आफ्नो कथा प्रकाशनमा प्रतिबन्धपश्चात् अदालत पुगेका लेखकको पक्षमा फैसला भएको छ । आज नेपाली साहित्यिक इतिहासमा घटेको यस्तो बिरलो घटनाको साक्षी हामी सबै बन्न पाएका छौं । यही प्रतिबन्धित कथाका लेखकसँग गरिएको छोटो कुराकानी जस्ताको तस्तै आजको साहित्यिक अङ्कमा समेट्ने प्रयासमा छौं ।

पत्रकार – नमस्कार, सर्वोच्चको आजको फैसलालाई कुन रूपमा लिनु भएको छ ?

लेखक – तपाईं कस्तो पत्रकार ? अध्ययन गरेर बन्नु भएको हो कि, भाइरल ?

पत्रकार – पत्रकारितामा लागेको यत्तिका वर्षमा कसैले मेरो बायोडाटा खोज्यो, कारण ?

लेखक – के पत्रकारलाई सर्वेसर्वा हुने छुट छ ? किन तपाईँको कुनै धर्म,मूल्य र मान्यता हुँदैन ? खै, आउँदो पुस्ताले आइडल भनेर अनुकरण गर्न सक्ने पात्र पत्रकारिताले जन्माएको ?

राज्यको शक्तिशाली निकाय पत्रकारिता स्वयम् दलदलमा फसेर कारुणिक मसीले आफ्नो उद्धारक मसिहा खोजी रहेको विषय तपाईं हामी बीच विदितै विषय हो ।  अधिकारले भरिएको प्रख्याति चाहने तर उत्तरदायित्वको ‛उ’ सँग भाग्नेका भीड बढ्दो छ । त्यसैले सबैलाई शङ्कालु दृष्टिले हेर्न बाध्य बनेको कुरा कृपया, माफीसहित बताउन चाहन्छु ।

प्रवीण निराैला

(लेखकको कुराले पत्रकार हच्कियो । कार्डसहित अध्ययन र अनुभवको पुन्टे खुत्रुके फुटालो ।)

लेखक – प्रश्न राख्न सक्नु हुन्छ ।

पत्रकारले प्रश्नलाई पुनः दोहोरायो ।

लेखक – व्यक्तिगत स्वार्थ अनि आर्थिक महत्त्व नराख्ने क्षेत्रमा अझै न्याय बाचेको रहेछ भन्ने लागेको छ ।

कठै, मेरो देश । भ्रष्ट, दलाल र चाकरहरू ढार्णिएको । कृपया, अर्को एक निवेदन छ  यहाँमाझ टक्राउन चाहन्छु ।

(पत्रकारले सहमतिमूलक टाउको हल्लायो र लेखक अनुरोधमय लवजमा बोल्न लाग्यो ।)

फोहरी राजनैतिकले पेन्डुलम बनाएको न्यायालयको विषयमा थप प्रश्न नगरिदिनु होला ।

पत्रकार – अवश्य, तर नैतिकताको कुरा गर्ने तपाईं स्वयंको कथामा प्रयोग गरिएका भाषा छाडा, अश्लील, फोहोरी र तल्लो स्तरका हुन्छन् भन्ने आरोप लाग्ने गरेको छ । कथा प्रतिबन्ध लाग्नुको कारण के यही हो त ?

