कथा एक
एक छोरी र एक छोराका बाबु उनी मध्यम वर्गीय परिवारमा बाँचेका थिए । अस्ताउदै गरेको घाम जस्तै बूढी आमा घरमा छिन् । श्रीमती छोराछोरी पढाउनको लागि ज्याला मजदुरी गर्न बाध्य भएकी छिन् ।कारण, आजभन्दा पाँच वर्ष अगाडिको दसैँमा मदिरा सेवन र जुवातासले नीमबहादुरको ज्यान लिएको थियो । उनको नाम नीमबहादुर भए पनि बोली मीठो थियो । मान्छे शालीन थिए । व्यवहार मिजासिलो थियो । रक्सी नपिउदासम्म उनी भगवान् नै थिए । घरधन्दा राम्रैसँग चलेको थियो । परिवार भैँसी र बाख्रा पाल्ने काममा आश्रित थियो ।
मान्छेहरू पहाडबाट तराई झर्ने क्रममा थिए । यसैको प्रभावले उनलाई पनि छोयो र उनले खेत बेचे । पैसा श्रीमतीले राखिन् । दसैँ आएको थियो । गाउँबाट बैङ्क टाढा भएकाले उनले पैसा घरमा अन्नको बीचमा बोरामा राखेर माइत हिँडिन् ।
श्रीमती माइत गएपछि उनी पिँजडाबाट मुक्त भए झैं भए । उनको रक्सी पिउनु दैनिकी नै भयो । ‘दसैँ हो, पिउँनुपर्छ’ भन्ने मानसिकताले उनी ग्रसित थिए । उनी फाट्टफुट्ट जुवातास पनि खेल्ने गर्थे पहिले । यसैक्रममा उनी जुवा खेल्न थाले, रक्सी पिएर । पैसा हारेपछि रातमा आमा र छोराछोरी सुतेको मौकामा पैसा खोजे । बोरामा ध्यान गयो, जहाँ मकै भरिएको थियो । त्यहाँ श्रीमतीले लुकाएर राखेकी थिइन् चार लाख रूपैयाँ ।
नीमबहादुर सबै पैसा बोकेर जुवाको खालमा गएँ । हारे कि जिते ? त्यो त्यहाँ खेल्नेलाई थाहा होला, तर त्यति धेरै पैसा देखेपछि अरूको मनमा पाप पलायो र उनको हत्या गरिदिए।
श्रीमती माइतबाट फर्किन् श्रीमान् हराएको खबरले । दसैँ सकिन् बाँकी नै थियो । घर आउनेबित्तिकै उनले आफूले जतनले लुकाएको पैसा खोजिन् । भेटिनन् । त्यसपछि उनले श्रीमानलाई गाली गरिन् । नानाथरी भनिन् । हुन पनि ‘नीमबहादुर सबै पैसा जुवामा हारेर भागेका थिएँ’ गाउँमा यही हल्ला फैलिएको थियो ।
एक हप्ता नबित्दै खुर्सानी बारीमा उनको शव थोरै गाडेको अवस्थामा भेटियो ।
कथा दुई
[bs-quote quote=”दु:खको कुरा यहाँ मान्छेहरूका सम्बन्ध पनि रक्सीमा टिकेका छन् । पिउने मान्छेका साथी नपिउने भएपछि सकिँदा रहेछन् सम्बन्धहरू । पिउनेसँग फेरि अर्को कोही नयाँ पिउने जोडिने रहेछ ।” style=”style-2″ align=”right” color=”#dd3333″ author_name=”कृष्ण कञ्चन” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/06/krishna-kanchan.jpg”][/bs-quote]
रीताका श्रीमान् सेक्युरिटी गार्डको काम गर्थेँ । परिवार निम्न वर्गको थियो । आयस्रोत भनेकै त्यही श्रीमानको काम थियो । उनी घर फर्किँदा कुनै दिन पनि रक्सी नपिई फर्किएनन् । सधैं श्रीमतीले आधा बाटोसम्म लिन जानुपर्ने ।
घरमा दालचामल सकिएको पत्तो नहुने श्रीमानलाई । बिहान ल्याउँछु भनेर हिँडेका साँझ रक्सी पिएपछि सबै बिर्सिने । जसोतसो उनले श्रीमानको सेवा गरिन् । एक छोरी पनि भइन् उनीहरूको । श्रीमतीले पोषिलो खाने कुरा खान पाइनन् । छोरीलाई निमोनिया भयो । उपचार गर्ने पैसा भएन् । १ वर्षको जीवन बाँचेर छोरी खसिन् । तैपनि श्रीमानले रक्सी पिउन कम गरेनन् । पिएर चुपचाप सुत्ने भए त ठीकै हुन्थ्यो, श्रीमतीलाई यातना दिन्थे । कुट्थे । पिट्थे । तथानामा गाली गर्थेँ । उनी नारी ! चुपचाप सहेर बसिन् ।
