१: अहँ , लाग्दै लागेन !

0: भन्दै छु त, लेख्नुपर्‍यो ! तिमीलाई थाहै छ, तिमीले केही नलेखुन्जेल तिमीलाई निद्रा लाग्नेवाला छैन ।

१: अरे यार, त्यसको लागि दिमागमा केही फुर्नु पनि त पर्‍यो नि ! त्यसै हावा तालमा लेखेर हुन्छ र?

0: त्यसको चिन्ता तिमी गर्दै नगर। कस्तो लेख्ने, किन लेख्ने.. त्यो जरुरी कुरा होइन। बस, तिम्रो सिरानी छेउको त्यो डायरी पल्टाउ, अनी लेख्न थाल । त्यो नै तिम्रा लागि महत्वपूर्ण कुरा हो।

१: मैले लेखेपछि तिमी जानेछौ त?

0: तिमीलाई थाहा छ, म तिमीभित्रको बच्चा हुँ । जसरी कुनै बच्चालाई निदाउनको लागि कुनै कथा सुनाउनुपर्ने हुन्छ, त्यसरी नै म निदाउनका लागि पनि तिमीले केही लेख्नै पर्ने हुन्छ। तिम्रो लेख नै मेरो लोरी हो। र, म निदाएपछि मात्रै तिमी आफू पनि निदाउन पाउँछौ । नत्र तिमीलाई थाहा छँदै छ ।

१: त्यसो भए तिमी नै भन, म के लेखुँ त ?

0: त्यो मेरो सरोकारको विषय होइन । मलाई त यति मात्रै थाहा छ कि तिमीले हिजो जस्तै आज पनि लेख्नुपर्छ । …. अरे यार, तिमी किन ढिला गरिरहेछौ ? उ हेर त, १ बज्न आटिसक्यो। चुपचाप डायरी उठाऊ अनी लेख्न थाल ।

१: नाइँ , म सक्दिनँ !

0: सक्दिनँ ? हा हा हा … तिमीलाई थाहा छ नि, अघिल्लो हप्ता के भाको थियो ? कि बिर्सिसक्यौ ?

१: छैन बिर्सेको ! तर अब सधैं यसरी हुँदैन । म कतिन्जेल यो चक्करमा आफूलाई मूर्ख बनाइराखूँ ?

0: हरे, तिमी कसरी मूर्ख भयौ फेरि ?

१: अनि के त? प्रत्येक रात यसरी बेला न कुबेला पाना पल्टाएर म कहिलेसम्म यो नाटक रचिरहूँ ? लेख्नका लागि केही प्लट त हुनु पर्‍यो नि !!

0: फेरि त्यही कुरा ! मलाई त लागेको थियो, तिमी अब बुझ्ने भइसक्यौ ! तर तिमी अझै पनि पुरानै कुरामा अल्झिदैछौ । हेर, आफैंले आफूलाई गाह्रो नबनाऊ । बस् लेख । पहिले पनि प्लट कहिले पो चाहिएको थियो र?

१: अब चाहिन्छ। म बारम्बार आफूलाई धोका दिइरहन सक्दिनँ ! केही लेखिसकेपछि त्यो कुरा प्रकाशन गर्न योग्य हुनु पनि त पर्‍यो ! प्रकाशन त परको कुरा, म आफैं पनि मैले लेखेको कुरा फेरि दोहोर्याएर पढ्न सक्दिनँ । क्षणिक सन्तुष्टिका लागि म कतिन्जेल यसो गरिरहन सक्छु ?

0: वास्तविक लेखकले आफ्नै सन्तुष्टिका लागि नै लेख्ने हो। अरु कसैको लागि लेख्नेले त ढोंग मात्र गरिरहेको हुन्छ ।

[bs-quote quote=”म बारम्बार आफूलाई धोका दिइरहन सक्दिनँ ! केही लेखिसकेपछि त्यो कुरा प्रकाशन गर्न योग्य हुनु पनि त पर्‍यो ! प्रकाशन त परको कुरा, म आफैं पनि मैले लेखेको कुरा फेरि दोहोर्याएर पढ्न सक्दिनँ ।” style=”style-2″ align=”right” color=”#1e73be” author_name=”संसार तिवारी” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/11/sansar_photo.jpg”][/bs-quote]

१: त्यसो भए म पनि एक ढोंगी हो । मैले पनि आफ्ना लागि केही गरेको होइन, तिम्रै लहैलहैमा लागेर यो झुटको खेती गरिरहेको हुँ। यसले मलाई कुनै खुसी दिएको पनि छैन । यो सब कलम, पाना अनि समयको बर्बादी मात्रै हो। मैले आफ्नो यो दुस्साहसलाई अब रोक्नैपर्छ ।

0: त्यसो भए तिमी अझै मान्दैनौ होइन ? ठीक छ, जे मनलाग्छ गर । म केही भन्दिनँ ।

१: तिमी किन यसरी मलाई गिज्याउँछौ हँ ? तिमीलाई थाहा छ त, मैले आफूले मन लागेको गर्न पाउने भए म यसरी दिनहुँ मध्यरातमा तिमीसँग गफ गरिरहेको हुन्थेँ होला ?