लेखक – यो त प्रतिबन्ध लगाउने निकायले प्रस्टाउने कुरा हो ।

अदृश्य जन्जिरले बाँधेर कुनै डरलाग्दो अपराधीलाई झैँ मस्तिष्कको अनयुज काल कोठरीमा थुनिएर वर्षौंवर्ष उत्पीडनको सिकार बन्नु परेका यिनै निरीह शब्दहरूप्रति कलेक्टिभ कन्सियस मस्तिष्कद्वारा सुझबुझका साथ रचिएको षड्यन्त्रै कम थिएन र । किन तपाईं मानव निर्मित निर्जीव शब्दलाई प्रतिष्ठाको कसी लगाएर नैतिकताको तराजुमा जोख्ने प्रयास गर्दै हुनुहुन्छ पत्रकार महोदय ? बिचरा, निरीह अक्षर ।

म अक्षरको साधना गर्ने साधक । मेरा निम्ति सबै समान ।

यहाँ नारी समानतादेखि जात र रङ्गभेदका मुद्दालाई चिच्याउँदै खोतलिन्छ तर वर्षौंदेखि सामाजिक उत्पीडनका सिकार भएका यी शब्दका पक्षमा चुइँक्क बोलिदिने कोही देख्नु भएको छ ? मैले उठाएको मुद्दा यति मात्र हो । हाम्रै समाजले जन्माएका यस्ता शब्दहरूलाई किन दलित व्यवहार गरिन्छ ? अश्लील र फोहोरी भनी गालीगलौच गर्दै सार्वजनिक स्थानमा उपस्थिति हुन वञ्चित गरिन्छ । कसैले न कसैले त यिनको पक्षमा वकालत गर्नु पर्यो नि, होइन र ?

मा…मु…ला…पु……चि….जा….तपाईं नै भन्नु होस्, यी शब्दहरू मा के खराबी छ ? दोष के ? किन यिनीहरूको अस्तित्व समाजले समान्य रूपमा स्वीकार गर्न सक्दैन ? तपाईं नै भोलि यिनीहरूमाथि छुरा चलाउँन पछि पर्नुहुन्न । हो यही विभेद अन्त्य भएर सामान्य रूपमा अन्य सरह भविष्यमा प्रयोग हुन पाउनु पर्यो भन्ने मेरो मान्यता हो ।

पत्रकार– के वास्तवमै आगामी दिनहरूमा यस्ता शब्दहरूले न्याय पाउलान् त ?

लेखक– यो मुद्दा त केवल नजिर हो । समाजमा वर्षौं पिल्सिएर बस्नु परेका यिनै शब्दहरूको पक्षमा अदालतको फैसलाले टेको लगाइदिने काम गरेको छ । यसलाई शब्द–समानताको पहिलो कदम अवश्य मान्न सकिन्छ । सच्चा न्याय अदालतीय फैसलाभन्दा पनि अब उपरान्त यिनीहरूप्रति गर्ने व्यवहारमा निकै भर पर्ने कुरा हुन आउँछ । त्यति मात्र नभएर प्रत्येक जनमानसमा यस्ता शब्दहरूको निर्विवाद स्वतन्त्रतामा लागेका बन्देज मानवीय समाजले लगाएको अङ्कुश मात्र हो भनेर बुझाउनु पर्ने चुनौती थपिएको छ । जुन दिन हामी सबैले यिनीहरूको अस्तित्व अन्य शब्दहरू जस्तै सामान्य रहेको महसुस गर्न सक्छौं तत्पश्चात् मात्र यिनीहरूले सच्चा न्याय पाएको अनुभूति हुनेछ ।

पत्रकार – क्या बात । क्या बात । अक्षरहरूप्रति कस्तो विशाल हृदय ? साहित्यिक समानताको पक्षमा तपाईँले छेडेको बहस, उठाएको आवाज र यिनप्रतिको अनौठो प्रेम । सलाम छ लेखकजी ।

लेखक – मलाई फुर्क्याइदिनु भएकोमा यहाँलाई धन्यवाद ।

“रा” लाई राम वा रावण हामीले नै बनाएको हो । त्यसैले साहित्य भनेको समाजको लुकेको चरित्र हेर्ने विशाल मनोवैज्ञानिक ऐना हो । इतिहासका पन्ना पल्टाउनु भयो भने धेरैभन्दा धेरै नयाँ शब्दहरू साहित्यले समाजलाई दिएको छ । ब्रह्माण्डलाई व्याख्या गर्न सक्ने शब्दहरू आफैंमा अनुपम छन्, छैनन् र?

