मामाघर जाँदा दाजुभाइहरु एउटा खाटमा दिदीबैनीहरु अर्को खाटमा खाँदाखाँद गरेर सुतिन्थ्यो । रातैभरि हल्ला गरेर अन्ताक्षरी खेलिन्थ्यो । सिरक खोसाखोस हुन्थ्यो, कुनामा को सुत्ने भनेर हानाथाप हुन्थ्यो । छेउमा सुत्ने बिचरा खाटबाट लड्थ्यो । एकछिनमा वातावरण प्रदुषण पनि हुन्थ्यो । कसले खराब वायु छोड्यो भनेर नाक थुनेर मरीमरी हाँसिन्थ्यो । “आतेपाते नुन छादे…” भनेर अपराधी पत्ता लगाइन्थ्यो । कहाँ गए ती गाइवस्तु अनि चराचुरुंगीकै निन्द्रा खल्बलिने गरेर रातैभरि गलफत्ती गर्ने दिनहरु ?

आजभोलि त मामाघर नगएरै पनि जुग बित्दो रहेछ । कहाँ सुत्न सक्नु र कोही कसैसँग ! दम्पत्ति नै भए त करै लाग्छ नत्र त ओछ्यान मात्र हो र, कोठा नै अलग अलग चाहिन्छ आजकल । उबेला कति धनी थियौं हामी, आत्मीयता किन्न निद्रा नै बचिदिथ्यौं ।

आज के छैन र संसारमा ? भौतिक दूरी घटाउन नयाँ नयाँ प्रविधि छ । संचार छ । यातायात छ । अरु पनि धेरै कुराहरु छन् तर मनको दूरी घटाउने फुर्सद छैन हामीसँग । कहाँ गयो हामीभित्रको त्यो आफ्नोपन ? कहाँ गयो अरु रुँदा आफ्नो आँखा रसाउने बेला ? कहाँ गयो अरु भोकाउँदा आफूलाई खान मन नलाग्ने समय ?

फगत एक पन्ना चिठीको दुई पन्ना जवाफ कुरेर महिनौँ गुजार्नेहरूको जमानामा थियो आफ्नोपन अनि दिव्य प्रेम । आज त भाइबर छ, मेसेन्जर छ, ह्वाट्सयाप, इमो, इन्स्टाग्राम छ, तर छैन हालखबर सोध्ने जाँगर, छैन सन्चोबिसन्चो सुनाउने फुर्सद । छैन त्योखालको निकटता, जो हुने गर्थ्यो पहिले ।

[bs-quote quote=”मान्छेलाई मान्छेसँग जोड्ने नै आत्मीयता हो । आत्मीयता नै नरहे मान्छेहरु टाढिन्छन् । मान्छेहरु टाढिए सृष्टि खुकुलो हुन्छ । सृष्टि नै खुकुलो हुँदै गए जिन्दगीको अर्थ नै के रहन्छ र ?” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”सुरेश बडाल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/05/suresh-badal.jpg”][/bs-quote]

पल्लो कोठामा छन् बाआमा, तर लाग्छ भेट नभएको हप्तौं भएको छ । अनलाइनमा छ सँगै स्कुल कलेज पढेको साथी, तर नबोलेको महिनौँ भएको छ । कहाँ गए ती दिनहरु जब दाजुभाइ, दिदीबहिनी मिलेर खेलिन्थ्यो भाँडाकुटी, खेलिन्थ्यो लुकामारी । ढ्याप्पा भनेर तर्साउँदा चिच्याएको याद कता मौन छ आज ?

