चीनबाट सुरु भएको कोरोनाले विश्वलाई नै यतिबेला गाँजेको छ । मान्छेहरु मरिरहेका छन् । दिनदिनै बिरामीहरु थपिएका छन्, तर अहिलेसम्म यसको औषधी पत्ता लागेर प्रयोगमा आइसकेको छैन । कोरोनले हामी पनि अछुतो रहन सकेनौँ । नेपालमा पनि धेरै मान्छेहरु कोरोनकै कारण मरे । अहिले पनि मरिरहेका छन् ।
कोरोनाले विश्वलाई नौ रोगीका साथै निर्बल तुल्यायो । देशकै कुरा गर्ने हो भने कतिले हिँडेर लामो यात्रा तय गरेका समाचारहरु हामीले पढ्यौँ र हेर्यौँ । कति भोकै हिँडेको र कतिले बालबच्चाहरु रुहाउँदै हिँडेको पनि देखियो । अहिले पनि मान्छेहरुको मनमा २०७२ सालमा गएको भुकम्पमा जस्तै त्रास छ ।
चैत्रबाट सुरु भएको लकडाउन कहिले खुल्दै कहिले फेरि लकडाउन हुँदै आइरह्यो । स्कुलको परिक्षा सकिएपछि पढाइ के हुने हो भन्ने कुराको अनुमान मात्रै लगाउन सक्ने अवस्थामा थियौँ हामी । अहिले अनलाइनबाट पढाइ त भइरहेको छ तर, प्रभावकारिताको हिसाबले नियमित स्कुल गएर पढेजस्तो नहुने रहेछ । मैले आफैँले महसुस गरेको कुरा हो यो । अरु त अरु चाडबाड आए पनि खल्लो खल्लो लाग्ने रहेछ । नयाँ वर्ष आयो, गयो । त्यसपछि बर्खायाम सकिएर धमाधम चाडबाड आए तर रौनक आएन । कतिका विदेशमा भएका आफन्तहरु पनि घर फर्कन पाएनन् ।
[bs-quote quote=”पढ्ने र खेल्ने उमेरमा विवाह गर्दा त पढाइ पनि बिग्रन्छ र चाँडै गर्भवती भएर आफ्नो छोरीको ज्यान पनि जान सक्छ भनेर किन नबुझेका होलान हाम्रो आमा बाबाहरुले ?” style=”style-2″ align=”right” color=”#1e73be” author_name=” निर्जला लम्साल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/11/nirjala-lamsal.jpg”][/bs-quote]
कोरोनाको कहरमा चार भित्तामा बाँधिएर वा बाहिरफेर हिँड्दा मान्छेसँग मान्छे नै तर्सिएर आठ महिना बित्यो । कतिका आफन्त गुमे, कतिको रोजगारी गुम्यो । दशैँ आयो, गयो । तिहार आयो, गयो । अहिले पनि मान्छेसँग मान्छे डराउन पर्ने अवस्था छ । नजिक बसेर दुःखसुखका कुरा गर्न सकिँदैन । थाहा छैन, अझै कहिलेसम्म यसरी बाँच्न पर्ने हो । वा आफ्नै मुत्यु पनि कोरोना नै सवित हुने हो कि ! मर्नु एकै भएर पनि रोगले मर्नु र उपचार नपाएर मर्नुबीच पनि त आकाश जमिनको फरक रहेछ नि । कोरोनाका बिरामीहरुले उपचार नपाएर मरेको खबर सुन्दा साह्रै नराम्रो लाग्छ ।
दशैँमा सावधानीपूर्वक हामी सपरिवार घर नुवाकोट गयौँ । रिजर्भ गाडीले आँगनमै पुर्यायो । मामाघरको हजुरआमा बित्नुभएको कारण मामाघरमा टिकाटाला थिएन । नुवाकोट घरबाट हामी अलि ढिला फर्कियौँ । योपल्ट दशैँमा घर जाँदा अलि लामो समय मैले गाउँमा बिताएँ । हजुरआमासँग कुराकानी गरेँ । उहाँका बाल्यकालका कुराहरु सुनेँ । बिहे गर्दा हजुरआमा जम्मा तेह्र वर्षको हुनुहुन्थ्यो रे । उहाँको कुरा सुनेर मलाई अचम्म लाग्यो । त्यो बेला छोरीलाई पढाउने चलन थिएन रे । छोरीको छिट्टै बिहे गरिदिन पाए धर्म हुन्छ भन्ने अन्धविस्वास थियो रे । हुन त अहिले पनि बालविवाह भएको समाचारहरु पढ्ने गरेका छौँ हामीले । पढ्ने र खेल्ने उमेरमा विवाह गर्दा त पढाइ पनि बिग्रन्छ र चाँडै गर्भवती भएर आफ्नो छोरीको ज्यान पनि जान सक्छ भनेर किन नबुझेका होलान हाम्रो आमा बाबाहरुले ?
