“बा, यसपटक पनि तपाईंकै खर्चमा दसैँ मनाउन गाउँ आउँदैछु, मलाई माफ गर्नुहोला !”
एक जना साथीले गतसालको दसैँअघि लेख्नुभएको टुइटका यी शब्दहरु अझै पनि बारम्बार मेरो दिमागमा परेड खेल्न आइरहन्छन् । कुनै कुनै शब्दहरु कति सजिलै मुटुभित्रै पस्न सक्ने, मुटुमै बसिरहन सक्ने, त्यो पनि नदुखेको मुटुलाई चसक्क दुखाएर ! सायद ती शब्दहरुले आफ्नै परिस्थिति बोलिदिने भएर होला।
साथीले यसपटकको दसैँ आफ्नो खर्चमा मनाउन पाउनु भयो कि पाउनु भएन कुन्नि ? मैले भने यो सालको दसैँलाई पनि बाकै खर्चमा मनाएर बिदा गरें।
हुन त बेरोजगारी राष्ट्रिय अर्थतन्त्रको प्रमुख समस्या हो। तर यो युवाहरुका लागि थाहै नपाई मानसिक या भावनात्मक समस्या पनि बन्न सक्दोरहेछ।
सामान्य हिसाबले नै सोधिएको किन नहोस्, “हिजोआज के गर्दैछौ ?”, भन्ने प्रश्नले आफ्नो हैसियत मापन गर्न खोजेजस्तो महसुस हुन्छ। फिस्स हाँसेर “केही छैन” भन्ने जवाफ दिँदैगर्दा मन भने आत्मसम्मानमा पुगेको चोट सहन नसकेर भित्रभित्रै शिथिल बनेको हुन्छ। जन्मदिनको शुभकामनादेखि दसैँको आशीर्वादसम्म सबैमा समेटिने “ठूलो मान्छे बन्नू” भन्ने वाक्यांशमा व्यंग्य मिसाइएको जस्तो भान हुनथाल्छ।
“तिहारसम्म बस्ने ?” दसैँ बिदामा घर आएका बेला बारबार सामना गर्नु पर्ने यो प्रश्न पनि खुब गह्रुङ्गो लाग्छ। घर बस्न पाउनु जस्तो खुसी केही नलाग्ने उमेरबाट एकाएक विनाकाम घर बसेर आफूले आफूलाई बेकम्मा प्रमाणित गरिरहे जस्तो लाग्न थाल्दा पनि आत्मनिर्भर बन्ने उपाय भने भेटिन्नन।
बेरोजगारीकै कारण निम्तने समस्या अनेकौं छन्, तर यसको वास्तविक कारण के त ?
कहिलेकाहीँ आफैंलाई सोध्छु- म किन बेरोजगार ?
[bs-quote quote=”मसँग बेरोजगार नै बस्न पाउने बिकल्प छ। अर्थात् मेरा लागि कमाइदिने मेरो परिवार छ, बाआमा छन्। दिनभर सामाजिक संजालमा रल्लिएर बसे पनि साँझ दालभातको जोरजाम भएकै हुन्छ। अझ बाले कमाएर ल्याइदिएको घिरौलाको तरकारीलाई गाली गरेर ट्रोल बनाउनेसम्म सुविधा छ ।” style=”style-2″ align=”right” color=”#81d742″ author_name=”समीक्षा खतिवडा” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/08/samikxya-khatiwada.jpg”][/bs-quote]
छातीमा हात राखेर जवाफ खोज्दा एउटै जवाफ मिल्छ- मसँग बेरोजगार नै बस्न पाउने बिकल्प छ। अर्थात् मेरा लागि कमाइदिने मेरो परिवार छ, बाआमा छन्। दिनभर सामाजिक संजालमा रल्लिएर बसे पनि साँझ दालभातको जोरजाम भएकै हुन्छ। अझ बाले कमाएर ल्याइदिएको घिरौलाको तरकारीलाई गाली गरेर ट्रोल बनाउनेसम्म सुविधा छ । अनि म किन काम गरौं ?