0: थाहा रहेछ त ! अनि यो सब थाहा भा’को मान्छेले किन यति लामो गनगन गरिरहेको ? हेर, म तिमीलाई केवल मदत गर्न चाहन्छु । नत्र मलाई त के छ र ? रातभर पिरोलिने तिमी नै हौ ।

१: तिमी किन मलाई यस्तो गरिरहेछौ ? मभित्रै भएर पनि मलाई नै किन बारम्बार दु:ख दिइरहन्छौ हँ ? … गल्ती मेरै हो, मैले नै तिमीलाई अरुभन्दा बढी माया गरेँ । अनेकौँ उट्पट्याङ कथा, कविता, नाटक, फिल्महरुमा तिमीलाई पच्छ्याएँ । अहिले सम्झिदा चुपचाप अरु जसरी सोझो बाटो हिँडेको भए हुन्थ्यो जस्तो लाग्छ । तिमीप्रतिको असीम मोहले म आफैं गलें । तिमीलाई दिएको मायाले म आफैँ सिद्धिएँ ।

0: हैट ! यही डायलग अहिले तिमीले आफ्नो डायरीमा लेखेको भए कती गज्जब हुन्थ्यो ! हेर…. जे हुनु भइसक्यो, अब पुराना कुरा गरेर कुनै अर्थ छैन । बरु कलम र डायरी त्यहीँ छ, लेख्न सुरु गरिहाल !

१: म वास्तवमै चकित पर्छु, तिम्रो यो ड्रामा देखेर । कति निर्दोश, अबुझ, अन्जान बन्न खोज्छौ है तिमी? तिमी चलाख मात्रै होइनौ, धुर्त पनि हौ ! आफ्नै वासस्थानमा आगो लगाउने, आफ्नै घर खोक्रो पार्न खोज्ने … तिमी पापी हौ ।

0: ठीक छ …. तिमीलाई त्यस्तो लाग्छ भने मेरो भन्नु केही छैन ।

१: साँच्चिकै मेरो चिन्ता लिन्छौ भने मलाई छोडेर किन जाँदैनौ हँ तिमी ? भाइरसहरु त एक होस्टबाट अर्कोमा सजिलै सरेर जान सक्छन, होइन र?

0: तिमीले यो बिर्सदै छौ कि मलाई तिमीले नै जन्माएका हौ, यसकारण म सदासर्वदा तिमीभित्र नै रहनेछु। यो अब तिमीले वा मैले चाहेर रोकिने कुरा पनि होइन । हो… म कहिले सक्रिय रहुँला, कहिले सुशुप्त बसुँला , तर त्यो शरीर रहेसम्म म तिमीसँगै रहनेछु , हरहमेशा !

१: तिमी वास्तवमै `अजीव´ नै हौ । मसँग भएर पनि मसँग छैनौ । एकैछिन खुब माया दर्शाए झैँ गर्छौ , फेरि छिनमै छुरा रोप्छौ । छिनमै गाली गर्छौ, छिनमै आफैं फकाउन थाल्छौ । तिमीसँग कुरा गर्दा मेरो मन नरमाउने पनि होइन । तिम्रो माया कति लाग्छ, त्यो मलाई मात्रै थाहा छ । तर तिमी… तिमी भने सधैं मेरो प्रयोग मात्रै गर्न खोज्छौ ।

0: त्यस्तो होइन ।

१: त्यही नै हो । नत्र प्रत्येकपटक डायरी पल्टाउनासाथ तिमी किन गायक हुन्छौ ? तिमी त्यो भँवरा जस्तै हौ, जो आउँछौ, गिज्याउँछौ, रस चुस्छौ, अनि उडी जान्छौ । एउटा फूलले भँवरालाई महशुस गरेजस्तै म पनि तिमीलाई केवल महशुस मात्रै गर्नसक्छु, कहिलै पछ्याउन सक्दिनँ ।

0: तिमीलाई थाहा छ त, मेरो नियति नै यस्तै हो। तिमीप्रतिको मेरो भूमिका भनेको यसरी प्रत्येक रात तिमीलाई जगाउनु नै हो । र, तिमी जागिसकेपछि म रहिरहन मिल्दैन, म जानैपर्छ। तिम्रो प्राप्तिपछि म मेटिनै पर्छ ।

१: ठीक छ, अब म लेख्छु । तिमीसँग भेट भयो, यति यादहरु बन्यो .. खुसी लाग्यो !

0: अरे, कस्तो रुन्चे कुरा गरेको ? भोलि भेट भैहाल्छ नि फेरि !

१: सायद नहोला ।

0: किन ?

१: किनकि आजको लेख नै मेरो अन्तिम लेख हुनेछ । आजको रात झैं जीवनको अन्तिम .. !