हजुरआमाले रमाइला कथाहरु पनि सुनाउनु भयो । दशैँमा घर गएको बेला हामीले धान काट्यौँ । भटमास पनि काट्यौँ । मैले विभिन्न बोटबिरुवाहरुको नाम थाहा पाएँ । हजुरआमाले तुलसीको मठमा आकाशे बत्ती बाल्ने भनेर बाबा र अंकललाई रुख काटेर ल्याउन लाउनु भयो । आकाशे बत्ती कोजाग्रत पूर्णिमाको दिनबाट बाल्न सुरु गरेर ठूलो एकादशीको दिनसम्म बाल्नु पर्ने रहेछ । हरेक दिन साँझमा आकाशे बत्ती बालिने कुरा पनि मैले हजुरआमाबाट थाहा पाएँ ।
सहरको खानेकुरा भन्दा गाउँको खानेकुराहरु स्वास्थको लागि फाइदाजनक हुन्छ भनेर हजुरबाले भन्नु भयो । काठमाडौं फर्कँदा घरबाट मकै भुटेर ल्यायौँ । हाम्रो गाउँको घरमा निबुवा र भोगटे टन्नै फल्छ । हजुरआमाले निबुवाको अचार पकाउनु भएको रहेछ त्यो पनि लिएर आयौँ । मकै, चामल, चना, भटमास लगायतका अन्नहरु भुटेर पिँधेर खाजाको रुपमा सातु खाने गरेका छौँ हामीले ।
दशैँ रमाइलो गरी मानेर हामी फर्कियौँ । दशैँको रमझम सकिने बितिक्कै तिहार आयो । तिहार काठमाडौंमै मनायौँ । मैले मेरो भाइ निर्जललाई टीका लगाइदिएँ ।
तिहारको छुट्टि सकिएपछि फेरि अनलाइन कक्षा सुरु भयो । पढ्नु त छँदै छ जसरी पनि । सर म्यामहरुले पनि दुःख गरेर पढाइरहनु भएको छ । तर सँगै पढेका कति साथीहरु इन्टरनेटको पहुँचमा नभएका कारण पढाइ छोड्न बाध्य भएका छन् । अनलाइनमा पढाइ त भइरहेको छ । तर यही पढाइको भरमा हामीले अन्तिम परीक्षा दिएर अर्को कक्षा उक्लिन पाउँछौँ कि पाउँदैनौँ होला ? मलाई घरिघरि मनमा यस्तै कुरा आउँछ । पढाइ छुटेका साथीहरु के गर्लान् ? हामीले सकेको मेहनत त गरिरहेका छौँ तर अनलाइन पढेर परीक्षा दिएर पास हुने हो कि नहुने हो ?
कोर्सको किताबबाहेक म अरु धेरै किताबहरु पनि पढिरहेकी छु । पछिल्लो समय म कविताका किताबहरु पढिरहेकी छु । छन् त कोठामा धेरै किताबहरु छन् । नाटक, उपन्यास, कथा, निबन्ध, गीत, गजल, मुक्तक । म अलि अलि कविताहरु पनि लेख्ने कोसिस गर्दैछु । गीतहरु सुन्छु र गाउने कोसिस गर्छु । हामीसँग रामायण, महाभारतको किताब पनि छ । मैले रामायण अलिअलि पढेको छु तर महाभारत पढेकी छैन । अनलाइन कक्षा हुन्छ गृहकार्य पनि गर्नै पर्छ । मन भएर पनि मनमा भएका सबै कुरा गर्न नसकिँदो रहेछ ।
लकडाउने मान्छेहरुको दैनिकी बदलिएको छ । सोच पनि बदलिएको छ । मेरो पनि केही कुराहरु बदलिएका छन् । पढाइ लेखाइसँगै आफ्नो रुचिको विषयमा थोरै भए पनि समय दिन पाएकी छु । माहामारीको समयलाई पनि हामीले सदुपयोग गरेर रचनात्मक र सिर्जनात्मक बनाउन सकिने रहेछ । पढ्नु त सबैले पर्छ, तर पढ्नुको अलवा हामीलाई सिर्जनशील बनाउने धेरै कुराहरु रहेछ । कोरोनाले बाहिरी संसारलाई त घर घरमा कैद गरिदियो, तर आफूभित्रको संसारमा छिर्न सक्यौं भने विशेष यस्ता महामारीको बेलामा जीवन सहज हुँदो रहेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।