१. नाङ्गो सत्ता

तात्तिएको, उम्लिएको, फुट्नै आँटेको टाउको
जोड हातले समाएर
आफ्नो भाग्य धिक्कार्दै –
एउटा रोगी सर्वहारा
सडकपेटीमा लड्नै लागेको छ ।

सुरुमा बटुवाहरूले देखे
त्यसपछि पत्रकार आए
क्यामेरा आयो
सहानुभूति आयो
सारा देशले
कहीँ न कहीँ, कतै न कतैबाट
कमसेकम नजर पठायो,
बस् सत्ता पुगेन,
किनकि ऊ सधैँ बिचराको बिचरै रह्यो

असहाय र भोकाहरूको औंठा बेचेरै पनि उसले
न आफ्नो आंग भर्यो न त आंत नै,
त्यसैले त बिचरो सत्ता – सधैँ नाङ्गिरह्यो |

 

२. बोध

अभाव-
आस्था हराएको
खोक्रो मूर्तिजस्तो
कुल्चिन आँट नगरेको दोबाटोको ढुङ्गाजस्तो
घाम देख्न नपाएको बिस्कुनजस्तो
खडेरीले दबाएको खलियानजस्तो
राष्ट्र बेचेको राष्ट्रियताजस्तो
आमाको तस्बिर हराएको टुहुरोजस्तो ।

आवश्यकता-
भक्कानिएर पनि खस्न नसकेको आँसुजस्तो
चाहेर पनि पाउलिन नसकेको बसन्तजस्तो
झरी खोजिरहेको डढेलोजस्तो
भावना बेचेको कविजस्तो
दृष्टि गुमाएको द्रष्टाजस्तो
देश गुमाएको शरणार्थीजस्तो ।

अब भन-
अभावले आवश्यकताको बोध गराउँछ
वा
आवश्यकताले अभावको ?

३. बसन्त

तिम्ले छाडेपछि पनि
उस्तै नै छु-

उजाड बनाएर मौसम
शिशिर कतै भागे पनि
बसन्तमा रौनकता –
हराउने नै कहाँ हो र ?