त्यो दिन हैदरावादमा बिहान आठ बजेसम्म बाक्लो कुहिरो लागिरह्यो ।

बिहान सबेरै उठेर शीतल र चिसो हावासँग लुकामारी खेल्नेहरूको भीडले हैदरावादलाई झिसमिसेदेखि नै व्यस्त बनाइराख्छ । यसकारण कि पुस महिनामा पनि शीतल र मायालु हावासँग सयर गर्न चाहनेका लागि बिहानभन्दा अरू उपयुक्त समय नै हुँदैन । अझ यसो भनौं, दिउँसोको चरम उष्णता र साँझपख नरिवल र दारिमका पातहरू हल्लाउँदै दक्षिणी दिशाबाट जोडतोडले बहेर आउने तातो आसुरी समुद्री हावाको उकुममुकुससँग लाचार सम्झौता गर्नु नै जिन्दगीको नियति हो ।

अघिल्लो वर्षको ग्रीष्ममा मात्रै उष्ण लहरले मुस्लिमहरूको बाहुल्य रहेको दक्षिण भारतीय यो प्रदेशमा एघार सय छत्तीस जनाको ज्यान लिएको भनी प्रियंका राठी सुनाउँदै थिइन् । उनी आन्द्रप्रदेश राज्य सरकारको केन्द्रीय सरकारी वकिलकी छोरी हुन्, र हैदरावादस्थित उस्मानिया युनिभर्सिटीकी स्नातक, त्यसबाहेक दुई वर्ष अघिदेखिको मेरो असल र आत्मीय साथी पनि बिहान आठ बजेपछि चाहिँ हैदरावादका सडकपेटी अनुहारलाई बुर्काले छोपेका मुस्लिम युवतीको भीडले छपक्कै छोप्छ । कोही बजारमा किनमेलका निम्ति निस्केका हुन्छन् भने कोही हातमा कलेज ब्याग लिएर हतार–हतार गाडीको पर्खाइमा चोक–चोकमा झुम्मिरहेका भेटिन्छन् । मध्याह्न एकैछिन हठात् सिंगै सहरले विश्राम लिएझैं गर्छ । र, नरिवल र दारिमका बोटहरूसमेत शान्त मुद्रामा खडा भइदिन्छन् । सेता अग्ला गगनचुम्बी भवन, चिल्ला र चौडा सडक अनि व्यवस्थित बजार र युवायुवतीका लागि बनाइएका सुन्दर पार्कहरू, मानौं उनीहरूलाई पनि थकानले लपेटिएको छ । र, एकैछिन आराम गर्न चाहन्छन् । तर, दिउँसो तीन नबज्दै बढ्दै जाने सहरको घना व्यवस्ततासँगै हुसेन सागर, लुम्बिनी पार्क र पब्लिक गार्डेनमा छाउने युवायुवतीको चहलपहलले सिंगै हैदरावादलाई रोमाञ्चित तुल्याइदिन्छ ।

त्यस दिन म श्याम मन्दिर हुँदै काँचीगुडास्थित पुरानो रेल स्टेसनसम्म मर्निङ वाक गएर होटेल एलोरातर्फ फर्किरहेको थिएँ । बिहानको हुस्सुलाई चिरेर मुसुक्क हाँसेको घामका आँखाले विरला मन्दिरको आडैबाट हुसेन सागरलाई चुम्न खोज्दै थियो । सागरको बीचमा अचल उभिरहेको बुद्धका आँखा यसरी चम्किरहेका थिए कि मानौं त्यो तिलस्मी तेजले सरहका बासिन्दा पूर्णतया ब्युँझिसकेका छन् र त्यतिञ्जेल सहरमा चहलपहल सुरु भइसकेको थियो ।

“माफ गर्नुस् के म तपाईंसँग अलिकति सहयोगको निम्ति प्रार्थना गर्न सक्छु ?”

अचानक मेरो ठीक अगाडि मैप्रति लक्षित गरेर अलिकति उठिरहेको एउटी किशोरीको सुकोमल र सुन्दर हातले मलाई रोकिनुपर्ने बनायो । म बिस्तारै आफ्नो हिँडाइको गतिलाई कम गर्दै किशोरीको नजिकै पुगें । कालो लामो कुर्ता, कालो सुरुवाल र कालै रंगको सलले दुवै कान छोपेकी करिब सोह्र वर्षीया मुस्लिम किशोरीको शरीर मेरो अगाडि उभिएको थियो । चिटिक्क मिलेको अण्डाकार अनुहारको दुई आँखा कालो चस्माले छोपिए पनि उनको मलीन अनुहारले मसँग सदाशयताको याचना गरिरहेको छ भन्ने स्पष्ट बुझिन्थ्यो ।
“अल्लाहको निम्ति ….!’