तपाईं दोष दिनुहोला राजनीतिक अस्थिरतालाई, जुन भन्नका लागि त हिजोआज स्थिर भइसक्यो । या दोष दिनुहोला उच्च जनसंख्या वृद्धिदरलाई, पूँजी अभावलाई, कमजोर शैक्षिक गुणस्तरलाई । बहाना नै कुरा गर्ने हो भने त अरु जति पनि छन् । के यी सबै शतप्रतिशत समस्यामात्र हुन ? के यिनमा समस्या कम अनि हाम्रा बहाना ज्यादा देखिन्नन् ?
मेरो पुस्ता बाको खर्चमा दसैँ मान्नु परेकोमा संकोच त मान्छ, तर आफ्नो खर्चमा दसैँ मान्ने अवस्थासम्म पुग्ने भर्र्याङ् कसरी बन्छ ?, त्यसबारे भने अझै अनविज्ञ छ। डिग्रीको सर्टिफिकेट बाकसमा थन्क्याएर पासपोर्ट बनाउन तयार हुन्छ, तर गाउँ फर्किएर सुधारिएको गाईगोठ बनाउन लाज मान्छ । कपाल रङ्ग्याउन रहर गर्छ तर अर्काको घर रङ्ग्याउने पेसा भने छिमेकी मुलुकका कामदारलाई मात्र सुहाएको देख्छ।
राजधानीको महंगो जीवनशैली धानेर भने जति पढाइदिन सक्ने मेरा बाआमा अरुका नजरमा मेरो लागि तागत देखिन्छन्, तर वास्तवमा उनीहरु मेरा लागि कमजोरी बनिरहेका छन् । उनीहरु महिनैपिच्छे मेरो खातामा आवश्यक परे जति रकम जम्मा गर्दिरहन्छन् । त्यसैले मलाई अवसर पाएका कामहरु साना लाग्छन् । म महसुस नै गर्न सक्दिनँ कि मैले आत्मनिर्भर बन्नु कति जरुरी छ।
कलेजबाट फर्किएपछि बँचेको समय सुन्तला र बदाम केलाउँदै घरभेटीको छतमा घाम ताप्न पाएको भएरै हो मैले कामहरुलाई श्रेणीमा विभाजन गरेको। बाकै खर्चमा आर्जन गरेको सर्टिफिकेटलाई आफ्नो तागत सम्झिएर, गर्न सक्ने कामहरुलाई तुच्छ देखेको, महत्वाकांक्षी सपना सजाएको र तिनलाई पूरा गर्न नसकेर आफैं तनावग्रस्त भएर देशलाई गाली गरेको।
जतिसुकै तनावग्रस्त किन नहोऔं, पोख्न भने हामी सामाजिक संजालको बिकल्प देख्दैनौं । तनावलाई शब्द बनाएर सन्जालमा पोख्छौं, यसरी:
-“जिन्दगीमा बधाई पाउन पनि बिहे नै गर्नुपर्ने भयो।”
-“बेरोजगार हुनुको फाइदा, घाम जता लागेको छ त्यतै ताप्न पाइन्छ।”
-“बेरोजगार हुनुको फाइदा, वर्सौंदेखि भेट नभएको साथी केही जागिर खुल्यो भने लाइनमा टुप्लुक्क देखिन्छ।”
जतिसुकै तनावग्रस्त भएर पोखिएको किन नहोस्, दुई चार हाहा रियाक्ट र उस्तै कमेन्ट पाएर हाँस्न पुगेपछि एकपटकलाई तनाव गायब हुन्छ, अर्कोपटक बिरामी भएर सधैंको भन्दा केही बढी खर्च भएपछि घरबाट पठाइदिएको पैसासँग खर्चको तालमेल नमिलुन्जेलसम्मलाई।
हामी तनावबाट त ग्रसित छौं तर हाम्रो तनाव त्यो हदसम्म पुगेको छैन जहाँबाट हामी पाठ सिक्दै त्यसलाई कर्ममा रुपान्तरण गर्न सकौं।
दोस्रो विश्वयुद्धपछि आर्थिक विकासको फड्को मारेका जापान, कोरिया हुन् या हाम्रै छिमेकी मुलुक चीन किन नहोस्, सबैले पूर्वाधारलाई केन्द्रमा राखेर नै आफ्नो विकासको यात्रा तय गरेको देखिन्छ। हामीले राम्रोसँग बुझेका छौं कि पूर्वाधारको विकास नभएसम्म आर्थिक विकास असम्भव छ। तर जब देशको राजनीतिक नेतृत्व चुन्ने जस्तो महत्वपूर्ण कार्यमा सरिक हुनेबेला आउँछ, हामी चुनावको अघिल्लो दिन खान पाएको दुई छाक मासुभातको लोभमा वर्षौं हिलाम्य बाटोमा यात्रा गर्न तयार बनिदिन्छौं। त्यसपछि के अर्थ मेरो बारीको स्कुस बारीमै कुहियो भनेर चिन्ता गर्नुको ? मैले पालेका खसीबोकाहरुले बजारसम्म पुग्न पाएनन् भनेर दुख मनाउनुको?