हामी फेसबुकको इमोजीमा चुम्बन बर्साइरहेछौँ तर प्रत्यक्ष भेट हुँदा मुन्टो बटार्छौँ । हामी पोखिरहेछौं भर्च्युअल दुनियाँमा भावुकता, तर बन्दैछौं असलमा कठोर मन भएको मूर्ति । कुनैबेला थियो जब सडकबाट कुनै अपरिचितको लाश लगिँदै हुन्थ्यो, हाम्रा मन रुन्थे, चेहरा अँध्यारो हुन्थ्यो, बैकुण्ठमा बास होस् भनेर अनायासै फुत्किन्थे हाम्रा ओठबाट शब्दहरु । आज कहाँ गयो त्यतिबेलाको हाम्रो कोमल मनस्थिति ? किन आर्यघाटमा लाशलाई पृष्ठभूमिमा राखेर सेल्फी खिच्दैछौँ हामी ?

पानी माग्दा मोही दिने चलन हो हाम्रो । भए त अझै “दही खाने हो ? अमिलो छैन, हिजो मात्र जमाको हो ।” भन्ने संस्कार हो हाम्रो । हामीकहाँ भिखारी कहीँ कतै देखिंदैनन् । हामीकहाँ भोकमरीले कोही मर्दैनथे । हामी त मुठ्ठीबाट घ्यू चुहिनेगरि भात खाने पुर्खाका सन्तान हौँ । बाजेले घ्यूको पैसा लिएनन् । बाले दहीमोहीको पैसा लिएनन् । तर आज इनारबाट उभाएको पानीको पैसा लिँदैछौँ हामी । बत्तीको पैसामा पनि सबमिटर राखेर कमिसन खाँदैछौँ हामी । आखिर हामीलाई नपुगेको के होला ?

कुनैबेला सारा गाउँ पाहुना लाग्न आउँथ्यो काठमाडौं आउँदा । एउटा सानो कोठामा ठूलो संसार थियो । खाटबाट ओर्लिएर भुइँभरि ओछ्यान थिए । ढोकासम्मै फैलिन्थे पाहुनागण । गाउँबाट पाहुनाको बुइँ चढेर घ्यूका सीसी आइपुग्थे, तरकारीका झोला आइपुग्थे, गुन्द्रुकका पोका आइपुग्थे । सहरमा आफ्नो मान्छे मात्र हुँदैन थियो, आशा हुन्थ्यो, आश्रय हुन्थ्यो, आडभरोसा हुन्थ्यो ।

आजकल सहरमा मान्छे हुँदैनन्, व्यस्ततामा चलिरहेका मेसिनहरु हुन्छन् । तलाका तला घर हुन्छन्, तर सुत्ने कोठा हुँदैनन् । गुन्द्रुक आइपुग्दैनन्, गुन्द्रुकसँग साथी लागेर गाउँको रस आइपुग्दैन ।

गाउँमा पनि त आजकल आफ्नोपन रहेन ।

एक पसर नुन सकियो, छिमेकमा छँदै छ नि ! तरकारी ओइरिने बेलैमा ख्याल आयो, ज्या भुटुन सकिएको बिहानै हो, लिन गाकै छैन, तर छिमेकी छन् नि ! आज हाम्रो रोप्नु छ, अलिपछि उसको गोड्नु छ । पल्लोघरको भैंसी थाकेको छ, पल्लाघरे आमैलाई एक मानो दूध लगिदिनु पर्ला ! कहाँ हराए यी आत्मीय वाणीहरु ? गोठहरु रित्तिएपछि ओठहरु पनि रित्तिए । आजकल प्रेमका शब्दहरु बोल्दैनन् जिब्रोहरुले । ऐंचोपैंचो हराएको छ । भारोपर्म हराएको छ ।

माथ्लोघरको आँगनमा जम्मा भएर श्लोक फलाक्दैनौं आजकल हामी । तल्लोघरमा जम्मा भएर दूनाटपरी गाँस्दैनौं आजकल । दूनासँगै प्रेमका सिन्काले मनहरु गाँस्दैनौं । एकअर्कालाई जिस्काएर उन्मुक्त भई हाँस्दैनौं । अमिलो निबुवा साँधेपछि पातहरुमा भाग लगाएर बंगाराको कुना नै रसाउने गरेर सुरुप सुरुप खान्छौं त ? अमिलो त खासमा सबै जना जम्मा भएर खाँदा मीठो हुने रहेछ । चिनीमात्र कहाँ गुलियो हुन्छ र ! आत्मीयताको स्वाद पनि त गुलियै हुन्छ ।