फूलमान बल

मेरो किंकर्तव्यविमूढतालाई भङ्ग गर्दै उनले मसँग याचना गर्न खोजिन् । तर, अचानक उनको ओठ थरथरायो र किन हो कुन्नि उनले अगाडि बोल्ने आँट गर्न सकिनन् । बरु भुइँपट्टि एकतमास हेर्दै खुट्टाका औंलाले चप्पललाई बेसुरले दबाउन थालिन् । यो अचम्मको आकस्मिकता थियो मेरोनिम्ति । के गर्नुपर्ने हो थाहा नभएर म चुपचाप उभिइरहें । अनौठो के थियो भने उनको शिर भुइँपट्टि निहुरिए पनि अनुहारमा लाज मानेको भाव अलिकति पनि थिएन । उमेरसँग ठ्याक्कै मेल नखाने यो कस्तो अनौठो र अस्वाभाविक गम्भीरता ? मलाई के लाग्यो भने उनी मसँग एक छाकको निम्ति केही रुपैयाँ माग्न चाहिरहेकी छिन् ।

“निर्धक्कसँग भन ।” मैले निहुरिरहेको उनको अनुहारलाई हेर्दै भनें ।

किशोरीको अनुहारमा स्पष्टीकरणको भाव डुलिरहेको थियो । अबचाहिँ म छाँगाबाट खसेझैं भएँ ।

उनले बिस्तारै अनुहार अलिकति उठाइन् र भनिन्– “अल्लाहको निम्ति के तपाईं मलाई निजाम कलेज जाने बाटो बताउन सक्नुहुन्छ ?”
म फेरि नराम्रोसँग जिल्लिएँ । सोचेभन्दा बिल्कुल फरक खालको स्थितिले मभित्र शंकाको घर जमायो । मलाई लाग्यो कि यी केटीले मसँग खराब नियतले व्यवहार गर्न खोजिरहेकी छिन् । अब एकैछिनपछि अलिकति नखरा पार्दै “निजाम कलेज ग्राउन्डसम्म पुर्याइदिनुस् न प्लिज !” भन्न के बेर ! त्यसपछि ? …. त्यसपछि फेरि अर्को नखरा …. । नत्र भने स्थानीय मुस्लिम केटीले मसँग गरिरहेको यो सबै नाटकको मतलब के ?

“हेर्नुस् न, सबै साथीहरूले मलाई होटेलमा एक्लै छोडेर हिँडेछन् ।”

किशोरीको अनुहारमा स्पष्टीकरणको भाव डुलिरहेको थियो । अबचाहिँ म छाँगाबाट खसेझैं भएँ । एकैछिनपछि उनको अनुहारमा छिटो–छिटो मलीनताले वास गर्यो र ठूलो समस्याको पहाडले थिच्न खोजेझैं गरी उनले मनमनै फत्फताएको भाव प्रकट गरिन् । अब मैले उनलाई त्यहाँ थप अल्मलाउने कुराले उल्टै मेरो नैतिकतामा प्रश्न उठ्ने निश्चित थियो ।

“तिम्ले बयासी नम्बरको गाडी समात्नुपर्छ ।” हठात् मैले अघिल्लो साल उस्मानिया युनिभर्सिटीका साथीहरूले निमन्त्रणा गर्दा हैदरावादमा दुई महिना बिताएको अनुभवलाई प्रयोग गर्दै भनें ।

“र, त्यतिञ्जेल तिमी यहीँ उभिइराख्नुपर्छ ।”

उनको अनुहारमा मुस्कान दगुर्यो । अनुहार यति उज्यालो भयो कि मुलायम र कलिलो आकर्षण लुकेको उनको त्यो अनुहारमा चिटिक्क मिल्नेगरी टाँसिएको चस्मा पनि स्वच्छन्द हाँसेझैं भयो । मलाई भने समस्याको भुमरीमा तड्पिएर थर्थराइरहेको त्यो निर्दोष अनुहारप्रति नकारात्मक धारणा बनाएकोमा ग्लानिबोधले थक्थकायो । र, त्यसपछि मैले उनको अनुहारमा हेर्ने साहस गरिनँ । सायद, कालो चस्माभित्र लुकिरहेका उनका एकजोर आँखा झनै प्रेमी भएर चम्किँदै थिए ।

मैले बोलिसक्दा नसक्दै बयासी नम्बरको लामो बस हाम्रो अगाडि तेर्सियो । मैले उनलाई हातले संकेत गरें । अनुहारमा फक्रिरहेको उज्यालोलाई अझ तेज बनाउँदै उनी हतार–हतार गाडीमा उक्लिन् ।

“धन्यवाद ! अल्लाहले तपाईंको भलाइ गर्नुहुनेछ ।”