नवीनता पृथ्वीको धर्म हो । नयाँ शब्दप्रति त झन् मेरो विशेष लगाव छ त्यसैको एक उदाहरण हो फकिङ्गपूर । शेक्सपियर, जेम्स जोइस, चाल्र्स डिकेन्स, स्टीफन किंग, जे.जे.आर. टोलकिएन जस्ता लेखकका स्वर्निमित्त शब्दहरू समक्ष मेरो प्रयोग केवल न्यूवर्न जस्तो देखिन सक्छन् । मेरा नवजातहरू भर्खरै जन्मेकाले पिता बनेर यिनीहरूको नर्चरिङ्गको जिम्मा लिएको छु । केही वर्ष यिनै सन्तानहरूसँग रमाउने विचारमा छु ।

पत्रकार – कुमार पिता । विवाहको बारेमा केही सोच्नु भएको छ ?

लेखक – पत्रकार मित्र, तपाईं हामी अक्षरको साधना गर्ने मानिस । मेरा निम्ति जवानीले भरिएकी युवती सुमसुम्याउँदा आउने आनन्दले अक्षर चलाउँदा आउने आनन्दलाई प्रतिस्थापन गर्न सक्दैन । त्यसैले जीवनभर अक्षर सुमसुम्याएरै सुखानुभूति गर्ने प्रयत्न गर्नेछु ।

(दुवै दिल खोलेर हाँस्छन् ।)

पत्रकार – तपाईँलाई अभागी लेखक पनि भन्छन् नि ? तपाईँले पुरस्कार नपाउनुको कारण के हुन सक्छ ?

लेखक –लेखक त मात्र लेख्न चाहन्छ । जब भक्तिमा वरदान जोडिन्छ तब त्यो भक्ति पूजाबाट एकाएक वासनामा बदलिन्छ । साहित्यमा दिइने पुरस्कार व्यापारको लागि थापेको बल्छी मात्र हो ।  उन्नाइसौँ शताब्दीमा जब ग्लोबल औद्योगीकरणबाट व्यवसायीकरणतर्फ अग्रसर हुन लाग्यो त्यसैको एक वाई–प्रडक्ट मात्र हो आधुनिक पुरस्कार ।

पत्रकार – थोरै प्रसङ्ग  बदलेर कथातर्फ नै लागौँ कि ? एपिक फेन्टसी लेखक भनेर चिनिनु हुन्छ । एपिक फेन्टसी लेखनको स्वाद यो कथामा कसरी पाठकले महसुस गर्लान् ?

लेखक – जन्म र मृत्युबीचको परम्परागत चक्रलाई भत्काउँदै चेतनाको आधारमा डिजाइन गरिएको मोर्डन महाचक्रका परिकल्पनाकार त्रिकालदर्शी त्रिलोकदास फकिरको कथा हो । बागी फकिर । उनलाई जन्म र मृत्युको चक्र अर्थात् स्वर्ग र नर्कको कन्सेप्ट पटक्कै मन परको थिएन । त्यसमाथि पाप र धर्म मेजरमेन्टको मेथोडोलोजी र क्राईटेरिया अवैज्ञानिक ढङ्गले परम्परागत रूपमा चलिआएको देखे । त्यसैले कर्म, चेतना, टाइम, स्पेस र गतिलाई आधार बनाएर केही क्रिएटिभपूरेको सहयोगमा एक अदृश्य चक्रको निर्माण गरे । कालान्तरमा यही चक्र फकिङ्पूरे फकिरको महाचक्रको रूपमा प्रसिद्ध हुन पुग्यो ।

पत्रकार– कौतुहलताले कुत्कुत्याएर कल्याकुलुङ्गको गुन्जन मस्तिष्कमा गुन्जिन लाग्यो । बोल्दा बोल्दै रोकेकोमा कृपया माफी चाहन्छु । तपाईँले कथामा जन्म, मृत्यु र चक्रका कुरा गर्नु भयो । स्वर्ग र नर्कको विषय उठान गर्नु भयो ? यस्ता विषयहरू एपिक फेन्टसीमा सबै लेखकले प्रयोग गर्छन् । यो कथा पढेर पाठकले कसरी नयाँ स्वाद पाउन सक्लान् जस्तो लाग्छ ?

