन र गोबर-गिदीमा बलात्कार भाला धस्ने एउटा क्रूर प्राण बनाएर ल्याउनु पर्छ !

अनि चेत्लान् …

अनि चेत्लान् …

अनि चेत्लान् ….. ।