उनको अनुहारमा विछट्टै आत्मीयता र सुखानुभूतिको चमक तेजवान् भएर चम्कियो । उनले हतार–हतार झ्यालको ऐना सारिन् र अलिकति टाउको निकालेर मेरोनिम्ति हात हल्लाइन् । बस हिँडिसकेको थियो र मैले पनि प्रत्युत्तरमा छिटोछिटो हात हल्लाएँ । तर, उनको हात भने गाडीले दायाँ मोड लिएर मबाट अलप नभएसम्म जोडतोडका साथ हल्लिरहेको थियो, आँखामा एक किसिमको सम्मोहन नचाउँदै ।
मर्निङ वाकबाट होटेल एलोरासम्म आइपुग्दा बिहानको नौ बजिसकेको थियो । किन मलाई आज धेरै समय लाग्यो ? अहँ मसँग उत्तर थिएन । मैले पहिलोपटक आफ्ना खुट्टाहरूप्रति अविश्वास प्रकट गरें । तर मैले यसो गर्नुमा चाहिँ कुनै बलशाली तर्क थिएन । त्यो यसकारण कि किन–किन मलाई त्यस किशोरीको व्यहार र हाउभाउ विछट्टै मन परेको थियो र उनले अनुहारलाई प्रेमी बनाउँदै झ्यालबाट हात हल्लाइरहेको सम्मोहित दृश्यले बाटोभरि मेरो मानसपटललाई पछ्याइरहेको थियो । मानौं, दुई वर्षअघि घरबाट काठमाडौं फर्किंदा तल देउरालीमा आफ्नै बहिनीले बाख्राको कान सुमसुम्याउँदै मेरो लागि प्रेमपूर्वक हात हल्लाइरहेकी छिन् ।

म सरासर माथि छतमा उक्लिएँ । दायाँपट्टि हुसेन सागरमा बिहानको घाम तैरिरहेको थियो । र, ठीक पारिपट्टि चार्मिनार टावर निर्भीकताका साथ उभिँदै मक्का मस्जिदलाई नियाल्दै थियो ।

“प्रशान्त सर ! हजुरको लागि खाना तयार भइसकेको छ ।”

अचानक पछाडिबाट आएको एउटी बेयराको नरम र तीखो स्वरले मात्र म झस्कें । त्यतिञ्जेल म हुसेन सागरमा तैरिएर क्रमशः छिप्पिरहेको घामको प्रतिविम्बलाई एकतमास नियाल्दै थिएँ । किन मेरो मन यतिविधि अलिनो भइरहेछ ? मलाई थाहा थिएन । मलाई घरको सम्झनाले नराम्रोसँग चिमोट्यो । माओवादी जनयुद्धका कारण नेपालमा राजाको सरकारले संकटकाल घोषणा गरेको थियो र गाउँ फर्किने बाताबरण नभएर त्यसयता मैले दसैं मनाउन पाएको थिएन ।

दायाँ छेउमा बसेकी प्रियंका राठीले मेरो हातमा चिमोट्दै ‘मुस्लिम युवतीलाई त्यसरी हेर्नु अपराध ठहरिन्छ’ भनेर सचेत बनाउँदा मात्र म झस्किन्थें र हतार–हतार खाजा ग्रहण गर्थें ।

दिउँसो अम्बेड्कर भवनमा एउटा सेमिनार थियो । मलाई सेमिनार अवधिभर चिटिक्क परेको अण्डाकार अनुहारका दुई आँखालाई कालो चस्माले लपक्क छोपेको त्यो सुन्दर अनुहारले तानिरह्यो । यहाँसम्म कि सेमिनारको ब्रेक टाइममा खाजाको किस्ती बोकेर मेरो अगाडि उभिन आइपुग्ने मुस्लिम अनुहारको प्रत्येक युवतीलाई म त्यही कालो चस्मावाली किशोरी भन्ठान्थें र उनीहरूको हातबाट खाजा लिनुभन्दा अगाडि एकसुरले हराउँथें । दायाँ छेउमा बसेकी प्रियंका राठीले मेरो हातमा चिमोट्दै ‘मुस्लिम युवतीलाई त्यसरी हेर्नु अपराध ठहरिन्छ’ भनेर सचेत बनाउँदा मात्र म झस्किन्थें र हतार–हतार खाजा ग्रहण गर्थें ।

साँझसम्ममा मेरो स्थिति नाजुक बनिसकेको थियो । मैले प्रियंकालाई कुनै जानकारी दिइनँ । साँझ अबेरसम्म म होटेलको छतमा टहलिरहेँ । हुसेन सागरमा पिलपिलाउँदै बलिरहेका असंख्य बत्तीको पिल्पिलाहटले सायद अब कहिल्यै भेट हुन नसक्ने ती किशोरीको सम्झनालाई झन् गाढा तुल्याउँदै लगिरहेको थियो । मैले त्यो साँझ केही पनि खाइनँ । किन–किन मलाई ती किशोरीको तस्बिर नजानिँदो आकर्षण लिएर मेरो नजिक–नजिक आइरहेको झैं लागिरह्यो । उनको अवोध, निश्चल र निर्दोष आकर्षण नै त्यो शक्तिशाली आकर्षण थियो जुन उनको उमेरको तुलनामा बिल्कुल अस्वाभाविक र गम्भीर थियो । हो, त्यही गम्भीरता नै मैले उनलाई मन पराउनुको मूल कारण थियो । यसकारण कि गम्भीरताभित्र जीवनका थुप्रै दार्शनिक जवाफ लुकेका हुन्छन् ।