लेखक – गज्जबको प्रश्न गर्नु भयो । उत्सुकता र रचनात्मकता मानवीय समाजको सबैभन्दा ठूलो अस्त्र हो । यिनै कारण ब्रह्माण्डको उत्पत्तिको बारेमा थुप्रै थियोलोजी, कस्मोलोजी र अन्य सयौं लोजीहरु हाम्रो समाजमा प्रचलित छन् । यस कथाद्वारा मैले ब्रह्माण्ड उत्पत्तिको अर्को सम्भावनालाई खोतल्न खोजेको छु ।

पत्रकार – कस्तो सम्भावना लेखक महोदय । केही बत्ताइदिनु हुन्छ कि ?

लेखक – अवश्य ।

जब लाखौं वर्ष पहिला दुई अत्यन्त साना परमाणु बीच समागम भयो तब अनौठो घटना घट्न गयो । एक परमाणु गर्भिणी बन्न पुगी । तिनीहरूबाट निस्किएका अन्य परमाणुले तिनीहरूलाई परिक्रमा गर्न लागे । यो क्रम लाखौं वर्ष निरन्तर चलिरह्यो । यसरी बाह्य सतहमा तारापुन्ज र ताराहरू बन्न पुगे । ब्रह्माण्ड बालकबाट युवक बन्न पुग्यो ।

जब करोडौं वर्षमा कसमस युवक बन्यो तब उसको केन्द्रबाट चहकिलो पारदर्शी रस भरिएका अदृश्य झिल्लीहरू निस्कन थाले । खर्बौंको सङ्ख्यामा निस्किएका यस्ता पोजेटिभ र नेगेटिभ ऊर्जाले भरिएका अदृश्य झिल्लीहरू  ब्रह्माण्डको यत्रतत्र सर्वत्र चहार्न लागे । यसरी कहिल्यै नष्ट नहुने यिनै अदृश्य झिल्लीहरू कालान्तरमा प्राणी–समागमद्वारा सृजना हुने जुनसुकै जन्ममा प्रवेश गर्न लागे । केही जीव बने भने केही वनस्पति । केही पंक्षी बने त केही जलीय जीव । यिनीहरूको बाहिरी आवरण वस्तु अनुसार निश्चित समयको अन्तराल नष्ट हुन लाग्यो तर तिनीहरू भने पुनः अर्को आवरणको खोजीमा भौँतारिन थाले ।

यसलाई आत्मा भनिन थालियो । बिस्तारै पोजेटिभ ऊर्जाले भरिएका आत्माहरू आफ्नो झुन्ड बनाउँदै भेला हुन थाले । यसैलाई स्वर्ग भनिन थाल्यो । उता नकारात्मक ऊर्जाले भरिएर बनेको समूहमा इर्ष्या, झगडा, काटमार बढ्न लाग्यो र यो नर्कका नामले प्रसिद्ध हुन पुग्यो ।

पत्रकार – यो त इनोभेटिभ फकिङ्पूरे फकिरभन्दा क्रिएटिभ भएन र !

(पत्रकारको प्रश्न सबै दुवै मज्जाले हाँस्छन् ।)

पत्रकार – के तपाईँको विचारमा अनन्तताको पनि अन्त्य छ र ?

