धेरै पहिलेको कुरा हो । एउटा रमणीय ठाउँ थियो । त्यहाँ कुनै मानव बस्ती थिएन । त्यसैले टाढा टाढासम्म घर खेत केही पनि देखिदैन्थे । देखिन्थे त मात्र जंगल, रूख, तलाउ र जंगली फूलका बिरूवाहरू । त्यहाँ भएको सानो तलाउ नजिकै एउटा बूढो भइसकेको ठूलो रूख थियो । रूखको छेउमा एउटा सानो जंगली फूलको बिरूवा थियो । त्यो बिरूवा कलिलो थियो । कोमल थियो । स्निग्ध थियो । त्यही भएर नै होला लोभलाग्दोगरी सुन्दर थियो ।
जाडो यामको बेला थियो । बिहानैदेखि हुस्सु लागेको थियो । ठूलो रूखका पात अनि हाँगाहरूबाट रातभरि जम्मा भएका शीतका थोपाहरू चुइरहेका थिए । केही थोपाहरू त्यो बिरूवामाथि पनि झरिरहेका थिए तप्प तप्प । शीतका थोपाहरूका स्पर्शले त्यो सानो बिरूवालाई जाडो लाग्न थालेको थियो । उसमाथि निरन्तर झरिरहेका शीतका थोपाहरूका कारणले ऊ धेरै नै नरमाइलो महसुस गरिरहेको थियो । उसलाई त्यो रूखसँग साह्रै नै रिस उठिरहेको थियो ।
“म यसको फेदमै त छैन नि ! यसलाई किन यति साह्रो ठूलो हुनु परेको भन्या ? यसका परपरसम्म फैलिएका पातबाट झरेका थोपाहरूले मलाई भिजाउनसम्म भिजाइसके ।”, ऊ मुर्मुरिँदै थियो ।
उसलाई अँध्यारो, हुस्सुले भरिएको त्यो चिसो न चिसो मौसम अलिकति पनि मन परिरहेको थिएन । विषाद्ले उसलाई घेर्न थालेको थियो । विस्तारै हुस्सु फाट्दै गयो । शीत झर्न बन्द भयो । आकाश सफा भयो । वातावारणमा न्यानोपनको महसुस हुन थाल्यो । बिरूवाको कठ्यांग्रिएको शरीरमा जीवनको सञ्चार हुनथाल्यो । उसले आनन्दित हुँदै आकाशतिर हेर्यो । कस्तो अचम्म ! सुनौलो, कलिलो र ऊ जस्तै मृदुल सूर्य पनि उसलाई नै हेरिरहेको रहेछ । सूर्यको स्नेहिल दृष्टि पाएर ऊ अलिकति पूल्लकित भयो । अलिकति लजायो पनि । ऊ मनमनै गीत गुनगुनाउन थाल्यो । हर्षित हुनथाल्यो ।
ती जाडो महिनाका दिनहरूमा सूर्य अलि ढिलो झुल्कन्थ्यो । मृदूल सूर्य प्रचण्ड नभईकनै गइहाल्थ्यो । सूर्य जानेबेला उदास देखिए झैं लाग्दथ्यो त्यो बिरूवालाई । ‘मेरो प्रेममा परेको यो सूर्य जान त चाहन्न, तर प्रकृतिको नियमको अघि कसको के नै पो लाग्छ र !’, यही सोच्दै त्यो बिरूवाले चित्त बुझाउने प्रयास गर्दथ्यो । तर, मनभरि छाएको उदासीले उसलाई छोड्दैनथ्यो । अनायासै उसका आँखाबाट आँसु झर्न थाल्दथे । सूर्यबिहीन त्यो आकाशतिर उसलाई हेर्नै मन लाग्दैन्थ्यो । ऊ रातभरि घोसेमुण्टो लगाएर निहुरिरहन्थ्यो ।
बिहानै जब छेउको रूखबाट उसको शरीरमाथि शीतका थोपा झर्न थाल्दथे, ऊ फेरि अवसादग्रस्त हुनपुग्दथ्यो । प्रत्येक बिहान सूर्यका कलिला किरणहरूले उसलाई स्पर्श गर्दा ऊ त्यति नै आनन्दित र हर्षित हुन्थ्यो, जति भर्खरै प्रेममा परेकी युवती आफ्नो प्रेमीको सानिध्य पाउँदा हुन्छिन् । सूर्यबाट पाएको प्रेमले ऊ पुष्ट, बलिष्ठ हुँदै हुर्कदै जान थाल्यो । मध्यान्नतिर त्यो छेऊमा भएको रूखको छाया उसमाथि पर्दथ्यो । त्यो छाया पर्दा उसलाई उठ्नसम्म रिस उठ्दथ्यो । आफू र आफ्नो प्रेमीबीच कोही बाधा पुर्याउन आए झैं उसलाई भान हुन्थ्यो ।