केही दिन अरू बितेर गए । मेरो दिनचर्यामा खासै भिन्नता आउन सकेन । बिहान मर्निङ वाक, दिउँसो सेमिनार र साँझपख होटेलको छतबाट हुसेन सागरतिर फर्केर केहीबेर टहलिनु नै मेरो दिनचर्या बनेको थियो । साँझपख सम्झनाको झटारोले मेरो मानसपटल बिथोल्न आउने त्यस किशोरीको अनुहारलाई अब मैले बिर्सनुपथ्र्यो । प्रियंका भन्दै थिइन् कि उनीसँगको भेट अब असम्भव छ र यो महत्वका साथ टाउको दुखाउनुपर्ने विषय होइन ।

एक महिना लामो सेमिनार र कार्यशाला मेरोनिम्ति बिस्तारै झन्झटिलो बन्दै गयो । यो बीचमा प्रियंकाले मलाई चारपटक आफ्नो घरमा लगिन् । उनको बुवा र वृद्धा हजुरआमा मैले होटेल एलोराको बुकिङ्ग रद्द गरी एक महिनासम्म सँगै बस्न आओस् भन्ने चाहन्थे । तर, मैले त्यसो गरिनँ । उनीहरू भन्थे कि हैदरावादका केटाहरू केटीको तुलनामा कम पढ्छन् र छोरीहरूका लागि असल केटा खोज्न महाराष्ट्रसम्म जानुपर्छ ।

एकदिन साँझपख ‘युद्ध र आतंकवाद’ विषयक सेमिनारमा भाग लिएर पब्लिक गार्डेनस्थित इन्दिरा गान्धी मेमोरियल हलबाट म हतार–हतार बाहिर निस्किँदै थिएँ । त्यो मेरो अन्तिम सेमिनार थियो र म घर फर्किने विषयमा अत्यन्त सोचमग्न भएर अघि बढ्दै थिएँ । अचानक कसैको मुलायम हातले पछाडिबाट मेरो कुममा हल्का धक्का दियो । मैले हठात् पछाडि फर्केर हेर्न नभ्याउँदै विस्मयभावका साथ मेरो अघिल्तिर खडा भएको एउटी केटीको आकृतिले मलाई नराम्ररी झस्काइदियो ।

“तपाईं !…यहाँ !?” उनले चिच्याउँदै भनिन्– “यो…यो कसरी सम्भव भयो ?”

मेरो अघिल्तिर त्यही कालो चस्मावाली मुस्लिम किशोरीको शरीर आश्चर्यचकित भएर उभिइरहेको थियो । म भने बोल्ने केही शब्द नपाएझैं गरी किंकर्तव्यविमूढ उभिरहें । के मैले उनलाई खुसीले अधीर भई अँगालो मार्नुपथ्र्यो ? होइन, त्यो सम्भव थिएन । उनी न त लामो समय बेखबर हराएकी प्रेमिका थिइन्, न त कुनै दुर्घटनामा असोचनीय र आश्चर्यजनक ढङ्गले पुनर्जीवन पाएकी हितैषी । म त्यस्तो असमञ्जस्यतामा परें कि मसँग कुनै साइनो थिएन ।

“म त मेरा निर्दयी साथीहरूको खोजीमा थिएँ ।” उनले छरपस्टिएको कपाल पडाडि सारेर हतार–हतार कालो सलले दुवै कान छोप्दै भनिन्– “तर यो त ज्यादै भयो । म तपाईंलाई नै सम्झिरहेकी थिएँ । तपाईंसँग फेरि भेट्न नपाउँदै काबुल फर्किनुपर्ने भयो भनेर म चिन्तित थिएँ ।”

“काबुल…! ?” विस्फारित लोचनले मैले उनलाई हेरें ।

“आउनुस् न, बसेरै गफ गरौं ।”

उनले दुवै हातले मेरो दायाँ पाखुरालाई च्याप्प समातिन् र टाउको मेरो काँधमा राख्न खोज्दै भवनबाहिरको पार्कतर्फ लगिन् । मलाई उनको त्यो व्यवहार अलि अस्वाभाविक लाग्यो र सेमिनारको सुरुका दिनमा खाजा लिएर आउने मुस्लिम युवतीको प्रसङ्गमा प्रियंकाले मेरो हात चिमोट्दै भनेको कुराले अचानक मलाई एक झापट हानेझैं भयो । मलाई के लाग्यो भने पार्कका सबै मान्छेहरू एकैचोटि मपट्टि हेरिरहेका छन् । दुबो लेपिएको चौंडा र सुन्दर चौरका वरिपरि फक्रिरहेका असंख्य फूल र ठाउँ–ठाउँमा ठिङ्ग–ठिङ्ग उभिएका नरिवलका बोटले पार्कलाई शोभायमान बनाइरहेका थिए ।

“मेरो नाम काजोल खातुन हो ।”