लेखक– गहिरिएर प्रकृतिलाई हेर्नुहोस् त ! कि त यहाँ ह्रास, वृद्धि छ या त खियाई वा जोडाई । तारा मर्छ र जन्मिछ भने म्याक्रोकसम कहाँ अपवाद हुनसक्छ र ! माइक्रो बालुवा होस् वा कमिला यिनलाई मात्र म्याक्रोमा हेर्न खोजेको हो ।

पत्रकार – कथाले अघाएकै छैन । कथाको पृष्ठभूमिको बारेमा केही बताइदिनु हुन्छ कि ?

लेखक – त्यसो भए तपाईँले कथा नपढ्ने विचार गर्नु भयो ।

(लेखकको मुखारविन्दमबाट वाक्य सँगै हाँसोको फोहोरा छुट्छ । पत्रकार लेखकको हाँसोले जिल्लिन्छ ।)

यो कथा त्योताकाको हो जब फकिङ्पूरे फकिरको महाचक्र परीक्षण चरणमा थियो । महाचक्रको अन्तिम स्थान परमपूर प्राकृतिक रूपमा एकदमै मनमोहक थियो । यसलाई आधुनिक स्वर्ग समेत भनिन्थ्यो ।

हिमशृंखला, हिमताल, हिमनदी जस्ता प्राकृतिक छटाहरूले यसको सुन्दरतामा चार चाँद थपिदिएको थियो । न्युटन, महावीर, पाईथागोसर, बुद्ध, आइस्टाइन, स्टीफन हकिङ्ग, जिजस क्राइस्ट, सुकरात, म्याडम क्युरी, पास्चर, अल्लाह, बाबाजी, रामकृष्ण, विवेकानन्द, ओशो आदि आत्माहरुले सफल माइग्रेसन गरिसकेका थिए । उनी स्वयं पनि मोक्षात्मा भएकाले निर्वाणपश्चात् परमपूरमा बस्ने गर्थे ।

एकपटक यही सुन्दर नगरीमा घुम्दै जाँदा आफैंले बनाएको चक्रमा अलमलिएर उनी परमपूरबाट “ द प्लेस अफ सेलेक्सन” पुगे । “द प्लेस अफ सेलेक्सन” फकिङ्गपूर आउनुपूर्व सबै आत्माले पार गर्नुपर्ने कुरुक्षेत्र जस्तै विशाल क्षेत्र हो जसले अचेतनपूर, कोलाहलपूर, पेलमपूर, अहंपूर, सम्पन्नपूर र क्रिएटिभपूरलाई फकिङ्गपूरबाट छुट्टाएको थियो । मृत्युपश्चात् आत्माहरू पुग्ने यी स्थानबाट फकिङ्गपूरमा आइपुग्न प्रत्येकले ज्ञान र चेतनाको आधारमा निश्चित समय सेल्फवाकिंग गर्नुपर्ने हुन्थ्यो । यही सेल्फवाकिंगलाई श्रेष्ठताको दौड अर्थात् रेस अफ सुपेरियरोटि पनि भन्ने गरिन्थ्यो ।

एकोहोरो प्रकृतिका उनी यही स्थानमा आत्माहरूले दिनु पर्ने “चेतनाको छनोट” नामले परिचित अनौठो परीक्षामा भाग लिन लागे । यस्तो छनोट प्रक्रिया आत्माहरूको लागि फकिङ्पूर पुग्ने र पृथ्वीमा आफू अनुकूल गर्भ छान्ने एक प्रकारको स्वतन्त्र अवसर हुन जान्थ्यो । यो छनोटपश्चात् केही समय आत्माहरू फकिङ्पूरको अतिथि बन्न पुग्थे र अनुकूल गर्भ पाउन साथ चक्रको अन्तमा आत्माले जीवन पाउने अन्तिम विन्दु “द गेट वो टु अर्थ” अर्थात् जन्मको द्वारबाट पृथ्वीमा जन्म लिन पुग्थे ।

