बिहेको समाजशास्त्रीय परिभाषाबारे न मलाई कुनै चासो छ न कुनै जिज्ञासा । मैले प्रस्तुत गर्ने बिहेको समाजशास्त्रीय विश्लेषण केवल गैरएकेडेमिक र चलेको भाषामा भन्दा अवलोकननीय र अनुभवजन्य विश्लेषण मात्र हो ।

बिहे भन्नेबित्तिकै दुई भिन्न लिङ्गका व्यक्तिहरूले भिन्न रूपले बुझ्ने एक सामाजिक संस्था हो । भाले जातिको लागि आफ्नो व्यक्तिगत तथा सामाजिक जीवनमा अर्को व्यक्तिलाई स्वागत गर्नु हो भने पोथी जातिको लागी कोही अरूको जीवनमा आफूलाई समेट्न खोज्नु हो । यो व्याख्या गर्दा जति रोमान्टिक लाग्छ त्यति नै विभेद्कारी संस्था पनि हो । यसको केन्द्रमा सधैं भाले जातिको बाहुल्यता रह्यो जसको फलस्वरूप पोथी जातिलाई सधैं ‘खुट्टा भए जुत्तको के कमी ?’ भन्ने बिम्बको रूपमा लिइराखियो ।

यो कुरा गर्दा मलाई अलिअलि संकोच पनि लाग्छ । लेख्न बस्दा कतिपटक लेखेर मेटेको वाक्य पनि हो । मेरो बुबालाई मैले चिनेका बुबामध्ये अल्लि लिबरल मान्छेको रूपमा बुझेको थिएँ । एकदिन बुबाले अचानक सत्तरी कटेका हाम्रा एक जना भाले जातिका आफन्तको दोस्रो बिहेको बारे कुरा गर्नु भयो ,जुन कुरा सुन्दा म छाँगाबाट खसे झैं भएँ । सत्तरी कटेका आफ्ना दाइको बिहेबारे सोच्ने मेरा बुबाले तीस नकट्दै मामा गुमाएकी माइजूको बिहेबारे कहिल्यै सोच्नु भएन । त्यो त परको कुरा, सात वर्षमै विधवा भएकी आफ्नी फुपूबारे पनि सोच्नु भएन । त्यो दिन मलाई लाग्,यो मैले सोचे झैं बुबा उदारवादी हुनुहुँदो रहेनछ । र उहाँमा अझै परापूर्व कालदेखि चल्दैआएको पितृसतात्मक सोचको ह्याङओभर रहेछ । त्यो दिन म अल्लि कडा रूपमा प्रस्तुत भएँ । थाहा थिएन त्यो सही थियो वा गलत । कट्किँदै भनें- सत्तरी कटेका दाइलाई फेरि अर्की सहयात्री खोज्ने हजुरले किन मेरी माइजू र आफ्नी फुपूबारे सोच्नु भएन ? अबदेखि मेरी माइजूबारे पनि सोच्नू ।

[bs-quote quote=”जब सम्बन्धको सुरुवात नै यस्ता विभेदबाट सुरु हुन्छ भने त्यो यात्रा कस्तो रहला ? चाहेर पनि लोग्नेस्वास्नीको समान अस्तित्व समाज र परिवारले स्विकार गर्ला त ?” style=”style-2″ align=”right” color=”#dd3333″ author_name=”निर्जला अधिकारी” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/09/received_243939586683768.jpeg”][/bs-quote]

यी यस्ता साना ठूला झड्का सधैं लाग्ने गर्छ जब म ‘विवाह ‘ भन्ने संस्थाबारे सोच्ने गर्छु । विवाहको कुरा गर्दा अझै हामी बढी नै रिग्रेसिभ छौं भन्ने मलाई सधैं लाग्छ । मेरै वरिपरि पढेलेखेका मेरै दिदीबहिनीको जीवन देख्दा मलाई कहिल्यै पनि ‘विवाह’ समानता र सहअस्तित्वमा विश्वास गर्ने संस्था हो भन्ने लाग्दैन, केही अपवादबाहेक । हुन त पूँजीवादी समाजले उनीहरूले लाएको नेकलेसको साइज र घडीको ब्राण्ड हेरेर उनीहरूलाई संसारकै भाग्यमानी महिलाको रूपमा परिभाषित गर्न पनि सक्छ ।

पुरुषको लागि विवाह जति लचकदार छ महिलाको लागि त्यती नै साँघुरो । केटीको उमेर, छालाको रंग, आँखाको साइज्, कपालको लम्बाई , कलर आज पनि कुनै केटीको बिहे अगाडि उसलाई व्याख्या गर्ने मानकहरू हुन् । थप कुरा गर्दा खाना पकाउन जान्ने, कपडा धुन जान्ने, केटाभन्दा कम पढेकी भए पनि केटा जस्तो पढाइमा अब्बल नभएकी, मीठो स्वरमा बोल्ने असहमति नजनाउने, यस्ता स्टेरोटिपिकल विशेषताले यूक्त भएकी । केटाको केसमा यस्ता मापदण्डहरू केही लागु हुँदैन, बस पढेको र आर्थिक हैसियत राम्रो भए पुग्छ । तर ठीक महिलाको केसमा धेरै पढेकी र धेरै कमाउने दुवैलाई एकखाले अवगुणको रूपमा लिइन्छ । जब सम्बन्धको सुरुवात नै यस्ता विभेदबाट सुरु हुन्छ भने त्यो यात्रा कस्तो रहला ? चाहेर पनि लोग्नेस्वास्नीको समान अस्तित्व समाज र परिवारले स्विकार गर्ला त ?