पार्कमा पुगेर गलैंचाजस्तै हरियो दुबोमाथि बसी नभ्याउँदै उनले कुराकानीको सुरुवात गरिन् ।

“र, म दक्षिणी काबुलस्थित सुन्नी शरणार्थी शिविरको सेक्टर नम्बर तीनबाट ।”

मैले त्यतिञ्जेल केही पनि बोलेको थिइनँ र मेरो मौनताप्रति सायद उनको पनि ध्यान गइरहेको छ जस्तो लाग्दैनथ्यो । यसकारण कि मैले मनमनै प्रेम गरेको उनको गम्भीरता यतिबेला पूर्णतया गुम भइसकेको थियो र उनको अनुहारमा एक अपरिपक्व किशोरीको बालसुलभ अधीरता छरपस्टिएको थियो । हुसेन सागरमा तैरिरहेको घाम पहेंलिएर क्षितिजमा हराउनै लागिरहेको त्यो सन्ध्याकालमा उनी मसँग बेजोडले छिटोछिटो बोल्न खोज्दै थिइन् । मानौं सबै कुरा उनी आफैं भन्न चाहिरहेकी छिन् ।

त्यसो गर्दा उनको मुलायम कानको लोतीले मेरो चिउँडोमा हल्का स्पर्श गर्यो । मलाई उनको त्यो व्यवहार मन परेन ।

“हेर्नुस्” नजिकै फुलिरहेको भुइँचम्पाको फूल टिपेर बच्चाले झैं खेल्न खोज्दै उनले भनिन्– “मलाई तपाईंको यो ठाउँ मन पर्यो । फेरि फर्केर यहाँ आउने मौका मिल्ने भए म अल्लाहलाई धेरै–धेरै धन्यवाद दिने थिएँ ।”

“तर… !” मैले बोल्न खोजें ।

“भन्नुस्, तर के ?” उनको बोलीमा अधीरता थियो र अनुहारमा प्रहरीले कसैलाई साविती लिइरहेको झैं भाव । तत्काल उनले अलिकति झस्केझैं गरिन् र हतार–हतार कालो सलले दुवै कान छोप्न खोज्दै मेरो मुखनजिकै आफ्नो अनुहारलाई ल्याउन खोजिन् । त्यसो गर्दा उनको मुलायम कानको लोतीले मेरो चिउँडोमा हल्का स्पर्श गर्यो । मलाई उनको त्यो व्यवहार मन परेन ।

“तर म त काठमाडौंबाट… ।” मैले सपाट जवाफ दिएँ ।

“काठमाडौंबाट !?” उनको निधार खुम्चियो । र, बिस्तारै त्यो खुम्चाइ निधारबाट आँखा, गाला र चिउँडोसम्म झरेझैं गरी एउटा अत्यासलाग्दो गम्भीरतामा परिणत भयो ।

“मलाई लाग्छ तिमी केही सोच्दैछ्यौ ।” मैले परिस्थितिलाई सहज बनाउन खोज्दै भनें ।

“बिल्कुल होइन ।” उनी स्पष्टीकरण दिएझैं गर्दै फुस्फुसाइन् ।

“तर तिम्रो अनुहार ?”

उनको अनुहारमा गम्भीरताको घना बादल मडारिरहेको थियो । ममा भने असमञ्जस्यताले वास ग¥यो र अब के गर्ने होला ? भन्ने दोधारले मलाई भावशून्य बनायो । अचानक उनले हातमा खेलाइरहेको भुइँचम्पाको फूल फ्यात्त भुइँमा खसालिन् र गला अवरुद्ध पार्दै मसिनो र धीमा स्वरमा भनिन्– “के सबै ठाउँमा काजोलहरू नै मर्नुपर्छ र सर ?”

“तिमी…तिमी यो के भन्दैछ्यौ ?” म विस्मित हुँदै गएँ । मैले उनको प्रश्नलाई मथिङ्गलमा घोटेर अथ्र्याउने प्रयत्न गरें । अहँ, असम्भव ।

“टाइम्स अफ इन्डियाले भन्दैछ कि काठमाडौंबाट ईद मनाउन वीरगन्ज गइरहेकी सात वर्षीया काजोल खातुन जलेर मरी ।” उनले काम्दै गरेको स्वरमा भनिन् ।

बिहान मर्निङ वाकबाट फर्केर आराम गर्न नपाउँदै होटलका रिसेप्सनिस्टले ‘टाइम्स अफ इन्डिया’ देखाउँदै चितवनको भण्डारामा ‘काजोल खातुन’ सहित पाँच जना गाडीमा जलेर मरेको समाचार सुनाएको थियो । त्यो समाचार मेरोनिम्ति सम्झनाको तीर बनेर मुटुमा रोपिएको थियो । र, काठमाडौंको यादले नराम्ररी चिमोट्दा ममा हैदरावादको बसाइप्रति नै कता–कता निस्पृहता पलाएको महसुस भएको थियो । तर अचम्म ! त्यो घटनाले मलाईभन्दा अफगानी मुस्लिम किशोरीलाई यतिविधि किन तानिरहेको छ ?