परीक्षापश्चात् त्यहाँ अर्को अनौठो घटना घट्ने गर्थ्यो । “सोल सेपरेसन” । यस कार्यमा प्रत्येक आत्मालाई पुरुष र स्त्रीमा विभाजित गरेर प्रत्येकबाट स्मृति इरेज गरिन्थ्यो । त्यहीबाट प्रत्येकलाई आफ्नो टुक्रिएको भाग खोजेर पूर्ण बन्ने चुनौतीको एपिसोड सुरु हुन्थ्यो ।

पत्रकार– मलाई त फकिङ्पूरको बारेमा थप जान्न मन लाग्यो । कस्तो छ फकिङ्पूर ?

लेखक – प्रेम नगरी । प्रेम कुण्ड । पृथ्वी आउनुपूर्व एक अर्काको अङ्गालोमा झुलिँदै हेलिने, टुक्रिएका आत्माहरूको मिलन स्थान हो फकिङ्पूर । निस्वार्थ प्रेमको चरम सुखानुभूति हुने ब्रह्माण्डको एक मात्र कामवासना शून्य लोक हो फकिङ्पूर । अर्बौं आत्माहरूले अनुभव गर्न खोजेको प्रेमको अन्तिम उचाइ हो फकिङ्पूर । भावनाहरूको नाटक मञ्चन गरेर यौनद्वारा शक्ति क्षीण हुँदै लालची पृथ्वीबासीले खोज्ने एक झिल्को आनन्दको अभिछिन्न बर्सात् हुने ज्वाला पुञ्ज हो फकिङ्पूर । आत्मीय एकाकार भएर परमात्माको रसास्वादन गर्दै ब्रह्माण्डको अलौकिक रहस्य बुझाउने रहस्यपुर हो फकिङ्पूर ।

अरे, फकिङ्पूर । जीवनको स्वप्न लोक हो फकिङ्पूर ।

पत्रकार– फकिङ्पूर कि जय ! फकिङ्पूरे फकिर त्रिलोकदास को जय !! फकिङ्पूरे फकिर त्रिलोकदास कि महाचक्र कि जय !!!

(अनायासै पत्रकारको मुखारवृन्दबाट निस्किएको जय जयकारले स्वयं उसलाई लज्जित बनायो । अन्तर्वार्ता क्रममा ऊ उत्तेजित भएर चिप्लिएको पहिलो क्षण थियो । उसको पहेँलो अनुहार देखेर लेखक पुन बोल्न लाग्यो ।)

लेखक – देख्नु भयो पत्रकार, महाशय ! कानुन नै नपढे पनि श्रीस्वस्थानी व्रत कथा पढ्दा वा सुन्दा जसरी गोमा ब्राम्हिणीको विवाह विरुद्ध वकालत गर्न मन लाग्छ । चन्द्रावतीको अहंले दण्ड पाउँदा चित्त खुसी हुन्छ । नवराजको सक्सेसले गर्भ महसुस गराउँछ । गोमा ब्राम्हिणी राजमाता बन्दा मनभित्र असीमित आनन्दको वर्षा हुन्छ ।

मेरा पाठकले मेरो कथा पढेर ठीक त्यस्तै महसुस गरुन् भन्ने चाहन्छु । उत्तेजना प्लस कल्पना ।

जसरी क्रिएटिभ इन्जिनियर र जिनिएस गणितज्ञको ज्ञानलाई मिंगलिङ्ग गरेर फकिङ्पूरे महाचक्र निर्माण गरियो ठीक त्यही तवरमा आफ्नो अनुभव, ज्ञान र चिन्तनलाई मिक्स गरेर यो कथा लेख्ने प्रयास गरेको छु । साहित्यमा वाद र फर्म्याट खोज्ने लट्ठकको लागि अर्को प्रहार हो मेरो कथा फकिङ्गपूरे फकिर ।

फकिङ्पूरे फकिरको महाचक्रमा जे.के रोलिङ्गको होग्वर्ट्स मात ख्वाउने संरचनात्मक सेट अप छन् । क्रिस्टोफर नोलनको इन्सेप्सनभन्दा धेरै ड्रिमी कुरा गरिएका छन् ।

पत्रकार– तपाईं स्वयंलाई कथामा सबैभन्दा धेरै मन परेको प्लट ?