फेरि म आफ्नै व्यक्त्तिगत अनुभवतिर लागें । तपाईंहरूसँग बाँढ्न चाहे- म तीसको नजिक पुगेकी, पढ्न लेख्न रुचाउने, महिला पुरूषको समान अस्तित्वमा विश्वास गर्ने, लिपिस्टिक पाउडर जस्ता भ्यानिटीमा विश्वास नगर्ने, देख्दा काली, पाँच फिटभन्दा कम हाइट भएकी, पढ्ने पढाउने एक आम युवती हुँ । तपाईंलाई लाग्ला म हाम्रो समाजले खोज्ने आइडियल बुहारी वा श्रीमती हुँदै होइन । मलाई पनि लाग्छ । किनभने म सह-अस्तित्वमा विश्वास गर्छु । मेरो ओभरअल लुक मेरो पहिलो प्राथमिकता होइन । मलाई लाग्छ, मैले गर्ने काममा म जस्तो देखिन्छु त्यसको कुनै महत्व छैन । म पढ्छु पढाउछु, मेरो मुख्य काम त्यही हो । र म बिहे गर्नकै लागि भनेर त्यस्ता कुराहरू स्वीकार गर्दिनँ, जसमा म विश्वास गर्दिनँ ।

यो त भयो मेरो आफ्नो कुरा, तर मेरो अनुभव पनि एक आम नेपाली यूवतीको भन्दा फरक छैन । मसँगैका मेरा धेरै केटा साथीहरू म जस्तै सिङ्गल छ्न्, तर समाज उनीहरूको सिङ्गलपनलाई पनि सेलेब्रेट गर्छ । भन्छ- पढ्दै छ्न्, करीअर बनाउँदै छ्न् । ठीक उस्तै म पनि त्यही गर्दैछु । तर किन किन समाज मेरो कामभन्दा पनि म सिङ्गल भएकोमा चिन्तित छ । धेरैलाई लाग्छ, म सिङ्गल रहनुमा मेरो छालाको रङ मेरो हाइट र ओभरअल मेरो लुक प्रमुख बाधक हो । र मलाई लाग्छ, त्यही कुरा बाधक हो भने म त्यस्तो रिग्रेसिभ संस्थाको सदस्य किन बनुँ ? जसले कहिल्यै मलाई मेरो छालाको रङभन्दा माथि उठेर हेरेन । वा कहिल्यै मेरो अस्तित्वलाई वैचारिक रूपमा स्वीकार गरेन ।

अझै बुहारीको चयन र कुनै पनि ड्रेसको चयन प्रकृयागत रूपमा हेर्ने हो भने केही भिन्नता छैन । यदि केटाकेटी पहिल्लेदेखि प्रेममा छ्न् भन्ने कुरा अलि फरक पर्ला । तर एकदमै छुच्चो भाषामा भन्दा समाज अझै पनि त्यस्तै छ । मलाई अचम्म लाग्ने कुरा चाहिँ के भने, हाम्रो समाजमा किन बुहारी चाहि गोरी खोज्छ्न् । अझै पनि बुहारीहरू अनपेड डेल्ली लेबर हुन् । भन्दा नै खाना पकाउन र लुगा धुन बिहे गरेको भन्छ्न् । यो कुरा सुन्दा अलि पढेका बुझेका महिलाहरूले पनि इजिली एसेप्ट गरेको देख्दा भने अचम्म लाग्छ ।

शैक्षिक रूपमा म एक भाग्यमानी युवती हुँ, पढाइको लागि मेरो परिवारले मलाई कहिल्यै सम्झौता गर भनेन । बुबाको लागि पढिदिनु मात्र ठूलो कुरा बन्यो । पढाइपछि मात्र मैले आर्थिक स्वतन्त्रताको बारेमा बुझें । सायद यो कुरा बढी युनिभर्सिटिले सिकायो । त्यसैले अहिले लाग्छ, म वरिपरिका कोही महिलाले पनि दुई चार पैसाका लागि कसैसँग हात फैलाउन नपरोस् । जसले हामीलाई त्यस्ता सम्बन्धबाट मुक्त बनाउछ जसले । मुक्तिभन्दा पनि एकात्मक पितृसतात्मक व्यवस्थाको कैदी बनाएको छ । धेरै केसमा विवाह त्यस्तै कैद हो भन्दा म गलत छु जस्तो लाग्दैन ।

छोटकरीमा भन्नुपर्दा ‘विवाह’ यस्तो संस्था हो जसको अस्तित्व नै अस्वीकार गर्न गाह्रो छ । तर यसका केही आधारभूत समस्याहरू छ्न् । यसले समता, सह-अस्तित्वभन्दा पनि भाले जातीय शक्तिसंरचनामा विश्वास गर्छ । जबसम्म महिला र पुरुषको सह-अस्तित्व र सहभागितामा विवाह चल्दैन तबसम्म यो एउटा एकात्मक पितृसतात्मक संस्था हो । चाहेर नचाहेर म जस्ता शिक्षित र उदारवादमा विश्वास गर्ने मान्छेलाई विवाहको जन्जिरमा निस्सासिन अति नै कठिन छ । म चाहन्छु, म महिला मात्र होइन मानव पनि हुँ । म जस्तै धेरै युवतीहरू चाहन्छ्न्, विवाह जन्जिर नबनोस् । उन्मुक्ति बनोस् ।