“त्यो समाचारसँग तिम्रो… ?”

“म पनि त्यस्तै मरिसकेकी काजोल खातुन हुँ ।” मैले बोलिनसक्दै उनी फुस्फुसाइन् ।

“तिम्रो…तिम्रो आशय के हो ?” मैले आफ्नो स्वरलाई अलिक कठोर बनाएँ । मलाई लाग्यो कि उनका सम्पूर्ण हाउभाउ एक पेसेवर अभिनेतृको झैं छ । हैन भने, एकैछिनभित्र कहिले बालसुलभ अधीरता त कहिले गहिरो पीडाले छोपेको झैं उमेरसँग मेल नखाने अस्वाभाविक गम्भीरता । कस्तो रहस्यमय नाटक भइरहेको छ यो ? किन उनको मनोविज्ञान स्थिर छैन ?

तर अचानक मेरो कठोरताले उनलाई छोएको सङ्केत गर्यो । सायद, मेरो निर्दयी प्रहारले उनको किशोरी मनमा सन्तापको तीर गडेको हुनसक्छ, कालो चस्माको घेरा पार गरेर गाला हुँदै बगेको उनको आँँसुको थोपाले मेरो हातमा तातो स्पर्श गरेपछि मात्रै म झस्कें । मैले हत्पत् उनको अनुहार हेरें । उनको अनुहार ओसिलो भइसकेको थियो । र, मलाई तत्काल पश्चात्तापले चिमोट्यो ।

“मसँग एउटा कथा छ सर !” कलेजी रंगको ब्यागबाट सफेद रुमाल निकालेर आँसु पुछ्दै उनले भनिन्– “अल्लाहको निम्ति के तपाईं मेरो कथा सुन्न चाहनुहुन्छ ?”

“अनि, रोइहाल्नुपर्छ त साथी !” मैले आँसु पुछिदिएँ, उनको अनुहारमा एकाएक ज्ञानी बालकको जस्तै मनोविज्ञान पैदा भयो ।
“वास्तवमा मेरो घर दक्षिणी काबुलको मुहरेम गाउँमा हो ।”

घाम अस्ताइसकेको थियो र पब्लिक गार्डेनमा क्रमशः राता, नीला, पहेंला र चम्किला बत्ती आ–आफ्नै चमकमा बल्न थालेका थिए । मानिसहरू बिस्तारै बढे । सायद उनीहरू नरिवल र दारिमका पातहरू हल्लाउँदै साँझपख सुस्तरी चल्ने चिसो हावासँग सयर गरेर जीवनको आनन्द बटुल्न चाहन्थे । तर, काजोलको अनुहारमा त्यो चिसो र रमाइलो हावाले स्पर्श गरेन । उनको अनुहार क्रमशः ओइलाउँदै थियो, मानौं बारुदको छर्राले आहत बनाएका गुराँसका घाइते पोथ्राहरू बताससँग जीवनको भीख मागेर सिर्रसिर्र सुसाउँदैछन् ।

हामी पानी लिन कुवामा सँगै जान्थ्यौं– कञ्चन पानीमा एकअर्काको अनुहार हेरेर जिस्किन्थ्यौं र उनको बिहे रमजान सिद्धिनेबित्तिकै मेरो दाइसँग हुँदै थियो ।

“जतिबेला काबुलमा अमेरिकाले तालिवानमाथि हमला गर्यो, त्यसको तीन दिनपछि हाम्रो गाउँनजिकै एउटा शक्तिशाली बम खस्यो । र, त्यो बमले मेरो दाइको निम्ति छिनिसकेकी केटी रब्बानी, जो मेरो सानैदेखिकी साथी थिइन्, उनी र उनको परिवारलाई खरानी बनाइदियो । कत्ति जाती केटी थिई रब्बानी ! हामी पानी लिन कुवामा सँगै जान्थ्यौं– कञ्चन पानीमा एकअर्काको अनुहार हेरेर जिस्किन्थ्यौं र उनको बिहे रमजान सिद्धिनेबित्तिकै मेरो दाइसँग हुँदै थियो ।”

काजोल आफ्नो अनुहारलाई भरसक कठोर बनाउन खोज्दै थिइन् । घाम अस्ताइसकेपछि कालो चस्मा बिस्तारै उज्यालिएर आँखाको ढकनी छिटोछिटो चलेको देखिए पनि बगैंचाको चारैतिर बलिरहेका चम्किलो बत्तीका कारण उनको आँखाको भाव ठीकसँग ठम्याउन सकिरहेको थिइनँ । तर, उनको अनुहारले पीडा लुकाएर कठोर बन्न खोजिरहेको भाव दर्शाइरहेको थियो ।