बेरोजगारीका वातावरणीय कारणहरु अर्थात् पूँजीको अभाव, उच्च जनसंख्या वृद्धिदर, कमजोर शैक्षिक प्रणाली आदिका समाधानका पक्ष अलग छन्, जसका लागि राज्यस्तरसम्मको ध्यानाकर्षण गराउने जिम्मा पनि मेरो पुस्ताकै हो । तर त्योभन्दा अगाडि, मेरो पुस्ताले आफू बेरोजगार रहनुमा आफैंभित्र खट्किएका केही कमजोरीबारे केही चिन्तन गर्ने कि?
विविध कारणवश माथिल्लो पदका लागि हामी योग्य बन्नबाट वन्चित भएका होलाऊँ, तर कमसेकम तल्लो पदप्रतिको आफ्नो नजर सङ्लो बनाउन त सक्छौं । बाध्यता नबनोस् कसैको, केवल मनोभाव यस्तो बनाउन सक्छौं कि आफ्ना रहरहरु पूरा गर्न बाआमाको खल्ती रित्याउनुपर्दा केही संकोच लागोस्। तबसम्म जीवनको तराजु असन्तुलित बनेजस्तै लागोस् जबसम्म एकपल्लामा रहरका पोकाहरु राख्नुपर्दा अर्कोपल्लामा आवश्यकताको ढक नराखियोस् । घरबाट झोला गह्रौं पारेर पठाइदिनुभएको घ्यू र अचारका बट्टाहरु घर फर्कदा रित्तै फर्काउन अफ्ठ्यारो महसुस होस् ।
हामी सय जनाको विज्ञापनमा एक्काईस हजारको आवेदन पर्ने लोकसेवाको परीक्षालाई निर्विकल्प मानेर आफूलाई लोकसेवा सातौं वर्षको विद्यार्थी बनाइरहनुको सट्टा आफैं उद्यमी बनेर अरुलाई रोजगारी दिने असल कर्म गर्न हिम्मत जुटाउन सक्दैनौं ? समृद्ध मुलुकमा रहेको साथीलाई आइफोन पठाइमाग्नुको सट्टा गरिखाने “आइडिया” पठाइमाग्न किन हिचकिचाउँछौं ?
त्यसै पछाडि परिरहेको देशको अर्थतन्त्र कोरोना महामारीले थिलोथिलो बनाएपछि झन पछाडि धकेलिएको छ। लगातार तीन वर्षसम्म वार्षिक औसत सात प्रतिशत कायम भएको आर्थिक वृद्धिलाई यस वर्ष पाँच प्रतिशतमा खुम्चन सक्ने अनुमान गरिएको छ। यसरी थलिएको अर्थतन्त्रलाई माथि उठाउन राज्यका उपयुक्त नितिसँगै मेरो पुस्ताको उचित कर्म पनि उति नै आवश्यक पर्छ। त्यसैले फ्रस्टेसनलाई कर्ममा रुपान्तरण गर्ने प्रयास गरौं, न कि त्यसैमा डुबेर आफूलाई मानसिक रोगी बनाउने । त्यसपछि कसो नसकिएला यावत् वातावरणीय समस्यासँग जुध्नका लागि आफूलाई तयार बनाउन ? आउँदो सालको दसैँ आफ्नै खर्चमा मनाउन् ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।