हामीले आफ्नाहरु खोजेर बसेराहरु सार्यौं । दैलाहरु आमुनेसामुन्ने पार्यौं । अभर परेर रुँदा आफ्नाकै कानमा परोस् भनेर घरहरु नजिक नजिक आए ।

पैसा तिर्दा किन्न पाइन्छ किन हात पसार्नु अरुसँग ? पैसा तिर्दा काम गर्ने मान्छे पाइन्छ, किन सहयोगको याचना गर्नु अर्कोसँग ? पैसा भए प्रेम किन चाहियो ? पैसा नै त हो नि आजको सत्य । पैसा आफन्त हो, पैसा नै त हो प्रियसी । सम्पत्ति भएदेखि, धनदौलत भएदेखि अपरिचित पनि आफ्ना हुन्छन् । अनि किन चाहियो आफ्ना मान्छे ? यी कलुषित सोचहरुले आफैंबाट टाढिँदैछौँ हामी ।

हामीले आफ्नाहरु खोजेर बसेराहरु सार्यौं । दैलाहरु आमुनेसामुन्ने पार्यौं । अभर परेर रुँदा आफ्नाकै कानमा परोस् भनेर घरहरु नजिक नजिक आए । सँगै हाँस्न पाइयोस् भनेर आँगनहरु जोडिए । तर आज एकै घरका हामीहरु भान्सा मात्र हैन मनै फरक गर्दैछौँ । घर पस्ने दैलो एउटै छ तर फ्ल्याट फरक हुन्छ हाम्रो । आँगन एउटै छ तर हाँसोहरु छैनन् हामीसँग । मीठो खान भाइ दाइसँग छुट्टियो, रमाइलो गर्न छोरो बाउसँग अलग्गियो । स्वाद त आत्मीयतामा हुन्छ, यो यसले पनि बिर्सियो, उसले पनि बिर्सियो ।

सक्ने बेलाका मासुभात पनि स्वादिलो नै हुन्छ । अलग्ग बसेर पिएको रक्सी पनि रमाइलो नै हुन्छ । तर बिरामी परेर सुत्दा आफ्नाले पकाइदिएको जाउलोको मिठास अन्त कता भेटिन्छ र ? कहाँ भेटिएला आत्मीयता मिस्सिएको ज्वानोको झोलले मेटेको तिर्खा ?

सक्ला, मान्छे एक्लै पनि बाँच्न सक्ला । तर सास अडिएको शरीर मात्र मान्छे होला र ? त्यो शरीरभित्रको मन, त्यो मनका असिमित रहर, चाहनाहरुका लहर, त्यो शरीरभित्रको आत्माले खोजिहिँड्ने सुख, त्यो सबै नै मान्छे हैन र ? मान्छे एक्लो हुँदा मान्छे भएर बाँच्न सक्दैन । मान्छे भएर बाँच्न मान्छेलाई अर्को ऊजस्तै मान्छे चाहिन्छ । मान्छेलाई पैसा हैन, मान्छे चाहिन्छ । धन दौलत हैन, मान्छे चाहिन्छ । मान्छे नभए कागजको खोस्टोको पैसा बन्ने भाग्य नै कहाँ हुन्छ र ? मान्छे भएरै त हो नि सुन, सुन बनेर बाँच्न पाएको । मान्छेविना आवाद बस्तीहरु पनि बन्जर जमिन न हुन् । मान्छेसँग मान्छे भएरै सृष्टि सम्भव भएको छ ।

मान्छेलाई मान्छेसँग जोड्ने नै आत्मीयता हो । आत्मीयता नै नरहे मान्छेहरु टाढिन्छन् । मान्छेहरु टाढिए सृष्टि खुकुलो हुन्छ । सृष्टि नै खुकुलो हुँदै गए जिन्दगीको अर्थ नै के रहन्छ र ?