सानो बिरूवाको सूर्यप्रतिको स्वामित्वको भावना बढ्दै गइरहेको थियो । उसलाई लाग्दथ्यो, सूर्य आकाशमा उसकै लागि झुल्कन्छ । उसलाई देखेर मुस्कुराउँछ र पो धर्तिमा उज्यालो झुल्कन्छ । जब अन्य बिरूवा र वृक्षहरू सूर्यलाई देखेर हर्षित हुन्थे उसमा साह्रै नै इष्र्या जाग्दथ्यो । उसले सूर्यतर्फ हेर्दै भन्थ्यो, “तिमी कति सोझो हो क्या ! हेरन, मबाहेक अरू तिम्रो प्रेमको लायक को नै पो छ र ? म तिमीजस्तै कोमल, स्निग्ध र मृदूल छु । घासपात पनि तिमीलाई आफूतिर आकर्षित पार्न खोज्दछन् । तिमी तिनीहरूपट्टि ध्यान नदेऊ है ।”
विस्तारै त्यो बिरूवा पनि हुर्कदै गयो । त्यसमा कोपिला लाग्न थाले । कोपिलाबाट प्रष्फुटित भएर फूल फुल्न थाले । उसलाई यी सबै कुराले ज्यादै नै हर्ष दिइरहको थियो । ऊ त्यति नै खुसी थियो, जति एउटी युवती आफ्नो सन्तानलाई आफ्नो काखमा बोक्न पाउँदा हुन्छिन् । ऊ आकाशमा टल्केको सूर्यले आफूलाई हेरिरहेको पाउँदा र आफ्ना फूलहरूको स्पर्श महसुस गर्दा औधी आनन्दित हुन्थ्यो । आफ्नो परिवार नै भरिपूर्ण भए झैं लाग्दथ्यो उसलाई ।
जाडो याम सिध्यिएर बसन्त ऋतु पनि आधाउधी जसो सकिन थालेको थियो । बिरूवाको छेउमा भएको बडेमानको रूखलाई भने के भएछ कुन्नि बसन्तको कुनै संकेत नै देखा परेन । पूराना पातहरू झरेका थिए, तर नयाँ पालुवा भने आउन नै बिर्से जस्तो भएको थियो । सूर्यप्रतिको आशक्ति र आफ्नै परिवारको रमझममा मस्त भएको त्यो जंगली फूलको बिरूवाले कहिल्यै त्यो ठूलो वृक्षलाई तिमीलाई के भयो ? तिमी यति धेरै किन दुब्लाएको ? भनेर सोध्न आवश्यक नै ठानेन् । बरू ऊ त त्यो रूखको पातहरू झरेकोमा खुसी नै थियो । किनभने त्यो रूखको विशाल छाया पनि क्षीण हुँदै गइरहेको थियो । अनि उसमा भने ‘मबाट मेरो सूर्यलाई अब कसैले नि छेक्न सक्दैन्’ भन्ने भाव प्रगाढ भइरहेको थियो । पतझड गए झैं बसन्त पनि जाने नै त भयो । सबैथोक परिवर्तनशील जो छ, यो संसारमा । बसन्त पनि सकियो नै आखिर ।
गृष्मका दिन पनि सुरू भए । कलिलो सूर्य युवा भएको थियो बसन्तमा, तर गृष्म याममा त ऊ सहनै नसकिनेगरी प्रचण्ड अनि रापिलो हुँदै गइरहेको थियो । उसको प्रकाश जताततै छाइरहेको थियो । यस्तो दृष्य देखेर त्यो बिरूवाको मनमा चसक्क पर्न थाल्यो । ‘मैले आफ्नो मानेको अनि यति धेरै प्रेम गरेको सूर्य त कति बेइमान रहेछ, पर परसम्म फैलिएको । मलाई मात्रै माया गर्छ भन्ने सोचेको थिएँ, तर घासदेखि रूखसम्म सबैसँग मस्किँदो रहेछ, झ्यामिँदो रहेछ ।’ भनेर उसलाई चित्त दुख्न थाल्दथ्यो ।
उसले आकाशमा भएको सूर्यलाई भुइँबाट नै गाली गर्न थाल्यो । गुनासो पोख्न थाल्यो । जति जति ऊ रिसाउँदथ्यो, सूर्य त्यति नै रापिलो भएर उसलाई पोल्न थालेको भान हुन्थ्यो । अस्ति अस्तिको कोमल, मृदूल र प्रेमिल सूर्यको त्रूmरता यति विघ्न बढेको थियो कि उसलाई सहनै गाह्रो हुन थाल्यो । उसका फूलहरू पनि मुर्झाउन थाले । ऊ पनि ओइलाउन थाल्यो । शरीर घामले पोलिरहेको बेला उसले छेउको रूखतिर हेर्यो । त्यो रूख त सुकेर ठिंग उभिरहेको थियो । आज ढल्छ कि भोलि ढल्छ जस्तो गरी । त्यो रूखतिर हेर्दै उसले मनमनै सोच्यो, “यो सूर्यको प्रचण्ड गर्मी र क्रूरताबाट मलाई यही रूखले त जोगाउन सक्दथ्यो नि आफ्नो छाया दिएर । तर बिचरा ऊ नै यस्तो हालतमा पुगिसकेको रहेछ ।”
सूर्यको निष्ठुरता यति बढेको थियो कि उसलाई सूर्य भएको आकाश नि हेर्न मन लाग्दैनथ्यो । त्यसैले ऊ निहुरी नै रहन्थ्यो धेरै जसो समय । त्यहीबेलादेखि नै त हो रे नि, बिरूवाहरू गर्मी याममा निहुरिएर बस्न थालेका ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।