“त्यसपछि गाउँमा आतङ्क मच्चियो । गाउँका सबैजसो युवायुवती र केही पाकाले समेत गाउँ छाड्न थाले र हजारौंको हूल सहरभन्दा पर व्यवस्था गरिएको शरणार्थी शिविरमा लाइन लाग्न थाल्यो । गाउँका केही पाका मान्छे र बूढाबूढीचाहिँ गाउँ छोडेर भाग्नु भनेको अल्लाहलाई धोका दिनु हो भन्ठान्थे र घर छोड्न मान्दैनथे ।”

“काबुलमा सबभन्दा ठूलो हमला भएको भोलिपल्ट बिहानै हाम्रो घरमा पनि बारुदका कालो धूवाँ जीवनलीला समाप्त गर्ने भयानक मृत्यु बनेर भित्रियो । अघिल्लो दिन काबुलमा शक्तिशाली हमला भएपछि अब्बु, दाइ, दिदी शवनम र म मिलेर भोलिपल्ट बिहानै घर छाड्नुपर्छ भनेर वृद्ध बुवाआमालाई सम्झाउने योजना बनायौं । त्यो दिन काबुलमा यस्तो भयानक हमला भयो कि साँझ अबेरसम्म बमको कालो विषाक्त धूवाँ आकाशमा मडारिरह्यो र त्यो दिन हामीले घाम उदाएको देखेनौं । यहाँसम्म कि साँझ खाना खान बस्दा हावाले हुत्याउँदै ल्याएको बारुदको तीखो र नमीठो गन्धका कारण बुवाले खाना खानै सक्नुभएन ।”

हामीले आमाबुवालाई सम्झाउन सकेनौं । घर छोडेर अल्लाहलाई धोका दिन उहाँहरू चाहनुहुन्नथ्यो ।

“तिमीहरू जाओ र लडाइँ रोकिएपछि फर्केर आओ । यहाँ हामीलाई केही हुने छैन ।”

हामीले घर छोड्नुअघि बिहान सबेरै आमा भन्दै हुनुहुन्थ्यो । र, उहाँ ईद आउनुअघि नै हाम्रानिम्ति कपडा सिलाइसक्नुपर्छ भनेर बुवालाई घच्घच्याउँदै हुनुहुन्थ्यो ।

“तर दुर्भाग्य ! जीवनको सबभन्दा दुःखदायी क्षण नै त्यो रह्यो कि त्यसपछि हामीले कहिल्यै ईद मनाउन पाएनौं । जतिबेला हामीले घर छोड्यौं, अचानक ठूलो र भयङ्कर विस्फोटको आवाज आयो । मलाई यति मात्र थाहा छ कि घर भत्केर ढलेको भयङ्ककर आवाजसँगै आमाको कारुणिक चिच्याहट विलुप्त भयो । र, मसँगै दिदी शवनम पनि आँगनमा ढलिन् । होसमा आउँदा दिदी र म उत्तरी काबुलको शरणार्थी शिविरमा पल्टिरहेका थियौं र रेडक्रसका मान्छेहरू हतार–हतार हाम्रो उपचारमा तल्लिन थिए । त्यत्तिञ्जेल हामी आमा, बुवा र दाइलाई गुमाएर टुहुरा भइसकेका थियौं ।”

नरिवल र दारिमका पातहरू हल्लाउँदै बहिरहेको हावाका कडा झोक्काले एकाएक काजोलको ओसिलो अनुहारमा हिर्कायो र मेरा काखमा घोप्टिएर रुँदा छरपस्टिएको उनको कपाल हावाले बिस्तारै उडाउन खोजेझैं गर्यो ।

अचानक उनले मेरो काखमा जीउ लत्रक्क छाडिन् । उनका आँखाबाट चश्माका फ्रेम पार गरेर आँसुको बलिन्द्र भेल गाला हुँदै बगिरहेको थियो । मानौं, पीडाले टिलपिलाइरहेको उनका आँखाबाट आँसुको बाँध फुटिरहेको छ । मैले आफूलाई बलजफ्ती सम्हाल्ने कोसिस गरें तर सकिनँ । एउटी टुहुरी किशोरीको कहालीलाग्दो र सन्तप्त जीवनकथाले मेरा आँखालाई विक्षिप्त बनायो र मेरो गालामा खोबिल्टो हुँदै बगेका सान्त्वनाका थोपाहरूले उनको कपाल लछप्पै भिजायो । उनी धेरैबेरम्म मेरो काखमा घोप्टिएर रोइरहिन् । मानौं, मबाहेक उनको सबै चिज गुमिसकेको छ ।

मैले फेरि प्रेमपूर्वक उनका आँसु पुछिदिएँ । त्यसपछि उनी बिस्तारै उठिन् ।

“र… मेरी दिदी र मलाई सदाको निम्ति टुहुरा बनाउने त्यो निर्दयी घटनाले मेरो जीवनबाट दायाँ कान र दायाँ आँखाको शक्ति खोसेर लग्यो ।” पीडाले निस्सासिएको छातीबाट निस्केको हिक्क–हिक्क आवाजसँग लामो निःश्वास तानेर उनले भनिन् ।