लेखक – प्रिजनपूर । फकिङ्गपूरे फकिरको कथामा मलाई अर्को मन परेको प्लट । भूतकालले राक्षसी भनेर चिनाइएका आत्माहरू राख्ने बन्दिगृह । कंस, रावण, एटिला द हन, चंगेजखान, क्यून मेरी फस्ट, हिटलर, स्टालिन, सद्दाम हुसेन, गद्धाफि जस्ता लाखौं आत्मालाई नर्कबाट कडा सुरक्षा घेराभित्र राखेर स्थानान्तरण गरिएको स्थान हो प्रिजनपूर ।

घृणाको भुङ्ग्रोमा रापिएका वर्षैदेखि बदलाको भावले छट्टपट्टिरहेका प्रिजनपूरे सही समयको प्रतीक्षा गर्दै हुन्छन् ।

इतिहासले खलनायक भनेर व्याख्या गरिएका यस्ता आत्माहरू के त्यति नीच थिए ? सत्यतालाई कसले किन बङ्ग्यायो ? कसरी उनीहरू माथि अन्याय गरिएको थियो ? आधुनिक पुँजीपतिका आदिकालीन पुर्खाहरूलाई किन यस्तो पक्षपातको सूत्रधार मानिन्छ ?

केही समय कथा यस्तै प्रश्नहरूको वरिपरि घुमिरहन्छ । तर कथाले त्यसवेला अनौठो मोड लिन्छ जब प्रिजनपूरबाट केही आत्माहरू भाग्न सफल हुन्छन् । उनीहरूले कसरी इतिहासले आफूमाथि भएको अन्यायको बदला लिन्छन् ? प्रतिसोधले भरिएका उनीहरूलाई त्रिलोकदासले कसरी समेट्छन् ? किन त्रिलोकदास सबैका पूजनीय बन्छन् ? कथा यसै वरिपरि घुमेको छ ।

पत्रकार– कथा र पाठकलाई कसरी कनेक्ट गर्न खोज्नु भएको छ ?

लेखक– पाठकलाई अचेतनपूरे, कोलाहलपूरे, पेलमपुरे, अहंमपूरे, सम्पन्नपूरे माथि कारुणिक भाव जाग्छ । सङ्ख्यात्मक हिसाबमा पन्चानब्बे प्रतिशतभन्दा बढी भए तापनि यिनीहरू निरीह छन् । मूर्ख छन् । ज्ञान र बुद्धि यिनीहरूभन्दा तारको दूरीमा छ । उर्लेको खोला, सल्केको आगो, बगेको पहिरो जस्तै यिनीहरूको कुनै चेतना छैन । मतलब यिनीहरू चेत बेगरका भेडाहरू बगाल हुन् । प्रत्येकपटक यिनीहरू उस्तै प्रकारका गल्ती दोहोर्याई रहन्छन् ।

अचेतनपूर जनावरजन्य आत्मा निवास गर्ने एक स्थान भए तापनि मानवरूपी आत्माहरूको बासस्थान कि्एटिभपूर बाहेक अन्य स्थानहरू पाठकलाई लगभग उस्तै लाग्न सक्छ । यी सबै आ–आफ्नो प्रकारका झुन्डमा रहेर हल्ला–खल्ला, खैला–बैला मच्चाउँदै यत्रतत्र दर्गुछन् । शक्तिको कुण्ठा बोकी झुन्ड झुन्ड भौँतारिन्छन् । स्वार्थ, दलाली, चाप्लुसी खुट्टा तान्ने प्रवृत्तिको संस्कारले राजनीतिको नाममा अनेकै जाल झेलमा फस्ने र फसाउने गर्छन् । ब्रह्माण्डका बबुराहरू यसरी नै जन्म–जन्म महाचक्रमा घुमिरहन्छन् । कथा लेख्दा स्वयंलाई समेत यिनीहरू माथि दया जागेर आएको थियो ।

पत्रकार – त्रिलोकदासको बारेमा कहीँ भन्नु पर्दा ?