पछि श्रीमानको अत्याधिक रक्सी सेवनको कारणले मृत्यु भयो । रीता एक्ली भइन् । उमेरमा नै विधवा भइन् । तर खुसी पनि भइन् । उनी श्रीमानको यातनाबाट सधैँका लागि मुक्त भइन् । स्वतन्त्र भइन् । अब उनले रक्सी पिएको श्रीमानलाई अँगालो हालेर घरमा ल्याउनु नपर्ने भयो ।
आजभोली रीताले सानो खुद्रा पसल थापेकी छिन् । उनले पैसा पनि जम्मा गरेकी छिन् । उमेरले पैँतीस टेकेकी रीता भन्छिन्, “जीवन एक्लै चल्दैन । रक्सी नपिउने कोही मान्छे भेटिए नयाँ जीवनको सुरूवात गर्ने थिएँ । जस्तो मान्छे भए पनि फरक पर्दैन्, तर रक्सी पिउने हुनु भएन ।”
यी प्रस्तुत घटना प्रतिनिधि घटनाहरू मात्र हुन् हाम्रो समाजको । समाजमा यी र यस्ता घटनाहरू दिन प्रतिदिन हाम्रो आँखा अगाडि घटिरहेका छन्।
•••••••••••••••
“यो दसैँ तिहारमा मासुको लागि तीन हजार, रक्सीको लागि पाँच हजार, जुवातासका लागि आठ हजार छुट्टयाएको छु ।”
“रक्सी नखाएर पनि दसैँ तिहार के मनाउनु ? तास नखेलेपछि के मज्जा ? दसैँमा रक्सी र खसीको मासु खाँदै तास खेल्नुको मज्जा नै बेग्लै हुन्छ।”
यी वाक्य कुनै रक्स्याहले बोलेका हैन । कुनै जुवाडेले भनेका हैन । बरू शालिन भद्रभलाद्मी व्यक्तिले दसैँ तिहार यसरी मनाउँदैछु भनेर खर्च विवरण छुट्टयाएका हुन् । मान्छेहरू वर्ष दिनमा एकपटक भए पनि रक्सी खान र जुवाको खालमा बस्न किन रूचाउँछन् ? के रक्सी नखाए रमाइलो हुँदैन र ? रक्सी खाएपछि मात्र आनन्द आउने हो र ? रक्सी र जुवातास भएपछि मात्र चाडपर्व लाग्ने हो ? मसँग प्रश्न मात्र छन्, जवाफ पिउनेहरूसँग होला । खेल्ने हरूसँग होला ।
हरेक वर्ष राष्ट्रिय पत्रिकाबाट कुनै विदेशी ब्राण्डेड रक्सीको विज्ञापन फ्रन्ट पेजभरी आउन थालेपछि मात्र मलाई चाडपर्व आउन थालेको आभास हुन्छ । अगाडि रक्सीको विज्ञान पछाडि रक्सी पिएर मृत्यु भएको, हत्या भएको खबर एउटै पत्रिकाभित्र कसरी अटाउन सक्छन् ? अगाडि विदेशी रक्सीको प्रचार पछाडि घरेलु मदिरा नियन्त्रण गर्न भन्दै प्रहरीले बरामद् गरेको मदिरा फ्याँक्दै गरेको तस्बिर एउटै पत्रिकाभित्र एकै दिनमा प्रकाशित हुन्छन् । के तपाईंलाई यी कुरा देख्दा आश्चर्य लाग्दैन् ? लाज लाग्दैन् ? हुन त लाज पनि लजाएको छ यी कुरा देखेर । नलजाउने त मान्छे मात्र हो ।
……
“मैले आजको दिनबाट रक्सी पिउन छोडें ।”, एक जना पिउने मान्छेले आफ्नो रक्सी पिउने नजिकको साथीलाई भन्छ।
साथीले भन्छ, “उसो हो भने हाम्रो सम्बन्ध आजबाट सकियो।”
दु:खको कुरा, यहाँ मान्छेहरूका सम्बन्ध पनि रक्सीमा टिकेका छन् । पिउने मान्छेका साथी नपिउने भएपछि सकिँदा रहेछन् सम्बन्धहरू । पिउनेसँग फेरि अर्को कोही नयाँ पिउने जोडिने रहेछ । पिउनेहरूको यात्रा चलिरहनेछ । नपिउनेहरूको पनि यात्रा चलिरहेछ। पिउनेहरूको उधारो खाता होला, नपिउनेहरूको उधारो खाता नहोला । पिउनेहरूको अस्तित्व छिट्टै सकिएला, नपिउनेको अस्तित्व ढिलो सकिएला । सकिनु त छँदैछ, ढिलोचाँडो न हो !
“विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न” भने जस्तै हुनेछ यात्रा । जीवनको ड्राइभर तपाईं हामी नै हो, अब कसरी चलाउने ? हाम्रै हातमा छ ।
मान्छेहरूले हरेक क्षण रक्सी पिइरहेका छन् । खुसीमा, दु:खमा, मिलनको योगमा, विछोडको वियोगमा, सन्तान जन्मिँदा या त कसैको अन्त्यष्टिमा। चिसोमा तातो हुने बाहान होस् या गर्मीमा चिसो हुने न्यून सम्भावनामा, चाडपर्व आएको उपलक्ष्यमा होस् या चाडपर्व सकिएको सन्दर्भमा, हरेक क्षण मौसम अनुसार मान्छेलाई पिउने चाहाना भएपछि अनेक बाहानमा मान्छेहरू पिइरहेका हुन्छन् ।
पिउनु नराम्रो हो भन्दिनँ, तर पिएपछि कसैलाई असर गर्नु, हल्ला गर्नु, एक दिन पिएपछि दुई दिन टाउको दुखेर सुत्नु, पैसा सकिनु, पिएर हल्ला गर्दा समाजमा देख्ने मान्छेले रक्स्याहा भन्नु आदि राम्रा कुरा हुन् जस्तो मलाई लाग्दैन । तपाईँलाई पनि राम्रो त पक्कै लाग्दैन् होला ? एकपटक आफैँलाई प्रश्न गर्नुहोस्, आखिर म किन पिउँदैछु ?
दसैँ हो ! तिहार हो ! अहिले नपिए कहिले पिउने ? अहिले जुवा नखेले कहिले खेल्ने ? भन्ने पनि लाग्न सक्छ तपाईँलाई, तर पिउदै गर्दा, एक गिलास भन्दाभन्दै एक बोतल रित्तिन्छ र कुरा बिग्रिन्छ । खेल्दै गर्दा जुवा, एक हजारको ठाउँमा दुई महिनाको तलब सकिन्छ र समस्या हुन्छ । भन्नुहोस् त, यी कुलतबाट टाढा नै रहनु उत्तम हैन र ?
रक्सी पिएर समस्याको समाधान हुने भए संसारका हरेक समस्या समाधान भैसकेका हुने थिए । रक्सी पिएर मान्छेले दु:खबाट छुट्कार पाउने भए यहाँ सबैले रक्सी पिउने थिए । रक्सी पिएर आनन्द आउने भए हरेक मान्छेले यो आनन्दको भरपूर उपयोग गर्ने थिए । रक्सी पिएर कसैलाई भूल्न सकिने भए हरेक दिन कसैलाई भूल्ने बाहानामा पिउनु पर्ने थिएन । तर कसैले रक्सी पिउनुको कारण सोध्यो भने यी बनावटी जवाफ दिन पछि पर्दैनौं हामी । यहाँ मान्छेहरूसँग कपडा किन्ने पैसा छैन्, घरमा खाने अन्नपात छैन्, तर रक्सीको लागि पैसा जसरी पनि ल्याउछ । लत भएपछि मान्छेले रक्सी जसरी पनि पिउछ । अच्चम छैन त यो कुरा ?
बाआमाले छोराछोरीलाई पिउनु हुँदैन भनेर सम्झाए पनि उनीहरूले नै छोराछोरीलाई पसलबाट रक्सीका बोतल बोकाउने समाजमा हो हाम्रो । छोराछोरीलाई पढ्न भन्ने बाआमा चुकुल लगाएर टीभी हेरेपछि छोराछोरीले के पढ्लान ? भोलि सन्तानले पनि पिउन थाल्ने छन् । अवस्था त्यही दोहोरिनेछ । पिउने सिलसिला यसरी नै चलिरहनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।