नरिवल र दारिमका पातहरू हल्लाउँदै बहिरहेको हावाका कडा झोक्काले एकाएक काजोलको ओसिलो अनुहारमा हिर्कायो र मेरा काखमा घोप्टिएर रुँदा छरपस्टिएको उनको कपाल हावाले बिस्तारै उडाउन खोजेझैं गर्यो । उनले फेरि पहिलेजस्तै हतार–हतार कालो सलले कान छोप्ने प्रयत्न गरिन् । पार्कमा बिस्तारै मान्छेहरू पातलिँदै गए । अलिपर एकतमास हल्लिरहेका नरिवल र दारिमका पातहरूतर्फ उकसुरले हेरिरहेकी काजोलको अनुहारमा बिस्तारै गम्भीरताले वास गर्यो र जीवनको रुमानी आँखीझ्यालबाट संसारलाई चियाउनुपर्ने सोह्र वर्षीया त्यस किशोरीको अण्डाकार अनुहारमा टीठलाग्दोपन छाइरह्यो ।

‘अब तिमी कहाँ जान्छ्यौ ?’ मैले उनलाई रोक्दै सोधें ।

‘काबुल’ उनले आँसु पुछिन् र अनुहार दृढ बनाइन् ।

‘त्यहाँ तिमी… ?’

‘मैले अब त्यहाँ मानवता र प्रेमको खोजी गर्नु पर्नेछ ।’

मलाई उनको अनुहार झनै मायालु लाग्यो ।

काजोल खातुनको कथा 

सन् २००३ को हिउँदमा म भारतको हैदरावाद थिएँ । उस्मानियाँ युनिभर्सिटी परिसरमा वल्र्ड सोसल फोरम चलिरहेको थियो । म तिनताक अनेरास्ववियुको केन्द्रिय सदस्य र वाग्मती अञ्चल सचिव थिएँ । विद्यार्थी संगठनको त्यही जिम्मेवारीको कारण म उक्त सोसल फोरममा सहभागी भएको थिएँ ।

मुलुकमा द्धन्द्ध चलिरहेको थियो । संसारभरका युवाहरु उक्त फोरममा शान्ति र भाइचाराको सन्देश साट्न आइपुगेका थिए । युनिभर्सिटी ग्राउन्डमा ओपनिङ सेसन चल्दै गर्दा परबाट एक युवती मतिर नजर फ्याँक्दै आइपुगीन् । ‘एक्स्क्युज मी…’ भन्दै मेरो हात च्याप्प समाइन् र राखी बाँधिदिइन् ।

म छक्क परेर उभिरहें ।

भोलिपल्ट इन्दिरा गान्धी मेमोरियल हलको सेमिनारमा उनीसित फेरी भेट भयो । उनी अफगानिस्तानबाट आएकी एक मुस्लीम युवती थिइन् । अफगानिस्तानमा तालिवान विरुद्ध अमेरिकाले बमबार्ड गरिरहेको थियो, मानिसहरु विस्तावित बनिरहेका थिए । तिनै विस्थापित शरणार्थी मध्ये थिइन् उनै युवती, जो मजस्ता संसारभरका थुप्रै युवाहरुलाई राखी बाँधेर भाइचाराको सन्देश दिन चाहन्थिन् ।

मैले हैदराबाटबाट आफ्नो देश सम्झें ।

अघिल्लो वर्ष (२०५८ फागुन १०) मात्रै इद मनाउन काठमाडौंबाट वीरगञ्ज गइरहेकी आठ वर्षिया बालिका काजोल खातुनलाई विद्रोही माओवादी छापामारहरुले गाडीभित्रै जलाएर मारेका थिए । मैले अफगान युवतीको अनुहारमा मेरै देशको काजोल खातुन देखें । युद्ध विभिषिकाको उस्तै भय, आतंक र पीडा देखें । आफन्त गुमाएपछिको पीडादायक एक्लोपन र उदासी देखें ।

नेपाल फर्किसकेपछिको लामो समयसम्म पनि मैले ती अफगान युवतीलाई बिर्सिन सकिनँ । उनको स्मृतिमा युद्ध र आतंकको अन्तराष्ट्रिय आयामलाई समेटेर केही लेख्न मन लाग्यो । अनि अनुभुतिजन्य घटनाहरु मिसाएर कथा लेखें– ‘कालो चश्मा’ । यो कथा सन् २००३ मै आरआर क्याम्पसको स्ववियु मुखपत्र ‘विचार’को अंक ७ मा छापियो । यही कथा पछि पुस्तकाकारमा आइपुग्दा ‘काजोल खातुन’ बन्यो ।

२०५० को शुरुवाती दशकदेखि नै कविता साहित्यबाट सिर्जना यात्रा थालेको भएपनि उक्त दशकको अन्तिममा लेखिएको ‘काजोल खातुन’ यसरी पहिलो कथा बन्यो ।

मेरो कथा लेखनको पहिलो उर्जा र उत्प्रेरणाकी स्रोत ती अफगान युवतीलाई म सँधै सम्झिरहन्छु ।

फूलमान बल