लेखक –प्रोटागनिस्ट चिन्तनशील प्रकृतिको छ । प्रायशः एकान्तमा रमाउँदै स्वयंमा मधमस्त रहन्छ । मुखले बजाउने “मथोनो” बाजा बजाउँछ । ‛छडौरो’ नामक शक्तिशाली जादूई हतियार दायाँ हातको शोभा बनेको छ । ऊसँग ब्रह्माण्डको प्रत्येक अणुलाई चलायमान गर्ने तागत छ तथापि बेलाबखत स्वयं शून्यमा रमाउँछ । निराकार छ । ब्रह्माण्डलाई खुम्चाएर एकल परमाणु बनाउन पनि सक्छ र फैलिएर विशाल ब्रह्माण्ड । नौलो नौलो प्रयोग गरिरहन्छ । कहिले स्वर्ग र नर्क बनाउँछ । कहिले कर्म त कहिले महाचक्र ।

पत्रकार मित्र के तपाईँको कल्पनाले फकिरको चित्र बनायो ?

पत्रकार– पूर्वीय संस्कारमा हुर्किएको मान्छे । अवश्य बनायो तर यसको साथ साथै केही प्रश्नहरू समेत जन्मायो ।

लेखक– जस्तै

पत्रकार– त्रिकालदर्शी भए तापनि फकिङ्गपूर आउनुपूर्व उसको सम्पूर्ण स्मृति इरेज भयो कि भएन ? सोल सेपरेसन घटनापश्चात् स्त्री सोलको के भयो ? प्रिजनपूरेको आगमनपश्चात् उनले कसरी फकिङ्गपूरमा सन्तुलन राख्न सफल भए ? कर्म चक्र सरह महाचक्र सफल हुन्छ कि हुँदैन ? के महाचित्र पृथ्वीबासीलाई अज्ञान मृत्युको अन्धकारमय बाटोबाट सदा सदाको लागि मुक्त दिलाउन सक्षम छ त ?

लेखक हाँस्यो ।

पत्रकार– मथानो र छडौरोलाई बुझ्न मन छ । सम्पूर्ण पूर घुम्न मन छ । एकपटक यो कथा गहिरिएर पढ्न मन छ ।

लेखक– (पत्रकारलाई कथाको एकप्रति थमायो ।) मेरो चाहाना भनेको समाज करप्सन भन्दा कल्पना र क्रिएसनमा रमाओस् भन्ने हो ।

पत्रकार– अन्त्यमा आफ्ना पाठकलाई केही भन्न भन्न चाहनु हुन्छ ।

लेखक – लेखकले स्त्रीको जाङदेखि ईश्वरीय सत्तामा समेत पुग्नु पर्ने हुनसक्छ । यस दौरान विभिन्न मानसिक अवस्थाबाट गुज्रन्छ र यदाकदा ऊ चुक्न पनि सक्छ । राम्रो उद्देश्य लिएर मासहत्याको मन्जुरी भगवान् श्रीकृष्णबाट अर्जुनले पाएकै हुन् । मेरो नियत खराब छैन त्यसैले साहित्यिक ताली र गाली दुवै दिनु होला ।

पत्रकार– हामी समक्ष कुराकानी गरिदिनु भएकोमा यहाँलाई मुरी मुरी धन्यवाद । तपाईँको कथा फकिङ्गपूरे फकिरको लागी धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छौं ।

लेखक– मेरो कथा सुनिदिनु भएकोमा यहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु ।